कथा: आमा ! किन हाँस्नु भएको ?

करिब ३ वर्ष अघि मलेसिया गएको रमेश खबरै नगरी घर आउँदा गाउँ भरि हल्ला भएछ । स्कुलनजिक भुमिनन्दन दाइसँग भेट भएर सँगै आएका थिए रमेश । भुमिनन्दन दाइ रमेशको मिल्नेसाथी,सारै असल मान्छे अनि मलाई “बैनी” भनेर बोलाउनु हुन्छ ।

बिहानको त्यस्तै ८ बज्दो हो, सधैं  झैं ठट्टा गर्दै छिमेकी चुडाल बा “ हैन कहाँबाट भुमिनन्दन बाबु हलुवामा बालुवा हुन आइ पुग्नु भएछ हँ !“ भन्दै आइ पुग्नु’भो । भेट गर्नै भनेर होला जानुका दिदी,कृष्ण सेडांई भिनाजु, पौडेल्नी माल्दिदी र खड्का काका पनि एकै छिनमा भेला हुनु भो हाम्रो घरमा । रमेशले मलेसिया जाने बेलामा उहाँहरुलाई नै मेरो रेखदेखको जिम्मा लाएर गएका थिए ।

कुराकानी कै क्रममा रमेशले मलेसियामा भने बमोजिमको काम नपाइने, पाए पनि तलव कम दिने, लुटेराहरुबाट लुटिने र ज्यानै समेत जान सक्नेजस्ता आफूले भोगेका समस्याहरु बताए। अनि अब विदेश नजाने, यसो सानोतिनो पसल गर्ने र छोरीलाई वोर्डिडं हाल्नेजस्ता आफ्ना साना योजना सुनाए। रमेशको निर्णयले सबैजना खुसी भए । “अब त देशमा स्थिर सरकार छ, यदि चाह्यो भने विदेशिएका युवा यूवतीहरुलाई फर्काउने वातावरण बनाउन सक्छ “ भनी सेडाईं भिनाजुले आफ्नो तर्कदिनुभो। उहाँ राजनीतिमा निक्कै दख्खल राख्नु हुन्छ ।“खै हाम्रा केटाहरु कहिले आउने हुन्”भन्दै लामो सुस्केरा हाल्नु भो पौडेल्नी माल्दिदीले ।

रमेशले विदेशबाट ल्याएका चकलेट सबैका हातमा राखिदिए । पौडेल्नी माल्दिदीले नातीलाई लगिदिने भनेर गाम्छाको छेउमा बाँध्नु भो’ । ल अब स्कुल जान ढिला हुन्छ भनेर भुमिनन्दन दाइले विदा मागेपछि सबैजना आ-आफ्नो घर तिर लाग्नु भो । भुमिनन्दन दाइ स्कुलको हेडसर हुनुहुन्छ ।

मैले पनि उहाँहरुसँग कुरा गर्दा गर्दै भात पकाइ सकेकी थिएँ । खाना खाएर बुढाबुढी बजार जाने सल्लाह भो‘ ।लोग्ने मान्छेको मन न हो कोठा भित्र लुगा फेर्न पस्ने बित्तिकै रमेशले “त्यस्तो पापी ठाउँबाट धन्न बाँचेर आइयो, अब तिमीलाई छाडेर कहिं पनि जान्न सानु” भन्दै मलाई अँगालोमा बेरे । मैले पनि ३ वर्षदेखि प्रतिक्षा गरेको न्यानो अँगालो आँखा चिम्म गरेर स्विकार गरें ।

बजार जाँदा बाटोमा पर्ने खोला तर्दा रमेशले एक हातले पाइन्ट र चप्पल अफ्ठ्यारो गरी समाते । अनि अर्को हातले अलि रोमान्टिक हुँदै खोलाको पानी उघाएर मेरो जिउ भित्र हालि दिए ।
“आच्छु।। के गरेको  ?” भन्दै मैले पनि रमेशलाई पानी छ्यापिदिएँ । अनि हामी दुवै एकै छिन मरी-मरी हाँस्यौं ।

यसै बेला छोरी वालाले “आमा किन हाँस्नु भा’को ?” भनेर घचघच्याउँदा पो म झल्याँस्स बिउँझिएँ । यतिन्जेलसम्मका रमेशसँगका खुसीका पलहरु त सबै सपना पो रहेछन् । मेरो रमेश त २ महिना अघिमात्र मलेसियाबाट काठको बाकसमा फिर्ता आएको थियो, अनि यिनै हातले सदाको लागि बिदा गरेकी थिएँ ।

आकाश खसेजस्तो अनि मुटु फुट्ला जस्तो भो’ । म के नै पो गर्न सक्थें र भर्खरै सपनामा रमेशले बेरेझैं सँगै सुतेकी छोरी वालालाई अँगालो हालेर धेरै बेर रोएँ ।

अनि सम्झे, मजस्तै दिदी बैनीहरु अझै कति विधवा हुने हुन्, मेरी वालाजस्तै कति छोरा छोरीहरु टुहुरा हुने हुन्, अनि अझै कति बृध्द बुबाआमाहरुको काख रित्तिने हो ? साथै मनमनै ईश्वरसँग प्राथना गरें । हे भगवान, अघि सपनामा कृष्ण भिनाजुले भनेजस्तै सम्पूर्ण विदेशिएका युवा युवतीहरुलाई सरकारले स्वदेश बोलाउने वातावरण मिलाओस् ।

उज्यालो भैसकेको थियो । ढोका खोलेर यसो बाहिर हेरें अनि आफूलाई पनि । केही दिन देखि नधोएका मेरा सेता अनि मैला लुगा, धेरै दिनदेखि कोही नआएको उराठ लाग्दो आँगन । आँगनको पल्लो छेउमा भएको अगेनामा रातभरी बसेको कुकुर उठ्यो, थरर्र काम्दै जिउभरी लागेको खरानी टक्टकायो । खरानी माथिसम्म उड्यो । मन मनै सम्झे “मेरो जीवन पनि त्यही खरानीजस्तै भयो नि ?” यतिकैमा छोरी वाला पनि उठिछ। बाहिर आएर मेरो हात तान्दै भनी “आमा ! आमा ! भोक लागो ।”

2 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *