“फूलका उमेरहरू” मा सौन्दर्यानुभूति
|कविता लेख्नेहरूको सङ्ख्या दिनदिन बढिरहेको छ। नयाँ पुस्ताका नयाँ नाँ कविहरूको सङ्ख्या बढदो देखिन्छ। नयाँ नयाँ कविहरूका नयाँ नयाँ नयाँ बान्की ढाँचा स्वरूप, भाव, तात्पर्य, प्रस्तुतिमा नयाँ नयाँ कविता देखा पर्दैछन्। नयाँ नयाँ कवितासङ्ग्रह नयाँ पुराना पत्र पत्रिका, दैनिक समाचार पत्रिका सबैमा कविता नै व्याप्त छ। कविताको लहलह बाली लागेको पाइन्छ। कविताका हाँगा-बिँगाका रूपमा विभिन्न स्वरूप देखा पर्दछन् । महाकाव्य, खण्डकाव्य, लामो कविता, फुटकर कविता, मुक्तक, युग्मक, गीत गजल, रूबाइ आदि के के प्रकाशित भइरहेका छन्। अझै नयाँ नयाँ ढाँचा र प्रयोगका नयाँ खाले कविता पनि देखिन्छन् । साहित्य समाजकोदर्पण हो भन्ने भनाइलाई कविताले चरितार्थ पारे पनि यो समाजभन्दा अझ अघि बढेर दिशा निर्देश दिन सक्दछ । समाजलाई अघि लाउन सक्दछ । युगको नाडी छामेर त्यसबारे आलोचना गर्न सक्दछ । कवितामा शक्ति छ, कवितामा आनन्द छ, रस छ। मानव जीवनसँग नजिकमा रहेको छ। कविताले जति सशक्त रूपमा अभिव्यक्ति दिन अरू विधाले दिन सक्दैन।
कवयित्री अप्सरा दाहाल–
भारतीय नेपाली कविताको फाँटमा अब अप्सरा दाहालको नाम पनि अङ्कित छ। उनी कविता क्षेत्रमा गत बीस वर्षदेखि नै लागिरहेकी छन् । उनी पश्चिम सिक्किमको बर्मेकमा स्व बाबु डिल्लीराम दाहाल र आमा स्व.रेवता दाहालको कोखबाट जन्मेकी हुन्। सानैदेखि नी कविता लेखन रूचि राखेकी हुन्। पश्चिम सिक्किमकोदेन्तामबा प्रकाशित हुने स्वयम्बर भन्ने पत्रिकामा उनको पहिलो कविता हिजो जनन्र म हिजै मरेछु सन् १९९४ मा प्रकाशत भएको थियो। हालसम्म उनका ‘सम्झनाको देश’ (२००३), ‘मनका घरहरू’ (२००९) र ‘फूलका उमेरहरू’ (२०१४) गरी तीनवटा कवितासङ्ग्रह प्रकाशित छन्। यीबाहेक उनका सिक्किमतिरका विभिन्न पत्र-पत्रिकामा ५०० जति कविताहरू प्रकाशित छन्। उनी एकनिष्ठ भइ कवितामा समर्पित छिन्। कविताबाहेक उनको नाट्याभिनयको पनि अनुभव छ। पश्चिम सिक्किमको बर्मेक गाउँकै विद्यालयको सुश्री दाहाल पेशाले शिक्षिका हुन्। गान्तोक, नाम्ची, जोरथाङ, गोजिङ आदितिरका कविगोष्ठी आदितिर उनको उपस्थिति दिएको पाइन्छ। हालसम्म उनले नेपाल सरकारबा ‘भानुभक्त काव्य पुरस्कार’ २०१४, ‘विश्व नारी नेपाली साहित्य’ काठमाडौंद्वारा सम्मानित, त्रिमूर्ति निकेतन काठमाडौंबाट ‘सत्यमोहन जोशी शताब्दी पदक’द्वारा सम्मानित। पश्चिम सिकिम साहित्य प्रकाशनद्वारा ‘स्रष्टा पुरस्कार’, ‘कमला आँसु स्मृति प्रतिष्ठान’, पश्चिम सिक्किम साहित्य प्रतिष्ठान आदिद्वारा सम्मानित भएको थाह पाइन्छ।
- दाहालको कविताको मूल स्वर –
आफ्नो भावबिम्बलाई कवितामा उतार्ने अप्सरा दाहाल एक सरल, सफल र सहज कवि हुन्। मनमा लागेका, खिलेका, बुझेका, सुझेका कुराहरूलाई कवितामा उभ्याउँछिन्। उनी आफ्नो भावविम्बलाई कविताको आकार दिन्छिन्। उनी कविता पढने, कविता लेख्ने, कवितामा नै रमाउने व्यक्ति हुन्। फूल, बादल, आकाश, हिमाल पहाड झर्ना आदिमा कविता देख्छिन्। मनमनमा कविता गम्छिन्, कवितामा जीवनको छाँया देख्छिन्। उनको भनाइअनुसार “म त सरलताकी पुजारी हुँ अनि दुर्गम गाउँमा फुलेकी सुनगाभा हुँ। केही नपाए पनि मेरा कवितामा पाठकले गाउँको काँचो माटोको महक पाउनेछन्। नजानी नजानी बोल्ने गाउँले बोली पाउने छन्। नक्कलझक्कल पार्न नजान्ने गाँउले किसानकी छोरीका आँखाको निर्दोषिता, दृढता र इमान्दारिता पक्कै पाउने छन्”। (अप्सरा दाहाल, फूलका उमेरहरू पृष्ठ घ)। पुस्तकमा नरबहादुर दाहाल, घनश्याम नेपाल, राजेन्द्र भण्डारी, कालूसिंह रनपहंली, नरेन्दराज प्रसाइँ, इन्दिरा प्रसाइँ, भीम दाहाल, बिर्ख खँडका डुवर्सेलीले छोटा छोटा तर सारगर्भित र सठिक मूल्याङ्कनात्मक टिप्पणी गरेका छन्। क्लिष्ट कविताहरूले तर्सेका पाठकका निम्ति उनी सरल, सुबोध्य, सुपाच्य कवि हुन् । उनका कविताहरूले समाजका विभिन्न पक्षहरूको उद्घाटन गरेका छन्। साहित्यले सत्यम् शिवम् सुन्दरम्को दर्शनलाई प्रश्रय दिँदछ। दाहाल पनि आफ्नो कवितामार्फत् यही सिद्धान्तलाई अघि बढाउन खोजेकी छन्।
- ‘फूलका उमेरहरू’ कवितासङ्ग्रहमा कवि दाहालको कविताकारिता –
२०१४ मा प्रकाशित फूलका आयुहरू कवितासङ्ग्रहमा जम्मा ११५+१४ पृष्ठको भई ६७ वटा लघु आकारका कविता समावेश छन्। यसको प्रकाशक कवि आफैं रहेकी छन्। चिटिक्क परेको आकर्षक आवरण र छरिता कविताहरूले पाठकलाई रसास्वादन प्रदान गर्दछ। प्रस्तुत शीर्षकले नै जीवनको क्षणभंगुरतालाई संकेत गरेको छ। यद्यपि फूलहरूको उमेर शीर्षक भए व्याकरणिक शुद्ध हुने थियो। किनभने उमेर भाववाचक नाम हुनाले यसलाई व्याकरणिक बहुवचनमा राख्न मिल्दैन। यो सदा एकवचन हुन्छ। शायद यसमा कविको व्याकरणिक विचलनको प्रयोगलाई स्थान दिएकी छन्। आशय भने फूलको क्षणिकता नै बुझिन्छन्। फूलको जीवनको क्षणिकतामा मानव जीवन पनि गाँसेर बुझिन्छ। यसै पनि फूल सौन्दर्य, रङ्गीचङ्गीपन, वासना, कोमलता, क्षणभङ्गुरताको प्रतीक हो। क्षणभङ्गुरता नै फूलको विशेषता हुन्छ। फूल थोरै बाँच्छ तर सार्थक बाँच्छ। फूल मानिसको सदैव नजिकमा हुन्छ। फूलप्रति मानिसको प्राचीनककालदेखि नै लगाव छ। यसका रङ्गी-चङ्गीपनमा मानिस रमाउँछ, यसको महकतामा झुल्छ। सङ्ग्रहका अधिकाङ्श कवितामा फूलको महक पाइन्छ। पहाडी झर्नाका छङछङ प्रवाह पाइन्छ। यसका साथै समाजको दर्पण पाइन्छ ।
