बुबाको अन्तःस्मरण


आमा सन्तान सुखमा संघर्षरत हुन्छिन्
लाग्थ्यो आमा सत् कर्मका पूर्ण भागिदार
सुखमय जीवनमा बुबा आमा जो छन्
दुवैको भूमिका हुँदो रहेछ बराबर ।

बाल्यकाल त बुबाको प्यारी भएरै बिताएँ
जब जब आमाको सिउँदो अधुरो देख्थें
उराठ लाग्दा रङ्गहिन कपडाहरू देख्थें
बुबाका यादहरु बल्झाउँदै बित्ने गर्थे ।

परिवार लथालिङ्ग भएको त्यो दिन
भुल्न सम्भव कसरी हुन्छ र ?
बुबाको जलिरहेको धुवाँको मुस्लोसँगै
निसास्सिनु परेका आमाका दर्दनाक व्यथा ।

हर क्षण ओझेलमा परे झैं लाग्ने सोचहरू
निरउत्साहित बोध अर्थहिन किशोरावस्था
खुम्चिएर रहेका सुकर्मका बाटाहरू
अव्यवस्थित मनका सुनौला सपनाहरू ।

अचानक आएका आँधी र डगमगाउँदा क्षण
भविष्य कालो बादलसँगै उडेका दिनहरू
लत्याउनु परेका चकनाचुर सुनौला कथाहरु
भयानक त्यो दिन कसरी मेट्न सकिन्छ र ?

जब अरूका रहर लाग्दा परिवार देख्थें
बुबाको सम्झनाले भेट्न आतुर हुन्थें
आमाका आँसुका अञ्जुलीहरू सम्हालेर
मूल्य चुकाउन प्रयत्नशील रहन्थें ।

रूमलिएका टिका-टिप्पणीहरूसँग
लड्दै समाजसँग मितेरी राख्न सिकाउने
सच्चा देशका पुरुषार्थ योद्धा मेरा बुबा
अन्तिम घडीसम्म देशको निम्ति समर्पित ।

लडाकु बनेर देशकै निम्ति लडिरहेका
मेरा पुजनिय बुबा सायद यो देशकै
असल नागरिक बनेर अन्तिम बिदाईमा
सलामी लिएर कात्रोले ढाकिएको त्यो क्षण ।

आगोको रापले डढेर रहेका दृष्टि चित्र
अन्धाधुन्ध हुरीले उडाएका खाकहरू
मडारिंदै गएको भान हुने पृथ्वीको नाता
मुस्काउन सङ्कोच लाग्ने प्रकृतिका दृश्य ।

ति अनगिन्ति यादका पानाहरु पल्टाउँदा
बुबाका हर बोलीहरूले आज झैं आभाष हुने
हर सान्त्वनाहरु सत्यताका सुमार्ग भइदिने
लाग्छ भगवानका आशीर्वाद पछ्याउँदै छु।

अमूल्य दिनहरू सँगै बुबाको काखमा
लुटुपुटु गर्दै बिताएका अविस्मरणीय खुशी
हरेक बुबाको मुख हेर्ने औंसीमा अन्जानै तप्किने
आँसुको मूल्य सायदै म जस्तैले बुझ्दा हुन् ।

6 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *