नियात्रा: न्युजिल्याण्डको आठौं भाग
|गोपालको अफर : फेरि पनि वेलिङटनको सफर
छत्र दङ्गाल र प्रकाश धमाला एडिलेड (अस्ट्रेलिया) फर्किने, गोपालले वेलिङटन एयरपोर्टसम्म पुर्याउन जाने । घरैमा बस्ने ठानेर मैले हरारीको सेपियन्स निकालेको थिएँ। आज कतै नगएर डायरी लेख्ने, सेपियन्स पढ्ने र सुत्ने मात्र मेरो काम हुनेछ। गोपालले भने, ‘सर तयार हुने, साथीलाई पुर्याउन एयरपोर्ट जानु पर्छ। फर्किँदा म एक्लै बोर हुन्छु, आज तपाईलाई यहाँका खेत र फार्म देखाउने सोचेको छु।‘ यतिञ्जेल संगै घुमफिर गरेको, डा. सरिनाका घरमा हँसी मजाक गर्दै हिजो रातिको खाना खाएका, आज साथीहरु विदा हुँदै छन। दुइ दिनको चिनजान र भेटघाटमा पनि आत्मिक सम्बन्ध गासिँदो रहेछ। मलाई पनि साथमा लाने सलाह गरेछन। नयाँ ठाउँमा डुल्नु नै जब मेरो प्राथमिक अप्सन हो, मैले त्यो प्रस्तावलाई सहर्ष स्कीकार गरें, सबै खुसी भए।
म तयार भएर बसेंको थिएँ। देवानका घरबाट मलाई टिपेर गाडीले रफ्तार लियो। अस्ट्रेलियाको डायस्पोरिक नेपाली जनजीवन र साहित्यको बारेमा प्रकाशले धेरै कुराको जानकारी दिए। प्रसङ्गमा उऩले एउटा एनजीओ चलाएको र त्यसले अस्ट्रेलियामा अध्ययन गर्न जाने नेपाली छात्रछात्राहरुलाई मद्दत गरेको पनि उल्लेख गरे गफ गर्दा गर्दै कति छिटो राजधानीको छेउ आइपुगिएछ, घुमाउरो बाटो र दाहिनेतिर नीलो सागर देख्ता थाह भयो। प्रकाशले उऩको क्यामेरा झिके। दाहिने देब्रे, टाडा नजीक विभिन्न पोजिसनमा भिडिओ लिए, मेरो अन्तर्वार्ता लिन पनि भ्याए। सूर्यको रश्मि तासमेन सागरको सुनील जलपृष्ठमा प्रतिफलित हुनाले आँखा तिरिमिरि भएका थिए। हामी एयरपोर्ट आइपुगेका छौ। प्रकाशले दुलोमा कार्ड छिराए, च्याँक्क शब्द भयो, हाम्रो बाटो छेकेका काठका हात पर सरे। पार्किङ स्लटमा रोमन नम्बरका साथै जीवजन्तुका चित्र पनि अंकित थिए। ठूलो पार्किङ एलाकामा आफ्नो गाडी खोजेर निकाल्न समस्या हुन सक्छ। त्यसैले कसैले रोमन संख्या बुझेको छैन भने स्लटमा केको चित्र छ त्यो याद गर्दा हुन्छ। प्रकाश र छत्रले मसीनमा सामान राखेर आफैं चेक इन गरे।
उनीहरुसँग विदा भएर हामी निस्कियौं। गोपालले अर्कै बाटो लाने भनेर गाडीमा जीपीस सेट गरे। यो बाटो केही परबाट छुट्टिएर मूल सडकको प्राय समान्तराल रुपमा जाँदो रहेछ। मूल सडकबाट जाँदा गाडी सय किमिको स्पीडमा चलाउनु पर्ने अनि जहीं तहीँ रोक्न पनि नपाइने। फार्मल्यान्ड, ग्रासल्यान्ड भएको कान्ट्रिसाइड अरे। यो बाटो गोपाल पनि पहिले आएका रहेनछन। बाटो देखाउने कम्पुटर जीपीएस भए पछि केको चिन्ता । प्रविधिले मान्छेको जीवन कति सजिलो पारेको छ! प्राय पचास किमि गए पछि एउटा सेतो चादर ओछ्याए जस्तो विशाल फाँट देखियो। गोपालले एक छेउमा गाडी रोके। तारले घेरेको एउटा ठूलो चौरीमा हजारौं भेडा मुन्टो निहुराएर चरिरहेका थिए। सुन्दर दृश्य। बीचमा कतै कुनै घर वा छाप्रो देखिएन, न त कुनै रुँगालो मान्छे वा गोठालो नै थियो। एउटा पाठो गाडीमा उठाएर सजिलै लान सकिने रहेछ। कुनै कुनै खेत हरियो, मकैपाते घाँसे मैदान। हामी हिँडेरै गइरहेका थियौं। ‘उता हेर्नोस सर’, गोपालले सङ्केत गरेतिर हेरें। आम्मामा ! यति धेरै हरिण पहु, कोही सिङ भएका, कोही नभएका मस्तसँग चरिरहेका। म आश्चर्यचकित भएँ। के यी सबै पाल्तु हरिण हुन ? गोपालले भने, ‘यहाँ पाल्तु र जंगली जनावरको खासै फरक छैन किनभने उता भारत वा नेपालमा जस्तो यहाँ गाई-भैसी, भेडा-बाख्रा, कुकुर-बिरालो घरमा पाल्ने चलनै छैन। यहाँ सबै जंगली जनावर। कसैले सरकारको नियम अनुसार फारम खोलेर पाल्यो भने पाल्तु भयो।‘ ‘गाई-गोरु र राँगा-भैसीका फारम पनि छन ?’ मैले सोधें। ‘न्युजिल्यान्डमा आएदेखि राँगा-भैँसी देखेको छैन, गाई-गोरुका फार्म भने ठाउँठाउँमा छन’—— उनले भने।
हरिणको एउटा झुन्ड चरिरहेको ठाउँमा एउटा सानो तलाउको डिलमा काला-नीला प्वाँख र रातो चुच्चो भएका चराहरु ढुक्कसँग यताउति गर्दै थिए। पानीहाँस होलान् भन्ने ठानेको थिएँ, होइनन् अरे। तिनको नाम पुकेको रहेछ। मलाई भने ति हाँसकै एक प्रजाति जस्तो लाग्यो। त्यसका अलिक पर्तिर फेरि घाँटीमा सेतो धब्बा भएका सुन्दर चरा देखिए। ती चराको नाम तुइ रहेछ। ‘वाका वाका’ ‘तुइ’ आदि चराका नामसूचक शब्दहरु माउरी भाषाबाट आएका हुन। हाम्रातिर कहिल्यै नदेखिएका किसिम किसिमका रंगविरंगका सुन्दर चराहरु देखेर असमका विश्वख्यात पक्षीविद सेलिम अलीको याद आयो। हिजोआज जर्मनीमा बसोबास गर्ने सेलिम अलीले यी चराहरुको चित्र र विवरण निश्चय पनि उनका पुस्तकमा राखेका छन्।
छेउछाउमा कतै गाउँबस्ती छन कि भनेर हेरियो तर देखिएन। कस्तो अचम्मको ठाउँ! कहाँ बस्छन मान्छेहरु ? अलिकति गहिरिएर सोच्ता उत्तर आफैं निस्कन्छ। सिङ्गो न्युजिल्यान्ड देशको (एरिया 270000 वर्ग किमि) जनसंख्या लगभग पचास लाख मात्र। हाम्रो देशको एउटा शहर कोलकाता, दिल्ली वा मुम्बैको जनसंख्या डेढ करोड भन्दा बेसी हुन्छ। भारतमा प्रति वर्ग किमिमा 455 मान्छे बसोबास गर्छन भने न्युजिल्यान्डमा प्रति वर्ग किमिमा 15 जना मात्र छन। अनि कहाँ देखिनु मान्छे !
