एउटा बेरुजु मुस्कान
|ताराहरु खसिरहेको रातले
औंसीको अँध्यारोलाई फेर्न सक्दैन
जीवनमा कयौं यस्ता प्रश्नहरु छन्
तिनीहरुको उत्तरहरु दिईरहनु पर्दैन
उत्तरले नै प्रश्नहरुलाई खोज्न
जीवनको पैतलाहरुलाई कुल्चीरहन्छ ।
जहिले म आफूलाई बिर्सेर
मुस्कानको पानी पिंढीभरि फाल्थे नी ?
हो,
त्यो बेला म साह्रै सानो रहेछु
अहिले म आफूलाई बिर्सेर
सानो कचौरामा पनि मुस्कुराउन सक्दिन ।
आजभोलि म सँधै सोच्ने गर्छु
मेरो ओठले
मुस्कानहरु खुजुरा पैसाजस्तै मासेर त होला !
ओठमा मुस्कानहरु रित्तिएको छ
त्यसैले यी ओठबाट आजभोलि
मुस्कानको साटो मेरै दुस्मनहरु निस्कन्छन् ।
म निदाएको मौका छोपेर
सपनीमा ओठ मुस्कुराउँछ
जब म निद्राबाट बिउँझिन्छु
मुस्कानहरु अलाप हुन्छन्
अनि ओठहरु सुकेर
बलौटे पाखो बारीजस्तै हुन्छ
त्यसैले अंखोराको पानीले
सुकेका ओठ भिजाउनु पर्छ।
मेरो जीवनमा समयले सँधै
पीरहरु मेरै भागमा मात्र पारिदिन्छ
पीरहरुले जब मनको नसाहरु काट्छ नी !
हो,
मन यसरी पोल्छ-
उम्लिरहेको पानीलाई कत्तिको पोलेको छ ?
कसैले सोधेको छ र !
पीरहरु छिप्पिएर वीर भैसके
मन नाकाबन्दीमा परेको छ
त्यसैले मुस्कानहरु ओठसम्म पुग्नै सक्दैनन् ।
मनमा कथाहरुभन्दा
व्यथाहरु धेरै भएर होला
कथाहरुभन्दा आँखामा आँशु आउँदैन
व्यथाहरु सम्झँदा मात्र पनि आखामा आँशु आउँछ ।
दुधे कलिलो ओठले
मुस्कानहरु कति सजिलै खर्च गर्छ
उसको मुस्कानको हिसाब कस्ले पो राख्छ र ?
न ओठले
न समाजले
न त उसको वर्तमानले नै !
हो म कैलेकँही
आफ्नो दु:खहरु भुलेर
मनको पीरहरु बिर्सेर
दुई ओठलाई संसर्ग गराएर
मुस्कानहरु जन्माउन कोशिस गर्छु ।
म मुस्कुराउँछु
तर
मेरो एउटा मुस्कान पनि बेरुजु देख्छ
यो समाजले
त्यसैले मैले कैयौं पटक मुस्कानको भ्रुणहरू
छोरीहरुजस्तै हत्या गरीदिएको छु।
रोगिएको ओठले
मुस्कानको गर्भधारण गर्न सक्दैन
पैले खर्च गरेका मुस्कानहरु
विगतले आफ्नो बनाई सक्यो
अब मैले
ती मुस्कानहरू फिर्ता पाउन सक्दिन ।
त्यसैले त हाँसोलाई मुस्कान सम्झनु परेको छ
मनलाई दक्षिण एसियाका
महिलाको पाठेघर सम्झनु परेको छ
अनि तिमीलाई मेरो ओठमा
मुस्कान फर्काउने ओखती सम्झनु परेको छ
तर दुनियाँले मेरै ओठको एउटा मुस्कान
किन बेरुजु देख्छ ?!