मिफ्ताकिम: एक स्मरणीय दिन

म इजरायल पुगेको त्यस्तै  २२-२३ महिना भएको थियो । बिसं २०६४ साल वैशाक–जेठतिरको कुरा हो । राहातबाट कम्पनीले मलाई ३ महिनाको लागि भनेर त्यहाँ पठाएको थियो । त्यो इजरायलको गाँजा क्षेत्र थियो । हिब्रु भाषामा गाउँलाई मुसाभ भनिन्छ । सोरासिम भन्ने ठूलो नर्सरी थियो । त्यहाँ विभिन्न जातका तरकारी तथा जडिबुटीजन्य कृषिबालीका बिरुवाहरू उत्पादन गरेर कृषकलाई विक्रिवितरण गर्ने गरिंदोरहेछ । त्यतिबेला म इजरायलको मिफ्ताकिम भन्ने मुसाभमा काम गथेँ ।

यस नर्सरीमा साग, सखरखण्ड, काँक्रा, फर्सी,खोर्सानी, टमाटर, इरित, नाना, बजिल, करोनेत, रोजमेरी, मार्बा आदि जातका बिरुवाहरू थिए । यहाँ १६ ओटा त ठूला खम्बामा मात्र थिए ।  ग्रिन हाउसलााई हिब्रु भाषामा खम्बामा वा खम्बामोत भनिन्छ । एउटै खम्बामाले १० कठ्ठा जति जमिन ओगटे जस्तो लाग्थ्यो । खुल्ला जमिन पनि निक्कै थियो । कामदारहरू इजरायली, रुसी,  अरबी, अफ्रिकी र अरू थाइल्याण्ड गरी ३०० जना भन्दा बढी थिए । त्यो एउटा ठूलो कम्पनी थियो ।

थाई कामदारलाई इजरायलीहरू थाइलान्दी भन्ने गर्छन् । नेपाली भने हामी ५ जना मात्र थियौँ । म नयाँ थिएँ । अरू कोही त्यहीँ काम गरेको ६ महिना, १ वर्ष, १८ महिना भएका नीर, कालिका र त्यस्तै अरू २ जना थिए । म जहाँ गएपनि नेपाली जस्तै मिल्ने गर्थे थाईहरू मसँग । मलाई थाईहरू मेरा गाउँका राई, लिम्बू, मगर, तामाङ साथीहरू जस्तै लाग्ने । म त्यहाँ हुँदा पनि कत्ति तिनलाई हेरेर यिनलाई मिस गर्थेँ । अहिले यहाँ हुँदा पनि यिनलाई हेरेर तिनलाई त्यतिकै मिस गर्छु ।

भलिबल जस्तै तिनले खुट्टाले खेल्ने चुयाको एउटा सानो बल हुन्छ । विचमा नेट टाँगेर दुई पक्षबीच खुट्टाले खेलिने यो खेल जहाँ खेल्दा पनि ती मलाई कहिले खेलाडीको रूपमा त कहिले दर्शकको रूपमा सँगै लिएर जान्थे । हामी कत्ति त एउटै टेबलमा के एउटै थालमा खाना खान्थ्यौँ । मिल्दा सारै मिल्ने । आफ्नो शरीरको आधा मासु अर्काले काटेर लगेको पनि थाहा नपाउने ती मलाई आफूजस्तै सोझासादा लाग्थे । मिल्दा त्यस्ता,नमिल्दा फेरि सारै बाङ्गा पनि लाग्ने ।

कम साथी बनाएपनि म फेरि साथी भनेपछि सानैदेखि साह्रै नै हिरिक्क हुने । साथीका लागि ज्यानै फाल्नु परेपनि पछि नसर्ने । यद्यपी साथीका लागि ज्यानै फाल्नु पर्ने त्यस्तो ठूलो समस्या त त्यहाँ खासै आइलागेन । म अर्काको तुलफूलमा सारै हात नहालेको मान्छे । म स्कुल जाँदा आउँदा पनि सायद छोराले कसैको बिगार पो गर्ने हो कि र कतैबाट कसैको भनाई पो आउने हो कि भन्ने भयले हुनुपर्छ, सानामा आमा बारम्बार सम्झाउनु हुन्थ्यो । स्कूल जाँदा आउँदा बाटामा कसैका तुलफूलमा हात लाउलास् । भोक लागे सुरुसुरु घर आउनु । मैले खाजा बनाएर राखिदिइ रहेको हुन्छु । स्कुल जाँदाआउँदा बाटाको छेउछाउ बारीका डीलमा गाउन्लेहरूका आरू ,आल्चा,आरूबखडा,नासपती,अम्बक आदि फलफूल पाकेर लटरम्म हुँदा पनि म त्यतातिर हेर्दा पनि नहेरी आमाले भनेका कुरा सम्झेर सुरुसुरु घर आउँथेँ । अहिले सम्झदा म त्यतिखेर निक्कै बुझ्ने भइसकेको रहेछुजस्तो लाग्छ ।

यो त निक्कै पछि माथ्लो स्कुल धाउन थालेपछिको कुरा हो । तल्लो स्कुल पढ्दाका कुरा बेग्लै छन् । यो त २५-३० वर्षपछि इजरायल बस्दाको कुरा हो । हामी सबै भेला भएर कहिले कालो ताप्केमा माछा तारेर खान्थ्यौँ । जाडोमा कहिले ठूलाठूला मुढा जोतेर आगो बाल्थ्यौँ । बुढाबुढी जस्तो आगो ताप्थ्यौँ । वरिपरि बसेर कुखुराका पखेटा र फिला पोलेर गफ गर्दै मज्जासँग खान्थ्यौँ । त्यहाँका कृषकले पोखरी सफा गर्दा फालिएका माछा बोराका बोरा टिपेर ल्याउँथ्यौ हामी र महिना दिनसम्म राखेर खान्थ्यौँ । बजारमा पाइनेभन्दा ताजा र स्वस्थ हुन्थे ती माछा । माछामा काम गर्ने थाई साथीहरू कसैलाई कहिल्यै पनि माछा माग्न पर्दैनथ्यो । उनीहरुले नै क्यारेटका क्यारेट ल्याइदिन्थे । जे खान्छु भने पनि खाँचो हुँदैनथ्यो । यसरी माछा,मासु कोही वियरसँग खान्थे । कोही भोड्कासँग । रसियन वाइन भोड्का भनेपछि थाइहरू हुरुक्कै हुने । कामबाट फर्कने वित्तिकै कोही त कपडै नफेरी पहिले भोड्का गिलासमा हालेर घुट्क्यााइ हाल्ने । टाढा टाढाको कार्यक्रममा पनि थाईहरू मलाई सँगै लिएर जान्थे ।

एक दिनको कुरा हो- काम सकेर साँझ खानपिन भयो । यान भन्ने एक जना थाई साथी म कहाँ आयो । मलाई बोलाउँदै उसले हिब्रु भाषामा भन्यो,लौ साथी आज राती आँप चोर्न जानु पर्छ । त्यतिबेला आँप फल्ने सिजन थियो । जेठ–असारको दिन हुनुपर्छ । एउटै आँप दुई किलोसम्मका हुन्थे । सारै मिठा । पाकेका आँप किन्नै पर्दैन भने किन नजाने । फेरि एक्लै होइन साथीसँग केको डर जे पर्ला पर्ला ! ल जाऔँ न त मैले भनें । ऊ मेरो मिल्ने साथी । मिल्ने नै साथीले भन्यो किन नजाने ? राती ११ बजेतिर ऊसहित ४-५ जना अरू उसका साथीहरू पनि आएछन् ।

