नियात्रा: न्युजिल्याण्डको भाग छ
|सफर राजधानी शहर वेलिङटनको
दोस्रो दिनको कार्यक्रम सकिए पछि विक्रम र अन्जु विदा भएर वेलिङटन फर्किए। कुलपति गंगाप्रसाद उप्रेतीजी पनि निस्कनु भयो, उहाँ भोलीको विमानमा अमेरिका जाने, छोरीकोमा पन्द्र दिन बसेर मात्र नेपाल जाने कुरा भन्नु भयो। विदा हुनु अघि उहाँले आयोजकहरुलाई बोलाएर ‘मलाई सोध्नु पर्ने, भन्नु पर्ने कुनै पनि कुरा यहाँ ज्ञानबहादुर छेत्रीलाई सोध्न सक्नु हुन्छ’ भनेर मलाई सर्काउनु भयो।
तेइस दिसम्बर, 2019 । आज राजधानी शहर वेलिङटर र छेउछाउका दर्शनीय ठाउँहरु अवलोकन गर्ने । हामी चोकमा पुग्दा पामिस्टन जिल्ला प्रशासनले उपलब्ध गराएको बस तयार थियो। ड्राइभरका सीटमा निकै पाको कुइरा आँखा भएको गोरे गाडी स्टार्ट गरेर रेडी पोजिसनमा थियो।
दुइतीन मिनटमै सबै चढिसके। मेरा छेउको आसनमा अन्जन मुना बसिन। कतै नदेखेको, नसोचेको एउटा अनौठो दृश्य, मलाई कस्तो कस्तो लागिह्यो तर कसैलाई भन्न सकिन। त्यो के थियो भने गाडीमा सबै नेपाली यात्रु, नेपालीमै हंसीठट्ठा गर्दै थिए भने गाडीका चालक चाहिँ गोरे थिए। कसैले हाय हेलो भनेक केही सोद्धा बुझेर हो कि नबुझी उनी दाहिने हातको बुढी औलो माथि पारेर सम्मतिसूचक संकेत गर्थे।
न्युजिल्यान्ड युरोप भित्र नपरे पनि धेरजसो न्युजिल्यान्डबासी नै युरोपीय मूलका हुन। दुइ सय वर्षसम्म भारतमा राज गरेको बृटिस मूलको व्यक्ति आज हाम्रो ड्राइभर बनेको छ। न्युजिल्यान्डको भूमिमा आएर नेपालीले राज गरेको भ्रममा परेंछु।
0630 मा गाडी हिड्यो। हाम्रो देशमा यसरी यात्रा गर्दा निकै हल्लाखल्ला र नाराबाजी पनि हुने गर्छ। ‘बोलो जय बजरङ्गबलीकी’ — मेरा मुखबाट फुत्किन आँटेका शब्दलाई बलैले भित्र ठेलिदिएँ। गाडीका परिचालक नेपाली थिए, उनले कोरिडोरमा उभिएर एयरहोस्टेसका शैलीमा सबैलाई सीट बेल्ट बाँध्ने र अरु आवश्यकीय जानकारी दिए । न्युजिल्यान्ड परिवहनको नियम अनुसार गाडीमा सीट बेल्ट बाँध्नु बाध्यता मूलक छ। चेकिङमा पकडा परेमा यात्रुले पाँच सय डलर फाइन तिर्नु पर्ने । यात्रु चोध वर्षमुनिको छ भने त्यो फाइन ड्राइभरले तिर्नुपर्ने कडा नियम रहेछ। मेरा आँखा अघिल्तिर आफ्नै देशको एउटा चिरपरिचित दृश्य पर्दामा ———गाडीको दैलोमा, सामान उठाउने लेडरमा झुण्डिएर र गाडीका माथि पनि यात्रुलाई हालेर भत्केको सडकमा डरलाग्गो पाराले ढलपल गर्दै प्याँक प्याँक र शरीरका विभिन्न अङ्गहरुबाट ऐया मरें आवाज निकाल्दै घिस्रेको बिचरो बूढो गाडी देखा पर्यो।
हाम्रो बस चौडा चिल्लो सडकमा गुड्न थाल्यो। बसमा होस या रेलमा, हल्लाखल्ला त अलिक ठूलो आवाजमा मोबाइलमा पनि बोल्न मनाही रहेछ । सबै यात्रु नेपाली भएर होला हाम्रो बसका यात्रुहरु निकै चर्को आवाजमा बोलेर रमाइलो गर्न थाले। गोरे ड्राइभर मुसुमुसु हाँसिरहेको थियो।
भीम गुरुङले गाडीमै मेरो अन्तर्वाता लाइभ गर्न भ्याएका थिए भने मैले पनि मेरा छेवैमा बसेकी अन्जन मुनाको अन्तर्वार्ता लिने मौका छोपें। उनीबाट देरै कुराको जानकारी प्राप्त गरे जो यस पुस्तकका विभिन्न ठाउँमा तथ्यका रुपमा छन।
पार्लामेन्ट भवन
हाम्रो पहिलो न्युजिल्यान्डको पार्लामेन्ट भवन हेर्ने थियो। 0830-1000 सम्म पहिलो ट्रिप हाम्रो नाममा बुक रहेछ। वेलिङटन शहरको मध्यभागमा अवस्थित पार्लामेन्ट परिसरमा पुगेर चारैतिरको दृश्य हेरें। त्यहाँ बाहिर सुरक्षा कर्मी देखिएन, कतै चेकिङ भएन। विना रोकटोक हामी संसद भवनको प्रवेशद्वारमा पुग्यौं। त्यहाँ सुरक्षा घेराबाट छिर्नु अघि हाम्रा ब्याग, मोबाइल, क्यामेरा एक एक ओटा ट्रे-मा हालेर केबिलमा राखिदिए। त्यहाँबाट हाम्रा सदस्यहरुलाई दुइ भाग गरी दुइजना जना गोरेले एउटा कोरिडोरबाट भित्र लगे। उनले आफ्नो नाम त बताए तर नेपाली जिब्रोले उच्चारण गर्न निकै अप्ठ्यारो, उनी गाइड रहेछन। पहिले त उनले पार्लामेन्ट भवन कसरी निर्माण भएको हो त्यो देखाए। भूँइदेखि चार फुट माथिसम्मको भाग तलको अनि त्यस माथि मूल भवनलाई विशेष तकनिकी कौशलले जोडिएको रहेछ। त्यो जोडिने ठाउँमा ठूला खम्बामाथि चारैदिशामा घुम्न सक्ने हेमानका चक्काजस्ता थिए। न्युजिल्याऩ्ड भूकम्प भइरहने ठाउँ हुनाले यो नयाँ तकनिक अपनाएको रहेछ। त्यस अघि धेरै पटक भूकम्पले पार्लामेन्ट भवन विध्वस्त पारेको रहेछ। नयाँ भवन बने पछि भने घेरै पटक भूकम्प आउँदा पनि कुनै नोक्सान नभएको गाइडले बताए। त्यस पछि गाइडले सोझै संसद भवनभित्र लगे। यो भवन त्यति ठूलो भने होइन। अध्यक्षको आसन, ट्रेजरी बेञ्चको पहिलो लहरमा प्रधान मन्त्रीको आसन, त्यसको विपरीत सम्मुखमा विरोधी दलपति र दलका सदस्य बस्ने आसन। न्युजिल्याऩ्डको पार्लामेन्टमा देशका साधारण नागरिकले पनि प्रवेश गरेर आफ्ना कुरा राख्न र सरकारको पोलिसी बारेमा वितर्क गर्न पाउँदा रहेछन। त्यसका लागि एउटा सुनिर्दिष्ट अग्लो ठाउँ गाइडले देखाए। त्यो देखेर मलाई एक पटक त्यस ठाउँमा उभिएर अनरेबल स्पीकर सर… भनिहेरूँ कि जस्तो लागेको थियो। पार्लामेन्टमा नगए पनि न्युजिल्याऩ्डका नागरिकले आफ्ना कुरा लेखेर अथवा बेबसाइटमा पोस्ट गरेर पार्लामेन्टसम्म सजिलै पुर्याउन सक्ता रहेछन। राजनीति विज्ञानको छात्र हुनाको नाताले विभिन्न देशका राजनैतिक व्यवस्था धेर थोर अध्ययन गरेको हो । न्युजिल्याऩ्डको प्रशासनिक व्यवस्था कमनवेल्थ नेशनका इंगल्याऩ्डकी महारानीका नाममा सञ्चालित हुने गर्दछ। यद्यपि महारानीको प्रत्यक्ष उपस्थिति हुँदैन, त्यो आसनले उनको उपस्थितिको आभास दिँदोरहेछ। त्यो आसन मात्रको दर्शन गर्न पाएर पर्यटक धन्य हुँदा रहेछन, म पनि धन्य भएँ।
म पृथ्वीको सबैभन्दा ठूलो लोकतन्त्र भारतवर्षको नागरिक हुँ भनेर गर्व गर्दछु। न्युजिल्यान्जका नागरिकहरुले लोकतन्त्रको सुफल जसरी भोग गरिरहेका छन के हाम्रा देशखा नागरिकहरुले त्यसरी भोग गर्न पाएका छन ? यहाँ पनि नारा जुलुस र बन्दहरु हुन्छन कि भनेर सोध्न मन लागेको थियो, फेरि सोचें—- जुन देशका नागरिकलाई सदनभित्रै पसेर बोल्ने अधिकार छ, उनीहरुलाई घाँटीका नशा चुँडिने गरी नारा चिच्याउने के आवश्यक? बन्द र जुलुसको नै के प्रयोजन ? जुन देशले नागरिकहरुका कुरा सुन्छ, उनीहरुको पीर-मर्काको ख्याल राख्छ त्यहाँ केका लागि आन्दोलन गर्नु ? मेरा मानसपटमा गान्धीजीको चित्र देखियो। अहिंसाका प्रतीक महात्मा गान्धी । बिडम्वना, उनको देशको सरकारले बन्दुकको भाषा मात्र बुझ्दछ।
त्यस पछि गाइडले पुस्तकालय देखाउन लगे। त्यो हेरेर नसकिने, केही अत्तोपत्तो नपाइने साम्राज्य थियो। ओहोर दोहोर गरियो, रेक, अलमिरा र अरु केकेमा ठेलीका ठेली पुस्तकहरुलाई टुलुटुलु हेरियो, लाटाले पापा हेरे जसरी। कुनै मन्दिरमा गुफा भित्र बसेका भगवानको दर्शन गरेको जस्तो लाग्यो। सामुन्नेको लनमा पूर्व प्रधानमन्त्री जोन ब्यालेन्सको प्रतिमूर्ति ठडिएको थियो।
समय पुरा भएकोले हामी छिटो छिटो बाहिर निस्कियौं। फराकिलो आँगनमा बेकग्राउन्डमा संसद भवनलाई ब्याकग्राउन्ड पारेर धेरैवटा फोटा खिंचे साथीहरुले। भीम गुरुङको भिडिओग्राफी गर्ने होबी नै रहेछ। प्राङ्गणमा न्युजिल्याण्डका पूर्व प्रधानमन्त्री रिचार्ड जोन सेडन-को पूर्णकदको प्रतिमूर्ति थियो। ती राष्ट्रनेताका छेउमा उभिएको मुहूर्तलाई पनि क्यामेरामा कैद गरियो।
टे-पापा म्युजियम
सबैभन्दा महत्वपूर्ण थियो वेलिङटन संग्रहालयको अवलोकन। एउटा चारतले विशाल भवनमा अवस्थित छ न्युजिल्यान्डको राष्ट्रिय म्युजियम। वेलिङटनको संग्रहालय भएको ठाउँलाई स्थानीय भाषामा टे-पापा भन्दा रहेछन। टे-पापाको अर्थ हाम्रो ठाउँ हो, अञ्जनले भनिन। पहिले पनि निकै पटक यहाँ आइसकेकी अञ्जन अहिले मेरो गाइड बनेकी छन। पहिले नै देख्यौं माउरी संस्कृतिको झलक। न्युजिल्यान्डका टापुहरुमा सर्वप्रथम पदार्पण गरेका माउरी जनगोष्ठी देशका आदिवासी हुन। उऩीहरुले व्यवहार गरेका काठका नौका र दैनन्दिन व्यवहार गर्ने औजारहरु सजाएर राखिएका थिए। उनीहरु बस्ने घरको नमुना पनि देखियो। भारतको असमतिरका गाँउहरुमा पाइने खरले छाएका, बाँसका डाँडाभाटा देख्ता म निकै सोचमा परें। माउरीहरुको जीवन शैली दर्शाउने अनेक औजार र चित्रहरु थिए। अलिक पर्तिर मुभी देखाउँदै थियो, तर त्यता खर्च गर्ने हामीसित समय थिएन। जादुमन्त्र, टुनामुनाका सन्दर्भहरु एक झल्को देख्ता हाम्रा धामी-झाक्रीले ढ्याङ्ग्रो बजाउँदै मुन्धुम फलाकेको सम्झना भयो।
प्रथम विश्वयुद्धको नरसंहारको भय़ङ्कर दृश्य देखेर सारा जिउका रौं ठाडा भए, एक पल्ट जिउ थरर्र काम्यो। तैपनि छोरी अञ्जनका हात समातेर अघि बढें। युद्धभुमिका चित्रहरुलाई त्रैआयामिक टेक्नोलोजीले जीवन्त पारेर देखाएको थियो। युद्ध क्षेत्रमा मोमले निर्मित सैनिक कोइ मृत, कोइ घाइते, कोइ अन्तिम घडीमा पनि रक्ताम्मे हातले म्य़ागजिनमा गोली हाल्ने प्रयास गर्दै गरेका। एक ठाउँमा देखियो एउटा सैनिक, उसको काखमा मृत साथीको शिर, हातमा टिफिन बक्स। कति दिनको भोको थियो बबुरो, बाँच्नका लागि नखाइ भएन। पर्तिर देखें, युद्धमा घाइतेहरुको सेवा गर्ने एउटी नर्स हातमा चिठी पढ्दै, उनका आँखाबाट बरर्र आँसुका थोपा खसेका। अञ्जनले भनिन, त्यो चिठीमा युद्धक्षेत्रमा उनको प्यारो भाईले वीरगति प्राप्त गरेको सूचना थियो।
अर्कातिर, एउटा बटन थिचेर सानो छिद्रबाट चियाउँदा तोप, गोली पडकेको सुनिने साथै सैनिक छटपटाउँदै ढलेको हृदयविदारक दृश्य पनि देखिने। हरेक दिनको विवरण सन तारिक सहित खोदित गरी काँड चिह्नले दिशानिर्देश गरिएको हुनाले हेर्दै जानुमा दिक्कत भएन।
पहिलो विश्वयुद्धमा 1915 को फरवरीमा अटोमन तुर्कीको गेलिपोली भन्ने ठाउँमा दुइ हजार भन्दा बढी सैनिकले मृत्यवरण गरेका थिए । यद्यपि मित्रशक्ति विफल हुनुपरेको थियो न्युजिलेऩ्डका लागि यसको विशेष महत्व रहेको छ।
त्यहाँबाट एउटा कोरिडेर हुँदै हामी शहीदहरुको स्मारक भएको ठाउँमा पुग्यौं। त्यहाँ पप्पी फूलका आकारमा काटिएका रंगविरंगका कागजका टुक्रा थिए। पप्पी फूल प्रशान्ति, निद्रा र मृत्युको प्रतीक मानिन्छ। ग्रीक र रोमन मिथक अनुसार मृतकलाई रातो पप्पी फूल समर्पण गरिन्थ्यो।. अञ्जन मेरा अघि अघि थिइन। उऩले दुइटा फूल लिएर एउटा फूल मलाई दिइन। त्यसलाई खोल्दा एउटा आयताकार कागजको टुक्रा भयो। त्यस टुक्रामा आफ्नो नाम र ठेगाना लेख्नु पर्ने रहेछ। मैले आफ्नो नाम लेखेर तल ठेगाना लेखें, असम र भारत पनि लेखें। त्यसलाइ फेरि फोल्ड गरेर पहिलेको जस्तै फूलको आकृति बनाउनमा छोरीले सघाइन। त्यो फूललाई हातबाट खसालिदिँदा एउटा ठूलो वेदीमा झर्दो रहेछ। मैले मेरा हृदयको समस्त श्रद्धा निखारेर शहीदलाई निहुरेर ढोगिदिएँ। युद्धमा वीरगति प्राप्त गर्ने शहीदहरुको सबै देशमा सम्मान गरिन्छ। हाम्रो शास्त्रीय परम्पराले युद्धक्षेत्रलाई धर्मक्षेत्र भनेको छ।
टे-पापा न्युजिल्यान्डको इतिहास, कला र संस्कृतिको केन्द्र धरोहर रहेछ। यसो एकसर्को घुमेर हेर्दा के बुझिन्थ्यो ? यसलाई राम्ररी बुझ्न हप्ता दिनको हेराइ र महिना दिनको अध्ययन चाहिन्छ। हाम्रो हेऱाइको अनुभव, झलक्क दर्शनको आनन्द मात्र।
माउन्ट भिक्टोरिया
भारी मन लिएर हामी बसमा चढ्यौ। हाम्रो बस निर्दिष्ट ठाउँमा हामीलाई उतारेर पार्किङमा जान्थ्यो अनि फेरि लिन आइपुग्थ्यो। यस पालि एउटा ससानो पहाडको फेदिमा गाडी रोकियो। त्यो पहाड, माउन्ट भिक्टोरिया टासम्यान सागरका तटमा रहेछ। हामी सिँढी उक्लिँदै जति माथि जान्छौ हावाको वेग उति नै प्रबल हुँदै जान्छ। मफलर, टोपी, चुन्नी, पछौरी र हातका झोला उडाएर लान्छ भन्ने डर। मैले टोपी प्यान्टको गोजीमा हालें। धेरै अग्लो त होइन, समुद्रपृष्ठबाट ऊँचाइ 196 मिटर मात्र, पहाडको माथि त कसैलाई नसमाती उभिनै हम्मे परेको । यस्तोमा पनि साथीहरु रौसिएर मच्ची मच्ची नाच्न थाले। कसैका लुगा टुङ्गामा थिएनन, केश उडेर बेहाल। चश्मा खसेर फुट्ला भनेर होला प्रताप सुब्बाले हातमा बोकेका। युद्धक्षेत्र कि त कुनै भिडन्तमा परे जस्तै सबै लतपत, अस्तव्यस्त, विपर्यस्त अनुहार। भीम गुरुङ, प्रकाश धमाला र गोपाल पौडेलले विभिन्न कुनाबाट भिडिओ गरे। ‘सधैं मेकअप गरेको अनुहारको फोटो कति खिच्ने, कहिले काहिं त प्रकृतिले असल अनुहार पनि देखाउ भनेको हो,’ बालकृष्ण घिमिरेले हँस्यौंली गर्दै भनेको सुनियो। त्यस ठाउँमा जसै तसै दस मिनट जति बिताएर सिँढीको बाटो हतार हतार तल झरें। साथीहरु अरु दस मिनट जति पछि ओर्लिए। टासम्यान सागरको एउटा भँगालो भिक्टोरिया पहाडको छेवैछेउ शहरसम्म आइपुगेको रहेछ। ब्रह्मपुत्र नदीको तटमा, मेरो गृह शहर तेजपुर औगुरी नामक पहाडका फेदीमा अवस्थित छ, छेउछाउमा अग्निगढ, बामुनि पाहाड, धेनुखाना, भोमोरागुरी आदि पहाडका अति सुन्दर थुम्काहरु छन र पनि पर्यटकलाई आकर्षण गर्न नसक्नुका कारण के होला ? आफैँलाई प्रश्न गर्न मन लाग्यो।
हाम्रो अन्तिम पडाव शहर बीचको पार्कमा थियो। त्यहाँ सुगम टयलेट, पेय जल र खेल्ने-बस्ने सफा सुन्दर ठाउँ रहेछ। गोपालले छेवैको होटलमा जाने आग्रह गरे। अञ्जनले ठूलो टिफिन केरियरमा पाँचजनालाई पुग्ने पुलाउ, सब्जी, सलाद र फ्रुट्स घरैमा बनाएर ल्याएकी रहिछन, उनले मलाई पनि उनीहरुसँगै नास्ता गर्ने आग्रह गरिन। अञ्जन, उनका दाज्यू टीका रेग्मी, देवान तामाङ, महिमा र म गरी पाँचजनाले अञ्जनको टिफिनबक्स रित्याइदियौँ। त्यस पछि साथीहरुलाई खोज्दै होटलमा पस्य़ौ। देवानले कफीको अडर गरे। एकै छिनमा बिर्को लाएको ठूलो पेलामा कफी र प्लेटमा सुगर क्युब आइपुग्यो।
ठ्याक्क चार बज्दा गाडी आइपुग्यो, हाम्रो रिटर्न जर्नी शुरु भयो। थाके जस्तो अनुहार कसैको पनि थिएन। गोपालले कसैले नसुन्ने साउती जस्तो गरी हरहर महादेव भने। अरुले पनि भने जसो गरे तर सुन्नेगरी होइन।
मलाई लाग्यो यो चिच्याउने, माइक फुकेर अरुलाई पिर्ने संस्कार हामी एसिया तिरकाले मात्र बिरासतमा पाएका रहेछौ क्यार।