संस्मरण: सहकर्मी गुमाउनुपर्दा

तस्वीरमा स्व. चेवर घिमिरे

इन्जिनीयर चेरव घिमिरेजीसँग मेरो धेरै लामो समय मित्रता हुन पाएन । तैपनि छोटो समयमै भएको सहकार्यले एउटा अमिट सम्झना छाडेको छ । म बिसं २०७० साल मंसीरदेखि रसुवा जिल्लाको उत्तरी भागमा पर्ने सान्जेन (माथिल्लो) जलविद्युत आयोजनाको कामको निम्ति जाँदा उहाँ आयोजना कम्पनीकोतर्फबाट साइट इन्चार्जको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

हाम्रो कम्पनी स्मेक नेपाल परामर्शदात्री संस्थाको रुपमा कार्यरत थियो ।उहाँहरु बस्ने क्याम्प र म बस्ने कोठा चिलिमे गाविसको तेतान्चे गाउँमा नजिक नजिकै थियो । हाम्रोसंस्थाबाट काम गर्ने म र अर्का सर्भेयर साथी राजभाइ महर्जन मात्र भएकोले हाम्रो छुट्टै मेस स्थापना भएको थिएन । त्यसैले हामी दुवैजना उहाँहरुले चलाउनु भएको मेसमै खाना खान्थ्यौं ।

बिसं २०७० माघ महिनामा म तेतान्चेमै बसेर आयोजनाको निर्माणस्थल तिलोचेसम्म दिउँसो आउने जाने गर्थें । यसै सिलसिलामा माघ ४ र ५ गते उहाँ र म उहाँले चलाएको मोटारबाइकमा सँगै तिलोचे गएर आएका थियौं । त्यही क्रममा प्रस्तावित इन्टेक निर्माण हुने ठाउँमा उहाँ उभिएको वेलामा मैले उहाँको फोटो खिचेको थिएँ । त्यो फोटो नै शायद उहाँको जीवनको अन्तिम फोटो बन्न पुग्यो ।

माघ महिनाको शुरुमा तेतान्चेमा हिउँ पर्ला पर्ला जस्तो भएको थियो तर परेन। उहाँले हिउँ हेर्न धेरै रहर गर्नुभएको थियो र हिउँ पर्न लाग्यो भनेर धेरै खुशी पनि हुनुभएको थियो । तर फागुन ३ गते मात्र हिउँ पर्‍यो, उहाँले हिउँ परेको हेर्ने मौका पाउनुभएन ।

साइटमा बस्ता सूचना र मनोरन्जनका सामग्री धेरै उपलब्ध थिएनन् । आफूले ल्याएका पुस्तक पत्रिका बाँडेर पढ्ने गर्थ्यौं । यसै क्रममा मैले काठमाण्डौबाट लगेको पत्रकार सुधीर शर्माद्वारा लिखित पुस्तक ‘प्रयोगशाला’ उहाँले मबाट पढ्न लानुभएको थियो । लेखक उहाँको आफ्नै मान्छे पर्ने कुरा उहाँले बताउनुभएको थियो । पछि पुस्तकमा पट्याइएको चिन्ह देखेर थाहा भयो-उहाँले त्यसको पहिलो अध्याय मात्र पढेर सिध्याउनुभएको रहेछ, बाँकी पढ्ने क्रममा हुनुहुन्थ्यो होला ।

माघ सात गते बेलुका हामीले मेसमा सिस्नोको साग र कोदोको ढिंडो सँगै बसेर खाएका थियौं । त्यो परिकार उहाँलाई धेरै मन पर्थ्यो । त्यसको अघिल्लो दिन फेरि मैले ठेकेदार कम्पनी बज्रगुरु निर्माण कम्पनीको मेसमा खाना खाएको थिएँ । साथी विमल सर (विमल शर्मा) सँगै । माघ आठ गते म हिंडेर तिलोचे (माथिल्लो आयोजनाको मुहान) साइट तिरलाग्दा चेरवजीहरुको टोली ब्राप्चे तिरको सडकको सर्भे गर्न जाँदै हुनुहुन्थ्यो । त्यतिवेला उहाँले मलाई आफू आज तिलोचे नजाने भएकोले त्यतातिर भैरहेका काम पनि तपाईंले राम्रोसँग हेरेर आउनुहोला है भन्नुभएको थियो । म माघ नौ गते काठमाण्डौ जाने भएकोले काठमाण्डौमा उहाँका एक आफन्तलाई दिनू भनेर एउटा ठुलो खाम जिम्मा लगाउनुभएको थियो । म माघ आठ गते साँझ हिंडेर ब्राप्चेको बाटो हुँदै थाम्बुचेत बजार पुगें र हाम्रो क्याम्पमा बास बसें । भोलिपल्ट नौ गते बिहान सर्भेयर महर्जन सरसँगै अफिसको गाडीमा काठमाण्डौतिर लागें ।

त्रिशूलीस्थित दरबार भ्यु होटलमा खाना खाँदै गर्दा हाम्रो ड्राइभर मार्फत आज ब्राप्चेमा ठुलो दुर्घटना भएको र त्यसमा चेरव सर र विमल सर परेको डु:खद खबर थाहा पाएँ । काठमाण्डौ पुगुन्जेल डर र चिन्ता भैरह्यो । घटना बारे बुझ्न नेपालका विभिन्न ठाउँबाट साथीहरुको फोन आउनथाल्यो । भय र चिन्ताले राति निंन्द्रा पनि राम्रोसँग लागेन । अब यस्तो अवस्थामा उहाँले कसै गरी दिनू भनेर जिम्मा दिनुभएको खाम केगर्ने भन्ने चिन्ता लाग्न थाल्यो । यस्तो शोकको घडीमा त्यो खाम बोकेर म जाऊँ कि नजाऊँ जस्तो लाग्यो । सम्बन्धित व्यक्तिलाई फोन गरेपछि चेरवजीका भाइ र आमा मीन भवनको निजामती अस्पतालमा हुनुहुन्छ भन्ने थाहा भयो । म त्यहाँ पुगेर चेरवजीकी आमा शोकमग्न भएर भर्ना हुनुभएको बेडमा पुगें ।

त्यस्तो अवस्थामा चेरवजीको साथी हुँ भन्दै आफ्नो परिचय दिन मलाई ठीक लागेन । आमालाई झन साह्रो पर्ला भनेर म उहाँसँग बोल्दै नबोली अस्पतालबाट बाहिर निस्केर उहाँका भाइ चेतनलाई त्यो खाम जिम्मा दिएँ र केहीबेर छोटो कुरा गरें । अति चिन्तित र भयभीत अवस्थामा रहनुभएका भाइलाई तपाईं छोरा मान्छे हो यस्तो अवस्थामा तपाईं आफू सम्हालिएर परिस्थितिको सामना गर्नुपर्छ, संसार यस्तै हो भनेर केही कुरा भनेर म फर्कें ।

तीन चार दिनको छोटो विदा सकेर म साइट फर्केका दिन उहाँको शव फेलापरेको थियो । त्यसलाई हेलिकप्टरमा राखेर काठमान्डौ लगियो । एक हफ्ता अघि बोलेको र सँगै हिंडेको साथीलाई त्यो अवस्थामा देख्दा धेरै दु:ख लाग्यो। साइट फर्केर काममा लागिरहँदा जताततै उहाँको स्‍मृति आइरह्यो । पछि भुइँचालो आउने दिनसम्म म त्यही घरमा केही महिना सहकर्मी साथीहरुको टोलीसँगै बसें । त्यहाँ बसुन्जेल हरेक दिन उहाँको सम्झना आइरहन्थ्यो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *