विदेशीएको पतिलाई पत्र

तिमी गएदेखि यो छाप्रोमा
कहिल्यै घाम लागेको छैन
तिमी गएदेखि यो भान्सामा
साँचो अर्थमा भात पनि पाकेको छैन
हुन त,
तिमीले धेरै पसिना बेचेर
थोरै भए पनि नगदै पठाउँछौ
तर तिम्रो पसिनाको रुपियाँले
पुन्टेलाई जाउलो पनि धौ धौ हुन्छ
मेरो त कुरै के भो र !

अर्काको ढिकि जाँतोले थिचिएर
जिन तिन बाँच्नसम्म सकेको छु
तिमीले पसिनाको
रुपियाँ बनाएर पठाए पनि
म ढिकि जाँतोमा पिसिए पनि
सधैं पानीमा अन्न हालेर पकाउँछु म
अन्नमा पानी हालेर पकाउने दिन
खोइ कहिले आउँछ
मलाई थाहा छैन !

तिमी परदेश किन लाग्यौ
मलाई राम्ररी थाहा छ
तर खै ?
तिमीले विदेशमा पोखेको पसिनाको
मोल कति पायौ ?
तिमीले रगत मासु सुकाएर
कति धन कमायौ ?
पोहोर साल बर्षामा
भत्किएको आधा घरले
यसपालिको बर्षामा बास दिन्छ कि
सर्वनास गर्छ ?!
मलाई थाहा छैन ।

आधा डिल खसेको आँगनबाट
पुन्टे धेरै पटक लडी सक्यो
आँगन अझै अलि अलि खस्दैछ
पुन्टे अब कहाँ खेल्छ
त्यो पनि मलाई थाहा छैन
पहिरो खसेको बारीका कान्लाहरुले
उकास्ने हातहरु खोज्दैछन्
भ्वाँङ्ग परेका खेत र बाँझा पाटाहरुले
कोदाली भिरेको बाउसेलाई पर्खिरहेछन्
तर खै ?
तिमी भने
गएदेखि आउँदै आएनौ
साहूका तीखा तीखा आँखाहरु
घर र बारीमा गडीसकेको छ
त्यति मात्र होइन
उसका लोभी आँखाहरु
मेरो यौवनमा पनि परि सकेजस्तो छ
किनकि ,
आजभोलि सबै चिज महंगो भए पनि
गरीबको ईज्जत् सारै सस्तो छ।

तिम्री बुढी आमा
साँझको बत्ती सँगै,
तिम्रो प्रतिक्षामा जल्ने गरेकी छिन्
तिमी नआउँदै काल आउला भनेर
त्यसै त्यसै तर्सिने गरेकी छिन्
किन भनेर नसोध
आफ्नो काखमा हुर्केको छोरो
विदेशी भूमिमा मुल्यहीन भएर फालिंदा
कुन आमाको हृदय नरोला ?
आफ्ना स्तन चुसाएर बनाएको रगत पसिना
अर्काकोे देशमा पोखिंदा
कुन आमाको छाती नदुख्ला ?
हो उनी,
आधा आशा आधा निराशा बोकेर
आधा मरेर बाँचिरहेकी छिन्
तिमी आउने आशामा
पारी डाँडासम्म
आँखा ओछ्याइ रहेकी हुन्छिन् ।

पुन्टेलाई बुबा भोलि आउनु हुन्छ है भनेर
अब कति दिन सम्म झुक्याइ रहुँ म ?
फेरि रात दिन चलिरहने
आशंकाको हूरीमा म
सुकेको पात झैं कति दिन उडी रहुँ !?

भैगो अब त्यसै भए पनि आऊ
थाहा पाइ सकियो
तिमीले त्यहाँ पोखेको पसिनाले
हाम्रो नयाँ घर बन्न सक्दैन
तिमीले त्यहाँ बेचेको रगतले
हाम्रो खेत निखन्न पनि सकिंदैन
खेत त बन्धकी रह्यो रह्यो
अब छोराको भविष्य पनि बन्धकि नराख
तिमीले विदेशी माटोमा पसिना पोख्दा
यहाँका खेतबारीमा
धानका बाला झुल्दैनन्
मकै र कोदो पनि फल्दैनन्
त्यसैले, तिमी आऊ
फेरि कहिल्यै नजाने गरी आऊ
पसिना रोप्नै छ भने, आफ्नै माटोमा रोप
रगत बगाउनै छ भने
आफ्नै धर्ती भिजाऊ
आउ तिमी छिट्टै आऊ
बरु तिमी आउँदा
पुन्टेलाई धेरै माया लिएर आऊ
आमाको लागि
सम्मानको कोसेली लिएर आऊ
अनि मेरा लागि
तिम्रो उही निजी
स्वदेशी मन र माया लिएर आऊ ।

Add a Comment

Your email address will not be published. Required fields are marked *