नियात्रा: न्युजिल्याण्डको भाग चार

सर, आइ क्यान स्पीक नेप्लीस बट कान्ट राइट

पहिलो दिनको कार्यसूचीको प्रारम्भमै अतिथिहरुको परिचय गराइयो। आयोजक समितिका तर्फबाट देशविदेशका अतिथिहरुलाई टोपी, खदा, फूलमाला र ब्याज लगाएर सम्मान गरियो। सभागारमा घुँइचो थिएन। तीनसय केपासिटिको सभागारमा लगभग दुइ सय जति मान्छे थिए जसमा आधाजसो नै बाहिरबाट आउने अतिथि थिए भने रहल एक सय न्युजिल्याण्डबाटै थिए। न्युजिल्याण्ड सरकारको भएर पामिस्टन र मानावती जिल्लाका मेयर क्रमैले ग्रान्ट स्मिथ तथा हेलेन वार्बइजले अतिथिहरुलाई स्वागत गर्दै वक्तव्य राखे।

नेपाली र अंग्रेजी, दुइ भाषामा कार्यक्रम सञ्चालित भएको थियो। नेपाली भाषामा सूत्रधार इन्दिरा भण्डारी थिइन भने अंग्रेजीमा विदूर पौडेल।

पाल्मारस्टन नर्थका मेयर ग्रान्ट स्मिथले उनको भाषणमा भुटानी नेपालीहरुलाई वीर जाति भनेर सराहना गरे। उनले त्यसो भन्दा मलाई भने असजिलो लागेको थियो। पहिलो र दोस्रो विश्वयुद्ध, त्यसपछिका अनेकौ युद्धहरुमा ज्यानको बाजी लगाएर लड्ने लडाकु वीर गोर्खा आज किन भाग्न विवश हुन्छ ? मेघालयबाट खेदियो, मिजोरमबाट लखेटियो, भुटानबाट उखेलियो। कसैले धम्की लगाउँदैमा रातारात भाग्न तयार हुन्छ। कस्तो विडम्बना, अर्कोका लागि मर्न जान्दछ तर आफ्ना लागि मर्न जानेन। स्मिथले पाल्मस्टन नर्थमा संस्थापित भुटानीहरुलाई सबै प्रकारका नागरिक सुविधा उपलब्ध गराउने वचन दिए। जीबीएलओको न्युजिल्यान्ड अधिवेशन सफल पार्न जिल्ला प्रशासन पनि लागेको कुरा गरे। आफ्नो भाषणमा उनले भने न्युजिल्यान्ड यस्तो देश हो जहाँ विश्वका हरेक प्रान्तका मान्छे निर्ढुक्कसँग बसोबास गरेका छऩ। पामिस्टनमै 136 वटा जनगोष्टी बसोबास गर्दछन। उदार विचार भएका ग्रान्ट स्मिथ भुटानी समाजमा निकै पपुलर भइसकेको बुझियो। त्यो देखेर राम्रो लाग्यो।

मैले लक्ष्य गरें त्यो शहरको साथै जिल्लाको पनि नाम पाल्मारस्टन नर्थलाई नेपालीभाषी भुटानीहरु आफ्नै पाराले पामिस्टन उच्चारण गरिरहेका थिए। त्यसैले मलाइ पनि छोटो छरितो पामिस्टन नै ठिक लाग्यो, अबदेखि म पनि पामिस्टननै लेख्ने छु।

मानावटु जिल्लाकी मेयर हेलेन वर्बयज फर्साइली महिला रहिछन। उनले आफ्नो भाषणमा नेपाली जाति विश्वासी, साहसी र भरपर्दो जाति हो भनेर प्रशंसा गरिन। उनले भारतको सांस्कृतिक बिरासतको पनि खुलेर सराहना गरिन। भारत एउटा महान सभ्यता हो, भुटानी नेपालीहरुले भारतबाट पनि धेरै सांस्कृतिक महत्वका कुरा बोकेर ल्याएका छन। संस्कृतिको आदानप्रदानबाट हामी सबै उपकृत हुनेछौ, हेलेनले भनिन।

गहिरो अध्ययन भएकी विदुषी रहिछन उनी। उऩको भाषण आकर्षक र प्रेरक थियो। ग्रान्ट स्मिथ र हेलेन वर्बयजले न्युजिल्यान्ड सरकारको प्रतिनिधित्व गरेका थिए। न्युजिल्यान्डका प्रधान मन्त्री मुख्य अतिथि हुनेछन भन्ने प्रोग्राममा उल्लेख थियो। उनी नआउने रे, भन्ने सुनेर खल्लो लागेको थियो तर सरकारका प्रतिनिधिको वक्तव्य सुनेर त्यो खल्लोपन दूर भयो। सभामा ब्रिटिस मूलका गोरेहरु निकैजना, थिए। तिनमा विभिन्न संस्थाका प्रतिनिधि, संवादसेवी र पत्रकार थिए। भारतबाट ममात्र हुनाले होला, टी-ब्रेकका समयमा धेरैजनाले मलाई घेरे, मसँग परिचय हुन र फोटो उठाउन तँछाड र मछाड गर्न थाले। सभा सकिए पछि भेटेर कुरा गरौं न, मैले भनें। मेरो देश भारतको ठूलो इज्जत रहेछ भन्ने बुझें। मलाई भारतीय हुनको गर्व भयो, आङ ढक्क फुल्यो। त्यस दिन सारा न्युजिल्यान्डभरिको सबैभन्दा महत्वपूर्ण व्यक्ति म नै पो हुँ कि जस्तो लाग्यो।

टी ब्रेक पछिको कार्यक्रम पुस्तक विमोचन थियो। जीबीएलओका महासचिव गोपाल पौडेलको संस्मरणात्मक ग्रन्थ कथा भित्रको कथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विधिवत विमोचन गर्नु भयो। (ग्रन्थ र ग्रन्थका लेखकका बारेमा परिचयात्मक लेख स्थानान्तरमा राखिने छ)।

लेखक गोपाल पौडेलले उनको वक्तव्यमा नेपालमा शरणार्थीको जीवन र अहिले न्युजिल्यान्डमा बसोबास गर्दाका दुखसुखका अनुभवलाई पुस्तकमा लिपिबद्ध गरिएको कुरा भने। उनले उदघाटकलाई र मलाई एक एक प्रति पुस्तक उपहार चढाए। पुस्तक झोलामा हालें र संगोष्ठीमा बीज भाषणका लागि तयार भएँ।

आज पहिलो दिनको मुख्य विषयका दुइजना वक्ता थिए—

प्रभात दीक्षित (अमेरिका)

ज्ञानबहादुर छेत्री (भारत)

दुबैजना वक्तालाई 35 मिनट गरेर समय तोकिएको थियो। विश्वमा नेपाली कला र साहित्य यस थीममा बोल्दै दीक्षितले अमेरिकामा नेपालीहरुले नेपाली भाषा, साहित्य र संस्कृति बिर्संदै गएको कुरा उल्लेख गर्दै चिन्ता व्यक्त गर्नु भयो। दीक्षितजीले आफ्नो भाषण तीस मिनटमा पुरा गरेर महत्वपूर्ण संकेत दिनु भयो। अमेरिकीहरु समयभन्दा अघि हुन्छन। अब मेरो पालो आयो। मेरो प्रस्तुति निकै लामो, एक घन्टाको थियो। एफोर साइजका कागजमा टाइप गरिएका 12 पृष्ठा, एक पेजलाई पाँच मिनट गरेर हिसाप गर्दा साठी मिनट लाग्ने। सम्बोधनमा पनि त दुइ तीन मिनट लाग्छ।

मनमनै जे पर्ला भनेर अघि सरें। कार्यपत्रलाई छोट्याएर, पट्याएर मुख्य बूँदाहरुलाई भाषणका रुपमा प्रस्तुत गरें। (रेकर्डेड भाषणको लिखित रुप स्थानान्तरमा राखिएको छ)। तीस मिनट बोले पछि सङ्केत आयो। त्यस पछि भने निकै हतार गर्नु पर्यो। मेरो भाषण पुरा गरेर सबैलाई धन्यवाद दिएर आसनमा बसें।