- सङ्ग्रहका विषयवस्तु –
प्रस्तुत कविता सङ्ग्रहमा विभिन्न विषय वस्तु रहेका छन्। यी प्रत्येक कविताहरूको आ-आफ्नै विषय, आकार, भाव, आशय देखा पर्छन्। तीमध्ये केहीलाई केलाउँदा मुख्य गरी आदर्शवादको उत्थान, नारी चिन्तन र महिमा, जातीय चिन्तन, गाउँ चिन्तन, देश चिन्तन, जीवन चिन्तन, जगत चिन्तन आदि पाइन्छन्। उनका निम्ति मूर्त अमूर्त जुनै कुरा पनि कविताको विषय हुन्। सठ्सट्ठीवटा कविताको आ-आफ्नै विषयवस्तु र भाव भए तापनि अधिकाङ्श कविताका साझा विषय र भाव पाइन्छ। मानवी संवेदना नै उनको कविताको मूल स्रोत र विषय हो। यसकै उत्सबाट निस्केका भावहरू नै प्रायः जम्मै कविता हुन्। मनको भावाभिव्यक्तिलाई उनले इमानदारितासँग व्यक्त गरेकी छन्। नारीको महिमा गाउने क्रममा सामान्य नारी आमाको विभिन्न स्वरूपको वर्णन गरिएको पाइन्छ। यसका साथै सबै कविताको मूलमा उदात्तता, आदर्शता, सुधारवाद, प्रकृति चित्रण पक्षहरू सालाखाला रूपमा पाइन्छ।
४.१. स्वच्छन्दतावाद –
प्रस्तुत कवितासङ्ग्रहमा मुख्य रूपमा स्वच्छन्दतावादी स्वर पाइन्छ। प्रकृतिका विविध पक्षको उद्घाटन, कल्पनाशीलता, आदर्शता, वैयक्तिकता, मानवताका साथै आत्मभिव्यञ्जना पाइन्छन्। प्रायः जम्मै कवितामा स्वच्छन्दवादी चिन्तन छ। कविलाई मनमा लागेका कुरालाई बिना रोकटोक अभिव्यक्त गरिएको छ। “शहर गाउँमा आउन नखोज है” कवितामा गाउँ गाँवै रहोस्, विकृति नआधोस भन्ने आशाय व्यक्त गरिएको छ। कविका निम्ति प्रकृति सर्वोपरी हो औ गाउँ प्रकृतिको नजिकैको कुरा हो। गाउँमा अकृतिमता, निस्वार्थता, शान्त, सरल हुन्छ। बरू शहर भनेको कृतिमता, आडम्बर, प्रदुषित,स्वार्थ छ ।
यत्रो विशाल आकाशमा
एक्ली फगत एक्ली जून छे एकातिर
यत्रो विस्तृत धरतीको फाँटमा
एक्ली फगत एक्ली म छु अर्कोतिर (धरतीको उदाङ्गो छातीमा)
यसमा सबैभन्दा प्रबल पक्ष आत्माभिव्यञ्जना हो। आफुले अनुभव,चिन्तन, मनन र फुरेका भावलाई कवितामा उतार्ने प्रयास गरिएको छ। उनका निम्ति प्रकृति हाँस्छ, रून्छ । गाउँमा स्वच्छता, पवित्रता, हुन्छ । बरू शहर पो प्रदूषित, कलुषित, स्वार्थी, धूर्त र कृतिम हुन्छ । गाउँ गाँवै रहोस तर शहर नहोस् भन्ने उनको आन्तरिक इच्छा छ। कविले ‘मान्छेले मानवता देखोस भनेर स्वर्गको बत्ती ल्याउने’, ‘शान्तिको निम्ति पोखरीको कमल चोर्न जान्छिन्’, ‘नयाँ जागृतिको गीत गाउन’, ‘दुःख-पीडाहरूमा र दुखेको दिललाई मलमपट्टी लाउन’, ‘पाखुरीलाई आत्मबल थपिदिन’, ‘मिठो परिवर्तन ल्याउन’ चाहन्छिन्। कविलाई एक स्वप्निल संसारमा जान चाहन्छिन जहाँ अतीतका सुनौला र परम आनन्दका दिनहरू थिए। नोस्टाल्जिक भावनाले गाँजेर अहिलेको तितो वर्तमानभन्दा अतीत नै स्वर्णिम थिए।
यी पर्खालै पर्खाल भएरको वनमा
किन गाउँथ्यो कोइली
मैले खोजेको हरियाली
मैले रोजेको शीतल छाहारी
यो कङ्क्रीटको जङ्गलमा पाउन सकिनँ
अहँ पाउनै सकिनँ । (पर्खालै परखालको जङ्गलमा)
इन्द्रेणीको रङ्गीन पछ्यौरीमा
बादलको सेतो घुम्टो ओडी
हरियालीको फरिया चोलीमासिताराको बुट्टाभरि
म रमाउँछु उनीसँग (बसन्तका दिलभित्रको कविता)
सङ्ग्रहमा रहेको ‘एउटा वृद्ध गाई अनि वसन्ती’ भन्ने कविता स्वच्छन्दतावादको उत्कृष्ट नमूना हो यसमा बसन्ती र हर्केकाका भनेर दुईजना पात्र खडा गरिएको छ जसको गाँउले दैनन्दिनीको सजीव प्रतिबिम्बन गरिएको छ। यसमा सामाजिक, भौगोलिक, सांस्कृतिक र कृषिजन्य परिवेशको कलात्मक सिर्जना गरिएको छ।
४.२. सौन्दर्यानुभूति –
फूलका उमेरहरू कवितासङ्ग्रहका प्रायः जम्मै कवितामा सौन्दर्य चेतना र अनुभूति पाइन्छ। कविको मनका सहजानुभूतिहरूलाई कविताका माध्यमबाट बाहिर पोखेकी छन्। कविका मनका अन्तर-कुन्तरमा रहेका सौन्दर्यलाई अभिव्यक्ति दिएकी छन्। यसमा रहेका अधिकाङ्श कवितामा नै सौन्दर्यका भाव-बिम्ब छन्। उनको निम्ति कविता गाउँमा छ, गाउँले चोखो व्यवहारमा छ। जङ्गली फूल फुल्दा त्यहाँ कविता पनि फुल्छ। बादलका झुण्डमा कविता देख्छिन्। मानिसको अन्तर्ह्रदयमा खिलेका भावहरूलाई अभिव्यक्त पाइन्छ। उनका निम्ति संसार उज्यालो छ, गाउँमा उनी चारैतिर फूल फुलेको देख्छिन्, खोलाको कलकलमा सङ्गीत पाउँछिन्। कविले त्यो दिव्यता खोजीगरेकी छन् जहाँ संसारमा आनन्दै आनन्द होस, गाउंको चोखोपन रहिरहोस्, गाउँमा सौन्दर्य फुलिरहोस। गाउँ नै सबै नैसर्गिक आनन्दको स्रोत हो। “एउटा विन्ती छ प्रकृतिलाई, गाउँ नभागोस शहर बन्न”। उनका निम्ति-
सानु झोपडी
सफा आँगन
सिकुवा पेटी चिटिक्क पारेर
रातो माटोको किनारीभित्र
हरियो गोबरले भर्खर लिपेको
शान्त वातावरणले छाएको……
अचानक आँखाका चञ्चले तलाउ
समुद्रमा ठोक्किन्छन्
लाखबत्ती बलेसरी
लस्कर लागेका पानी हाँसका पहेंला चुच्चाहरूमा ।
प्रत्येक मनका आफ्नै बस्ती
त्यसैगरि ‘एउटा रित्तो नाउ अनि म’ कवितामा आफुले प्राकृतिक अतुल काखमा मान्छे एक्लै पनि सहजै बाँच्न सक्छ। उसलाई वनका न्याउली, ऐंसेलु, झरना, बादल, खहरे र अरूले बाँच्न हिम्मत थपिदिएको हुन्छ। मान्छेभित्रको सहास, आँट र जिजीविषाको स्रोत नै प्रकृति हो। यसको मौनताभित्र नै जीवनको शक्ति, उर्जा छ भन्ने भाव अभिव्यक्त छ।
प्रत्येक मनक आफ्नै बस्तीहरूमा
सुनाखरी
झ्याँगिएका हुन्छन्
हृदय छुँदै महकिन्छ सुगन्ध
मनको धागोमा मालासरह।
सृष्टिका कथा सबैतिर छ छरपस्ट
