हिजो-आज
|हिजो-आज आँफैलाई छाम्छु घरी-घरी
डाक्टर बैध धामी कै झैं गर्छु नाना थरी !
हलचल गर्ने शक्ति सारा आँफै शिथिल भा’छन्
बिटुलीए झैं कोरोनाको रछानमा नै परी ।
थुमथुमाई आँफैलाई सम्झाउँदैमा थाकें,
बन्द वा खुल्ला आँखा देख्छु लाशको घारी ।
आत्मबलको बाछिटाले शुद्ध पार्न खोज्छु स्वयम्
बाँच्ने आश छ मरण पिउँदै थुकको घुड्को भरी !
जिन्दगी नै मृत्युले धराप थाप्ने अंकुसे रै’छ
भागिरहेछु अङ्कुसेले नै लखेटे झैं गरी !
हिजो-आज आँफैलाई छाम्छु घरी-घरी
डाक्टर बैध धामी कै झैं गर्छु नाना थरी !
One Comment
कविता राम्रो लाग्यो ।