द्रोणाचार्य क्षेत्रीको स्मृति र मेरो पत्रकारिताको प्रेरणा
|आजभन्दा चौवालीस वर्ष अगाडिको कुरा हो । विराटनगर तीनटोलियामा वासुदेव गिरी काकाको घरमा बस्नुहुन्थ्यो । म साहित्यमा अभिरुची राख्छु भन्ने कुरा थाहा थियो । मेरो पहिलो कवितासङ्ग्रह ‘के भनेर सम्झाउनु मेरी छोरीलाई’ २०३१ मा प्रकाशित भइसकेको थियो । त्यसताका मातृभूमिमा समय–समयमा कथा विशेषत कविता छापिन्थे । भेटघाटको निम्ति बोलाउनु भएको थियो । कोठामा द्रोणाचार्य पनि हुनुहुन्थ्यो । गिरीजीले परिचय गराइ दिनुभयो । हामीले स्नेहपूर्ण हात मिलायौं । त्यसताका राजविराजबाट एउटै मात्र साप्ताहिक गोरेटो निस्कन्थ्यो । यो पत्रिका संचालन गर्ने द्रोणाचार्यजीले जिम्मा लिनु भएको थियो । आफूलाई पनि पत्रकारितामा रुचि छर्दै थियो । उहाँको गोरेटो साप्ताहिकका लागि न्यूज लेखेर पठाई सहयोगको लागि अनुरोध गर्नुभयो । मैले स्वीकृत सूचकमा टाउको हल्लाउँदै हुन्छ भनेर विदा लिएँ ।
म त्यसबेला इटहरीको आँपगाछी तरहरमा बस्थें । घर आउँदा पत्रिका पसलबाट मातृभूमि समीक्षा लिएर घर आएँ । न्यूज कसरी लेख्ने ? कसरी प्रस्तुत गर्ने मनमा कौतुहलता आइरह्यो । ती प्रकाशित न्यूजहरुको ढर्रालाई धेरै चोटी दोहोर्याएर कापीमा उतारें – निकै समय पश्चात् न्यूजहरु तयार गरेर पठाएँ । कुनै काटछाँट नगरी जस्ताको तस्तै न्यूज छापियो । हृदय प्रफुल्ल भयो । न्यूजलाई आकर्षक बनाएर पेश गर्न जाँगर र अरु मिहनेत गर्न थालें । गोरेटोमा प्रकाशित न्यूज लिएर इटहरीका साहित्यकार मित्र शेरबहादुर अम्बर कहाँ गएँ । उमेरमा उनी कमै थिए तर पनि उनी मेरो साहित्यिक गुरू थिए । मेरा लेखन त्रुटीहरु सच्याइ दिन्थे सुधारी दिन्थे र सुझाव दिन्थे ।
उनले एउटा सल्लाह दिए- ‘ऋतु,तैंले अब पत्रकारितालाई नै पेशा बना ।’ तर पत्रकार बन्धुहरुबाट मैले सुनेको थिएँ पत्रकारितामा पैसा चैं कमिदैन । यसको भरमा पनि जीवन चल्दैन तर केही भनिन् ।
समय समयमा न्यूज पठाउँदै गरें र राजविराजमा न्यूजहरु छापिंदै थिए । हौसला बढ्दै गइरहेको थियो । जाँगर चलाउँदै थिएँ ।
म द्रोणाचार्यजीलाई भेट्न राजविराज गएको थिएँ । उहाँसँग भेट हुन सकेन तर गोरेटो सम्पादक/प्रकाशक शिशु देवकोटाजीसँग परिचय भयो । मेरो रचना आफूले पढेको कुरा भन्नु भयो । द्रोणाचार्यजी र शिशु दाइबीच खटपट भएको कुरा होटलमै थाहा भयो ।
यस्तै राति ७ बजेको हुँदो हो हामी ४ जना गणेश काफ्ले, शिशु दाइ, केदार र म खाजा खान बस्यौं । मैले त्यसैदिन सम्पादकको जाँडपानी पनि खाँदा रहेछन् भनेर थाहा पाएँ । मैले आजसम्म लिएको छैन भने पछि कसैले कर गरेनन् । म मासु चिउरा बुकाउन लागें । उहाँहरुमा अलिअलि चढ्दै गयो । त्यसै प्रसङ्गमा शिशु दाइले भन्नु भयो-द्रोणाचार्यले चाहेको भएर अञ्चलाधीशसँग रुपैयाँ मागेर दिन सकिन्थ्यो । अञ्चलाधीशले दिन्छु पनि भनेकै हो र उसले मानेन यसरी द्रोणाचार्यको स्वाभिमानको बखान गर्नुभएको थियो ।
