मानव

अनेकौं प्रश्नका तीरहरू,
असंख्य उपेक्षाका सूलहरू र
अकल्पनीय घृणाका वाणहरूको
मर्मस्पर्शी चोटहरू
खपिरहेको म ‘मानव’।

समान- असमान,
साधारण-असाधारण,
सामान्य- असामान्य,
रहर- लिङ्ग बिपरीत,
भावना आवेग- बेग्लै,
सपना कल्पना- भिन्नै,
परिवारलाई सुखद अनुभूति दिँदै
अलौकिक संसार हेर्न
जन्मिएको ‘म’
सुन्दर प्रिय छोरो ‘मानव’।

थिएन मलाई चासो
आतङ्कबादका बिभत्स घटनाहरूको,
परेन फरक
शोषण, उत्पीडन र
बलात्कारका चिच्याइहरूको ।

आफ्नै धुनमा मग्न
मानवबाट ‘मानवी’
हुनुको अनुभव।
फुटबल- क्रिकेट मैदान भए
दिदीको ड्रेसिङ रूम
कमेज पत्लुनको ठाँउमा थिए
कुर्ता सुरूवाल, साड़ी ब्लाउज,
सुगठित होइन
लचिलो शरीर आकर्षक,
रमेश, पवन, विवेकहरू भन्दा
बसन्ती मौसी,
प्रशान्ती चाची,
डेभिड सिस्टर, पिटर आण्टी
हुँदै गए प्रिय ।

खुशी थिँए म,
चिन्तित बन्दै गए मातापिता,
न त यो सृष्टिको भूल थियो,
न त कसैको दोष,
न कुनै रोग,
दोष थियो त आकृति
र रूची बद्लिनुको ।

नगरेको होइन
धामी- झाँक्री,
बिजुवा, फेदाङमा र
डाक्टरी उपचार ।

नलाएको होइन
मन्दिर, गुम्पा, गिर्जा र
अस्पतालको चक्कर ।

चलिरह्यो मलाई
असली ‘म’ बनाउने प्रक्रिया,
मेरो ‘म’ माथि अतिक्रमणको क्रिया ।

यसमा आत्मीयजनको थियो माया-प्रेम,
तर बढ़ी थियो
विक्षिप्त र उपेक्षित बनाउने
अनौठो व्यवहार- खेल।
धन्य छ परिवर्तनशील समय,
धन्य छ स्वत्वबोध गराउने परिवेश।

सजिलो थिएन यो यात्रा,
सहज होइन, मलाई ‘म’ हुन दिने
धेरै ‘म’ जस्तै र केही अरूको
दृढ़ संकल्प र कठोर संघर्ष।

आज म खुल्ला आकाशमा
निश्चिन्त उड़िरहेछु,
विशाल धरतीमा सशक्त भएर उभिरहेछु ।

लोभ छैन मलाई पुरूषत्व देखाउने,
चाहना छैन नारीत्व अनुभव गर्ने,
म जो हूँ, त्यही हूँ,
म जे छु, त्यही रहनेछु
आफ्नै शरीर, आफ्नै भावना,
आफ्नै रहर र आफ्नै यौनाङ्गसित
‘मानव’ भएर।

5 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *