यात्रा अन्तरमनको

छोडेर,
बिगतको गह्रुंगो भारी
बोकेर,
द्रष्टाभावको सुन्दर अनुभूति
लम्किरहेको
यो हो यात्रा आफ्नै मनको ।

नापेर
मनभित्रको गहिराई
बोकेर
ज्ञानको मोती टिप्ने लक्ष्य
स्वास-निस्वासको राजमार्गमा
निसंकोच हिंडिरहेको
म हुँ यात्री सुख शान्तिको ।

म हेरिरहेछु
शोकको घडा छोडेर
गैसकेको छ अतित
चिन्ताको बर्को ओढेर
आउँदैछ भविष्य
तर कत्ति पनि विचलित छैन म
मसँग छ
एउटा दह्रो अकम्पित मुटु
र,करुणाको सागरजस्तो मन ।

यो अद्भुत र अनन्त यात्रामा
गुनासो गर्दागर्दै आफैसँग
अपेक्षा गर्दागर्दै दुनियाँसँग
थाकेपछि मन
सुस्ताएको छ एकैछिन
स्विकारभावको शीतल चौतारीमा ।

धाप मारेर आफ्नै काँधमा
थुम्थुम्याउँदै आँफैलाई
भनिरहन्छ मन
“म सक्छु,
लढेपछि उठ्छु,
उठेपछि हिड्छु
र,हिडेपछि दगुर्छु”।

हिम्मतिला शब्दहरुले
अविचल मनलाई
ढाडस दिएपछि
टुसुक्क बसेको चन्चल मन
‘क्षमादान’ महादानको पाठ पढिरहेछ अचेल !

https://twitter.com/kaliktm

Add a Comment

Your email address will not be published. Required fields are marked *