युरोप मोहनी ‘पथिक प्रवासन’
|
पश्चिमा राष्ट्रहरूमा गएर पढ्ने नेपालका औसत सहरिया युवाहरूको रहर हो । तिनको जीवन विदेश भूमीमा पाइला टेक्ने बित्तिकै संघर्षपूर्ण बन्छ ।
एकातर्फ आर्थिक समस्याको पीडा, अर्कोतर्फ विदेशको रंगीन जीवनको गुलियोले लोभ्याउने गर्छ । विदेशमा भाँडा माझे पनि त्यहाँको आम्दानी डलर र युरो नेपाली रूपैयाँमा साट्दा बग्रेल्ती बन्ने हुँदा विदेश मोहनी झन् गहिरो बन्छ । तर, नेपाल जस्तो विकासोन्मुख देशबाट आएका हाम्रो परदेश जीवन सधैं सरल रेखामा हिंड्दैन ।
यसरी विदेशिएका युवा विध्दार्थीहरूको ब्यथा-कथा विदेशमा बस्ने वा जान चाहने सबैको लागि चाखको विषय हो । यस्तै विषयमा लेखिएको उपन्यास हो- ‘पथिक प्रवासन’ ।
बेल्जियमको नेपाली डायास्पोरामा रहेर लेखनमा सक्रिय स्रष्टा हुन्- पंचम अधिकारी । उनले आफ्नो सेरोफेरोको दुनियामा घुलमिल भएर यो उपन्यास लेखेका छन् ।
यस उपन्यासमा नेपाली र युरोपेली मिश्रित संस्कृतिको मनोवृत्तिलार्इ देखाइएको छ । उपन्यासको नायक पथिकको सगरमाथा क्षेत्रमा अवस्थित खुमजुङ् गाँउमा साधनासँगको रोमान्टिक भेटबाट शुरु भएको कथाबस्तु उसको युरोपेली गर्लफ्रेण्ड टिनासँगको सम्बन्धले रंगीन बन्छ ।
अर्को तर्फ माओवादी द्वन्दले आक्रान्त नेपाली समाजमा नजानेको सुखद भविष्यको खोजीमा पथिकलाई विदेश मोहनीले युरोप पुर्याउँछ । जर्मनीबाट बेल्जियम हुँदै स्पेन र अफ्रिकाको केन्या र कंगोसम्मको यात्रा जति रोमाञ्चकारी छ त्यति नै भत्केका र बिग्रेका बाटाहरुमा हण्डर र ठक्कर पनि खेप्नु पर्छ । पुस्तकमा प्रवासका दोस्रो पुस्ताका कतियप नेपालीहरूमा देखिएको समस्यालार्इ पनि छरपस्ट पारिएको छ ।
सिद्धार्थको छोरा दीपक राना लागू पदार्थको दुर्व्यसेवनमा फँस्छ । जसले विदेशमा हुने बित्तिकै छोराछोरीले प्रगति गर्छन् भन्ने भ्रमलार्इ चिरेको छ । प्रवासमा अविभावक सचेत नहुने हो भने पहिचान गुम्ने चिन्ता रहन्छ । आप्रवासन बसाईंका उत्पिडनमा आशा र जीवनको अन्वेषण भित्र राष्ट्रप्रेम र भातृप्रेमले ओतप्रोत पार्इन्छ ।
अर्कोतर्फ, मानव अधिकारको उच्च मुल्याङ्कन रहेको समाजमा अझै पनि “प्रवेश निषेधको असली कारण तिम्रो कालो कपाल हो” जस्ता भोगाइको पीडा सहनुपर्छ । स्वदेशमा जातिपातिवाद र प्रवासमा रंङ्गभेद नीतिप्रति आक्रोश ब्यक्त गर्दै लेखक एक अन्वेषणकर्ताको रुपमा पनि प्रस्तुत भएका छन् । मनोरोगी सुदिपको भूमिकाले उपन्यासको पछिल्लो भागलार्इ सनसनीपूर्ण बनाएको छ ।
कथा भित्रका अन्य उपकथा, घटना, उप-घटना र पात्रको विविध चरित्र रमाईलो पाराले लिपिबद्व गरिएको छ । साधारण भाषा तर बिम्ब र प्रतिकको प्रशस्त प्रयोगले पठनीय रूपमा युरोपेली जीवनलार्इ प्रस्तुत गरेको छ । यसैले युरोप जान चाहने वा यतै बसीरहेकाहरूले पढ्नै पर्ने पुस्तक बनेको छ यो ।
प्रवासमा प्रतिकूल वातावरणका कारण नेपालीहरू समय र परिस्थितिसंग सम्झौंता गर्न बाध्य छन् । यस्तो परिस्थितिमा जीवनलार्इ लेखक यसरी बुझ्छन्- ‘जीवन थुप्रै ढोकाहरूको कोठा जस्तो रहेछ । कहिले ती सबै ढोका खुलेका हुन्छन् त कहिले सबै ढोका बन्द । घरमा छिर्नु छ । ढोकामा ताल्चा छ । झ्याल खुल्ला छन् । कहाँबाट जान्छौ ?’