प्रवासीको पुकारा


भोग्दैछ जगले अशान्त मनले कोरोना कोलाहल
जीवनको डुङ्गा हुँदा नि ढलपल बाँच्नुछ गर्दै बल
पोल्छ देह यो सेलाउनु त कहाँ आगोसरि भर्भर
यो सारा जगतमा लागेझैं भयो डढेलो जर्जर।

दौडि्ंदो कोरोना आफ्नै गतिमा यो धरा जगतमा
बिचल्ली छ मन सम्हाली बस्नु कति यो प्रदेशमा
जीवन पथका अनन्त कहानी सम्झन्छ यो मन
आफ्नु भो’ परको छानु खरको फेरौंला जीवन ।

अशान्ति मनमा थिएन चयन बोकी हजारौं पिर
लिँदै आँट अठोट यो हृदयमा छोडियो स्वदेश घर
त्यो वर्षा ऋतुको खहरे बनेर उर्लन्छ मन पलपल
बिचलित मन यो बस्तैन थिर गर्दैछ यो खलबल ।

खोज्दैछ मनले तरङ्गित हुँदै माधुर्य मुस्कान
हेर्दैछु नभमा सुनौलो बिहान मेटाउन प्यास
दुःखमा नआत्तिनु कसै गर्नु है मन यो थिर
यो कहर जगतबाट जाला कहिले लागेको पिर ।

तिम्रो आँचलमा लुकि जननी रुँदै गरेको पल
यो कहरबीच उर्लंदो भेलमा हुन्छ मन चञ्चल
यो सात समुद्र तरेर कसरी फर्की म आउँ घर
व्याकुल मन सम्हाले है प्रियसी कर्तव्य गर्दै गर ।

Add a Comment

Your email address will not be published. Required fields are marked *