पुस्तक समीक्षा : निको नभएका घाउका कथाहरु

(पदम गौतम)

पूर्वपत्रकार तथा लेखक श्रीभक्त खनालको किताब ‘जोर बन्दुकका छाया’ हालै सांग्रिला प्रकाशनले बजारमा ल्याएको छ । डेढ दशकअघिको द्वन्द्वका केही चर्चित् र केही गुमनाम घटनामा किताब केन्द्रित छ । किताबमा उल्लेखित बिषय पुरानै भए पनि यसको प्रकाशनले बिर्सिँदै गएको गम्भीर मुद्दामा फेरि राज्य र जिम्मेवार निकायको ध्यान आकर्षित गराएको छ । त्यससँगै चर्चित् केही घटनामा नखुलेका पाटा खुलेका छन् र केही चर्चामा नआएका घटना पहिलो पटक प्रमाणसहित सार्वजनिक भएका छन् ।

द्वन्द्वकालका घटना पुराना भए पनि ती घटनाको घाउ पीडितका परिवारका लागि सधै.भरी दुख्नेगर्छ । अझ राजनीतिमा फस्टाएको कुनै चाडपर्व र बिशेष दिनमा मात्र त्यस्ता घटनाले चर्चा पाउने संस्कारले पीडितलाई झन् कति पीडा दिन्छ होला ? सहजै अनुमान गर्न सकिन्छ । एकातिर आफूहरु बाँचुन्जेल पीडा भोग्दै न्यायको पर्खाइमा पीडित परिवार बसिरहेका छन् भने अर्कोतिर यो बिषय धेरैका लागि अझै व्यवशाय र व्यापार बनेको छ । यो अवस्थामा द्वन्द्वका घटनाको भित्री पाटासहित विवरण सार्वजनिक गरेर लेखक र प्रकाशकले नेपाली समाजलाई गुन लगाएको भन्न सकिन्छ । शान्ति प्रक्रियाको डेढ दशकपछि मात्र किताब प्रकाशन गर्नुको कारणबारे लेखक खनालको भनाइ छ, ‘द्वन्द्व कागजमा सकिए पनि व्यवहारमा सकिएको छैन । यसमा संलग्न पक्षहरुले हामीले हामीले एक अर्कासँग अंकमाल ग¥यौ, मनमुटाब हटायौ र कानून रुपमा समस्याको समाधान ग¥यौ भनेका छैनन् । द्वन्द्वका भौतिक र मानसिक असर कायमै छन् । सम्वद्ध पक्षको भावनामा चोट पु¥याएर र पीडितलाई दोबाटोमा छाडेर द्वन्द्व सकियो भन्न मिल्दैन ।’

किताबमा आएका धेरैजसो बिषयहरु बिभिन्न मिडियामा द्वन्द्वकाल र त्यसपछि अनगिन्ती पटक छापिएका नै छन् । आफू पत्रकारितामा रहँदा लेखकले रिपोर्टिङ् वा वृत्तचित्रका क्रममा संग्रह गरेका सूचनालाई पछिल्लो समयमा फेरि अपडेट गरिएको छ । ती मुद्दाको भित्री पाटा र वर्तमान अवस्थामा पीडित र आरोपी दुबै पक्षसँग सकभर उनले कुराकानी गरेका छन् । करिब एक दर्जन जति बिषय भएका कारण सबैमा उत्तिकै मेहनत देखिँदैन तर हरेक बिषयका प्रस्तुति बेजोड छन् । सबैभन्दा चुनौतिपूर्ण कुरो द्वन्द्वका दुबै पक्षप्रति उनी सन्तुलित देखिन्छन् । हिमाल खबरपत्रिकाको रिपोर्टरका हिसाबले त्यो बिन्दूमा अडिनु निकै अफ्टेरो काम हो । सन्तुलित लेखनका बिषयमा लेखक खनाल भन्छन्, ‘कुनै प्रकाशन संस्थामा काम गर्दैमा मैले आफ्नो अभिव्यक्ति स्वतन्त्रता बन्धक राख्नु परेन । आफूलाई मन लागेको कुरा लेखें!’

माओवादी बिद्रोहले देशलाई दिएका र देशमा रोकेका बिषयको बहश लामै हुन्छ । त्यो बिद्रोह र जनताको रगतलाई कुर्सीसँग साटेर नवसामन्त बनेकाहरु स्वयम्को बोली फेरिएको छ । हिजो बिद्रोह दबाउने र नेतृत्व गर्नेहरु दुबै पक्ष आज मुलुक दोहनको भागबण्डामा सामेल छन् । यो कुरुप यथार्थ एकातिर छ । अर्कोतिर द्वन्द्वकालका घटनाका कारण नेपाली शब्दकोशमा केही शब्द स्थापित भएका छन् । उदाहरणका रुपमा मैना सुनार, मुढे, शिक्षक मुक्तिनाथ, दोरम्बा आदिलाई लिन सकिन्छ । यी मान्छे र ठाउँका नाम मात्र हैनन्, मुलुक र मुलुकवासीका घाउ पनि हुन् । यी नाम सुन्नेबित्तिकै तिनले दश वर्षे माओवादी बिद्रोहको झलक हाम्रा आँखामा आउँछ । कहिल्यै नपुरिने पीडितहरुको घाउको सम्झना हुन्छ ।

द्वन्द्वकालमा चर्चामा रहेका केही बिषयहरु नै छन् किताबमा । तर पनि पीडितलाई केन्द्रमा राखेर घटनाको तत्कालीन र बर्तमान अवस्था पाठकलाई जानकारी दिन्छन् लेखक खनाल । बहुचर्चित् घटना र पात्रहरु काभ्रेपलाञ्चोककी मैना सुनार, चितवनको बाँदरमुढे, लमजुङका शिक्षक मुक्तिनाथ, खोटाङका प्रधानाध्यापक हर्कबहादुर राई, रामेछापको दोरम्बा, सशस्त्र प्रहरी बलमा महानिरीक्षक कृष्णमोहन श्रेष्ठ, कुमार लामाका बिषयमा छुट्टाछुट्टै च्याप्टर छन् । सबैभन्दा रोचक त बेलायतमा चलेको कुमार लामाका बिषयको मुद्दाको अदालती प्रक्रियाको डिटेलले साधारण पाठकदेखि गम्भीर अध्येतासम्म सबैको ध्यान खिच्छ । लेखकले अनुसन्धानात्मक बिधि र संस्मरणात्मक शैली प्रयोग गरेका छन् । यो भागमा लामाबाट पीडितदेखि मुद्दा प्रक्रियामा जोडिएका‘सोलिसिटर’देखि अदालतमा बयान दिने व्यक्तिसहित करिब एक दर्जन व्यक्तिको धारणा पुस्तकमा छ । लामाबिरुद्ध बयान दिने पीडित जनकबहादुर राउतले अदालतमा बयान दिँदा भनेका छन्, ‘म सधैं पीडा बोकेर हिँडिरहेको मान्छे, अदालतमा गएर सबै कुरा बोल्न पाइएला, मनका कुरा खुलस्त भन्न पाइएला भनेको त झन् हेप्ने, लान्छना लगाउने विपक्षी वकिलहरु । जनकबहादुर राउत गरिब देशको, त्यो पनि गाउँले हो, यसलाई केही थाहा छैन, जसरी सोधे पनि हुन्छ, जे व्यवहार गरे पनि हुन्छ भन्ने तरिकाले व्यवहार गर्ने । यस्तो ह्या¥यास भयो कि म त अदालतमा बयान दिने क्रममा धेरै पटक रोएँ ।’ उनको यो भनाइले पश्चिमाको कथित मानबअधिकार र तिनले गर्ने न्यायलाई पनि नाङ्गै बनाएको छ । पछिल्लो समयमा लेखकको बेलायत बसाइले कुमार लामाको मुद्दाको मिहीन विश्लेषण गर्न सजिलो बनाएको थियो । यो भागमा अहिलेसम्म आम नेपालीले थाहा नपाएको पश्चिमाहरुको उही ‘न्याय दिने शैली’का बिषयमा पाठकले रोचक जानकारी पाउँछन् ।

(श्रीभक्त खनाल)

किताब पढ्दा लाग्छ, हामी अहिले पनि द्वन्द्वमा नै छौं र पीडितले चाँडै न्याय पाउनेछन् । किताबमा कोठै बैठकमा नीति बनाउने निर्णय गरेर नीतिगत अत्याचार अन्तर्गत नै संबिधान र राज्यका अंगहरु निर्माण गर्ने रोडम्याप भने उल्लेख छैन । तर, त्यो कर्मको परिणाम भने मजाले चित्रित छ । किनभने बिधिको शासन र पीडितमाथि न्याय दिने अवस्थाको परिकल्पना राजा र तिनको शासनबिरुद्धको आन्दोलनले गरेको थियो । आफ्नो पक्षलाई जोगाउन र अर्को पक्षलाई मात्र दोषी देखाउनका लागि राष्ट्रिय सहमति नै गरेर न्याय दिने निकाय नै पंगु बनाइएको अवस्थामा यो किताबले फेरि एकपटक सचेत समाजलाई झक्झक्याउँछ । हाम्रो राजनीतिलाई गिज्याउँछ र ०६३ पछिको समग्र रोडम्यापलाई प्रश्न गर्छ । द्वन्द्वको पीडा मेटाउन न्याय नै चाहिन्छ, भागबण्डाले हुँदैन भन्ने गतिलो सन्देश किताबले दिएको छ । किताबमा हरेक घटनामा पुरानो सन्दर्भ, पीडितको अवस्था र पीडकको आरोप लागेकाहरुको भनाइ पनि सामेल गरिएको छ । यसले किताबलाई थप रोचक, सन्तुलित र तटस्थ बनाएको छ । पाठकलाई लाग्छ, ‘ए ! त्यो घटनाको भित्री पाटो त यस्तो पो रहेछ !’

एउटा भागमा तत्कालीन प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठको हत्याको घटनाका भित्री पाटा खुलाउन त्यसमा संलग्न कृष्णहरि सैँजुको डायरीका अंश लेखकले प्रयोग गरेका छन् । यसले पाठकलाई माओवादीको तत्कालीन रणनीति र अवस्थाबारे अवगत गराउँछ  । श्रेष्ठको हत्यामा पीडितप्रति सहानुभूति हुँदाहुँदै पनि संँैजुको डायरी र माओवादीले काम गर्ने तरिका किताबको अत्यन्तै रोचक भागमध्ये एक हुनपुगेको छ । पार्टीका को को पात्र कसरी यसमा सामेल भएका थिए भन्ने कुराको उदाहरण यो एक वाक्यले दिन्छ, ‘ मेरो संवेदनशील अङ्गको छाला छोएर गोली देब्रे तिघ्रामा ठोक्कियो र खुट्टा भाँचियो । म ढलेँ । हामी सबैको पेस्तोल चेम्बरसहित लोड अवस्थामा थियो । यसको मतलब सेफ्टी अन गरेर ट्रिगर दबाउनेबित्तिकै गोली चल्ने अवस्थामा थियो । गोली लागेपछि म ढलेँ । एकछिन होस गुमाएँ । होसमा आउन्जेल आईजीपी र उनकी श्रीमती मारिइसकेका थिए ।’

लेखक खनालले धेरैजसो घटना आफू सक्रिय पत्रकारितामा हुँदा नै रिपोर्टिङ् गरेका थिए । मूलधारको पत्रकारिताबाट साइड लागेर डक्युमेन्ट्री बनाउँदा केही घटनामा अपडेटेड भएका थिए । किताबमा केही चर्चित् घटनाका अतिरिक्त केही टुक्राटाक्री अनुभूतिहरु पनि लेखकले सामेल गरेका छन् । रिपोर्टिङका लागि घटनास्थल जाने क्रममा लेखकले प्रहरी र माओवादी छापामारहरुसँग बिताएका क्षण अनुसन्धानमा लाग्नेहरुका लागि लोभलाग्दो बिषय हो । अपहरणमा परेका पुलिस रिहामा लेखक नै साक्षी बसेका छन् । यस्ता घटनाका विवरणले किताबलाई थप रोचक बनाएको छ । यी सबै घटनाले निकट बिगतको त्राशद समयलाई झल्झली आँखामा ल्याउँछ । द्वन्द्व आफैंमा द्वन्द्व मात्र हैन, त्यसले अनेकौं तत्कालीन सपनाको स्मरण पनि गराउँछ भनेझैं बिगतका सपना पनि किताबले फेरि स्मरण गराएको छ । किताबमा खट्किएको पाटो वा लेखकको सूचना मात्र राखेर छाड्ने धर्मका कारण हरेक घटनामा लेखकीय विश्लेषण खासै देखिँदैन ।

लेखकले किताब लेखेर टुङ्ग्याउँदा विश्वभर कोरोना कहर शुरु भएको थियो । त्यसअघि उनले नेपालमा रहेका दर्जनौं पात्रहरुसँग कुराकानी गर्नुपर्ने हुन्थ्यो । उनी भन्छन्, ‘किताब पुरा गर्न द्वन्द्वकालीन पात्रहरुसँग पुनः सम्पर्क गर्नुपर्ने भयो । उनीहरुको पछिल्लो अवस्थाको बारेमा जानकारी दिन र घटना क्रमको अपडेटका लागि फेसबुकमा भएका साथीहरुको सहयोग लिए । नचिनेका र नभेटेका अधिकांश साथीहरुले सहयोग पाए । सामाजिक संजालको शक्ति कति शशक्त हुँदो रहेछ त्यै बेला थाहा भयो ।’

यस टिप्पणीकारका लागि किताबमा सबैभन्दा खट्किएका दुईवटा बिषय छन् । एउटा हो बिभिन्न पात्रहरुको तत्कालीन पद र जिम्मेवारीका बिषयको गल्ती । यसमा लेखक र किताब सम्पादक दुबै चुकेका देखिन्छन् । अर्को कमजोरी चाहीँ नेपालको द्वन्द्वमा पीडित र पीडक मात्र छैनन्, रोटी सेक्ने अर्को ठूलो समूह पनि छ । चाहे नन्दप्रसाद अधिकारीको बिषयमा होस् या द्वन्द्वभन्दा परको डा. गोबिन्द केसीका मागका बिषयमा होस् त्यो समूह हाबी भइहाल्छ । द्वन्द्व व्यवशाय चलाएर बसेकाहरुको भूमिका निकै ठूलो भए पनि त्यसको सन्दर्भ किताबमा कतै उल्लेख छैन । यसबाहेक नेपालका धेरै किताबमा देखिने अशुद्ध शब्द र प्रुफको समस्या बिझाउने त छँदैछ ।

एक दशकको द्वन्द्वको यो दस्तावेज प्रकाशनपछि द्वन्द्वसँग सरोकार भएका र आम पाठकले लेखकलाई राम्रै प्रतिक्रिया दिएका रहेछन् । भन्छन्, ‘द्वन्द्वकालीन न्यायको कुरालाई लिएर निरास मानिसमा यसले पुनः एक पटक हाम्रो आवाज किताबले उठाइदिएको रहेछ भन्ने महसुस भएको छ ।’   समग्रमा लेखक खनालले डायरी, आफ्नै र अन्य व्यक्तिका रिपोर्टिङ, कुराकानी, भिडियो जस्ता सामग्रीको प्रयोग गरेर किताबलाई गतिलो र प्रामाणिक बनाउने प्रयास गरेका छन् । सूचना र विवरणका लागि बकुल्लाको जस्तै ध्यान दिने र संभावित मान्छे पछ्याइहाल्ने उनको शैली प्रशंसनीय छ । अझ रोचक त किताबका अन्तिममा केही खाली पाना राखिएका छन्, पाठकले देखेको, जानेको र लागेको लेख्नका लागि । त्यसका बिषयमा लेखकको धारणा छ, ‘यो खाली पाना उनीहरुमा समर्पित छ, जहाँ उनीहरुले आफूलाई लागेको हर्ष, बिस्मात, दिक्दारी, पछुतो सबै पोख्न सकून् ।’

@G_padam

Add a Comment

Your email address will not be published. Required fields are marked *