शिशु दाइलाई अलिअलि लाग्दै गएको थियो । कुराको पोको फुकाउँदै भन्नु भयो – त्यो मान्छे डरलाग्दो हो । उसले मलाईफ्रन्ट डोरबाट आउने नसके ब्याक डोरबाट आउँछु भन्थ्यो । झापा उसको घर हो । त्यसैले मलाई डर लाग्छ ।
द्रोणाचार्य माओत्सेतुङ्ग विचारधाराप्रति प्रतिबद्धता हुनुहुन्थ्यो । तर आफूलाई त्यस विचारधाराको अनुयायीको रुपमा प्रचार गर्नु भएन । त्यस्ताका झापाली हुनुको अर्थ एउटा गम्भीर यन्त्रणा निम्त्याउनु हो । त्यो दिनको जाँडपानी सन्ध्याको अन्तिम चरणमा शिशु दाइ र केदारबीच चर्को बहस भएर सकिएको थियो ।
द्रोणाचार्यले गोरेटो संचालन गर्नका लागि विशेषतः आर्थिक पक्ष सुदृढिकरणका लागि गणेश काफ्लेलाई राजविराज लग्नु भएको थियो । समय–समयमा गोरेटोको लागि प्रकाशनका सामग्री पठाउँदै थिएँ । साप्ताहिक गोरेटोमा टेबुलवर्क गर्नका लागि शिशु दाइले गणेश काफ्लेलाई म कहाँ पठाउनु भयो । मासिक रु. ३०० दिने कुरा पनि सुनाउनु भएको थियो । रुपैयाँको आवश्यकता भन्दा पनि पत्रकारिता सिक्नु मेरो पहिलो उद्देश्य थियो । मैले राजविराज जाने निधो गरें । विसं २०३३ साल माघ ९ गते आमा दिव्याश्वरी पराजुलीको देहावसान भएको थियो । त्यतिबेला गणेश काफ्ले र म पत्रकारिताको सिलसिलामा गौरतिर गएका थियौं । माघ ८ गते बेलुका राजविराज पुगेका थियौं । भोलिपल्ट बिहानै प्रेसमा आइपुग्दा दाइ शिशुप्रसाद देवकोटा (सम्पादक गोटेरो सप्ताहिक) ले भन्नु भयो– ऋतुजी ! तपाईंको आमा विरामी हुनुहुन्छ इटहरी जानु । म इटहरीको वार्ड नं. २ आँपगाछी तरहरा स्थित घर आइपुग्दा आमाको देहावसान भइसकेको अवस्था थियो । उहाँको अन्तिम संस्कारको लागि कोशी ब्यारेज तर्फ लानको लागि मलामी जानेहरुको जमघट बढिरहेको अवस्था थियो । ती दृश्यहरु मेरा आँखा अगाडि अझै झल्झल्ती आइनै रहेका छन् ।
काठमाडौंमा नेपाल पत्रकार संघको नवौं अधिवेशन ( विसं २०३१ साल ) को तयारी चलिरहेको थियो । नेपाल पत्रकार संघको अधिवेशन कस्तो हुन्छ हेर्ने कौतुहलता थियो । शिशु दाइलाई गोरेटोको तर्फबाट अधिवेशनमा आफूलाई पनि लग्न अनुरोध गरें – तर उहाँले यस पटक अधिवेशनमा आफू नजाने राय व्यक्त गर्नु भयो । अधिवेशनको प्रतिनिधित्व मैले नै गर्नुपर्ने बताउनु भयो । म र केएल फूयलका लागि तयारी समितिलाई जानकारी पत्र र परिचयपत्र बनाई दिन अनुरोध गरें । उहाँले गोरेटोले प्राप्त गरेको तेश्रो पुरस्कार लिएर आउन अह्राउनु भयो ।
जीवनमा पहिलोपल्ट हामीले विराटनगरबाट काठमाडौं हवाई यात्रा गरेका थियौं । अधिवेशनमा भाग लिन जाने पत्रकारहरूका लागि विशेष छुटको व्यवस्था गरिएको थियो । गाडीको भन्दा कम खर्चमा हवाईजहाजमा चढ्न पाइएको थियो । काठमाडौं पुगेर तयारी समितिमा सम्पर्क राख्यौं र जानकारी पत्र बुझायौं । द्रोणाचार्यजीसँग तयारी समितिको भूइँतला अफिस मै भेट भयो । हामीले अधिवेशन हेर्ने रहरले गर्दा तपाईंको परिश्रम माथि नै हमला गर्न आएको जस्तो भयो । समस्या कसरी निदान गर्ने ? भनेर मैले उहाँसँग कुरा राखेपछि सहजै उत्तरमा भन्नु भयो ‘रुपैयाँको आवश्यकता छ भने लिनुहोला ।’
राष्ट्रिय सभागृहमा तत्कालीन नेपाल पत्रकार संघको नवौं अधिवेशन स्थल थियो । गोरेटोतर्फबाट मैले पुरस्कार र नगद चेकको रकम तत्कालीन संचारमन्त्री जोगमेहर श्रेष्ठबाट ग्रहण गरेको थिएँ – द्रोणाचार्यजी सँगको कुराकानी पछि प्रमाणपत्र सूचना विभागलाई जिम्मा लगाएका थियौं ।
मैले गोरेटोमा २०३१ साल देखि २०३४ साल सम्म काम गरें । विसं २०३५ सालदेखि मुलुकभरि नै पत्रपत्रिका प्रकाशनका लागि उभार आयो । म पनि अछुतो रहिन ।
त्यसपछि मैले आफ्नै प्रकाशन सम्पादनमा पत्रिका शुरु गरें । यही क्रममा मैले मोरङ जिल्लाबाट अभिवादन मासिक पत्रिकाको प्रकाशन शुभारम्भ गरेको थिएँ । अभिवादन पत्रिकाको प्रकाशन पश्चात् समय–समयमा काठमाण्डौं झापामा द्रोणाचार्यजीसँग भेटघाट क्रम जारी नै चलिरहेको थियो । अभिवादन मासिकको पछि मैले विसं २०३९-४० बाट तेस्रो विश्व साप्ताहिक पनि शुरु गरें । आफ्नै सम्पादन र प्रकाशनमा १०-११ बर्ष यो साप्ताहिक पत्रिका चल्यो । त्यसयता पत्रपत्रिकाहरुमा स्वतन्त्र लेखन, पुस्तक प्रकाशन र अध्ययन भ्रमणमा आफूलाई सक्रिय राखेको छु मैले ।
विसं २०४६ को जनआन्दोलन भन्दा अगाडि द्रोणाचार्यजीसँग भेट भएको थियो । म जनाअन्दोलन शुरु हुनु एकदिन अगाडि मात्र काठमाडौं आएको थिएँ । चिया पसलमा निकैबेर कुराकानी भयो । मैले उहाँलाई पूर्वाञ्चलका कविका कविताहरु निकाल्ने र त्यसका लागि ४-५ वटा कविता र फोटो मागेको थिएँ । उहाँले फोटोमा तुरुन्त हस्ताक्षर गरेर दिनु भयो । झण्डै २०-२५ वटा पार्सपोर्ट फोटो थियो उहाँसंग । उहाँको सटिक उत्तर थियो– ‘त्यसैले त तपाईंले भन्ने बित्तिकै दिन सकें । पत्रिकाहरुबाट कविता लिनुहोला जुन तपाईलाई मनपर्छ ।’
उहाँले मलाई व्यक्तिगत तथा पत्रकारिताका केही कुराहरु गर्नुका साथै केही कुराहरु सोध्नुभयो-‘जीवन कसरी धान्दै हुनुहुन्छ ? नानीहरुको शिक्षादीक्षा के कस्तो छ ? पत्रिका राम्ररी निकाल्दै हुनुहुन्छ ?’ मैले भनेको थिएँ-‘जसरी विराटनगरबाट अन्य पत्रिका निस्कन्छन् त्यस्तै किसिमबाट निस्कंदैछ तर निस्कनु र ननिस्कनु कुनै अर्थ छैन ।’ मेरो कुरा सुनेपछि उहाँले गम्भीर भएर घर जानुभन्दा अगाडि आफूलाई भेटेर जानुहोला भन्नु भएको थियो । घरबाट अलिक छिटोनै फर्कनु पर्ने खबर आयो । म त्यही दिनको बेलुकाको बसबाट घर फर्कें ।
अर्कोपल्ट काठमाडौं जाँदा कालिकास्थानको बाटोमा भेट भएको थियो । अघिल्लो चोटी आउँदा भेट नगरेको दुःख मनाउँदै यस चोटी भेटेर जाने विशेषतः पत्रिकाको संचालनमा आफ्नो तर्फबाट सोचेको कुरा गर्नु भएको थियो । संयोग त्यस पटक पनि भेट गर्न पाइन ।
म शहरी बसाइँ अर्थात् तरहराबाट इटहरी सरेको ३-४ दिन मात्रै भएको थियो । मेरो घरमा सिर्जना पुरस्कार समितिलाई सुदृढ र सक्षम बनाउने सम्बन्धमा भवानी घिमिरे, वैजयन्ती मिश्र, इन्दु गौतम, वद्रीविशाल पोखरेल, सागर तिमिल्सना, भरत गौरीपिपली, मधु पोखरेल, महेश श्रेष्ठ समेतको सहभागीमा कसरी कोषलाई बृद्धि गर्ने विषयमा छलफल २०५० सालतिर भएको थियो । त्यस अबसरमा मैले द्रोणाचार्यले पत्रिका संचालनार्थ मसँग गर्नु भएको कुराहरु र भवानी घिमिरे दाइसँग भेट्न अनुरोध गर्नु भएको कुरा सबैको उपस्थितिमा गरेको थिएँ ।
द्रोणाचार्य क्षेत्री क्यान्सरसँग जुझिरहनु भएको थियो । उपचारको क्रममा द्रोणाचार्यलाई दिल्ली लगिएको थियो । अल इण्डिया मेडिकल इन्स्टिच्यूट दिल्लीतर्फ २०५० जेष्ठमा चेक गराउँदा क्यान्सर भएको पुष्टि भएको थियो । उपचारको क्रममा २०५० साल असार ६ गते उहाँको दुखद निधन भयो । त्यसबेलासम्म उहाँ यति चाँडो हामीबाट बिदा लिने कुराको सुइँको पनि पाएका थिएनौं ।
म आफ्नो कार्य व्यस्तताले गर्दा द्रोणाचार्यजीले दुई-दुई पटक विशेष सल्लाह र सहयोगका लागि कुराकानी गर्न बोलाउँदा पनि मेरो लापरबाहीले जान सकिन । म यसबेला पश्चाताप सिवाय गर्न के सक्छु ? नयाँयुगका संवाहक सहयोगी द्रोणाचार्यजीले लिनु भएका अठोटलाई दोहोर्याउँदै उहाँले बोक्नु भएको आस्थाका झण्डालाई अविरल रुपमा लाखौं हातहरु तँछाड मछाड गर्दै लम्किरहनु त्यसका लागि हामी सबै निरन्तर सक्रिय भयौं भने त्यो नै उहाँप्रति साँचो श्रद्धाञ्जली हुनेछ ।
अभिवादन द्रोणचार्य !
तिमीले भन्यौ
“आउ पत्रकारिता गरौं,
यसलाई उर्बरा बनाउँ
खनजोत र गोडमेल गरौं ।”
तिम्रो बोलीमा विश्वास रोप्दै,
म राजविराज हान्निएको
हिजै जस्तो लाग्छ
मेरा जीवनका अन्तरंग दिनहरु बिताएँ ।
राजविराजका गल्ली र चौकहरुमा
पत्रकारिताका प्रारुपहरु
जिल्ला–किल्लामा
पहाडी भीर, पाखा, कन्दराहरुमा
राष्ट्रका सन्देश उद्घोष गरेका थियौ
पहाडका उकाली–वराली गरेका थियौ ।
तिम्रो स्नेहको वात्सल्यतामा
देशाटन गरेको हिजै जस्तो लाग्छ
समय घर्केको पत्तै भएन
काशावियन्काको कविता झैं
म अझै उभिरहेको छु ।
तिम्रो आदेश शिरोधार्य गरेर
कलमलाई सुस्ताउन दिएको छुइन मैले
अझै कलम चलाई रहेको छु
राष्ट्रघातका विरुद्ध कलम तिखार्दैछु
तिम्रो आदेशको पालनामा
आफूलाई सतिसाल भै उभ्याइ रहेको छु ।
प्रिय द्रोणाचार्य !
ममा राष्ट्रिय चेतको धुकधुकी रहुन्जेल
मानव जातिको मुक्तिको पक्षमा
बाँचुञ्जेल तिम्रो आदेशको पालना गरिहनेछु ।
– आइतवार ३ असार २०७७
‘मेरो पत्रकारिता विगत र वर्तमान’ नामक पुस्तक २०५१ सालमा नेपाल पत्रकार संघ उदयपुर शाखाले प्रकाशित गरेको थियो । मलाई पत्रकारिता प्रवेश गराउने अग्रज द्रोणाचार्य क्षेत्रीका सम्बन्धमा त्यस पुस्तकमा मैले उल्लेख गरेका केही प्रसंगहरू र केही थप सन्दर्भहरूसहित मेरा पत्रकारिताका श्रेयदाता र आदर्श अग्रज द्रोणाचार्यको २७ औं स्मृति दिवसका अबसरम यो आलेख प्रस्तुत गरेको छु ।