सरकारलाई प्रश्न !?
|कयौं नाबालिग नानीहरू
दिनानु दिन बलत्कृत हुन्छन्
बलत्कृत भएपछि मारिन्छन्
ति नानीहरूको के दोष ?
र बलात्कृत हुनु पर्ने ।
सरकार !
हजूरलाई यही प्रश्न छ
उनका आमा बाबुको के दोष ?
कि अन्जानमै काख रित्तो हुनु पर्ने
हरेक समाज, हरेक गाउँ-वस्तीमा
बलत्कारी कसरी उत्पन्न हुन्छ ?
एकाएक
र बिलाउँछ कसरी ?!
सरकार !
यहाँ,थुप्रै प्रश्नहरूको थुप्रो छ-
किन तपाईंको कानले सुन्दैन ?
बालिकाको अन्तिम चिच्याहट
किन तपाईंको आत्मालाई छेदन गर्दैन ?
एक नाबालिगको कलिलो यौन अंगको पीडाले
किन तपाईंको मस्तिष्कलाई घोच्दैन ?
अर्काको काख रित्तो बनाउने
ति रक्त पिपासुहरूको उत्तेजित लिङ्गले ।
सरकार !
यो समाजमा
किन हुन्छ ? बारम्बार बलत्कार
किन पत्ता लाग्दैन ? बलत्कारी
किन सावित हुँदैन ? अपराधी
तत्थ्य कसले लुकाई रहेको छ ?
सत्य कसले मोडी रहेको छ ?
सरकार !
यो देशमा
नैतिकता र मानवता बेच्ने
होलसेल पसल खोली रहेछ, कसले ?
अजिङ्गरजस्तै सुतेको अभिनय गर्ने न्यायलय
चलाई रहेछ, कसले ?
मियोमा बाँधेको गोरूलाई घुमाएजस्तै
घुमाई रहेछ कानून, कसले ?
निम्छरोहरूको आवाजलाई
आजसम्म थुनी रहेछ, कसले ???
सरकार !
यदि दयाको कुनै अंश छ भने
तिम्रो हृदयमा
मायाको कुनै बिज छ भने तिम्रो मुटुमा
ति रक्त पिपासुहरूको विरुद्धमा
किन हुँदैन तिनीहरूमाथि तुरुन्तै सजाँय ?
किन बन्दैन तिनको लागि फाँसीको कानून ?