एउटा हातमा टर्च र अर्को हातको काखीमा एउटा-एउटा बोरा च्यापेर । हामीसँग टर्च थिएन । अरू नजाने भए । कालिका र म भने लाग्यौँ हातमा एउटा-एउटा बोरा च्यापेर उनीहरूका पछि । करिव आधा घण्टा भन्दा बढी हिँडेपछि आयो तार घेरा गरेको ठूलो आँपको बगैँचा । त्यो तार घेराबाट भित्र छिर्नु पर्ने बगैंचा पस्न । कसोकसो गरेर तार तलमाथि सारेर बलैले छिर्यौं भित्र । काँडैकाँडाको तार बेरा थियो त्यो । घुँडामा बोरा र हातमा पन्जा लाएर छिर्यौं । कम्ति मुस्किल परेन । हातखुट्टा सबै काँडे तारले कोरेर भतभती पोल्दा मैले साथीलाई बेकारमा आइएछ पनि भनेँ । बाटोको छेउछाउ मान्छेले देख्ने डरले हामी करिब आधा किलो मिटर जति हिँडेर भित्र छिरेका थियौं । अरू साथीहरू तल्तिर मास्तिर लागेका थिए । मैले भने कालिकालाई छोडिन । उसकै पछिपछि लागें । अरूहरू त्यतैउतै गायब जस्तै भएका थिए । सायद रूखका हाँगाहरूमा छलिएर आँप टिप्न थाले ।

मलाई भने कसैले लु तँ यहाँबाट एक्लै कारावान वा बासस्थान पुग् भन्ने हो भने पनि म पुग्ने थिइँन । कहाँबाट कता आइयो भन्ने कुराको मैले मेलै पाइँन । निष्पट अँध्यारो थियो । त्यो गाउँ ठाउँ मेरा लागि विलकुलै नयाँ थियो । साथीभाइ सबैसबै नयाँ । रातीउँदो हराइने डरले मैले कालिकालाई छोड्दै छोडिन । सायद उसले पनि यो एक्लै कोठामा पुग्न सक्दैन वा बाटो देख्दैन भन्ठानेर होला मलाई कालिकाले उसँगसँगै हिँडायो । बल्लतल्ल हामी छामछाम छुमछुम गर्दै एउटा आँपको रूखमा चढ्यौँ । मेरो हातमा बल्ल एउटा आँपको दाना के परेको थियो । उताबाट एउटा गाडी हामीतिरै झलल्ल बत्ती बालेर आयो । हामीलाई लाग्यो- पक्कै यो गाडी बगैँचाको साहुकै हो ।

सायद उसले हामी बगैँचा भित्र छिरेको थाहा पाएर आएको हुनुपर्छ । हामीले यही ठान्यौँ । अब के गर्ने । हामी आत्तियौँँ । हाम्रो होसहबास उड्यो । मैले एउटा दानो मात्र र कालिकाले पनि २-४ दाना आँप टिपेको रहेछ । फर्केर हेर्दा गाडी हाम्रो नजिकै आइपुगिसकेको थियो । हाम्रो सातो गयो । त्यसपछि हामी टिपेका आँप त्यहीँ छोडेर फाल तोडेर दौडियौँ । हामीलाई साथीहरूको त के आफ्नै ज्यानको पर्वाह भएन । एक्कै चोटी हामी काँडेतारको बारमा आएर रोकियौँ । पछाडी फर्केर हेर्दा गाडी बगैँचाको बिचमा रोकेर राखेको जस्तो देखिन्थ्यो । बल्ल सास आयो । धन्न बबँचियो । एकछिन भुइँमा लेपिएर सास दबायौँ । घरिघरि टाउको उठाएर थाई साथीको चियो गर्थ्यौं । विस्तारै सर्याकसुरुक गरेर पातपतिङ्गर बजेजस्तो आवज हाम्रो कानमा आउँदै थियो । एउटा एउटा गर्दै थाई साथीहरू पनि तल्तिर मास्तिरबाट फुत्त–फुत्त खुतुतु हाँस्दै निस्कन थाले ।

