सीमापारीको क्वारेन्टिनबाट
|
तीन-तीन तहका सरकार भएर के गर्नु ?
जब आफ्नै जनतालाई नागरिक ठान्दैनन् ।
मातृभूमीलाई सम्झेर के गर्नु ?
जब जनता आफ्नै देशमा फर्कन पाउँदैनन् ।
‘बाँचे आफ्नै देशको हावा खाएर बाँचौला,
मरे आफ्नै देशको माटोमा मरौंला’ भन्दा पनि,
अर्कै देशको नागरिक जस्तो गर्छन ।
भन्छन, ‘बाँचे पनि त्यतै बस,
मरे पनि त्यतै मर,
बरु गाड्ने पैसा पठाइदिउला’ ।
तर, ‘अब बाँच्ने दिन धेरै छैनन्,’ भन्ने भएपछि,
आफ्नै जन्मभूमी फिर्न मन लाग्नेरैछ,
‘रात पर्ला की, टाउको दुख्ला की’ भन्ने डर त,
आँफै भाग्दो रहेछ ।
दुई माइलको अफिस टयाक्सिमा जाने म,
दुई सय माइल हिडेरै आइपुगें नेपालको सीमामा ।
थाहा छइन, म किन फर्कि आँए ?
देशको माया लागेर आँए ?
बुढा बाउको मायाले डोरायो ?
कि आफ्नै ज्यानको मायाले पठायो ?
यी सबै कुरा सोच्नै छाडीसकें ।
मेरो त एउटै अर्जुन दृष्टि थियो,
कसरी सप्राण घर पुग्ने ?
तर आगनीमै आइपुगेर,
आफ्नै घर छिर्न पाइन म ।
सीमामा गस्ति गर्ने आफ्नै काकाको छोराले,
नचिनेको जस्तो गरेर रोक्यो ।
भन्छ, ‘ए दाइ, यता आउन पाइदैन ।
सीमा पारीकै क्वारेन्टिनमा बस्नुस ।’
बिदेशीको क्वारेन्टिनमा,
चिसो भुइमा, सुकुलको भरमा,
पराइले नै दिएको चपाती र चटनी खाए पनि,
प्राण त मेरै देशको हावाले धानेको छ ।
आखिर हावालाई सीमाको सिपाहीले रोक्न सक्दोरहेनछ ।
सीमापारीको आफ्नै माटो देखेर,
मन कति खुशी हुदो रहेछ, हेर ।
त्यसैले त घरी घरी आँखा पारी तिर नै बिछ्याउछु ।
त्यो अग्लो पात्लेको डाँडा नभएको भए त,
आफनै गाँउ पनि देखिनेरहेछ ।
त्यो अलिकति बादल पूर्वतिर सर्यो भने त,
बालापन बिताएको मामा घर नै देखीनेरहेछ ।
म पर्खिबसेको छु, त्यो बादल कहिले हटछ भनेर ,
तर, झन पश्चिम तिर गएर पात्लेको डाँडा पनि छेक्ने हो की ?
त्यो बादल हट्नु भन्दा पहिला नै घर पुगीसक्ने हुँ की ?
त्यतीन्जेल सम्म त यो प्राण धानुला नी ।
प्राणै धान्न सकिन भने पनी, अब त केही दुखेसो छैन ,
मरे भने पनि मेरो देशको माटोमा विलीन हुन त पाँउला नी ।
सासै नभएको मान्छेलाई त सिमाले नछेक्ला नी ।
हिजो सँगै आएको साथी, रामे त लुकीछिपी पारी पुगेछ ।
‘चौरासी पुगेकी आमालाई देख्ने यो धोकोलाई,
सिमाले रोक्न सक्दैन’ दोस्त भन्थ्यो ।
मध्य रातको चुक जस्तो कालो अध्यारोमा,
चोर बाटो हुदै सिमा त काटेछ केटाले,
तर आफ्नो माटोमा मन अघाइन्जेल सास फेर्न नपाँउदै,
सिपाही हरुले देखेछन,
विचरा ५०० माइल त हिडेर आयो,
तर ५ माइल परको आफ्नो घर पुग्न पाएन,
ठुलेठाँटिको स्कुले क्वारेन्टिन मा अन्तिम सास फेरेछ ।
कहिल्यै स्कुल नगएको रामे,
आज दश कक्षाको ब्ल्याकबोर्ड अगाडी,
फस्र्ट बेन्चमा लमतन्न परेर सुतीरहेको छ ।
कहिल्यै नउठ्ने गरी सुतिरहेको छ ।
उसकी आमाको घिर्घिटोले, तीन माइल पनि तान्न सकेन उसको आयु ।
बुढी आमाले आफ्नै आगनमा आएको छोरालाई एक फेरी छुन पाइनन् ।
आफनो मुटुको टुक्रालाई, च्याप्प समातेर रुन पाइनन् ।
वर्षौदेखि जोगाइराखेको त्यो आँशु व्यर्थ भयो ।
आँखाबाट खस्न नपाएको आँशुको के अर्थ रह्यो ?
पन्ध्र दिन अघि ‘लाहुर’ छोड्दा प्लाष्टिकमा राखेको चिउरा,
एक मुठि आँफुलाई राखेर दुई मुठि मलाई दिदै भन्थ्यो,
‘अब त आफ्नै घर आइयो, अब केलाई साँच्नु चिउरा ?
यहाँको त हावा खाएर पनि प्राण रहन्छ ।
यहाँको त पानी नै अमृत हो ।
यहाँका मान्छेको आवाज नै संगित जस्तो लाग्छ ।
आफ्ना मान्छेले त पिटे पनि थेरापी जस्तो लाग्छ ।
रिसाए पनि घुर्काएको जस्तो लाग्छ ।’
मातृभूमी एक्लै हिडेको थिएन रामे ।
श्रीमती र ७ वर्षे छोरालाई च्यापेर पाइला सारेको रहेछ ।
‘पाँच दिनसम्म त छोरा टाठै थियो’ भन्थ्यो,
छैटौं दिनको राती हिड्दा हिड्दै,
बर्लङगै लडयो रे, कहिल्यै नउठ्ने गरी ।
‘श्रीमती त अस्तिसम्म जिउदै थिइ’ भन्थ्यो,
‘दिनभरी हात समाएर हिडाउँथें,
रातभरी बोकेर बाटो कटाउँथे,
हाडछाला मात्र बाँकी थियो मेरी खसमको ।
अस्ति राती त बोकेर आँउदै थिए ।
बोल्नै छाडी,
बिसाएर हेरेको त, सन्सारै छोडिछ’ भन्थ्यो ।
रुँदारुँदा राता भएका आँखामा,
आँशु त उसको छोरालाई थन्क्याउदा नै सिद्धिसक्यो रे ।
‘खसमलाई त दुई थोपा आँशु पनि चढाउन पाइन’ भन्थ्यो ।
बुढी आमालाई भेट्न सकेन रामेले,
छोरा र खसम सँगै जान लेखेको रैछ ।
तेरो आत्माले शान्ति पाओस ‘दोस’ ।
यो सीमाले छेकिराख्यो भने,
म पनि तँलाई भेट्न आँउनेछु ।
तँलाई भेट्न छिट्टै आँउनेछु ।
Heart touching.