हरिप्रसाद गोर्खाराईको कथाकारिता : परिचय

भारतीय नेपाली साहित्यका महान स्रष्टा हरिप्रसाद गोर्खाराई स्रष्टा मात्र नभएर द्रष्टा पनि हुन। उनले हाम्रो भाषा, साहित्य र संस्कृतिको संरक्षण र उत्थानका लागि जे जति गरे त्यसका लागि उनी अमर रहने छन। बहुभाषाका ज्ञाता उनी भारतीय नेपाली साहित्यका गजुर नै थिए। शुद्ध चित्त, निरहङ्कार र परोपकारको भावना भएकोले उनी व्यवहार र बोलीचालीमा शान्त, सौम्य र शिष्ट थिए। त्यसैले उनको व्यक्तित्व आकर्षक, मनमोहक थियो।

हरिप्रसाद गोर्खाराईले कथा, कविता, नाटक, यात्रा-संस्मरण आदि सिर्जनात्मक विधाहरुका साथै विभिन्न जन-जातिहरुका भाषा र भाषिकाहरुका शब्दकोश निर्माणमा पनि ठूलो सहयोग पुर्याएका छन। प्रकृतार्थमा, उत्तर-पूर्वी भारतमा भाषिक-सांस्कृतिक एकताका लागि मरिमेटने गोर्खाराईलाई राष्ट्रिय ऐक्यका प्रतीक रुपमा लिन सकिन्छ।

उनका नेपाली कथाहरु शारदा, गोर्खा सेवक, हाम्रो कथा, भारती, गोर्खा, दियालो, उदय, सुमन आदि पत्र-पत्रिकाहरुमा प्रकाशित भएका हुन भने असमिया भाषामा लेखिएका लेखहरु जेउति, बाँही, आवाहन, सौमारज्योति, रामधेनु, मणिदीप, बरदैसिला आदि पत्रिकामा छापिएको कुरा अन्तर्वार्तामा भनेका हुन। मित्रदेव महन्त, पद्मनाथ गोहाञिबरुवा, लक्ष्मीनाथ बेजबरुवा, अम्बिकागिरि रायचौधुरी जस्ता असमिया साहित्यका शिखर पुरुषहरुको सान्निध्य पाएका गोर्खाराईले असम साहित्य सभासँग आजीवन सक्रिय रुपमा जडित रहेका हुन।

हरिप्रसाद गोर्खाराईका नेपाली भाषामा कथाहरु सन १९३८ देखि लेखिएका भन्ने थाह लाग्छ। उनको दुखमय इतिहास शीर्षकको कथा काठमाडौबाट प्रकाशित शारदा पत्रिका (अङ्क ३/४) सन १९३८ मा छापिएको उल्लेख पाइन्छ। त्यसपछि उनका कथाहरु नेपाल तथा भारतका पत्र-पत्रिकाहरुमा प्रकाशित हुन थाल्छन। यस निबन्धकारलाई प्राप्त भएका दुइ दर्जन जति कथाहरुमा चौधवटा कथा यहाँ बदनाम हुन्छ (१९७४) मा समेटिएका देखिन्छन भने अरु केही कथा असंकलित नै रहेका छन।

दुखमय इतिहास, धनेको थेसिस, एउटा सलाम, गोर्खाको मोडेल, कमाने केटी, मेरो एउटा नागा हुकी, बिर्सेको कुरा, मन भित्र भित्रै, बैरागी आश्रम, भ्रान्त रक्ताक्त बिहंगम, एउटा कागजको खोस्टा, नेपालीको माया, नेपाली साहित्य चक्रमा सुनेका तीन कथा, बनानी बनकी सुन्दरी, दिनान्तका जोर पन्छी, धरित्री महल, जिन्दगीको केही क्षण, मोडी, ब्य़ांक पास बुक, यहाँ बदनाम हुन्छ, दिवांगता दमयन्ती, एकपति या बहुपति

