परिधि
|हुरिकेन
ट्रपिकल
गोञ्जालो
एट्लान्टिकलाई जुरूक्क उचाल्दै
विद्रोहको घनघोर हुंकार
कोरोनाको कोलाहल बोकेर
क्षितिज नाघ्दै उचाल्लिरहेछन्
अनिश्चित धारको यात्रामा
थाहा छैन
यी बाछिटाहरूले
मलाई पनि भेट्छन कि !
बिलुप्त हुन्छन् बाटैमा ?
न्युयोर्कको यांकी
डिसीको नेसनल्स
लसएन्जलसको डजर्र्स
वेसवलको चस्को चाँडै पस्कने आशामा
अविश्रान्त नजरहरू पर्खिरहेका छन् ।
थिमपार्कका रोलरकोष्टरहरू
ओसियन सिटी र भर्जिनिया वीचका
बगरहरूमा रंगिन छाता ओडेर
लडिबडी गर्नुको स्वाद
सपनाजस्तै भएकोछ आज ।
एसेटिकको बगरदेखि सेनेन्दावोको शिखरसम्म
रमाउने हाम्रो क्याम्पिंङ टोली
हल्ला गर्दै रातभरि गीत गाउँदा
एरेन्जरले दिएका वार्निङ्गहरू
क्रुज र क्यासिनोका अविश्मरणिय यात्रा
समुद्रको माझमा शेषनाग पो छन् कि !
पानीमुनी आँखा तन्काएर चियाएका सम्झनाहरू
कायाक
बोटिङ
र,ह्वेलवाच टुरका रोमान्चहरू
आइस्केटिङदेखि फिसिङ्का उल्लासमय समय
निलो समुद्रमा चुच्चो लुकाएर
माछा खोज्ने सिगलका हुल
पहाडको चुचुरोमा
लमक लमक लम्किने भालुहरू
एउटा बन्द कोठामा क़ैदी झैं बसेर
मनले सम्झीरहँदा
प्रकृतिको हरेक छटा
सम्झनाको गर्भमा रोमान्चित क्यानभाष सजाइरहन्छन् हरपल ।
नेपाली आकासलाई अंगालो मारीरहँदा
रातभरि धुनी बालेर
खेलेका दोहोरी र अन्ताक्षरीहरू
उल्लास उल्लासमै रित्तिएका
छ्याङ र तोङ्बाका घैंटाहरू
यही बन्द कोठामा
सुवासिलो भएर कुदिरहन्छन् ।
हरेक संस्कृतिमा रमाउने
हाम्रो राम्रो बानी
पारखीहरूलाई नमन गर्दै
आज सात समुद्रपारी यो दूर देशमा
अल्लादित हुने गरिमामय साथहरू
जिवनमा कहिल्यै नरित्तिने सम्पत्तीहरू
माया-प्रेमका भावनामा रंगिएको
आफ्नोपनको मीठास बोकेर
यो प्यारो जिवन
हिजो र आज
आ-आफ्नै परिधिमा
भावनामा देश बोकेका मनहरूमा रमाईरहेछ
सम्पूर्ण गोलार्ध्द नै आफ्नो सम्झेर बाँचिरहेछ !