छोरीको याद
|धर्मका दर्शनहरुले
स्वर्ग जाने बाटोकोभन्दा पनि
स्वर्गबाट यो धर्तीमा आउने बाटोको वर्णन गरेको भए
साँच्चै तिमीले मलाई
तिमी फेरि यो धर्तीमा आएको सपना देख्न लगाउँथ्यौं ?
जब यो आँखाले
सडकमा हिंडिरहेको कलिलो नानीहरुको तस्वीर खिच्छ
साँच्ची त्यती बेला तिम्रो यादमा
यो मनले पुरानो एल्बमको पानाहरु पल्टाउँछ ।
मलाई यस्तो लाग्थ्यो-
यो समाजलाई पनि यस्तै लाग्थ्यो होला
हामीले मानेको भगवानलाई पनि यस्तै लाग्थ्यो होला
कि तिमीलेभन्दा पहिला
तिम्रो शरीरलेभन्दा पहिला
मेरो शरीरले
कैले नमर्ने आत्मालाई बिदाई गर्ने छ भनेर ।
मैले पनि कल्पना गर्थें –
म मरेको दिन
मेरो लासको नजिक आएर तिमी रुनेछौ
सुल्टो होइन उल्टो
घरलाई पोतेर
आँशुको फूलले बुनेको मालाले सजाएर
मलाई बिदाई गर्ने छौ
तर मेरो जीवन कस्तो उल्टो भईदियो
तिमीले मलाई बिदाई गर्नुपर्ने
मैले पो तिमीलाई बिदाई गर्नुपर्यो ।
तिमीले खुसीले हाँसीरहेको देख्नुपर्ने
मेरो आँखाहरुले
तिमी चितामा जलीरहेको देख्नु पर्यो
तिम्रो प्रगतिको मैनबत्तीमा
सानो आगोको झिल्का बाल्नुपर्ने
यी मेरो हातहरुले
तिम्रो शरीरमा दागबत्ती पो बाल्नु पर्यो !
मेरो स्मृतिमा-
ताराहरुभन्दा सयौँ गुणा चम्किला तिम्रो यादहरुछन्
तिम्रो यादहरुलाई
कुनै अर्का मान्छेको यादहरुले विस्थापित गर्नसक्दैन
तिम्रो याद त कुनै
एउटी सुन्दरी युवतीले हातमा खोपेको ट्याटुजस्तै हो।
म आजभोलि पनि सम्झन्छु-
तिमी त्यतिबेला नारीको सानो एकाई थियौ
मैले आजसम्म
कुनै नारीको मनोपुस्तक पढेको त छैन
तर एउटी नारी कति सिर्जनशील हुन खोज्दोरहेछ
मैले तिमीबाट सिकेको छु
त्यो दिन मलाई आज पनि सम्झना छ-
तिम्रो सिर्जनशील हातहरुले
सौन्दर्यको मूल्यहरु चयन गरेर
तिमीले तिम्रो कपाल कोर्न सिकेको
र जानेको
अनि खुसी भएर मलाई भनेको ।
यो समयसँग मेरो धेरै गुनासोहरु होलान्
तर एउटा गुनासो हिजोको समयसँग म प्राय गरिरहन्छु-
समयले मेरो गुनासो सुन्ला नसुन्ला
तर तिमीले
हामी अफिसबाट कोठा फर्कंदा
सँधै भन्ने गर्थ्यौं नी-
हामीले घर बनाएपछि
त्यो घरको कौशीमा राम्रा राम्रा फूलहरु रोप्छु ।
हो छोरी-
आज तिम्रो ड्याडीले
तिमीले भनेकोजस्तै कौशी भएको घर बनाएको छ
म जन्मभूमिभन्दा धेरै टाढा छु
तर मैले एउटा कुराको सँधै कल्पना गरिरहन्छु
त्यो घरको कौशीमा तिमी फूल रोपिरहेकी छौ ।