सन्तेको दशैं
|पोहोर सालको दशैं
सिकुवामा झोक्राएर बितायो
आकाशका देउता भाक्यो
ढुंगाका भगवान पूज्यो
फुसको झुप्रो नियाल्यो
बाँसको टाटिमा
गुजुल्टिएको पटुवाको डोरी हेर्यो
र दलिन ताक्यो ।
बर्ष फरकका नाबालक
ओछ्यान परेकी अर्धाङ्गिनी
मुङ्लानमा खाएको हण्डर
अनि फर्किएको रित्तो आफू
खिइएका ख्याउटे पाखुरा
जिम्मेरीको घनघोर पहाड
सान्त्वनाको साहस जुटाउनै सकेन ।
आशाका त्यान्द्राले जिन्दगी चपाइरह्यो
अविराम यात्रा आफ्नै लास बोकेर भौतारिइरह्यो
काँचुली बेरेको अस्थिपञ्जर
मान्द्रोमा तनक्क तन्काएर सुकायो
बिस्कुन बिनाको मान्द्रोले
उसैको सुस्केरामा ऐया मिसायो
दुवै लमतन्न चकमन्न रातमा
सम्झियो हुनेखानेका चैन रवाफ
अनि हुँदा खानेको हबिगत
चाडबाडमा पनि चुल्हो नबल्नेका पिडा
प्रतिपल तडपिनु के जीवन हो र ?
भूँईंमान्छे उठ् अब
आधा जिवन हाँसेर बाच्नुपर्छ
सुर्यायो आँफैलाई
र त फरक छ सन्तेको दशैं यसपाली
रातो टिका लगाउनु पर्दैन
जमरा उमार्नु पर्दैन
नवदुर्गाको पूजा गर्नु पर्दैन
मन्दिरमा दियो बाल्नु पर्दैन
भोग, भाकल सबैबाट छुट
यसपालीको दशैं
आफ्नै सुन्दर संसारमा
आफ्नै ‘प्रभु’ को सानिध्यमा
मन्दिर बिरानो र चर्च आफ्नो भयो
चिसो चुल्होले प्राण हाल्यो
गाला पोटिला र हृष्टपुष्ट भए
सन्तानका चाहाना ‘प्रभु’ले जिम्मा लिए
अब, विवशताले चिमोट्दैन सन्तेलाई ।
यसपालीको दशैं सन्तेले हाँसेर मनायो
भोक र गरीबीको पिडाले सन्तेले धर्म मेटायो
थाहा छैन ,
कति गलत गर्यो कति सहि
थाहा छैन ,
ऊ खुशी छ कि दु:खी
तर सन्तापको अनुहारमा मुस्कान भित्र्यायो
कटेरोको खरको छानो जस्ताले रंङ्ग्यायो
एकधरो कपडाले बदन लपेट्यो
यसपालीको दशैं सन्तेले टन्न खाएर मनायो !