तिमीसँग

खै किन किन,
आँफैसँग छैन म अचेल
तर मन छ मलाई
मैसँग हुने ।

घामले,
पिठ्युँमा तिम्रो उज्यालो बोकेर उदाएजस्तो,
बतासले,
काँधमा तिम्रो सम्झना बोकेर ल्याएजस्तो
आँफैलाई नै बोकेर हिँड्न
किन सक्दिन म ?

किन यसरी छुटेर आँफैसँग
एक्लिएकी हुँला यो भिडमा ?
खोलाले किनारालाई नछोडेजस्तै
च्यापेर आँफैलाई निरन्तर हिँड्न
किन नसकेकी हुँला ?!

साँच्चि,
आँफैसँग हुन नसकेकी म
कसरी हुन्छु होला नि
मुटुमा धड्किरहने तिमीसँगै ?!

Add a Comment

Your email address will not be published. Required fields are marked *