     यहाँ बदनाम हुन्छ शीर्षकको यो कथा मदन र नीलाम्बरीको प्रेमलाई मुख्य़ विषय बनाएर लेखिएको रोचक कथा हो। नीलाम्बरीको मुखबाट उच्चारित यहाँ बदनाम हुन्छ भन्ने वाक्य़ांशलाई लेखकले बार बार उल्लेख गरेका छऩ अनि उक्त कथाका साथै पुस्तकको पनि सोही नाम राखेका छन। पानी-धाराको छोटो भेटघाट र बातचीतमा अंकुरित मदन र नीलाम्बरीको प्रेम गहिरो हुँदै जान्छ।

पन्द्र वर्ष पछि नीलाम्बरीका मामाबाट नीली त मरी भन्ने दुखद समाचार सुनेर मदन बेहोश भएर लड्छ र त्यतिखेरै उसको मृत्यु हुन्छ। यसबाट कथाकारले ती प्रेमी युगलको प्रेमको सम्बन्धलाई अस्वाभाविक रुपमा प्रस्तुत गरेको अनुभव हुन्छ। तर हठात् भएको अत्यधिक आनन्द वा शोकले मान्छेको हृदयमा क्रिया गर्छ र सोही काऱणमा मान्छेको मृत्यु हुने कुरालाई अस्वीकार गर्न सकिंदैन। रागात्मकता, हार्दिकता र सम्प्रेषणीयताका दृष्टिमा प्रस्तुत कथा जति रसिलो र प्रभावकारी छ त्यति नै मर्मस्पर्शी र खँदिलो छ। यसलाई संकलनको उत्कृष्ट कथा हो भन्न सकिन्छ।

हरिप्रसाद गोर्खाराई/मधुपर्कबाट

प्रस्तुत कथामा कथाकारले हाम्रो दयनीय आर्थिक अवस्थालाई खुलासा पारेका छन। यस कथाको मदन महाकवि देवकोटाको मुनामदनको मदन जस्तै देखिन्छ। गोर्खाराईका कथाको मदन पनि प्रशस्त धन कमाएर उसकी प्रेमिका नीलम्बरीको सर्वाङ्ग सुनै सुनले र हीरा मोतीले सजाउने सपना बोकेर मलयातिर जान्छ। देवकोटाको मदनले भोटबाट सुनको थैला ल्याए जसरी गोर्खाराईको मदनले पनि मलयाबाट धेरै धन बटुलेर ल्याउँछ। दुबै कथाको अन्त्य ट्रेजिक हुन्छ। धन कमाएक घर फर्किँदा दुबैका प्रेयसीको मृत्यु भइसकेको हुन्छ। यस कथाको माध्यमबाट कथाकार गोर्खाराईले हाम्रो देश वा समाजमा आफ्ना मनका इच्छाहरु व्यक्त गर्दा, हकका कुरा गर्दा वा अस्मिताका कुरा गर्दा अरुले उपहास गर्छन भन्ने डरले हामी सधैँ पीडित छौँ अनि सोही कारणले आफ्नो चाहनालाई व्यक्त गर्न सक्तैनौं र त्यसैले अधिकारबाट व़ञ्चित छौं भन्न खोजेका छन। यहाँ बदनाम हुन्छ खण्डवाक्यलाई अनेक पल्ट उल्लेख गरिनु, शीर्षक पनि सोही राख्नुबाट गोर्खाराईले यो खण्डवाक्यलाई निकै महत्व दिएर प्रतीकात्मक रुपमा प्रयोग गरेको बुझिन्छ।

गोर्खाको मोडेल गोर्खाराईको चर्चित कथा हो। यस कथामा एक गोर्खा सुबेदारको माध्यमबाट नेपाली जातिको चारित्रिक विशेषतालाई देखाउने प्रयास गरिएको छ। डाका लाग्ने ठाउँमा चलन्त रेलगाडीको एउटा डब्बामा टर्जा घोलो भन्दै कसैले ढक्ढक्याउँदा डब्बाभित्रका यात्रुहरु त्रसित हुन्छन। दैलो खोल्न कसैले आँट गर्दैनन। त्यो मान्छे दैलाको शीशा फुटाएर चुकुल खोल्दै भित्र पस्छ। आगन्तुक भारतीय सेनाका गोर्खाली सुबेदार रहेछन भनेर चिनेपछि र बातचीत गर्दा त्यहाँ निकै रमाइलो वातावरणको सिर्जना हुन्छ। कथामा संवाद शैलीको सुन्दर प्रयोग गरिएको छ। आगन्तुक सुबेदार फौजी पारामा भन्छन—- “क्या गर्नुहुन्छ हामी कोही नेपालमा छौं त कोही भारतमा, कोही पाकिस्तानमा पनि, तथा पर-पर बर्मा, मलया, होङकोङसम्म पनि छरिएका छौं।“