करिब १५-२० मिनेटपछि सबै साथीहरू भेला भयौँ । खुशीले छाती नाङ्लो जत्रो भयो । उनीहरूले त बोरामा आँप लिएरै आएछन् । कालिका र म भने रित्तै थियौँ । दिनभरिको काम त्यही माथि आँप चोर्न जाँदाको दगुराइ गलेर लखतरान भइयो । आउँन त आइयो । आफूले टिप्न नसकेपनि थाई साथीहरूले टिपेका भएपनि आँप पनि पाइयो । यसरी आँप चोर्न गएको कुरा भोलि कहीँ कतैबाट साहुको कानमा पर्न गयो भने के होला भन्ने कुराले भने चिन्ता बढायो । इजरायलमा अरू कुरालाई भन्दा पनि चोरीको विषयलाई बढी गम्भिर रूपले हेरिन्छ भन्ने कुरा पनि त्यहीँ बस्दाबस्दै थाहा पाइयो । टेन्सन माथि टेन्सन । आफू त आइयो । कस्तो विडम्बना ! आँप त छोडिए छोडिए बोरा समेत उहीँ छोडिएछ । कस्तो फसाद ? त्यो बोरैबाट पनि आँपको धनीले चोर पत्ता लाउन सजिलै सक्ने भयो । हामीले लगेका बोरा हामीले काम गर्ने हाम्रै सोरासिम कम्पनीका थिए । भोलि सिधै हाम्रै साहुको टाउकोमा आउने देख्यौँ हामीले र अहिल्यै बोरा खोजेर ल्याउने निधो गर्यौं । थाई साथीले पनि त्यही भने । बोरा त नछोड्नु पर्थ्यो, छोडेछौ । नल्याइ हुँदैन । ल्याउँनु पर्छ ।

त्यसपछि फेरि हामी एक जना थाइ साथीलाई अघिलाएर बोरा खोज्न हिँड्यौँ । अगिअगि थाई साथी । त्यसपछि कालिका र पछि म । हातमा एउटा टर्च छ । तीन जना लुखुरलुखुर फेरि छिर्यौं बगैँचा भित्र । खोज्दाखोज्दा बल्लतल्ल पुग्यौँ । अगि हामी चढेको आँपको रूखको फेदमा । सेतो बोरा अँध्यारो भएपनि परैबाट देखियो । गएर टिप्यौँ बोरा । त्यसपछि सास दबाएर फर्कियौँ । अगिको गाडी केही पर्तिर अर्कापटी फर्काएर रोकिराखेको थियो । गाडीको आवाज टड्कारै हाम्रो कानमा आउँथ्यो । हामी भने विरालाको चालमा त्यहाँबाट टाप कस्यौँ । कोठामा आइपुग्दा विहानको १ बजेको थियो ।

यसरी इजरायलमा साथीको लहैलहैमा लागेर झण्डै वित्याँस परेको । सानैदेखि साथीका पछाडि सारै दगुर्ने मान्छे हुँ म । साथी भनेपछि मरिहत्ते गर्ने । सानामा लागेको बानी इजरायल पुग्दासम्म छुटेन । त्यसो त त्यस्तो ठूलो विगार त जीवनमा कहिल्यै गरिएन । रमाइलोका लागि त्यस्तै सानातिना सहन सकिने बिगार त अहिले सम्झदा जीवनमा थुप्रै गरिएछ । पछि सम्झदा,जीवनमा रमाइलो यिनले पनि प्रदान गर्दा रहेछन् । अपरिपक्क र सही नै मान्न नसकिएपनि यस्ता घटनाहरू रोचक र घोचक र केही शिक्षामूलक पनि हुँदा रहेछन् । यसले आफ्नो असावधानी वा हुस्सुपन पनि स्मरण गराउने । आँपको धनीले थाहा पाएको भए र चाहेको भए हामीलाई सिधै नेपाल फर्काइदिन सक्ने थियो । कमाउन गएका हामीले चुपचाप २ वर्ष पनि नभइ बाध्य भएर स्वदेश फर्कनु पर्ने थियो । हप्ता दिन जति त साहुले थाहा पाउने भयले मलाई भने कम्ति टेन्सन भएन ।

Add a Comment

Your email address will not be published. Required fields are marked *