दाउरा
|कहाँ बल्छन् र
सबै दाउरा उस्तै गरी
उही अगेनोमा !
कुनै जल्दा पनि जोडिन्छन्
र कोइला बन्छन्
कुनै बल्दाबल्दै टुक्रिन्छन्
र खरानी हुन्छन् ।
दोबाटोमा उभिएको रूखलाई सोधेँ –
तिमीचाहीं किन दाउरा नबनेको ?
आफ्नो शरीरमा
उम्रदै गरेको ऐंजेरूलाई
आफ्नै हाँगाले पन्छायो
र पातले छोपिएको
आफ्नो अनुहार उघार्दै
रूखले भन्यो –
आफ्नो उचाइमा
विश्वास नलागेर
केही रूखहरू ढल्छन्
सुक्छन् र दाउरा बन्छन्
कसैको काँधमा चढ्छन्
र अगेनोमा पुग्छन् !
तिमीले देखेका छौ र
अरूको अगेनोमा
कुनै आगो
आफ्ना लागि बलेको ?
अरूले फुकेको आगोमा
कुनै दाउरा आफ्ना लागि जलेको ?
मलाई त विश्वास छ
आफ्नो उचाइमा
त्यसैले मलाई
दाउरा हुन ढल्नु छैन
कसैको काँधमा चढेर
कुनै अगेनोमा पुग्नु छैन ।
कोही कोही मान्छे
दाउराजस्तै हुन्छन् हो ?
नत्र किन उनीहरू
कसैले बोक्यो भन्दैमा
सधैं हिंडिरा’को
आफ्नै बाटो पनि देख्दैनन्
बोक्नेले नै
अगेनोमा हाल्दा पनि
किन आँफै
खरानी बन्दैछु भनेर चेत्दैनन् ?
फेरि एकपटक सोधेँ रूखलाई
उसले आफ्नै हाँगालाई
मायालुपाराले छोयो
जरादेखि काँधसम्म
आफैलाई हेर्यो
र बोल्यो –
अरूको काँधमा चढेर
अग्लिएकाहरूलाई
आफ्नो वास्तविक उचाइ
कहिल्यै थाहा हुँदैन
जसरी थाहा हुँदैन दाउरालाई
आफ्नो उचाइ
जति नै अग्लो काँधमा बोकिए पनि
आखिर दाउरा
दाउरा न हुन्
कसैको अगेनोमा पर्छन् र हुरहुरी दन्किन्छन्
अरूका लागि बल्छन् र आँफै सकिन्छन् !
गजब सर । बास्तवमै गहिराे छ हजुरकाे भावना