लेखक भन्छन— “हो तर, हाम्रो राजनैतिक हक कहीं छैन।“

सहयात्री जीवनलाल—“विधान बन्दैछ नि विधानले हामीलाई हक दिनेछ।“ जीवनलालका कुरा सुनेर सुबेदार मुसुक्क हाँस्दै ठट्यौलीमा घतलाग्दो कुरा गर्दछन जो मननयोग्य छ।

कथानक रेलयात्राको घटनामा आधारित संक्षिप्त र रोचक छ। परिवेश, पात्र विधान र कथानकको बुनोट चटक्क मिलेको र स्वाभाविक हुनाले यो एउटा उत्कृष्ट कथा हो।

मेरो एउटा नागा हुकी नागाभूमिमा बसोबास गरेका तथा रैथाने नागा जातिसँग नेपाली जातिको मैत्रीसम्बन्धलाई लिएर लेखिएको सफल कथा हो। प्रस्तुत कथामा कथाकार गोर्खाराईले ताख्खे नागाका चारित्रिक विशेषता देखाउनुका साथै नागा युवाहरुमा जागृत भएको राजनैतिक चेतना तथा विप्लवी गतिविधि माथि प्रकाश पारिएको। ताख्खे नागा कथाकारको हुकी (मित्र) हो। हातमा लामो दाउ बोकेको, टाउकामा धनेशको प्वाँख सिउरेको, लामो झोला भिरेको अर्धनग्न ताख्खेको डरलाग्दो रुप देखेर केटाकेटीहरु डराउँथे। कथाकारले ताख्खेको रुप जे जस्तो भए पनि उसलाई उदार, मिलनसार, दयालु र सबै जातिहरुमा मेलमिलाप चाहने व्यक्तिका रुपमा चित्रण गरेका छन। लेखकका नातिले ताख्खे बाजेलाई लामो खुकुरी ल्याइदिनु भन्दा ऊ भन्छ— “नाति राजा, कसैलाई नकाट्नु, आफ्ना छिमेकीलाई आफुलाई झै प्रेम गर्नु” भन्छ। तर उसका छोराको विचार उसँग मिल्दैन। ताख्खेको छोरो ऩागाभूमिलाई स्वतन्त्र पार्ने सपना देख्छ अनि त्यही सपनालाई साकार पार्ने लक्ष लिएर विद्रोही गुटमा मिसिन्छ। बाबु-छोराको विचारको संघात करुण परिणतिमा टुङ्गिन्छ। एक दिन ताख्खेका छोराले बाबुसँग उसको विद्रोही गुटका लागि खेत बेचेर राखेका पैसा माग्छ। ताख्खेले म भारत मातासँगै बस्छु भन्दै विच्छिन्नताबादी संस्थाका लागि पैसा दिन अस्वीकार गर्दा छोराले उसलाई हत्या गरेर पैसा लाऩ्छ।

गोर्खाराईको भ्रान्त रक्ताक्त विहंगम शीर्षकको कथा प्रतीकात्मक छ। यसमा मदन र मानुको असफल प्रेमको करुण कथा छ। दिनभरि दशनङ्ग्रा खियाएर काम गर्दा पनि छाक टार्न नसकेका श्रमिकका निम्ति आन्दोलनमा प्रवृत्त हुने मदन मणिपुरबाट लखेटिन्छ। मानुले उसलाई आन्दोलन पथमा जान बाधा दिएकी थिई। मदनले एउटा बंगाली परिवारको आर्थिक सहायतामा लण्डनबाट एम.बी.बी.एस. पास गरेर त्यसै परिवारकी केटीलाई बिहे गर्छ। एकपल्ट मदनलाई हृदय सुम्पिसकेकी मानुले बिहे नगरी कुमारी नै भएर बसेकी हुन्छे। यो कुरा थाहा पाएर मदन अन्तर्द्वन्दले पीडित हुन्छ। यसरी उसको पारिवारिक जीवन पनि असफल बन्छ। यस कथामा मानसिक र भौतिक वातावरणको चित्रण पाइन्छ । मानु जोरहाट कलेजकी प्रोफेसर र मदन कोहिमा अस्पतालमा सिविल सर्जन—दुबै भौतिक रुपले सम्पन्न देखिन्छन तर दुबै नै मानसिक रुपले विध्वस्त छन।

भ्रान्त रक्ताक्त विहंगम जस्तै कमाने केटीमा पनि असफल प्रेमको चित्रण पाइन्छ। यस कथामा भने सम्पन्न परिवारको युवक डाक्टर राममणिको चिया कमानमा काम गर्ने तल्लो वर्गकी एउटी युवती शिरिमायासँग प्रेमको साइनो गाँसिन्छ। उता सोही चिया कमानको मेनेजर पनि शिरिमाया प्रति आकर्षित हुन्छ। ब्यांक पास बुक कथाको विषय पनि माया पिर्ती नै रहेको छ। यस कथाका लोग्ने-स्वास्नी रतन र रानीको बाझाबाझ प्रसङ्गले गुरुप्रसाद मैनालीको परालको आगो कथाका लोग्ने-स्वास्नी चामे र गौंथलीको झझल्को आउँछ।

मन भित्रभित्रै —यस कथामा बीरे र मायाको असफल प्रेमको कथा छ। गरीप हुनुको कारणले आफुलाई मायालाई पत्नीको रुपमा पाउन अयोग्य ठान्ने बीरे आर्मीमा जान्छ र सुबेदार मेजर भएर घर आउँदा मायालाई विधवाको रुपमा देख्छ। उसले मायालाई बिहे गर्न प्रस्ताव दिन्छ तर मायाले बीरेलाई मन पराए पनि आफु विधवा भएको कारणले बीरेको प्रस्तावलाई अस्वीकार गर्छे। यस कथामा माया र बीरेको प्रेमलाई पूर्वस्मृतिको क्यानभसमा चित्रण गरिएको छ। प्रेमको आगोमा दुबै प्रेमी रापिएका हुनाले शीर्षक सुहाउँदो छ।

एकपति या बहुपति शीर्षकको कथामा महत्वपूर्ण जानकारी दिइएको छ। यो कथा नेपालीहरुको बसोबासो भएको पूर्वोत्तर भारतको एउटा गाउँमा भएको घटनामा केन्दित छ। लेखकहरुको एउटा जमघटमा एकपति या बहुपति विषयमा बहस चल्छ। सदस्यहरुले आ-आफ्नो विचार व्यक्त गर्दछन। यस कथामा महाभारतमा वर्णित द्रौपदीको प्रसङ्ग उठान गर्दै देरादुन, तिब्बत र सिक्किमतिर पनि बहुपति प्रथा चलेको छ भन्ने उल्लेख गरिएको छ।

बैरागी आश्रम कथामा सांसारिक मोहजालबाट मुक्ति चाहने सिद्धयोगीहरुको मनभित्र पसेर सत्य कुराको उद्घाटन गर्ने प्रयास गरेको देखिन्छ। कथामा पर्शुराम नाम गरेको एउटा सुनार दूरारोग्य रोगले पीडित भएर यो संसारबाट मुक्त हुने उद्देश्यले ईश्वरको आराधना गर्दछ। ईश्वरले उसको प्रार्थना सुनेर उसलाई जोगी हुने सलाह दिन्छन। जोगी बने पछि उसको नाम अजयानन्द हुन्छ। उसको अन्तिम इच्छा धरतीमा समाहित हुनु थियो। त्यसै समयमा आएको प्रलयङ्कारी भूकम्पमा अन्य योगीहरुका साथ उ बसेको बैरागी आश्रम ब्रह्मपुत्रमा विलीन हुन जान्छ। यसरी उसको अन्तिम इच्छा पुरा भएर कथाको समाप्ति हुन्छ।

