रित्तिएका परेलीहरू

कसै गरे पनि आँखाबाट अस्ताउनै नसकेका
दोबाटोमा भेटिएका एउटै गन्तब्यहरू
मिसाउन खोजिएका जीबनका उकाली-ओरालीहरू
लोलाएका ती स्निग्ध गाजलु नयनहरू
कोतरिएको भुईंमा छरपष्ट मनहरू
नबोलेर इशारामै बुझदिने भाखाहरू
अन्तस्करणको छिद्र-छिद्रहरूबाट
उदांग अनि छताछुल्ल छरिएका इच्छाहरू
समर्पणको आशामा तड्पिएकाआत्माहरू
बढिरहेको धड्कनसँगै लम्बिइरहेका क्षणहरू
पग्लिएको मैन जस्तैपोखिइरहेका आकांक्षाहरू
जतनले लुकाएको मुटुको अन्तरकुन्तर भित्र
आजन्म समाहित हुने अभिलाषाहरू
अनायासै, झटारो हान्यो समयले
कुसाइतमा बजाइए सहनाइहरू

स्मृति मात्रै ताजा रहे निर्बस्त्र भए बिगतहरू
बितृष्णा जाग्यो जगतको यो अवचेतन श्रृस्टीसँग
त्यो अकपल्पनीय बिदाइमा प्रताडित हरेक मनहरू
यि पट्यारिला वर्तमानमा बिछोडिएका हातहरू
नबुनिएका अन्योल एक्ला भबिष्यहरू
बाट्न नपाउंदै चुंडिएका जीवनका डोरीहरू
निर्बिकल्प पाषाण मूर्तीमा कुंदिएर
कुरिरहेछो आफैले बनाएका चौबाटाहरू
अब्यक्त पीडाको मुहान थुनी
टोलाइरहेछन् मेरा रित्तिएका परेलीहरू ।।

Add a Comment

Your email address will not be published. Required fields are marked *