ओखती खोई त डाक्टर सा’प ?!
|अनुसन्धानको घाँघर लाएर
विज्ञान रन्थनिएर टाउको खुइल्याईसक्यो
घुँडा टेकिसके बारुद र गोलीहरुले
त्यै महिना गर्भवती भएकी महिलाले
स्वस्थ हो या संक्रमित
बच्चा जन्मदिने दिन आइ सक्दापनि
खै त
यो त्रासदिको ओखती डाक्टर सा’प ?
कैले मलेरियाको ओखतीमा अल्मल्यियौ
कहिले स्वान फ्लूको
कहिले सार्सको ओखती परिक्षण गर्यौ
पुरानै अनुसन्धानका टिप्दै रहेछौ रसायनहरु
र
गर्दै रहेछौ अझै अड्कलबाजी
नयाँ खोजमा तिमी खै कहाँ चुक्यौ कुन्नि
तिम्रो त्यो वर्षौ लाएर कमाएको उपाधी
खै कता हरायो त डाक्टर सा’प ?
सुविधा सम्पन्न प्रयोगशालाको व्याख्या गर्थ्यौ
निमेषमै कैयौं रोग निधानको रसायन झिक्थ्यौ
जादु गर्थ्यौ रे नयाँ ओखतीको स्टिकरमा स्क्यानर हालेर
बजारमा सनसनी फैलाउँथ्यौ रे
तर खै त
यो विश्वले आज भोग्दै गरेको
महामारी निदानको ओखती डाक्टर सा’प ?
विश्व भागिसक्यो
पुस माघको जाडोमा झैं थर्थर काँपी सक्यो
बन्द ढोका भित्र आँफैले आँफैलाई कैदी बनाएर
ओखतीको समाचार सुन्न आतुर
सारा मनुष्य जगत
केवल संक्रमित र मृत्युको संख्या सुनेर
हृदय को ढुकढुकी छामिरहेछन् हतासिएर
यस्तो भै सक्दापनि
ओखतीको चैं समाचार खै त डाक्टर सा’प ।
हो ! थाहा छ-
अदृश्य शक्ति शक्तिशाली हुन्छ
त्यसको निदान खोज्न कठिन हुन्छ
बितायौ कैयौं रात र दिनहरु
खाई नखाई खोज जारी राख्यौ
अझै मगज घोट्या घोट्दैछौ
तर,
तर सदियौ देखि विश्व होडवाजीमा
सम्पूर्ण सजीव वर्गको उपल्लो धुरीमा
आफूलाई उभ्याएका ठान्ने मनुष्यहरुको के कुरा
विद्वत स्थानमा बसेका तिमी डाक्टर
तिमी वैज्ञानिक
तिम्रै आशामा रहेका हामी असाहय
अब कुन आशाको त्यान्द्रोमा
बाँचिरहने हो त डाक्टर सा’प ?
के म अब ढोका खोलौं र भन्दिउँ ?
ती प्रशव पिडामा छटपटाइरहेकी आमालाई
अब तिमी आँफैले यो महामारी जित्नु पर्नेछ
के म सुनाई दिउँ तिम्रा अधोषित सन्देश
त्यो जन्मिदै गरेको अवोध शिशुलाई पनि
तिम्रा विद्वान डाक्टर र वैज्ञानिक पितामहहरुले
विश्वास गुमाईसके !
अब तिमी आँफैले
जीवन जिउन सिक्नु पर्ने भएको छ
तिमी ठूलो भएर
आँफैले ओखती खोज्नु पर्नेछ
हामी पनि
सुम्पिदिउँ कि धक नमानिकन
सारा बाँकी कामहरु तिनै शिशुहरूलाई !
र,
हामी हात धोई रहौंला
मास्क लगाइरहौंला
सेनिटाइजर बोकेरै हिंडौंला
कसैको नजिक नजाउँला
उ नहुर्किउन्जेलसम्म
किनकी
अब त्यै एउटा
आशाको किरण त बाँकि रह्यो
हैन र डाक्टर सा’प ?!
हैन र वैज्ञानिकज्यूहरू ?!