चिहान

उसको रगत र पसिना
देशको माटोलाई
कमलो बनाउन प्रयोग भइरहन्छ
त्यही माटो
उसैलाई नै बहिस्कार गरिरहन्छ
किनकि देशको कमलो माटो
उसलाई चिहान खन्ने बेलामा चाहिन्छ ।

यो देश
उसको पनि देश हो कसरी भनौं
यो देश
अब देश रहेन
चिहानघारीको
एउटा निकुञ्ज मात्र हो कसरी भनौं
सगरमाथा झैं जिउँदै उभिएको
यो देशलाई
उसको पनि देश हो भनौं भने
आधी किस्ता उमेर चुक्ता नगर्दै
चिहानघारीमा अपुरिनु परेको छ ।

यी चिम्सा आँखाहरु देशको सबै भूगोलमा डुलाउँछु
देश त पहिलो दर्जा भनिनेहरुको पो रहेछ
दोस्रो, तेस्रो- दर्जाहरुको त देश नहुँदो रहेछ
दर्जा नै नहुने ऊजस्ताहरूको त
मात्र चिहान हुँदो रहेछ ।

पहिलो दर्जा भर्सेस दोस्रो तेस्रो दर्जा
देश भर्सेस चिहान
यो दुई शीर्षकहरुलाई
भिडाउन मलाई हिम्मत नै आउँदैन
तर ममा उसलाई थमौती गरेर दुई कुरा सोच्दैछु
ऊ दर्जाबिहिनबाट दोस्रो तेस्रो कहिले होला
दोर्स्रो तेस्रो बाट पहिलोमा बढुवा कहिले
उसले चिहानलाई देश सम्झिन कैले पाउने ?

जब देशको नश्लीय राज्यसत्ता
उसको पहिचानमाथि नै शङ्का गर्न थाल्छ
उसको पृथिक अस्तित्वमा नै प्रश्न गर्न थालिन्छ
देश खोज्दाखोज्दै
उसको चिहान भेटिन थाल्छ
उसको मृत्युमाथि
नश्लीय आँखाखाहरुले प्रश्नहरु गर्न थाल्छन्
देशलाई औधी माया गर्ने
उसको मुटुमाथि पनि प्रश्न गर्न थालिन्छ
हो उसको मुटु
देशलाई औधी माया गर्ने
तर सीमान्तकृत मुटु हो
चिहानघारीमा पो भेटिन्छ !

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *