दशैं
|संसार डुलेर आइपुगी सक्यो शरद
तर मान्छेका जीवनमा
अझै पनि अटसमटस खडा नै छन्
अनेकौं समस्याका पहाडहरु ।
बादल फाटेर खुलेको छ नील गगन
आकाशै ढाकिनेगरि
उडेका छन् रङ्गीन चङ्गाहरू
तर अत्यास लाग्नेगरि
न्यास्रोको बाक्लो कुहिरोले
अझै पनि ढाकिएको छ मन ।
उड्न त उडिरहेकैछन्
उसैगरि आकाशमा चङ्गाहरू
तर उड्न नसकेर
बन्दी बनिरहेका छन् चाहनाहरु
कमेरो पोतेर
घरका भित्ताहरु सजाएपनि
धमिरा लागेर मक्किएका छन्
मनका दलिनहरु ।
हिलो धुलो हटेर
बाटो जति नै टल्के पनि
दिन दहाडै
शान्ती, समृद्धि र सभ्यता नामका देवीहरुको
बलात्कार भैरहेछ यही माटोमाथि ।
रातभर अँधेरोको बर्को ओढेर मौलाउँछ कुकृत्य
केही थाहै नपाएझैँ
पिठ्युँमा उज्यालोको भारी बोकेर
चुपचाप उदाउँछ घाम ।
कमाइरहेका छन्
धनीहरुले नै झन् झन् कुष्त धन
तर गरिबीको तापमा
भकभकी पाकिरहेकै छ भोको पेट ।
पूजा कोठामा
अलिकति जमरा उम्रिंदैमा
दङ्ग परेको छ मन
तर क्षणभरमै
सखाप भैरहेका छन् कैयौं जीवन ।
कतै अलिकति आशिष बाँडिदैछ
कतै असीमित निन्दाचर्चाको खेती
अझै पनि मौलाएकै छ ।
आदिमकालमा
देवीले दानवलाई मारिन्
तर यो अनिकालमा
असत्तिहरुको दवदवा अझै मरेको छैन
सधैँझैं ‘बिजयोत्सव ‘मनाऊ’ भन्दै
दशैं त आयो
तर सारा संसार महामारीको दशामा
जकडिएको छ ।
सुन्दर सान्दर्भिक कविता