नियात्रा: न्युजिल्याण्डको नवौं भाग

 

(ज्ञानबहादुर छेत्री)

न्युजिल्यान्डको न्यानो माया

असमका गाउँगरमा डुल्दा कसैले थर के भन्ने प्रश्न गर्दा म सधै एक्लो, बोर हुन्थें। कुनै सभा समितिहरुमा रात बस्तै जानु पर्दा मसँग प्राय पौडेल, पोखरेल, कार्की, भट्टराई थरका साथी हुन्थे अनि कुरै कुरामा थर सोधनी हुँदा उनीहरुका एकै थरी वा सगोत्री फेला पर्ना साथ कति छिटो आफन्त भइहाल्थे। म मात्रै परको हुन्थें। कोही बेला त सँगै गएको साथी मलाई बिर्सेर सगोत्रीको पछि लाग्थे। एक पल्ट एउटा ‘राउत’ फेला परेको थियो तर उ त नेपाली भाषा नबुझ्ने दलित सम्प्रदायको युपीवाला पो रहेछ।

यो राउत थरका नेपालीलाई विलुप्त प्रजाति भनेर संरक्षणको माँग पो उठाउनु पर्छ होला।

नेपालीहरु आपसमा भेट हुँदा सर्वप्रथम ‘के थरी, पाहाड काँ’ भन्ने सोधनी हुन्छ। पामिस्टनमा मलाई पनि कसैले के थरी भनेर प्रश्न गर्दा सहज रुपमा राउत भनेको थिएँ। ती महाशयले त्यहींका मोहन राउतलाई भेटेर भारतबाट आउने अतिथि त तिम्रो एकै थरका राउत हुन भनिदिएछन।

भोलीपल्ट नै मोहनले उनकै घरमा बस्ने आग्रह गरेका हुन तर जीबीएलओको निम्तोमा एउटा सिङ्गो देशलाई प्रतिनिधित्व गरेको व्यक्तिले बँशेरी भाई भेटेर उनका पछि लाग्नु उचित होइन जस्तो लाग्यो। मोहनलाई भने ठिक छ, जाऊँला नि, समय छ भनेको थिएँ।

मोहन राउतले म न्युजिल्यान्ड पुगेको भोलीपल्ट देखिनै उनका घऱमा लाने प्रयास गरिरहेका थिए। साइनो केलाउँदा उनी मेरा बंशेरी भाई पर्दा रहेछन। बालकृष्णले भने अरुकोमा नभ्याए पनि मोहनकोमा चाहिं पुगिदिनु पर्छ। उनले बूढी आमा लगायत सम्बन्धीहरुलाई पनि चिनाउने आग्रह गरेका छन। त्यसैले अस्ट्रेलिया जानु पर्ने छोरी-ज्वाइ पनि टिकट पछि सारेर पर्खिबसेका छन। मोहनले भने उनका बाबु आसामबाट आएर भुटानमा बसोबास गरेका ।

जे होस, न्युजिल्यान्डमा एकजना राउत भेटेर खुसी नै लाग्यो। दशैमा टीका लाएर गुरुजनले आशिक दिँदा वंश फैलिँदै जावोस भन्ने आशिक लागेछ, त्यसैले मेरा बंशेरी भाई यहाँसम्म आइपुगेछन।

मोहनका घरमा खाना मात्र होइन, ढोगभेटको पनि ठूलै आयोजन रहेछ। मोहन र मोहनकी पत्नीले उपहारको प्याकेट अघि सारेर ढोगे। मैले साथमा केही लगेको थिइनँ। लज्जित अनुभव भए पनि मनको असहजपनलाई लुकाउने पयास गर्दै उनीहरुको शिर माथि हात राखेर अघिपछि प्राय भन्ने गरेको मन्त्र भट्याएँ —– ‘सर्वे भवन्तु सुखिन सर्वे सन्तु निरामया । सर्वे भद्राणि पश्यन्तु मा कश्चित दुखभाक भवेत।।‘ छोरी-ज्वाईँलाई अर्कै मन्त्र फलाकेर शेषमा सबैले सुन्ने गरी सदाजीवी सदासुखी भनेर आशिक दिएँ।

