कोमल गजल
|प्रवासी बराको कहानी छ खल्लो
सयौँ दर्दले जिन्दगानी छ खल्लो
डसेको छ सन्तापले भित्रभित्रै
कठै ! देहको राजधानी छ खल्लो
भएको छ उत्साह वा आस ध्वस्त
निरानन्दले बागवानी छ खल्लो
गए फूल वैलाउँदै वेदनाले
खुसी टाढिँदा फूलदानी छ खल्लो
कुदेको छ रोजै खपी भोक,प्यास
अनिन्द्रा छ राती सिरानी छ खल्लो
कता हो कता हो भएको छ शान्ति
सधैँ घाम खल्लो र पानी छ खल्लो
सदाचार कच्चा भरोषा छ कच्चा,
अविश्वास भारी जमानी छ खल्लो
(भुजङ्गप्रयात छन्द)
सूत्र:- ISS ISS ISS ISS
गण:- य य य य
६ अक्षरमा विश्राम