साँच्चै सौन्दर्यले सुशोभित
स्वर्गतुल्य छ यो संसार। (सृष्टिका कथाहरू)।
कल्पनाशीलता पनि स्वच्छन्दतावादो एउटा मुख्य कडी हो। यस सङ्ग्रहमा कवि कल्पनाको भवसागरमा गोता लगाइ घाम-जुन पुग्छिन्, प्रकृतिको सुन्दर र औलोकिक स्थानमा जान चाहेको छ।
भावनाको संसारभित्र
कल्पनाको उडानमा
मनले सजाएका कविताहरू
युगौंसम्म रमेको चाहन्छु।……
एकान्तमा एक्लै रमाउने गर्छु।(उडान कल्पनाको)
४.३. आदर्शवाद –
कवि दाहाल कवितामा आदर्शतालाई प्रश्रय दिएकी छन्। सङ्ग्रहमा रहेका अधिकाश कवितामा आदर्शवादी चिन्तन पाइन्छ। मानव समाजको कुरूपता, विकृति, विसङ्गति, स्वार्थन्धता, धनलोलुता, मानवताको ह्रास आदि देखिर कवि विरक्त हुन्छिन्। यस्ता प्रतिकुल पक्षहरूलाई पन्छाएर नयाँ सुन्दर, स्वच्छ, निस्वार्थ र मानवतावादी समाजको स्थापना गर्न चाहन्छिन्। उनका अनुसार मान्छेभित्रकै कुविचार स्वार्थ, लोभ आदिलाई त्यागेर नयाँ स्वच्छ सुन्दर मानव संमाजको निर्माण गर्ने आह्वान गरिएको छ –
गलत मानसिकताले
पीडित विचारक
आफूलाई सचेत, सजग चेतनशीलतामा
विसङ्गति र कुविचारबाट
खैंचिएर ल्याउन सक। (आफ्नो भूललाई आफैं देखौं)
कविका निम्ति मान्छे आदर्शतादेखि भागे दुःख पाउँछ। संसारमा जिउन प्रकृतिले तारतम्य मिलाएको छ। आफ्नो व्यक्तिगत नकारात्मक उर्जाको आवश्यकता पर्दैन भन्ने आदर्श भाव यत्रतत्र छरिएका छन्। मान्छेभित्र लुकेर बसेका सद्भाव, सद्गुण र सकारात्मक उर्जालाई बाहिर निकाल्न पर्छ अनि यस संसारलाई स्वर्ग तुल्याउनु पर्छ भन्ने भाव धेरै कवितमा पाइन्छ। ‘कथा आत्मनुभूतिको’, ‘मानिसभित्रको मानवता’, ‘भाग्छ ने अब यो कलियुगै भागोस्’, ‘फूलका उमेरहरू’, ‘अपराधका भरियाहरू’ कविताहरू उनका आदर्शताको नमूना पाइन्छ।
४.४. सार्विकता चिन्तन-
विश्वलाई हाम्रो साझा घर ठान्ने सार्विकतालाई पनि यसमा एकाध अभिव्यक्त गरिएको छ। कवि विश्व चेतना र सार्वजनीनतामा विश्वास राखेको पाइन्छ । यो धरती यो आकाश हाम्रो साझा हो। विश्वका देशका सिमानालाई पन्छाए मानिसमा कुनै समस्या हुँदैन। ‘मैले संसारलाई घर सम्झें’, ‘यो धऱती आकाश हाम्रो हो’, आदि जस्ता कविताहरूमा मानवता, विश्ववन्धुत्व, सर्वधर्म समन्वयन, दया धर्मको रक्षा जस्ता आदर्श र उदात्त भाव पाइन्छ। सबै जात धर्म समुदाय छोडेर मानव मात्र रहन्छ। उनका निम्ति सुख-दुःख, संवेदना साझा हुन्छन्।
४.५. बिम्बहीनता –
कवितामा सरल, छोटा छोटा भावलाई अघि लाइएको छ। कवितामा प्रतीक र बिम्बको गुजुल्टो भन्दा सरल र सपाट भावपक्ष पाइन्छ। विम्बहीनता वा अल्पबिम्बका प्रयोगका कारणले उनका कविता पाठकका निम्ति पानी पिएसरह लाग्छन्। पानी पिउँदा यसका तत्वको खोजी नभएर तृष्णातृप्ति गरेझैं उनका कविताको पनि सतत रसास्वादन गर्न सकिन्छ। जम्मै कविता पढ्दा पाठकले दिमागी कसरत गर्नुपर्दैन। पाठकले कविता सरलतासँग बुझ्छन्, मनन गर्न सक्छन्, चिन्तन गर्न सक्छन्। यद्यपि बिम्ब नै छैनन् भनेने यहाँ आशय होइन। यहाँ कविताहरूमा स्वाभाविक र स्वतः बिम्बहरूको प्रयोग पाइन्छन्। अधिकाङ्श कविताहरूमा प्राकृतिक बिम्ब, स्मृति बिम्ब, ग्राम्य विम्ब, लोकबिम्ब, कृषिजन्य बिम्ब, चाक्षुस बिम्ब, श्रावणिक बिम्ब, स्पर्श बिम्ब आदिलाई खुबै बान्की पारेर सजाइएको छ। मान्छेभित्रको चाहना र अपेक्षालाई कविता अभिव्यक्ति दिएकी छन् ।
खोला खोल्सा खहरे र झरनाहरू
पृथ्वीको हृष्टपुष्ट छातीमा
ती कन्दरा मालाझै सजिएर झर्न थालेका छन्
पहरा कन्दरा थर्काउँदै
नाच्दै बाजा बजाउँदै राग सुनाउँदै
……………
गाउँका हरेक धड्कनहरू
धड़क धड़क धड्कन्छन् गाउँसँग ।
- संरचना –
लामालामा कविताबाट त्रसित नेपाली कविता पाठक दाहालका छोटाछोटा कविताहरू पढ्दा आनन्द लिन्छन्। प्रायः जम्मा कविता छोटा संरचनाका छन्। सङ्ग्रहमा जम्मा ११५ पृष्ठमा ६७ वटा कविता हुनाले औसतमा एकदेखि डेढ़ पेज जति मात्रको कविता पाइन्छन्। छोटा छोटा पंक्तिका एउटा कविता पाँच पृष्ठ, चारवटा कविता चार पृष्ठका, एउटा कविता तीन पृष्ठको, सोह्रवटा कविता दुई पृष्ठका र बाँकी जम्मै एकेक पृष्ठमा आवद्ध छन्। हृदयको एउटा भावभुल्का र आवेगलाई एउटा कवितामा पोखाइएको पाइन्छ। कवितामा एक प्रकारको गति, प्रवाह र शृङ्खला पाइन्छ। कविताभित्रको आन्तरिक प्रवाह र संवेगका लहर छन्। गुणका आधारमा नारीलाई विभिन्न रूपबाट यसरी हेरिएको छ-
नारी |
सृष्टिको मुहान, जननी, सन्तानलाई हृदयबाट नै माया गर्ने, अर्धाङ्गिनी, पुत्री, लक्षिनकी, आकर्षक व्यक्तित्वकी धनी, प्रेरणाकी खानी, चण्डिका, महिषासुर-मर्दिनी. झाँसीकी रानी, इन्दिरा, नाइटिङ्गेल, मोनालिसा आदि।
|
- भाषा र शैली-
प्रस्तुत कवितासङ्ग्रहको भाषा र शैली हेर्दा यो सरल, सहज र स्वाभाविक छ। बोलीचालीकै भाषाका माध्यमद्वारा आफ्ना विचार, चिन्तन र दर्शनलाई प्रस्तुत गरिएको छ । पाठकलाई यी कवितहरू बुझ्न कुनै कसर गर्नुपर्दैन। अर्थगत तह हेर्दा पनि लाक्षणिक अर्थ सहजै बोधगम्य हुन्छन्। गाउँले ठेट शब्द र लोकोक्तिको प्रयोग पाइन्छ। कविता प्रगीतात्मक शैलीका छन्। कविताहरूको शब्द र अर्थ खोतल्दा नै कवितामा आशावादी देखिन्छन्। गाँउ, प्रकृति, मलमपट्टी, कङ्क्रीटको जङ्गल, निर्माया, क्षितिज, मानवता, सारङ्गी जस्ता अनेक ग्राम्य परिवेश झल्काउने खालका शब्द प्रयोग गरिएको पाइन्छ। यसमा रहेका तद्भव र ठेट शब्दहरूले पाठकलाई काव्यबोध गर्न सहयोग दिन्छन्।
- सन्देश –
यस कवितासङ्ग्रहमार्फत् समाजका निम्ति केही सन्देश दिइएको पाइन्छ। कवि समाजको विकृति र विसङ्गतिलाई पखालेर नयाँ सुन्दर, निस्वार्थ, आनन्दको स्थापना गर्ने आह्वान गरिएको छ। मान्छेभित्र रहेको स्वच्छ भावनालाई उकासेर ल्याउन चाहन्छिन्। समाजमा उँच-नीच त्यागेर समानता ल्याउन चाहेको छ। नारीको समानता र महत्वको वकालत गरिएको छ। मान्छे व्यर्थैमा अपराधमा लिप्त छन्। तिनीहरू त्यस अपराधको दलदलबाट उम्केर आउने आह्वान गरिएको छ। मान्छे आफैले आफैलाई परिवर्तन गरेर सुसभ्य र सज्जन हुने आह्वान गरिएको छ । कविको कल्पनाको देशमा मानवप्रेम, स्वच्छता, समानता, अपराधहीन, सहिष्णुता छाएको होस भन्ने कामना गरिएको छ। रातपछि दिन आएझैं जीवनमा दुःख आइलागे पनि अर्को दिन सुख पनि आउँछ, मान्छे दुःखमा निराश हुनुप्रदैन भन्ने आशावादी चिन्तन पाइन्छ । मान्छेभित्रकै स्वार्थी, विकृति र अपराध भावनालाई विनास गरेर मानवतालाई पालन गरेर संसारमा शान्ति छाउँछ। मान्छेले मान्छेकै गुण बुझेर जीवन बिताउन पर्छ, मनका कलुषित र कल्मष मेटेर आफुलाई सद्मार्गमा लानुपर्छ भन्ने सन्देश पाइन्छ । यसमा रहेका प्रायः सबै कवितामा केही न केही सन्देश दिएको पाइन्छ।
- मूल्याङ्कन र उपसंहार –
नेपाली कविता लेखनमा उत्रिएकी सुश्री अप्सरा दाहालका तीनवटा कविता-सङ्ग्रह प्रकाशित देखिन्छन्। उनको पछिल्लो कवितासङ्ग्रह फूलका उमेरहरूमा जम्मा ६७ वटा छोटा आयामका कविता सङ्ग्रृहीत छन्। उनको यस सङ्ग्रहका कवितामा आदर्शवाद, स्वच्छन्दतावाद, नारी चिन्तन, प्रकृति चिन्तन आदि विषयवस्तु लिएर देखा पर्छिन्। कवितामा हुनुपर्ने रागात्मक अनुभूति, आत्माभिव्यञ्जना, शाब्दिक मिठास आदि गुण पाइन्छ। उनका कविता सरल, सरस, सहज र सुबोध्य छन्। यसमा प्रतीक बिम्ब आदिबाट बेरिएर अर्थगत दूरूहता पाइन्न। पाठकका निम्ति सङ्लो पानीमा सेतो सिपी परैबाट छर्लङ्ग देखिएझैं पाठकका निम्ति सहजै अर्थबोध हुन्छ। कविता आदर्शवादी छन्। समाज सुधारको आह्वान छ। यसरी तीनवटा कवितासङ्ग्रह प्रकाशितगर्ने अप्सरा दाहाल एक कुशल कवि हुन्। कवितामा हुनुपर्ने रागात्मक अनुभूतिलाई उनले अभिव्यक्ति दिएकी छन्। संसार बोध गर्ने आफ्नै भाव छ अनि कविता लेखनको उनको आफ्नै शैली र खुबी छ। उनी स्वान्तः सुखायको निम्ति कविता लेख्छिन्। आफ्नै संसार र आफ्नै परिपाटि । अन्तमा उनको कविता साधनाको उत्तरोत्तर प्रगतिको कामना राख्दछु ।
आफूले चिनेर अरुलाई चिनाउनु धेरै गाहो काम हो । नवीन सरले गहकिलो पाराले तर सरल ढङ्गमा हाम्रा एक विभूतीलाई पाठक समक्ष ल्याइदिएका छन् । उनी बधाईका पात्र भएका छन् ।