बैंक पासबुक छोटो र सरल सामाजिक यथार्थवादी कथा हो। यस कथामा एउटा सानो कुरालाई लिएर रतन र रानीको वैवाहिक सम्बन्धमा फाटो भएको देखाइएको छ। रतन र रानीको संसार सुखले चलेको थियो। एकदिन रतन वनमायासँग हाँसो-ठट्टा गर्दै जिस्किन्छ। त्यो देखेर रानी ईर्षा भावनाले ग्रसित हुन्छे। उसको लोग्ने वनमायासँग सल्किएको ठानेर घरै छोडेर जाने निश्चय गर्छे। रतनले पनि उसलाई बैंक पासबुक दिँदै जति चाहिन्छ त्यति पैसा झिक्नु भन्छ। रानी पासबुकतिर हेर्छे अनि अतीतका माया पिर्तीका कुरा सम्झिन्छे। उसका मनमा छाएको शङ्काको बादल बिस्तारै हट्तै जान्छ।

संक्षेपमा, समग्रमा भन्नु पर्दा हरिप्रसाद गोर्खाराईका सबै कथाहरु नै यथार्थ र वास्तविकतामा अडेसिएका हाम्रै सुख-दुखका कथा हुन। उनले विश्वको विभिन्न क्षेत्रमा छरिएर बसोबास गरेका नेपालीहरुको जीवनलाई आधार बनाएर विभिन्न पक्षहरुलाई रागात्मक शैलीमा चित्रण गरेका छन। गोर्खाराईका कथामा नेपाली मुटुको धडकन पाइन्छ। पात्र विधान, परिवेश योजना र कथानक संरचनाका दृष्टिले गोर्खाराईका सबै कथाहरु नै सफल र स्तरीय छन।

हरिप्रसाद गोर्खाराई उत्तरपूर्वाञ्चलका पहिलो आधुनिक नेपाली कथाकार हुन। गोर्खाराईले उनका कथाहरुमा उत्तरपूर्वाञ्चलका विभिन्न क्षेत्रमा बसोबास गरेका नेपालीहरुको जीवन भोगाइ र मनोदशालाई अभिव्यक्त गरेका छन। उनका केही कथामा सैनिक जीवनको चित्रण पाइन्छ भने कतिपय कथामा युवा-युवतीको प्रेमलाई विषय बनाइएको देखिन्छ। उनका धेरजसो कथा नै घटना प्रधान भए पनि मेरो एउटा नागा हुकी जस्ता चरित्र प्रधान कथा पनि उनले लेखेका छन। प्रवृत्तिगत रुपमा हेर्दा गोर्खाराईका कथाहरुले स्वच्छन्दतावादी र आदर्शवादी प्रवृत्तिलाई अँगालेको देखिन्छ। गोर्खाराईका मन भित्र भित्रै, कमाने केटी, यहाँ बदनाम हुन्छ, ब्यांक पास बुक, दिनान्तका एक जोर पन्छी, दिवांगता दमयन्ती, भ्रान्त रक्ताक्त विहंगम जस्ता कथाहरुमा मनोविश्लेषणात्मक प्रवृतिको झलक पाइन्छ। चरित्र चित्रणका दृष्टिले पनि गोर्खाराईका कथाहरु रमणीय छन। भाषा शैलीका दृष्टिले हेर्दा उनका कथाहरु सहज, सरल र सरस छन अनि समालोचक डा. भीमकान्त उपाध्यायका अनुसार उनी गुरु प्रसाद मैनाली र रुपनारायण सिंहका नजीक छन। गोर्खाराईका कतिपय कथाहरुमा अंग्रेजी तथा स्थानीय असमिया, नागा भाषाका वाक्य र शब्दको प्रयोग गरिएको देखिन्छ। नेपाली, असमिया, अंग्रेजी र निकैवटा स्थानीय जनजातीय भाषाका ज्ञाता गोर्खाराई स्थान, काल र पात्र अनुसारको भाषा-शैली प्रयोग गर्न सिपालु छन।

पात्र विधान र परिवेश

कथाका पात्र-पात्रहरुको चयनमा कथाकार निकै सचेत देखिन्छन। उनका पात्रहरु जीवन्त, आकर्षक र गतिशील छन। गोर्खाराईका धेरजसो कथामा प्रेम-प्रणयका कुरा पाइन्छन भने कतिपय पात्र प्रगतिशील विचारधाराका छन। उनका कथाहरुमा निम्न वर्गदेखि उच्च वर्गसम्मका शिक्षित अशिक्षित सबै पात्रहरुलाई उत्तिकै महत्व दिइएको छ उनि तिनले नेपाली समाज, भाषा-संस्कृति र जनजीवनलाई प्रतिनिधित्व गरेका छन। उनका पात्रहरु अन्तर्मुखी र वहिर्मुखी दुवै प्रकारका छन। परिवेश सन्दर्भमा भन्नु पर्दा राईका कथाहरुले आञ्चलिक परिवेशलाई नै समातेका छन। उनका कतिपय कथाहरुमा समय र स्थानको स्पष्ट उल्लेख हुनु महत्वपूर्ण विशेषता मानिन्छ। नागाल्याणड, कोहिमा, मणिपुर, डिमापुर, लामडिङ, देरादुन, भाक्सु, बर्मा, सिक्किम, खर्साङ, असम, पर्शुराम आदि स्थानहरुको चित्रणले राईका कथाहरुलाई जीवन्तता प्रदान गरेको छ। दोस्रो विश्वयुद्धको त्रासदी अनि शरणार्थीहरुको दूरवस्थाको परिवेश उनका कथामा चित्रित भएको पाइन्छ। शहरिया परिवेश भन्दा ग्रामीण परिवेशलाई कथाकारले अधिक महत्व दिएका छन भने कतिपय कथाले गोर्खाली सैनिक जीवनलाई पनि देखाएका छन।

भाषाशैली

गोर्खाराईको भाषाशैली सहज, सरल र आकर्षक छ। उनले पात्र, परिवेश र विषय अनुसारको भाषा प्रयोग गरेका छन। उनले कतै संवादात्मक शैली अपनाएका छन भने कतै गीत र कतै सभाको आयोजन गरेर कथाको निर्माण गरेका छन। यसलाई ऱाईको कथाकारिताको एक विशेषताका रुपमा लिन सकिन्छ। गोर्खाराईले उनका कथाहरुमा संस्कृत, तत्सम, तद्भव, देशी, अंग्रेजी र हिन्दी शब्दहरुको पनि प्रशस्त प्रयोग गरेका छन। कथामा अन्य भाषाका शब्दहरुको प्रयोग गरिएता पनि ती बोधगम्य छन अनि तिनले कथालाई संवेदनीय पारेको हुनाले कथा रोचक र पठनीय बनेका छन।

हरिप्रसाद गोर्खाराईका कथाहरुमा नेपाली समाज, नेपाली जनजीवन र नेपाली मुटुको धडकन पाइन्छ। उनका कथामा आञ्चलिकताको चित्रण पाइन्छ। गोर्खाराई एक सफल कथाकार हुन।

वरिष्ठ समालोचक डा. भीमकान्त उपाध्याय हरिप्रसाद गोर्खाराईको कथाकारिता बारेमा यसरी मूल्यांकन गरेका छन—- “कथावस्तुको संगठनका दृष्टिले गोर्खाराईका कथाहरु विन्यस्त वा सुसंगठित प्रतीत हुन्छन। गोर्खाराई गुरुप्रसाद मैनाली जस्ता परिपुष्ट कथावस्तु लिएर कथा लेख्ने कथाकार जस्ता पनि छैनन र विश्वेश्वर प्रसाद कोइराला, भवानी भिक्षु, गोविन्द गोठाले प्रभृति कथाकार जस्ता मनोविश्लेषणात्मक पनि प्रतीत हुँदैनन। जीवन-जगतमा आफुले देखेका वा आफु प्रभावित भएका क्षण वा घटनाहरुलाई र आफ्ना तीव्रतम अनुभूतिहरूलाई कलात्मक र मर्मस्पर्शी ढंगमा प्रस्तुत गर्ने कथाकार हुन हरिप्रसाद गोर्खाराई।……………………………………………………..

कतै सभाको आयोजन गर्दै कथा-वाचक प्रस्तुत गरेर कथा वाचकका माध्यमबाट जीवन-जगतका अनुभव, विचार र धारणाहरु सुनाउँदै कथा-निर्माण गर्नु कथाकार गोर्खाराईको विशेषता नै देखिन्छ।…………………….. गोर्खाराईको यही विशेषता नै उनको स्वकीयता हो, यही स्वकीयतामा स्थानीयताको गन्ध र रङ्ग पनि हुन्छ र यहीं रसात्मकता पनि हुन्छ। त्यसैले उनका प्राय कथाहरु नै सम्प्रेषणीय बनेका छन र संवेदनीय पनि बन्न सकेका छन।

( सरसर्ती पढदा, पृ. ९१-९३)

 

हरिप्रसाद गोर्खाराईको जन्म १९१४ सनको १५ जुलाइका दिन नागाल्य़ाणडको कोहिमामा भएको थिय़ो। उनका पिताको नाम धनराज राई र आमाको नाम यशोदारानी राई हो।

२००५ सनको १४ नवेम्बरका दिन ९० वर्षको उमेरमा कोहिमा मै उनको देहान्त भयो।

हरिप्रसाद गोर्खाराईले उनको साहित्य यात्रा असमिया भाषाको माध्यममा गरेका हुन। सहिष्णुता शीर्षकको उना सातौं कक्षामा छँदा असमिया भाषामा लेखिएको कविता जोरहाट गवर्नमेन्ट हाइस्कुलको मुखपत्र जेउती नामको पत्रिकामा सन १९३० मा प्रकाशित भएको कुरा गोर्खाराईले लेखकसँगको अन्तर्वार्तामा उल्लेख गरेका छन। असमिया लेखक माधव बेजबरुवाले हरिप्रसाद गोर्खाराई, धनबहादुर सोनार र गोविन्द पैरालाई असमिया साहित्य काननमा

 

उम्रिएको गुलाफको एउटै हाँगामा फुलेका तीन थुँगा फूल आख्या दिएका हुन। कथाकार प्रफुल्ल चन्द्र बराले उनको बुनियाद नामको कथामा नागाल्याण्डको कोहिमामा हरिप्रसाद गोर्खाराई, धनबहादुर सोनार र गोविन्द पैराले किशोर अवस्थामा कसरी कथा लेख्ने अभ्यास गर्थे अनि कसरी हरिप्रसाद गोर्खाराईकी आमा यशोदाले उनीहरुका कथाको समीक्षा गर्थिन त्यसको सुन्दर चित्रण पाइन्छ।

असम साहित्य सभाले असमका निकैजना साहित्य सर्जकका नाममा वर्षेनी पुरस्कार दिने गर्छ। हरिप्रसाद गोर्खाराईका नाममा कुनै पुरस्कार नहुनु दुखको कुरा हो। असम नेपाली साहित्य सभा हाम्रो जातीय संस्था हो। यस संस्थाले पनि गोर्खाराईका नाममा कुनै पुरस्कार राखेको थाहा पाइएको छैन। यसै निबन्धका माध्यममा दुबै साहित्य संस्थाको दृष्टि आकर्षण गर्न चाहन्छु।

सन्दर्भ सूची

  1. सरसर्ती पढ्दा, भीमकान्त उपाध्याय
  2. नयाँ घुम्ती प्रकाशनय
  3. नेपाली कथा-साहित्यमा उत्तर-पूर्वीय भारतको योगदान, डा. लक्ष्मीप्रसाद पराजुली
  4. श्रीमती गीता पराजुली, शिङरी, असम, प्रथम संस्करण-२००१
  5. अवलोकन, ज्ञानबहादुर छेत्रीहरिप्रसाद गोर्खाराईलसँगको पत्रात्मक अन्तर्वार्ता
  6. मनोज पब्लिकेशन, तेजपुर, असम, प्रथम संस्करण-२०००
One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *