गन्तव्यहीन यात्रा

सुन्दर सपनाहरु आँखाभरि
स्वर्णिम कल्पना मस्तिष्कभरि
असीमित माया मन मुटुभरि
नयाँ संसारको नयाँ उल्लास
हृदयभरि, छातीभरि
आफ्नो सम्पूर्ण परिचय त्यागेर
नयाँ परिचयका साथ, नयाँ उमङ्गका साथ
नयाँ जीवन जिउन, भित्रिएकी थिई ऊ !

तर उसले सोचेभन्दा
विपरीत भए भोगाइहरु
उसले चाहेकोभन्दा धेरै धेरै भिन्न भए
उसका दिनचर्याहरू
उसलाई हेरक कुरामा
जानी जानी अप्ठेरो पारियो
सुगम बाटो हुँदाहुँदै
चट्टानमा चढ्न लगाइयो
सुख र खुशी के हो
अनुभूति नै गर्न पाइन उसले !

पीडा र व्यथाबाहेक उसले पाएको
केवल उपहास, केवल अपहेलना !
हुन त त्यहाँ ऊजस्तै मान्छेहरु नै थिए
तर मानवता विहीन, भावना विहीन !

उसले चट्टानमा पनि चढेर पार लगाई
मैदानमा पनि दौडी
पहिरोमा पनि कुदी
अनगिन्ती खहरेहरु पनि तरी
जीवनका मोडहरुमा जे जे आए
सबैलाई पछि छोडेर ऊ अगाडि बढी !

जिन्दगीले उसलाई सधैं परीक्षा लिइ रह्यो
उसले परीक्षा दिई नै रही इमानदारीसाथ
उसको मूल्यांकन सधैं उल्टो गरियो
नतिजा उसको पक्षमा कहिल्यै भएन
जति मेहनत गरेपनि सफल हुन सकिन ऊ !

उसका खिइएका हात पाउ,
खाडल परेको आँखा
बारम्बार ओठबाट निस्किने सुस्केरा
साक्षी थिए उसको संघर्षको
उसको कष्टकर यात्राको
तर पनि प्रमाण पुर्याउन सकिन
योग्यता सावित गर्न सकिन उसले
त्यसैले, ऊ वर्षौं पछि अयोग्य ठहरिई
गन्तव्यबाटै, गन्तव्य छुट्यो उसको
जिन्दगीको यात्रा अधुरै रह्यो
जीवनको अन्तिम चरणमा
ऊ निकालिई आफ्नै घरबाट
अनि शुरु भयो उसको गन्तव्यहीन यात्रा !

Add a Comment

Your email address will not be published. Required fields are marked *