दोस्रो सेसनमा प्रताप सुब्बा (अमेरिका) र प्रकाश धमाला (अस्ट्रेलिया) मुख्य वक्ता थिए। प्रताप सुब्बा नेपाली सङ्गीत जगतका एकजना चर्चित गीतकार गायक हुन भने प्रकाश धमाला सुनकोश टीभीका सञ्चालक हुन। न्युजिल्यान्ड आए पछि नै सर्दी,ज्वरो र बोली भासिएकोले प्रताप सुब्बाले भाषण राख्न सक्नु भएन। जोशिला युवा प्रकाशको भाषण तेजोदीप्त थियो। भुटानी डायस्पोरा र पहिचानको समस्या विषयमा उहाँले संक्षिप्त रुपमा भाषण प्रस्तुत गर्नु भयो। अस्ट्रेलिया, अमेरिका, न्युजिल्यान्ड, युके आदि विकसित देशहरुमा संस्थापित नेपालीभाषी भुटानीहरुले अदूर भविष्यमा आफ्नो जातीय परिचय हराउने हुन कि भन्ने चिन्ता व्यक्त गर्नु भयो। उहाँले आयोजकका केही गल्तीहरु समेत औंल्याई दिनु भयो। अरु चारजना स्थानीय वक्ता थिए — डा. सरिना मानन्धर पिया, विदुर पौडेल, भीम गुरुङ (अमेरिका) र डा. रघुनाथ नेपाल।

चारबजे पहिलो दिनको सभा समाप्त भयो। सभा सकिए पछि अघोषित फोटो सेसन चल्यो, धेरै बेरसम्म। बसेर, उभिएर, कसैले काँधमा हात राखेर अनि कसैले त अँगालो नै मारेर फोटो खिचे। कसैले ग्रुपमा खिँचेको फोटोमा सन्तुष्ट नभएर मसँग छुट्टै सेल्फि पनि लिए।

सांस्कृतिक कार्यक्रम माउरीहरुको स्वागत नृत्य

पामिस्टन नर्थ ब्रोडवेको रिजेन्ट थिएटरमा पाँच बजेदेखि सांस्कृतिक कार्यक्रम आरम्भ भयो। सभागारदेखि त्यस्तै सय मिटर दूरीमा रहेछ त्यो रङ्गमञ्च, हिँडेरै पुगियो। गोपालले भने, यो अत्याधुनिक रङ्गमञ्चको एक दिनको भाडा दस हजार डलर (भारुमा लगभग साठीहजार) तर पामिस्टन प्रशासनको तर्फबाट उपलब्ध गराइएको हो, एक दिन अतिथिहरुलाई राजधानी शहरका मुख्य आकर्षणका ठाउँ घुमाउन ठूलो बस पनि दिएको छ।

पाँच सय जना बस्न सकिने रिजेन्ट रङ्गमञ्च फराकिलो र सुन्दर थियो। घुमाउन सकिने आसनहरु आरामदायक थिए। भवन भित्र मञ्च थियो तर खुला ठाउँमा भए जस्तो लाग्यो किनभने माथि आकाशमा झलमल्ल तारा देखिएका थिए भने मञ्चका पछिल्तिर दूर दिगन्तमा नीलो पहाड र त्यसमाथि घुर्मैला बादलका टुक्रा चलायमान देखिन्थ्यो। तर होइन रहेछ, त्यो त रङ्गमञ्चको बनावट नै त्यस्तो रहेछ। मलाई हाम्रो गुवाहाटीको तारकागृहमा छु जस्तो लाग्यो।

पहिलो कार्यक्रम एउटा ग्रुप डान्स थियो। अद्भुत वेशभूषा पहिरेका कलाकारहरुले अनौठो नृत्य प्रदर्शन गरे। हातमा भाला लिएका, लामो जिङरिङ्ङ केश, मुखमण्डल र सारा जिउमा ट्याटुले सिंगारेका डरलाग्दा मान्छे अद्भुत शब्दले चिच्याउँदै कराउँदै आक्रमण गर्ने जसरी आए । उनीहरु कराउँदै उफ्री उफ्री अघि र पछि गर्दै थिए। सभागारमा नभएर अन्य ठाउँमा भएको भए तर्सेर भाग्ने थिएँ। यो न्युजिल्यान्डका आदिवासी माउरी जनगोष्ठीको अतिथिलाई स्वागत सम्मान गर्ने पारम्परिक नृत्य रहेछ।

संस्कृतिका धेरै कुरा त्यस संस्कृतिसँग अपरिचितहरुका लागि अनौठो लाग्न सक्छ। सांस्कृतिक कुराहरुलाई सानो-ठूलो वा उच्च-नीच भनेर दाँज्नु मिल्दैन। कुनै पनि संस्कृति सानो वा ठूलो हुँदैन। आफ्नो होस या अरुको, सांस्कृतिक कुराहरुलाई सधैं सम्मानका नजरले हेर्नु पर्छ। गोपाललाई कार्यक्रम सकिए पछि ती कलाकारहरुलाई भेट्न चाहन्छु भनें।

त्यस पछि कलाकारहरुले सुन्दर नेपाली लोकनृत्य प्रदर्शन गरे। कसले सिकाउँदो होला यिनीहरुलाई नेपाली लोकनृत्य ? बाबुआमाले या त मोबाइल इन्टरनेटको सद्व्यवहार गरेका होलान। त्यस पछिको जेनेरेसनमा के होला, सोचेर आतङ्कित हुन्छु म। आधुनिक नृत्यमा अद्भुत किसिमले अङ्ग सञ्चालन र अङ्गीभङ्गी आदिम, श्लील र अश्लील छुट्याउऩ नसकिने थिए। यी नृत्य गर्दा ताली र सुसेलीले हल गुञ्जायमान भएको थियो। उमेरले डाँडो काटिसकेका कतिपय पुरुष महिलाहरु पनि ठिटाठिटीहरु सँगसँगै मच्चीमच्ची सुसेल्दै थिए। म चाख मानेर नृत्य उपभोग गर्दै थिएँ, छेवैमा बसेका महासचिव गोपालले कोट्याएर भुटानमा र नेपालमा टीभी सिरियल हेर्दाका अनुभव बताए। घरमा एउटै टीभी हुन्थ्यो । कतिपय सिरियलमा यस्ता दृश्य आउँथे, आमाबाबु, छोराछोरी सँगै बसेर हेर्न लाजमर्दो हुन्थ्यो। अहिले यहाँ एक प्रकार सबै खुला छ, व्यक्ति स्वाधीनताका प्रश्नमा सबै सचेत छन। त्यसको विरोधमा कसैले बोल्ने आँट गर्दैन।

एक प्रकार सबै खुला छ—— गोपालले भने, मैले आफ्नै तरिकाले बुझेँ। प्रिय पाठक, तपाई पनि आफ्नै तरिकाले बुझ्न सक्नु हुन्छ। रोलाँ बार्टले आफ्नै तरिकाले बुझेर व्याख्या गर्ने अधिकार पाठकलाई दिएकै छन। अझ डेरिडाले त यस्तै कुनाकोप्चा, छिँड जस्केला आदि ग्याप्सबाट चिहाएर हेर्नु पर्छ भनेका छन।

त्यसै बीच टी-ब्रेकमा माउरी नृत्य प्रदर्शन गर्ने कलाकारहरु मलाई भेट्न आए। मलाई आश्चर्यचकित पार्दै तिनीहरुले मसँग नेपालीमै कुरा गरे। सबै कलाकार नेपालीभाषी रहेछन, छेवैको हेमिल्टन भन्ने ठाउँबाट आएका। परिचय पछि उनीहरुलाई आशीर्वचन सुनाउँदै भनें, ‘आज न्युजिल्यान्डको संस्कृति आत्मसात गरेर यहाँ यति सुन्दर तरिकाले प्रदर्शन गरेको देखेर मलाई औधी खुसी लागेको छ, म गौरवान्वित भएको छु। नेपाली जाति आज विश्वको कुनाकुनामा पुगेको छ, जहाँ जहाँ पुगेको छ, ती ती ठाउँका संस्कृतिलाई आत्मसात गरेको छ। त्यसका साथसाथै आफ्नो संस्कृतिलाई पनि सारा विश्वमा पुर्याएको छ। यहाँ आएर तपाईहरुसँग मातृभाषा नेपालीमै कुरा गर्न पाउँदा म रमाएको छु, नेपाली संस्कृतिको झलक देख्न पाउँदा हर्षले उचालिएको छु। यसरी तपाईहरुले विश्व भ्रातृत्वको ठूलो सन्देश दिनुभएको छ, म यो सन्देश भारत तथा एसियाइ मुलुकमा पुर्याउने छु। वसुधैव कुटुम्बकमको भारतीय संस्कृतिको गुढतत्व हो।‘

उनीहरुको सांस्कृतिक टोलीले माउरी लगायत अरु पनि जनगोष्ठीहरुका लोकनृत्य र गीतहरुको तालिम प्राप्त गरेका रहेछन अनि कहिले अमेरिका त कहिले अस्ट्रेलियामा सांस्कृतिक प्रदर्शनका लागि आमन्त्रित भइरहन्छन। यसरी सांस्कृतिक गर्ने कलाकारहरुको के कस्तो आयस्ता हुन्छ नसोधी सकिन। मेरो आशय थियो घर चल्न सक्ने इनकम हुन्छ कि हुँदैन। हाम्रा तिर कलाकार साहित्यकार भनेर चिनिने सबै जसो नै आर्थिक दूरावस्थामा पिल्सिएका हुन्छन, कलाकारिताले खान लाउन पुग्दैन। कतिपय अलिक हुनेखाने जस्ता देखिनेहरुको पेशा अर्कै हुन्छ। कलाकारहरुलाई उछिनेर गोपालले भने, आम्मै उता नेपालको जस्तो कहाँ हो। राम्रो इनकम हुन्छ नि यहाँ त। एकदिनको सो-ले महिना दिनको घर खर्च चल्छ। महिनामा औसत दरमा दसवटा कार्यक्रम पर्दारहेछन।

‘भाई हो’ मैले भने, ‘आफ्नो जातीय परिचयलाई बँचाएर राख्न जातिको नाम मात्र भनेर पुग्दैन। आफुभित्र जातीय सांस्कृतिक तत्वहरु समाहित गर्न सक्नुपर्छ। विशेष गरी आफ्नो भाषामा पढ्न लेख्न सिकेको छैन भने जातीय परिचय हराउँछ।‘ मेरा कुरा सुनेर एउटा युवक हातमा खानाको प्लेट लिएर भीड ठेल्दै मेरा छेउमा आए र भने, ‘सर, आइ क्यान स्पीक नेप्लीस, बट कान्ट राइट।‘

युवकले ठूलो प्रश्न तेर्स्य़ाइदिए। कसले सिकाउऩे उनलाई मातृभाषामा लेख्न-पढ्न। चाहेर पनि आफ्नो मातृभाषामा पढ्न लेख्न नपाउनु यो कत्रो विडम्बना। ती युवकको कुरा सुनेर होला एउटी पातलो दारकी गोरी केटीले एक्सक्युज मी प्लीज भनेर मेरो ध्यानाकर्षण गरिन। ती युवतीले आफ्नो नाम सरिना भनेर परिचय दिइन। उनले पामिस्टनमा हप्तामा दुइ दिन नेपाली पढाउन थालेको कुरा गर्दै ती युवकलाई उनको स्कुलमा आउने आग्रह गरिन। ती युवक निकै टाडा हेमिल्टनमा बस्ने हुनाले आउन नमिल्ने रहेछ। पछि गोपालबाट थाह पाएँ, सरिना (स्थानान्तरमा पुरा परिचय दिइएको छ) पीएच. डी गरेकी युवती अर्कै विभागमा जागीर गर्दिरहिछन। स्वल्पभाषी ती युवती समय उबारेर विना पारिश्रमिक हप्तामा दुइ दिन नेपाली सिकाउदै छिन । आफ्नो भाषा साहित्य प्रति यसरी श्रद्धाभावनाले सेवा गर्नेहरुको संख्या बढ्दै जानु हो भने नेपाली भाषा साहित्यलाई ठूलो टेवा पुग्ने थियो।

ती विदुषी नारीप्रति श्रद्धाले मेरो शिर स्वत नत भयो ।

साडे आठ बजे सासंस्कृतिक कार्यक्रम सकियो । प्रेक्षागृहबाट बाहिर निस्कँदा झलमल्ल घाम लागिरहेका थिए ।

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *