नारी

तिम्रै विज भएर जननीको कोखमा
ओत पाएकी छोरी
पूर्णचन्द्रको ज्योति झैं
आकार फेरिदैं हुर्किदा
उसको पनि आफ्नै संसार छ
हिंडाईका पाइला पाइलाहरूमा
उस्को आफ्नै पहिचान छ
आफ्नै अस्तित्व ।

लाग्दैन डर क्यैको पनि
आकाश छुने रहरहरू ज्युँदा छन् ऊ भित्र
तातो र रातो रगतले उक्साई रहन्छ हरपल
प्रगती पथहरू कोर्न
भाग्यका ढोकाहरू खोल्न ।

ऊ सक्षम
ऊ पूर्ण छे आँफैमा
गन्तव्यका बाटाहरू कोर्न
दिशाका आयतनहरू नाप्न
अंकगणित र ज्यामितीका हिसाबहरू
व्यावहारमा आएकै छन्  पलपलमा ।

साँच्चै,
न शिक्षाको कमी छ
न व्यवहारमा खोट छ
तर
तर…
आज उस्को नामको पछाड़ि
लेख्ने थरमा शुन्यता छ
पिताले दिएको आफ्नो थर
पतिले सारेको अर्को थर
अब
हो अब …
टुक्रिएको आधा अंगको थर के होला ?
मुटु मिचेर सार्नु परेको थर गोत्र
अब कता फर्काउने ?

बर्षौंदेखि फेरिएको उस्को परिचय
फेरि गुमनाम भएको छ
पिता
पति
फेरि कता सारिनु पर्ने हो ?
रनभुल्ल परेर ऊ टोलाई रहेकी छे
अन्योलमा ऊ ढुन्मुनाई रहेकी छे,
पूर्ण परिचय बिनाकी नारी
चिनारी अदल बदल मैं अल्झिएकी छे  ।

Add a Comment

Your email address will not be published. Required fields are marked *