ठूला ठूला खेत र खुल्ला बन्जर भूमि देखेर लोभ लाग्यो। उताको जेथो बेचबिखन गरेर यता बसाँइ सर्नु जस्तो ।
हाम्रो देशका शहरहरुमा मान्छे नै मान्छे। न दिन न रात हिँडेका छन, कुदेका छन, उडेका छन। गाडीहरु गुडेका छन, झर्कोलाग्ने चर्को आवाजमा हर्न बजाउँदै ।
जन्तुहरुको बथान र पक्षीकुलको दर्शन गरिसकेर हाम्रो गाडीले दाहिने मोडेर मूल सडक पक्रियो । केही दूर गए पछि एउटा मेकडोनाल्ड फास्ट फुड पसल अघि गोपालले गाडी रोके। अर्डर दिनु पनि क्युमा उभिनु पर्ने। एउटा खालि टेबिलमा हामी बस्यौँ। होटल भित्रै, मेरै दाहिनेतिर एउटा एटीएम मसीन रहेछ। एउटी युवतीले कार्ड छिराएर पैसा निकाली। मसँग युनियन बैंकको इन्टरनेशनल कार्ड थियो, पैसा निस्कन्छ कि निस्किँदैन जाँच गर्न मन लाग्यो। म कार्ड झिकेर मसीनको छेउमा जान लाग्दा गोपालले ‘सर, तपाईले पैसा झिक्नु पर्दैन’ भने। मैले ‘जाँचि हेरौं’ भनेर कार्ड दुलामा छिराएँ र बटन थिच्तै गएँ। मैले सय डलरका लागि एक शुण्य शुण्यमा औंलाले छोएँ, ‘सही छ’ मा फेरि छोएँ। खनखनी बीस डलरका पाँचवटा नोट निस्के। मलाई एक प्रकारको ढुक्क लाग्यो किनभने मेरो भिसा कार्ड चल्ने रहेछ। ठूलो कम्पुटर डिस्प्ले बोर्डमा सूचना आएको देखेर गोपाल उठेर गए अनि एउटा ट्रेमा कफी र खाने कुरा लिएर आए। पेलाको बिर्को खोलेर बाफ उड्दै गरेको कफी सुरुप्प पारें। गोपालले खानेकुराको कभर हटाए— क्रीम रोल दुइटा तर नाम अर्कै कुन्नि के लेखिएको, स्वाद पनि अनौठो लाग्यो। खाइसकेर कफीग्लास र रोल पेपर ढ्वाङ्मा हाल्यौ अनि बाहिर निस्क्यौ। मलाई पानको तलतल लागेको थियो, भनिनँ। भने पनि पाउने उपाय थिएन। ‘अब एक घन्टामा घरै पुगिन्छ ठ्याक्कै’, गोपालले गौरीलाई फोनमा सूचना दिए।
घरमा पुग्दा स्वादिष्ट खानाले हामीलाई पर्खिरहेको थियो। गौरी संस्कारी घरानाकी शिक्षित नारी, आफू पनि सपोर्ट वर्करको काम गर्छिन। चार वर्षका दुइ छोरा र सासू-ससुरा— उमेरले साठी कटे पनि निरोगी कर्मठ रहेछन। घरको काममा दुबैले सघाउँछन। न्युजिल्यान्ड सरकारले उनीहरुलाई बृद्ध भत्ता अनि गोपाललाई पनि बाबा-आमालाई साथमा राखेको लागि भत्ता दिन्छ भनेको सुनेर छक्क परें। बृद्ध, अपाङ्ग, रोगी र अनाथ बालबच्चाहरुको रेखदेख गर्नुमा विश्वभरमा पहिलो नम्बरमा आउने कुनै देश छ भने त्यो न्युजिल्यान्ड रहेछ।
‘एकछिन आराम गर्ने कि घुम्न जाने’ भनेर गौरीले सोधिन। न्युजिल्यान्डको मूल्यवान समय सुतेर खेर फाल्ने होइन। बजार देखाउने र मायाको चिनो उपहारका रुपमा दिने उद्देश्यले मेरा घरमा पुरुष महिला कोको छन भनेर सोधिन्।
जीबीएलओको सभा तेइस तारिकमै सकिएको, पाहुनाहरु पनि विदा भइसके। मैले अझ पाँच दिन पाहुना भएर बस्नु छ। होटलमा बस्नु पर्ला, एक्लै घुम्नु पर्ला अनि खर्च पनि धेरै होला भनेर म मनमनै त्रसित पनि भएको थिएँ। यहाँहरुको आतिथ्यमा मैले केही खर्च गर्नु परेको छैन। त्यहीं माथि उपहार पनि ! यो त तिरिनसक्ने भार हुने भो! फेरि यही आत्मीय नाताले कुनै दिन उनीहरु मेरो शहर तेजपुर आए भने के म त्यति गर्न सकुला ? साइनो सम्बन्ध मित्रता यिनको स्वरुप दोहोरो हुन्छ। लिनेले दिन पनि सक्नु पर्छ।
मैले सिरियस भएर भनें, —- ‘तपाईहरुले यहाँ मलाई जुन सम्मान र आत्मीयता दिनु भयो त्यो नै सबै भन्दा ठूलो उपहार हो, म त्यही लिएर जानेछु। कृपया अरु थोकको कष्ट नगर्नुहोस।‘—- मेरा कुरा कुनै सभामा भाषणको समाप्तिमा भन्ने कुरा जस्ता लागे हुनन, त्यसको कुनै असर परे जस्तो लागेन।
गोपाल र गौरीले कानेखुसी गरे। गोपालले भने, ‘हाम्रो घरको सामान किन्नु छ, एक छिन घुमौं न बजार तिर।‘ म उनीहरुको पछि पछि गएँ। उनीहरुले सामान हेर्दै बास्केटमा हाल्दै गरे। गोपालले कार्डले पैसा तिरे। बजारको स्वरुप सारा विश्वमा एकनाशको भएको छ, हाम्रो सानो शहर तेजपुरमा पनि बजारमा कार्ड पेमेन्ट चलेको निकै वर्ष भयो।
आठबजे, घाम अस्ताउनु भन्दा अघि नै मलाई मुनुकोमा पुर्याइदिए। घऱमा महिमा मात्र थिईन। गोपाल र गौरी गएको एकै छिन पछि, पहिले देवान र त्यस पछि मुनु आइन्। आज मुनुले डिनर होटलबाटै प्याक गरेर ल्याइकी रहिछन। मैले गोपालका घरमा खाना खाएरै आएको थिएँ। मुनुले मेरै लागि विशेष आइटम ल्याएको भन्दा खुरुखुरु खाएँ। जे पर्ला, देखा जाला— मनमनै भने।
एक घन्टा जति लेखें तर आँखा झपझप गर्न थाले, हातको कलम मसिनो धर्को तानेर औंलाबाट खस्यो। म सिरकमा गुटुमुटु भएँ।
विदेश सचिव भीम गुरुङलाई विदा पाल्मर्स्टन एयरपोर्टमा
बिहान पाँच बजे निद्रा खुल्यो। झ्यालको पर्दा उघारें, कलिला घामको न्यानो प्रकाशले शीशा भेद गरेर मलाई स्वागत गर्यो। आधाघन्टा जति व्यायाम गरेर तीन पेला मनतातो पानी पिएँ। मुनुले सधैँ एक बोतल चिसो पानी र एउटा फ्लास्कमा तातोपानी टेबिलमा राखिदिएको हुन्छ।
कत्रो ख्याल गरेकी मुनुले अतिथिको !
नुहाइधुवाइ सकेर निस्किँदा नास्ता तयार थियो । देवान काममा गइसकेछन। नास्ता खाएर मुनु पनि काममा गइन। मसँग घरको एउटा चाबी छँदै छ। गोपालले फोन गरेर आजको प्रोग्रामको जानकारी दिए। पहिले त पल्मर्स्टन एयरपोर्ट जाने जीबीएलओ विदेश सचिव भीम गुरुङलाई विदा गर्न। उनी आज अमेरिका फर्किँदैछन। बालकृष्ण घिमिरे, गोपाल र म पुग्दा भीम गुरुङ उनका दिदी-भिनाज्यू, भाञ्जाभाञ्जी समेत आइपुगेका रहेछन। पाल्मर्स्टन एयरपोर्ट सानो तर सुन्दर रहेछ, गोपालका घरबाट हिँडेर जाँदा बीस मिनटमा पुगिने दूरीमा। यो कुराको जानकारी गोपालले नदिएको हुनाले म सहित अस्ट्रेलियाका साथीहरुले वेलिङटनको टिकट लिनुपरेको थियो। गोपालले जानिजानिनै त्यो भुल गरेको बताए। पाल्मर्स्टन एयरपोर्टमा उत्रेको भए राजधानी शहर वेलिङटनको सफर नहुन पनि सक्थ्यो। फेरि यसको सेवा नियमित पनि छैन। हामी सरासर एयरपोर्टभित्रै छिर्यौ। हाम्रो देशमा टिकट नभएको एन्ट्री गेटबाट छिर्न पाइँदैन। एयरपोर्ट भित्रै सम्झना गराउने फोटो खिँचिए। भीमले उऩको ब्याग खोतलेर न्युजिल्यान्डको प्रतीक चिह्न फर्न अङ्कित चाबीका रिङ् एक झुत्तो मलाई दिँदै भने सर, मायाको चिनो । कत्रो प्रेमले दिए । चीज सानो भए पनि त्यसले ऐतिहासिक घटनालाई याद दिलाउँछ। यसरी दिएको वा पाएको चीजलाई मूल्यले जोखेर त्यसको अपमान गर्नु हुँदैन, ती अनमोल वस्तु सधँका लागि सुरक्षित गरिन्छ।
मलाई लाग्यो, मैले पनि असमको केही चिनो उपहार दिन सकेको भए । असमिया फुलाम गामोचा बजारमा किन्ने समय थिएन। घरमा भएका आठवटा गामोचा त ब्यागमा हालेको थिएँ, ती पहिलो दिनै सकिए।
बोर्डिङको समय भएकोले भीम उतातिर लागे, हामीलै हात हल्लाएर उऩलाई विदा गर्यौ। कतिखेर सुरक्षा जाँच भयो देखिएन। कि भएन ? अचम्म !
मेरो भारत फर्किने दिन जति जति नजिक आउन लाग्यो एक छाक भोजन गर्ने कि त चिया नास्ताका लागि धेरैको निम्तो आउन थाल्यो। उनीहरुको न्यानो मायामा म द्रवित भएँ, यस्तो लागेको थियो निम्तो गर्ने सबैका घर घरमा पुगूँ, सँगै बसेर एक छाक खाना खाऊँ। तर चाहेर नहुँदो रहेछ, त्यसो गर्न महिना दिन बस्ता पनि सम्भव हुने होइन। यो दुइ दिनमा कसका घरमा जाने कसकामा नजाने, मैले निर्क्योल गर्न सकेको थिइनँ। भुटानी समाजका सभापति बालकृष्ण घिमिरेले त्यसको समाधान दिँदै भने, ‘अब उहाँ सर त पाहुना हुनुभो, पाहुनाले हामीले लाने ठाउँमा जाने हो। म सभापति, मेरै घरमा पनि पुग्नु भएको छैन।‘
एयरपोर्टबाट हामी सोझै बालकृष्ण घिमिरेकोमा गयौं। उनकी श्रीमती ओला घिमिरेले उसिनेका आलु र सुठुनीले आप्यायन गर्नुभयो। यो न्युजिल्यान्डको प्रधान आहार रहेछ। आलु र सुठुनीको आकार यताको भन्दा धेरै ठूला। एउटा सिङ्गो आलु एकजनाले खाइसक्न मुश्किल पर्ने। त्यस पछि हामी अञ्जन मुनाको घरमा पुग्यौं। उनका घरमा बेलुकाको भोजन गर्ने । अञ्जनले देवान-मुनुलाई पनि बोलाएकी रहिछऩ। गोविन्द रेग्मीले हामीलाई स्वागत गरे।
आज बिहानैदेखि मेरो पेट ठिक थिएन। होस गर्दा गर्दै खानामा कुताल परि त हाल्यो। मेरो बूढो शरीरले असहयोग गर्ने नोटिस दियो। घर फर्किदा बाटामा बिमारी भएर अभर परिने हो कि भन्ने डरले सताउन थाल्यो। अञ्जनका पाकघरमा धेरै आयोजन भएको अनुमान गरें, त्यो मेरै लागि हो भन्ने पनि स्पस्ट थियो किनभने टाडाको अतिथि म मात्र थिएँ। नखाऊँ भने त्यत्रो तयारी र कष्ट खेर जाने, घरपतिले पनि दुख मान्ने, खाऊँ भने अस्पतालमा भर्ना हुनुपर्ला। बैठक कोठामा कुराकानि गर्दै गरे पनि मेरो मन भने भोजन गर्नु पर्ने डरले खुम्चिएको थियो। बाहिर जाने निहुले भान्सा कोठाको छेउमा पुगे, त्यहाँ मुनाकी बैनी व्यस्त थिइन। उनलाई बिस्तारै भनें, ‘छोरी म चाहिं केवल भात र दाल मात्र खान्छु नि।‘
मुना दुबै हातमा झोला झुण्ड्याएर आइपुगिन। गोविन्द रेग्मीले उनको जागीर डुनेडिनमा हुनाले परिवार सहित उतै बसोबास गरेको बताए। जीबीएलओ महासम्मेलनमा भाग लिने उद्देश्यले साथै बुबाआमासँग पनि भेट हुने भनेर यहाँ आएका। उमेर अस्सीको छेउछाउ पुगेका रेग्मी दम्पतिले मसँग कुरा गरे। उनीहरु भुटानका कुरा याद गर्दथे। यहाँ सबैथोक छ, कुनै कुराको हामीलाई दुख छैन तर यो मनले छिमेकी, इष्टमित्र पाखा-पखेरा, चाडबाड केके खोजेर खटपटिन्छ। उनीहरुको पीर अनुभव गर्न मलाई गाह्रो परेन। सुनको पिञ्जडामा मायाले पालेको चराको जस्तै उनीहरुको जिन्दगी। म पर्सिको दिन भारत फर्किने सुनेर मुनाका पिताले मलाई बोलाएर पल्लो कोठामा लानुभयो। त्यो उहाँको पूजाकोठा रहेछ। उहाँको संकेत अनुसार मैले देवतालाई फूल चढाएर साष्टाङ्ग ढोगें। उहाँले निकैबेर के के मंगलाचरण मन्त्रोच्चारण गर्नुभयो। त्यस पछि एउटा फूलको थुंगो मेरा हातमा दिँदै भन्नुभयो, कुशलमंगल घर पुग्नु हुन्छ, बिघ्नहर्ताका कृपाले बाटामा कुनै बिघ्न हुने छैन।
कत्रो आत्मीयताले मेरो शुभयात्राका लागि इष्टदेवताको स्मरण गर्नु भयो, अभिभूत भएँ म। मेरा हृदयको एक छेउ पग्लिएर आँखा भरिए। बाबुले नदेख्ने गरी गोजीबाट रुमाल झिकेर आँखा पुछें।
म सही सलामत घर आइपुगें। श्रद्धाले नमन गर्दछु ती ऋषितुल्य पण्डित कृष्णप्रसाद रेग्मीजीलाई ।