न्युजिल्यान्डमा जूत्ता चोर

मोहनले उनकी बृद्धा आमासँग भेट गराउन लाने भए। आमा अलिक पर कान्छा छोराको घरमा बस्नुहुँदो रहेछ। बाहिरै जूत्ता खोलेर हामी बैठक कोठामा प्रवेश गर्यौं। कान्छा छोरा ट्याक्सी ड्राइभर, मसँग भेट गर्ने उद्देश्यले आज एक बेला मात्र काम गरेर उनी छिटै घर फर्किएछन। मोहनले बृद्धा आमाका कानैका छेउमा ‘दाज्यू’, ‘राउत’ र ‘आसाम’ —यी तीनवटा शब्द मात्र उच्चारण गरे। आमाले आसामका र भुटानका धेरै कुरा सम्झिँदै भन्दै गर्नुभयो। उहाँले भनेका धेरै कुराहरुमा एउटा कुराले मेरा मनमा झस्का सृष्टि भयो। उहाँले भन्नु भयो— आसामको भुँडुली नदीका किनारमा पासीगाउँ भन्ने ठाउँमा हाम्रा बंशेरी राउतहरु छन। म झस्केको कारण—-हाम्रो अहिलेको घर सोठियाको कोरेनीमा भए पनि बाबुका मुखमा पासीगाउँको नाम धेरै पटक सुनेको थिएँ। पासीगाउँमा हाम्रो घरभेटी बाढीले लगेकोले हाम्रो परिवार पासीगाउँबाट कोरेनी बसाइँ सरेको कुरा बाबु भन्नुहुन्थ्यो। बाबुका मुखबाट उनका कान्छा भाई सानैमा भागेर भुटान पसेको कुरा पनि सुनेको थिएँ। अब मोहनका बाबु र मेरा भागेका काका एउटै व्यक्ति हुन सक्ने सम्भावना देखियो । भुटानबाट न्युजिल्यान्ड पुगेका मोहन र हाम्रो पुर्ख्यौली एउटै त होइन ? कतै मोहन आसामबाट हराएका मेरा काकाका छोरा त होइनन ? सन 1999मा मेरा पिताजीको देहान्त भयो। त्यसका साथसाथै यी कुराको गाँठो कहिल्यै भेद नहुने रहस्य भएर विस्मृतिको खाडलमा पुरिने भो।

माताश्रीसँग निकै लामो कुराकानी गरियो। उहाँले महिना दिन यतै बस्ने आग्रह गर्नु भयो। बूढाबूढी मान्छे, एक्लो अनुभव गर्छन। पूर्वेली भारतीय संस्कारमा विश्वास गर्नेहरुलाई बृद्धावस्थाको एकाकीपनले साह्रै पीडा दिन्छ। कोही आफन्त अथवा बात मार्ने मान्छे भेटियो भने साथमा राख्न चाहन्छन। आज दुनिया अर्कै भइसकेको कुरा धेरैलाई थाह हुँदैन। हिजोआज आफ्नै छोराछोरी यति व्यस्त भएका छन बाबुआमासँग बसेर सुखदुखका कुरा गर्ने फुर्सत उनीहरुसँग हुँदैन। पुस्ता व्यवधानले गर्दा छोरा-छोरीले बोलेको भाषा बाबुआमाले नबुझ्ने हुनथालेको छ। प्रविधिले ल्याएको ठूलो समस्या हो यो ।

मोहनकी माताश्री पनि एकाकीपनले सताएकी हुन भन्ने ठहर गरें।

न्युजिल्यान्डको सरकारले बृद्ध-बृद्धा र शारीरिक रुपमा अशक्तहरुलई सुसार गर्ने सपोर्ट वर्कर दिएको छ, राम्ररी पालेको छ। काममा व्यस्त छोराछोरीलाई ठूलो राहत दिएको छ, हप्तामा एक दिन बृद्धाश्रम वा हस्पिसमा आमाबाबुलाई भेट गर्न जाँदा भैगो, दायित्व कर्तव्य त्यतिमै शेष। छोरा-छोरी सँधै साथमा नभएर के भो हेरचाह गर्ने सपोर्ट वर्कर छँदै छन, तिनैलाई आफ्ना सन्तान ठान्दा भैगो।

सबैथोक छ तर केही छैन— भौतिक सभ्यताले दिएको वरदान हो कि अभिशाप हो कुन्नि यो?

घरबाट बाहिर निस्कँदा मेरा जूत्ता गायब! कसैले गल्तीले लगाएर गयो भनौं भने पनि अर्को कोही आएगएको छैन। यताउति हेरियो, अहँ, जूत्ता कतै छैनन। म खाली खुट्टामै गाडीमा चढें। न्युजिल्यान्ड आउऩे अघि श्रीमतीले किनिदिएका रिबोकका आरामदायक जूत्ता थिए। मेरा जूत्ता हराएकोमा म भन्दा मोहन र गोपाल बढी दुखी भएका थिए। मनमनै लज्जित पनि भएका थिए होलान् आफ्नो देशको बदनाम भएको देखेर। गोपालले कुरै कुरामा निकै पटक मलाई भनेका थिए, ‘यहाँ केही पनि हराउँदैन, हामी धेरै थोक घरका बाहिर नै राख्छौ, चोरिएको छैन। चोर भए पो चोरिनु ?’ निकै गर्व गरेर भनेका थिए गोपालले। मैले उनले भनेका कुरा सम्झिएँ मात्र, केही भनिनँ । भनेर किन चित्त दुखाउनु !

 

चोरमुक्त रहेनछ न्युजिल्यान्ड। एउटा मात्र भए पनि त्यहाँ चोर रहेछ —– प्रमाण भइ त हाल्यो।

‘एकजोर नयाँ जूत्ता मेरा ब्यागमा छँदै छन, चिन्ता मान्नु पर्दैन’— मोहनका पिठ्यूँमा ढाप मार्दै मैले भनें। मोहन बोलेनन, साह्रै दुखित भएछन उनी।

साँझपख मोहन मलाई भेट्न देवानका घरमा आएछन। त्यस बेला देवानले मलाई एउटा सांस्कृतिक अनुष्ठानमा लिएर गएका थिए। फर्केर आउँदा घरको ढोकानेर एउटा कागजको ब्याग र चिठी थियो। मेरो नाममा लेखिएको थियो ‘भाईको उपहार’। ब्यागमा एकजोर जूत्ता र चकलेटका दुइटा बट्टा थिए।

सरिनाका घरमा रात्रिभोज र रेसम फिरिरि….

सरिनाले हाम्रो सम्मानमा उनको निवासमा सङ्गीतानुष्ठान र रात्रिभोजको आयोजन गरिछन। गोपाल प्रकाश, छत्र र म गरी चारजना बेलुका आठबजी सरिनाको घरमा पुग्यौ। उऩका श्रीमान आउँन भ्याएनन्। पहिलो पटक जीबीएलओको सभागारमा सरिनासँग परिचय हुँदा नाइन-टेनमा पढ्ने सानी केटी भनेर झुक्किएको थिएँ। घरमा सरिना, उऩको छोरो र अर्की पातलो दारकी केटी थिए। त्यो केटीको अनुहार काटिकुटी सरिनाको जस्तै, म फेरि पनि झुक्किएँ। सरिनाकी बैनी हुन् भन्ने ठानेर नेपालीमै उनको नाम सोधें। केटी बोलिनँ, ट्वाल्ल परेर मतिर हेरिरही। उ त सरिनासँग एउटै अफिसमा काम गर्ने सरिनाकी सहकर्मी जापानी केटी, इमोरी उऩको नाम रहेछ।

एक घन्टा जति सङ्गीतानुष्ठान चल्यो। उनका घरैमा सङ्गीतका वाद्ययन्त्रहरु रहेछन। सरिनाले बोलाएका एक जोडी कलाकारले सुन्दर गीत सुनाए। नेपाली, हिन्दी र माउरी गीतको आनन्द लिइयो। हिन्दी सिनेमा र गीतको न्युजिल्यान्डमा पनि निकै लोकप्रियता रहेछ। दुइटा ससाना नानीहरुले नेपाली लोकनृत्य प्रस्तुत गरे। नानीहरुले फूलबुट्टे ढाका कपडाका दौरा सुरुवाल र टोपी लगाएका थिए। छत्रले जापानी केटीलाई एउटा गीत सुनाउने अनुरोध गरे। इमोरी पहिले त अनकनाएकी थिइन् तर सरिनाले पनि भन्दा गाउन तयार भइन्। उनले चर्चित नेपाली लोकगीत रेसम फिरिरि गाएर हामीलाई मक्ख पारिन्। जापाली लवजमा नेपाली गीत कति मिठो लागेको थियो भने निकैबेरसम्म हामीले हात तालि बजाएर खुसी जतायौं। इमोरीले गाएको ‘एकनाले बन्दुक दुइनाले बन्दुक मिइर्गलाई ताकेको ….’ गीतका शब्दहरु कति राम्रो लय हालेर उच्चारण गरेकी !

भान्सा पहिले नै तयार पारेको रहेछ। सबैजना मिलेर खाना सर्भ गरे, जम्मा सोह्रजना रहेछौं। हामी तीनजना अतिथिलाई भने आफै लिन दिएनन, सरिना र इमोरीले सर्भ गरे। कुन्नि के चराको मासु स्वादिष्ट लाग्यो, थपी थपी खाइयो। अरु सबै जवान, ममात्र बूढो—- लहैलहैमा खान त खाइयो, भरे भुँडीले पो जङ्गी आन्दोलन गर्ने हो कि ! जो होला, अब खाइसके पछि चिन्ता गरेर लाभ छैन। काम विशेषले गोपाल पहिले नै गएका थिए। त्यसैले हामीलाई पुर्याउऩ सरिनाले गाडी निकालिन। मलाई देवानको घर अगि ओरालेर छत्र र प्रकाशलाई गोपालका पुर्याउन गइन्। झर्ने बेलामा उनले सुटुक्क एउटा प्याकेट दिँदै भनिन्, ‘सरलाई मेरो यो सानो उपहार, घरमा पुगेर मात्र खोल्ने है’ ।

‘तथास्तु’ – एउटै शब्दमा सम्मति दिएँ। के होला सरिनाले दिएको प्याकेटमा।

गोपालको आतिथ्य

जीबीएलओ न्युजिल्यान्डका महासचिव हुन गोपाल। भारतका अतिथि उऩका घरमा एक रात पनि बास नबस्नु त राम्रो भएन। त्यत्रो महासम्मेलन उनैले पार लगाएको जस्तो लागेको थियो। यस्ता अक्लान्त कर्मी, संगठक तथा सुसाहित्यक गोपालका घरमा बस्ने मेरो पनि तीब्र इच्छा थियो। आज त्यो साइत जुरेको छ।

निकै रातिसम्म गोपालका घरमा कुराकानि गरियो। परिवारमा गोपालका पिता बीरबहादुर पौडेल, माता दुर्गामाया, पत्नी गौरी र दुई पुत्र प्रभास-प्रयास रहेछन। उमेर साठी कटे पनि गोपालका बा-आमालाई निरोगी र कर्मठ देखें। त्यसै बीचमा उनीहरु दुबैजनाको अन्तर्वार्ता लिन पनि भ्य़ाएँ। मलाई आश्चर्यचकित पार्ने कुरा के थियो भने भुटान र नेपालमा छँदा निरक्षर रहेकी दुर्गामायाले न्युजिल्यान्ड आएर अंग्रेजीमा लेख्न र पढ्न सिक्नु भएछ। मैले अंग्रेजीमै प्रश्न गर्दा उहाँले सुस्थिरसँग घरि घरि बिसाउँदै यसरी उत्तर दिनुभएको थियो—

  1. माइ नेम इज दिर्गमाया पौडेल ।
  2. आइ लिभ एट सेभेन्टिन जोन केनेडी ड्राइभ, मिल्सन, पल्मारस्टन नर्थ ।
  3. आइ ह्याभ सिक्स चिल्ड्रेन, थ्री सन्स एन्ड थ्री डटर्स ।
  4. आइ लिभ्ड इन नेपाल रिफ्युजी क्याम्प ट्वेन्टी इयर्स ।
  5. आइ केम टु न्युजिल्यान्ड इन टु थाउजेन्ड फोटिन ।

आफ्नो कापीबाट उहाँले अंग्रेजीमा लेखिएको एउटा पन्ना पढेर सुनाउनु भयो। त्यति मात्र कहाँ हो र ! उहाँले लय हालेर एउटा माउरी गीत पनि सुनाउनु भयो। गीतका एउटै शब्द पनि बुझिएन तर सुनेर राम्रो लाग्यो।

गोपालका पिता बीरबहादुर देवनागरीको राम्रो ज्ञान भएका, उहाँले पनि आफ्नो कापीबाट अंग्रेजी पाठ फरर्ऱ पढेर सुनाउनु भयो। सिलोक र कवित् भन्नमा उहाँलाई कसैले नभेट्ने, भानुभक्तीय रामायण पुरै कण्ठ छ रे। भुटानमा छँदा बिहे बटुलमा             सिलोक भट्याएर छ्याङ्गै उज्यालो पार्नुहुन्थ्यो भनेको सुनेर म छक्क परें।

नयाँ देशमा भाषा नबुझ्दा समस्या हुन्छ। अनपढ नेपालीभाषी भुटानीहरुले न्युजिल्यान्ड, युरोप, अमेरिका पुगेर कसरी हिँडडुल गरे होलान, कसरी सरकारी कार्यालय बजार आदिमा बातचीत गरे होलान, सोचेर म खटपटिन्छु।

इंग्लिश लार्निङ पार्टनरशिप (ELP) नामको संस्थाले त्यहाँ संस्थापित भुटानीहरुलाई अंग्रेजी भाषा पढ्न र लेख्न सिकाउँदो रहेछ। ‘आइ एम लस्ट’ भनेर आफ्नो ठेगाना भन्न सक्यो भने न्युजिल्यान्डमा कसैले पनि घर पुर्याइदिन्छ, नभए पनि पुलिसको सहायता लिनुमा मद्दत गर्छ— गोपालले भने, सुनेर राम्रो लाग्यो। कुरा गर्दागर्दै गौरीले र गोपालले मेरा सामान दुइटा ब्यागमा मिलाई दिए। उनीहरुले उपहारमा दिएका सामान नफुटुन, नखुज्मुजिउन भनेर गौरीले प्याक गरेर लगेजमा जाने ब्यागमा मिलाएर ‘टिकट र पासपोर्ट कहाँ राख्नु हुन्छ ?’ भनेर सम्झाइन। मलाई साह्रै ढुक्क लाग्यो किनभने मेरा घरमा छोरी पुनमले जसरी सम्झाउँथिन, यहाँ पनि उसरी नै हेरचाह गर्ने सम्झाउँने छोरीहरु – गौरी, मुनु र अञ्जुलाई भेटेँ।

पामिस्टनमा बसुञ्जेल मलाई न्युजिल्यान्ड छु जस्तो पटक्कै लागेन, यतैको कुनै शहरमा छु जस्तो लागेको थियो।

बिहान दश बजे खाना खाएर म तयार भएको छु। आज गोपालले मलाई वेलिङटन एयरपोर्टसम्म पुर्याउने कुरा छ। गोपालका पिता बीर बहादुर पनि नयाँ प्यान्ट-सर्ट, जूत्ता-मोजा र शिरमा ठूलो ह्याट लगाएर तयार देखिए। ‘सरलाई एयरपोट पुर्याउन हामी सबै जाने, गौरीले पनि अफिसबाट छुट्टी लिएकी छन।‘ – प्रसन्न हुँदै उहाँले भन्नु भयो। घरबाट निस्कने अघि मोबाइलमा धेरै फोटा लिए गोपाल र गौरीले पालो गरी गरी, मेरो मोबाइलमा पनि लिए। नयाँ मोडलको फराकिलो नयाँ गाडी गौरीको रहेछ, भर्खरै किनेको। गाडी मूल सडकमा आए पछिनै गौरीले नेपाली गीत शुरु गरिन, ड्राइभिङ सीटमा गोपालले ताल मिलाउँदै गाए। दिर्घमायाले पनि गीत र भजनमा साथ दिनु भयो। त्यसै बीचमा बीर बहादुरले पनि सिलोक सुनाएर मलाई मुग्ध पारे । त्यसरी रमाइलो मेरा मनमा हीनभावनाले निकै सताएको थियो। कुनै पनि गीतको एक दुई हरफ गुनगुनाउऩ नसक्ने म साह्रै वेरसिक स्वाँठ रहेँछु। कतिछिटो वेलिङटन आइपुगिएछ । एयरपोर्टमा आधाघन्टा जति सँगै बिताएर बिदा हुने बेलामा आफ्नै परिवारबाट छुट्टिएर टाडा जाँदैछु, फेरि भेट होला कि नहोला जस्तो लागिरहेथ्यो। बिदाको स्मृति गोपालले उनको क्यामेरामा राखे। बीरबहादुरले मेरा काँधमा उनको हात राखेर फोटो खिँचिमागे।

यिनै बीरबहादुर दशैको बेला 23 अक्टोबर बिहान आठबजे घरबाट निस्केका, फर्केर आएका छैनन भन्ने सूचना पाएको छु। फोनमा सम्पर्क गरिरहेको छु, भेटिएका छैनन आजसम्म पनि। गोपालको घऱमा दशैको रमाइलो हुन पाएन, सबै दुश्चिन्तामा परे।

कहाँ छन होला !, कस्तो अवस्थामा छन होला ! बीरबहादुर पौडेलको रातोपिरो गहूगोरो हँसिलो अनुहार मेरा मानसपटमा नमेटिने गरी अङ्कित छ।

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *