नियात्रा: न्युजिल्याण्डको: दशौं भाग
|अकल्याऩ्डमा एक रात : बिदा न्युजिल्यान्ड
अक्ल्यान्डमा झरेर लगेज लिनु धेर बेर लागेन। यो डोमेस्टिक एयरपोर्ट, हो। भोली दश बजे साउथ चाइना एयरलाइन्सको विमानको टिकट छ। तीन घन्टा अगावै आए पनि बिहान सात बजे अक्ल्यान्ड इन्टरनेशनल एयरपोर्टमा आइपुग्दा हुन्छ। अहिले दिउँसोको चार मात्र बजेको छ, सिङ्गो रात कहाँ बिताउँने? यहीं रात कटाएर बिहान इन्टरनेशनल एयरपोर्टमा पुग्ने सोच्दै थिएँ। जीबीएलओ न्युजिल्यान्डका सभापति बालकृष्ण घिमिरेले दुइ दिन अघि भनेको कुरा सम्झें। उऩले ‘अकल्याण्डमा रिसिभ गर्ने, रात बस्ने र भोलीपल्ट एयरपोर्ट पुर्याइदिने मान्छे ठिक गरिदिनेछु, तपाइले कुनै चिन्ता गर्नु पर्दैन’ भनेका थिए। हिँडने बेलामा बालकृष्णसँग भेट भएन, गोपालले पनि मलाई केही भनेनन। अब परेन फसाद ! मोबाइल नभएको होइन तर मेरो फोनबाट लाग्दैन। लगेजको ब्याग गुडाउँदै ओहोर दोहोर गरें, कसैलाई भनेर बालकृष्णसँग सम्पर्क गर्ने सोचें, जता हेर्यो सबै मोबाइलमा ब्यस्त। तैपनि एउटालाई भलादमी जस्तो लागेर त्यसको छेउमा उभिएँ। दस मिनट छेउमा उभिँदा पनि त्यस खैरे बूढाले मतिर हेर्दै हेरेन, कुरा गर्नमै ब्यस्त देखियो। मलाई लाग्यो त्यो खैरे उसकी नयाँ प्रेमिकासँग कुरा गरिरहेछ।
म बाहिर निस्केर कता जाउँ के गरौं भनेर यताउति नजर दौडाउँदै थिएँ। देखें, एउटा होचो होचो, मंगोलियन अनुहारको अधबैँसे मान्छे मलाई नै ताकेर हस्याङ फस्याङ गर्दै आउँदै छ। मेरा छेउमा आएर त्यो मान्छे ठिङ्ग उभियो, आफ्नो प्यान्टको गोजीबाट मोबाइल निकालेर हेर्यो अनि मलाई देखाउँदै भन्यो, ‘तपाई हो?‘ उसको मोबाइलमा मेरै फोटो थियो। मलाई रिसिभ गर्न खटिएका मान्छे यिनै रहेछन। मैले बाहिर निस्कन ढिलो गरेँछु, उनी बिचरा आधा घन्टा अघिदेखि मोबाइलमा मेरो फोटो हेर्दै मिल्ने गोर्खे अनुहार खोज्दै रहेछन।
उनको नाम गणेश लिङ्खा राई रहेछ। विदेशमा आफ्नो मान्छे भेट्दा राम्रो लाग्छ नै, मलाई ढुक्क लाग्यो।
गाडी पार्किङ गरेको ठाउँसम्म उनले मेरो ब्याग गुडाउँदै लगे। त्यसपछि उऩले बीच शहरबाट मुख्य ठाउँहरु, भवनहरु देखाउँदै लगभग डेढ घन्टामा उऩको घरमा पुर्याए। उनको घर एयरपोर्टबाट मात्र 20 किमि, गाडीमा बीस मिनिटमा पुगिने दूरीमा रहेछ। मलाई एक झल्को अकल्यान्ड शहर देखाउने विचारले अर्कै बाटो लिएर आए। गणेशजीले ऐतिहासिक स्थल र सरकारी भवनहरु देखाउँदै गए, ओर्लेर हेर्न नभ्याए पनि गाडीबाटै मोबाइल क्यामेराले फोटाहरु लिने काम गरें। धोको पुर्याएर हेर्ने मौका परेन। हुन त धित मरुञ्जेल हेरौं भनेर समय कहां पो मिल्छ र। आफ्नै देश, आफ्नै शहरलाई पनि राम्ररी हेरिएकै छैन आजसम्म। आफ्नै घरबाट मात्र 20 किमि दूरीको कलिया भोमोरा ब्रिज सन 1987मा खुले पछि टाडा टाडादेखि हेर्नेको ताँति लाग्यो किनभने त्यतिखेर त्यो नै ब्रह्मपुत्र माथि बनिएको असमको सबैभन्दा लामो (3.05 किमि) थियो। मलाई भने तीन वर्ष पछि मात्र हेर्ने साइत जुरेको थियो।
गाडीमा जाँदै गर्दा गणेश राईको बारेमा जानकारी लिएँ। उऩले आफ्नो बारेमा भन्दै गए, मैले उनका कुरा वाणीबद्ध गरे। टाडा विदेशमा, विशेष गरी अर्कै महादेशमा बसोबास गर्ने स्वजातीय भेट हुँदाको अनुभूति सुखद हुन्छ। उनीहरुलाई पनि स्वदेशबाट कोही आयो भने माइती आएको आनन्द हुँदो हो। कतै व्यतिक्रम पनि होला, कसैको तीतो अनुभव हुन सक्छ तर मलाई भने पामिस्टनमा र अकल्यान्डमा कहिल्यै नबिर्सने गहिरो आत्मीय प्रेमको अनुभव भयो। गणेश राईको पुर्ख्यौली थलो पूर्वी नेपालको धनकुटा पहाड रहेछ। राईले काठममाडौको पुलचोक इन्जीनियरिङ इन्स्टिच्युटबाट डिप्लोमा लिएर सर्वप्रथम धनकुटा स्वास्थ्यसेवामा काम गरेछन। त्यस पछि, सन 1991देखि उनले सात वर्ष हङकङको एउटा ट्रेन्सपोर्ट कम्पनीमा काम गरे । सन 1997 मा त्यो कम्पनी न्युजिल्यान्डको अकल्याण्ड आउनाले उनी पनि यतै सरुवा भए। यस समयमा उनी बस कम्पनीको इलेक्ट्रिकल विभागमा एउटा सेक्सनका अधिकारीका रुपमा कार्यरत छन भने उऩकी पत्नी मीना राई पनि सोही अफिसमा काम गर्छिन। राई सन 2002मा 10 ल्याब्रुक एबे. ब्लकहाउस वे भन्ने सागरको तटीय क्षेत्रमा सुन्दर दुइतले भवन किनेर स्थाइ रुपमा बसेका छन। गणेश र मीना दुबैको उमेर 58 वर्ष, सन्तानमा एउटा छोरो र एउटी छोरी, दुबैको बिहे भइसकेको—– सुखी परिवार रहेछ।
मलाई यसो देख्ता ठिकै देखिए पनि सम्पूर्ण स्वस्थ भन्नु मिल्दैन। अलिकति चिसो कि त धूलो भेटे मलाई नराम्रो तरिकाले हाच्छ्युँ आउन थाल्छ। उसरी नै खानामा तेल मसला यताउति भयो भने पेट दुख्छ, पखाला चल्छ। कतै रात बस्तै जानु पर्दा श्रीमतीबाट यो नखानु त्यो नखानु भन्ने धेरै भाषण सुने पछि सम्मतिसूचक तथास्तु भनेर मात्र निस्कन्थें।
ठूलो आँट गरेर निस्केको थिएँ, एक्लै। धन्य, अहिलेसम्म त केही समस्या भएको छैन। होसियार हुँदाहुँदै पनि पामिस्टनको अत्यधिक माया पेटमा अटाउन र पचाउँन मलाई हम्मे परिरहेको थियो। त्यसैले गाडीमा आउँदै गर्दा गणेशजीलाई ‘म त शाकाहारी हुँ’ भने सूचना दिएको थिएँ।
साँझमा गणेशजीका घरमा निकैजना नेपाली मान्छे भेला भए। सबैसँग परिचय साटासाट गरियो। त्यो अनौपचारिक भेलाले औपचारिक सभाको रुप लियो। वास्तवमा, घरपतिले भारतका एकजना अतिथि साहित्यकार आउँदैछन भन्ने सूचना पहिले नै दिएका रहेछन। मेरै सम्मानका खातिर यो आयोजन रहेछ भन्ने बुझें। सभापतिको आसनमा गणेश राई थिए भने मलाई विशिष्ट अतिथि भनेर परिचय गराइयो। सभाको उद्घाटन भाषणमा स्थानीय विशिष्ट व्यक्ति उद्धव अधिकारीले भन्नुभयो, ‘हामीलाई यहाँ कुनै कुराको कमी छैन। अकल्याण्डमा हामी नेपालीभाषी लगभभ हजारजना छौं, भौतिक रुपमा सबै नै सम्पन्न छौँ। हाम्रो एउटै मात्र समस्या छ —– त्यो हो जातीय परिचयको सङ्कट। यही एउटा डरले हामीलाई सधैं पिरेको छ। हामी नेपाली भेट हुँदा आपसमा नेपालीमै कुरा गर्छौं तर कहिले काहिँ महिना दिनसम्म आफ्नो भाषा बोल्ने मान्छेसँग भेटै हुँदैन। त्यसैले आपसमा भेटघाट हुने र आफ्नो भाषा संस्कृतिलाई बँचाएर राख्ने उद्देश्यले धार्मिक अनुष्ठान, जातीय चाडबाड आदि मनाउने गर्छौं। हामी पछिको प्रजन्मले कसरी जातीय परिचय जोगाउला भनेर हामी चिन्तित छौं।‘
अधिकारीका पछि अरु दुइजनाले वक्तव्य राखेका थिए, उनीहरुले पनि त्यही परिचयको सङ्कटको कुरानै भनेका थिए। त्यस पछि पाँच जना युवामा चारजनाले नेपालीमा र एकजनाले अँग्रेजीमा स्वरचित कविता वाचन गरे। एउटी कलाकारले ‘आँगन त एउटै हो’ बोल भएको विश्वभावना दर्शाउने नेपाली गीत गाएर सबैलाई मक्ख पारिन्।
अब अतिथिको बोल्ने पालो आयो। पहिले त सम्बोधनमा अकल्यान्डवासी नेपाली सबै प्रति हार्दिक आभार प्रकट गरें।
त्यस पछि यसरी छोटो वक्तव्य राखें ——–
हठात् आइपुगेको एकजना अतिथिलाई तपाईहरुले जुन आदर सत्कार र सम्मान दिनुभयो, म अभिभूत भएको छु, कहिल्यै भुल्ने छैन अकल्याण्डको अकृत्रिम माया। भारत-नेपालदेखि धेरै टाडा, न्युजिल्याण्डको अकल्याण्ड शहरमा तपाईहरुले नेपाली समाज गठन गरी जातीय भवन निर्माण, चाडपर्व, धार्मिक अनुष्ठानादि आयोजन, पालन गरेको जान्न पाउँदा मेरो मन हर्षले गदगद भएको छ, खुसीले रमाएको छ। उसै गरी आज यहाँ कविता पाठ गर्ने युवावर्ग र नेपाली लोकनृत्य प्रदर्शन गर्ने नानीहरुमा जातीय भावना र सांस्कृतिक चेतना देखेर मेरो छाती गर्वले ढक्क फुलेको छ। प्रिय मित्रहरु, जातीय परिचय प्रकृतार्थमा, मान्छेको मुटुमा, उसको चेतनामा हुन्छ। जबसम्म व्यक्तिमा जातीय चेतना रहन्छ तबसम्म उसले जातिलाई माया गर्छ, गर्व गर्छ। व्यक्तिमा त्यो चेतना जबसम्म रहन्छ त्यो जातिको भाषा-संस्कृति हराउँदैन, विलुप्त हुँदैन।
हे मेरा अकल्याण्ड वासी मित्रहरु, हेर्नोस त, तपाईंहरु दक्षिण मेरुकै छेउको पल्लो मुलुकमा बसोबास गरे पनि आफ्नो भाषा-संस्कृतिलाई कसरी समातेर राख्नुभएको छ। यस घडी म न्युजिल्यान्डमा तपाईहरुसँग सम्वाद गरिरहेको छु, यसको कारण पनि उही जातीय चेतना हो। पृथ्वीको जुन देशमा बसे पनि नेपाली भाषा-संस्कृतिले हामीलाई जोडेको छ। भाषा-संस्कृतिको अवधारणा राष्ट्रको अवधारणा भन्दा अलिक बेग्लै हो। ऱाष्ट्रको राजनैतिक सेरोफेरोलाई भत्काएर भाषा-संस्कृति कुनै पनि मुलुकमा पुग्न सक्छ। आजको ग्लोबल परिप्रेक्षमा थुप्रै पुराना कुराहरु भत्किन थालेका छन, नयाँ कुराहरु आएका छन। ऱाष्ट्रको भावना पनि फितलो हुँदै छ। हेर्नोस त कस्तो विडम्बना, जन्मेको देश भुटानले विदेशी भनेर देशबाटै लखेट्यो, पुर्खाको देश नेपालले शरणार्थी भनेर हेला गर्यो। कुनै साइनो सम्बन्ध ऩभएको, भाषा-संस्कृति केही नमिल्ने देश न्युजिल्यान्डले न केवल आश्रय दियो, नागरिकता सहितको शानको जिन्दगी दियो। यस्तो दुख भोगाइ पछि पनि न्युजिल्यान्डमा संस्थापित नेपालीभाषी भुटानीहरुको जन्मभूमि भुटान र पुर्खाको देश नेपाल प्रतिको अकृत्रिम प्रेम र श्रद्धाभावना देखेर आश्चर्यचकित भएको छु। त्यस्तै प्रेम यहाँ अकल्यान्डबासी नेपालीहरुमा देखेर मेरो मन हर्षले उचालिएको छ। तपाईहरुलाई मेरो सलाम छ, शतकोटि प्रणाम छ।
हे मेरा प्यारा स्वजन, धेरै लामो म बोल्दिन, हृदयको माया व्यक्त गर्न धेरै बोल्नु पर्छ जस्तो मलाई लाग्दैन। मलाई खुसी लागेको कुरा के छ भने यतिखेर विश्वका चारै दिशाबाट नेपाली भाषामा डायास्पोरा साहित्यको निर्माण हुनथालेको छ— यो हाम्रा लागि शुभलक्षण हो। डायास्पोरिक जीवन भूमण्डलीकरण प्रौद्योगिकीको देन हो। आजको व्यक्ति कुन मुलुकमा पुग्छ, कहाँ उसको निवास हुन्छ त्यसको निर्क्योल गर्ने धेरै कारक तत्वहरु छन। तपाईहरुले सानो छँदा निश्चय पनि एक दिन अकल्यान्डमा घर बनाएर बस्छु भनेर सोच्नुभएको थिएन। तपाईहरुले नेपाली भाषा-साहित्य-संस्कृतिलाई विश्वमा फिजाउँने महत्वपूर्ण काम गर्नुभएको छ। प्रतिकुल परिवेशमा भाषा-साहित्यको सेवा गर्ने तपाईहरुलाई जतिनै सराहना गरे पनि थोर हुन्छ। तपाईहरुहरुसँगको मेरो आजको भेट ऐतिहासिक भेट बनोस्। तपाईहरुसँग यसरी सम्बाद गर्न पाएर म धन्य भएको छु।
सभा सकिए पछि पनि अरु एक घन्टा अनौपचारिक कुरा गरियो। विदेशमा पैसा कमाएर आफ्नै पुर्खाको देशमा पुर्याउने कुरा कतिपयले व्यक्त गरे। नयाँ प्रजन्ममा भने फर्किने सम्भावना देखिँदैन। पहिलो पुस्ताका बूढा-पाकाहरु चाहेर पनि फर्किन नसक्लान किनभने पुर्खाको देशले नागरिकता हक दिनु पनि पर्यो।
राई दम्पति अति नै धार्मिक, मिष्टभाषी र अतिथिपरायण रहेछन।
छिमेकीहरु गइसके पछि सोफामा बसेर घरपतिको बैठक कोठाका चारैतिर हेरें। देवालका सबैतिर देवीदेवताका ठुला ठुला फोटा झुण्ड्याएका थिए। बैठकबाटै देखिने भित्रको कोठा पुजा कोठा रहेछ, त्यहाँ पनि फोटा र देव-देवीका साना-ठूला मूर्ति। जानेसुने जति सबै देवी देउतालाई यी राई दम्पतिले आफ्ना घरमा राखेका छन जस्तो लाग्यो।
बिहान पाँच बजी नै म तयार भएको थिएँ। छ बजीसम्म डायरीमा अघिल्ला दिनको कार्यावली नोट गरें। आज मेरो न्युजिल्यान्डबाट बिदा हुने दिन। फेरि कुनै दिन यो देशमा आउन नजुर्ला किनभने यतिखेर मेरो उमेर त्रिसट्ठी पुगिसकेको छ। मौका जुरे पनि शरीरले नथेग्ला। छ नबज्दै चिया-नास्ता तयार, राई दम्पतिसँगै बसेर खाइयो। बिहानै 0630 मा उनीहरु पनि ड्युटीमा जाने। मेरो लागि अर्कै गाडी आइपुग्यो । हिजै गाडीको परिबन्द मिलाई दिएछन। हिजोको सभामा उद्घाटन वक्तव्य राख्ने उद्धव अधिकारी रहेछन मलाई एयरपोर्ट पुर्याउने व्यक्ति। उद्धव अधिकारीले अस्ट्रेलियाबाट मेकानिकल इञ्जीनियरिङमा डिग्री लिएर एउटा निर्माण कम्पनीमा काम गरेर पाँच वर्ष अघि उनी सेवानिवृत्त भएका रहेछन। प्रखर जातीय चेतना भएका अधिकारीले अगुवा भएर समाज सेवामा मनोनिवेश गरेको बुझें। गोरो अनुहार, अग्ला र पातलो दारका अधिकारीलाई नेपाली भनेर नचिनिने। कुरा गर्दै त्यस्तै बीस मिनटमा एयरपोर्ट पुगियो। अधिकारीजी विदा भए पछि केहीबेर म अल्मलिएँ। आउँदा अकल्यान्डमा सोझै इमिग्रेशन, त्यस पछि प्रस्थान गेटतर्फ जानुमा कुनै अप्ठ्यारो भएको थिएन। धेरैवटा काउन्टारका सबैमा लामो क्यु देखेँ। मैले साउथ चाइना एयरलान्सको बोर्डिङ पास लिने र लगेज कुन काउन्टारमा बुझाउने भनेर एउटालाई सोधेँ, उसले मलाई त्यहीं पुर्याइदियो। मेरा कागजात परीक्षा गरेर दुइटा बोर्डिङ पास दिए—- एउटा अकल्यान्डदेखि ग्याङजाउको अनि अर्को ग्याङजाउदेखि दिल्लीको। ठूलो ब्याग तौलेर लगेजमा पठाए। त्यस पछिको सुरक्षा जाँच भने धेरै लामो र कढा रहेछ। पासपोर्टलाई मसीनमा स्वाट्ट छिराउँदा छेकाबार खुल्ने रहेछ। अरुले गरेको हेरिरहेको हुनाले मेरा पालो आउँदा त्यसरी नै त्यो खुडकिलो पार गरें। त्यस पछि ह्यानब्याग एउटा ट्रेमा अनि कोट, मोबाइल र पर्स अर्को ट्रेमा एक्सरे मसीनका लागि यथास्थानमा राखेर आफ्नो शरीरको जाँच गर्ने सीसाको बक्स जस्तोमा पसेर उभिएँ। स्वाट्ट र झिलिक्क गर्यो, बस खतम्। मैले पेटी खोल्न बिर्सेको रहेंछु। पल्लो छेउको सुरक्षा कर्मीले पेटी खोल्न लगाएर यसरी ओल्टाइपल्टाइ छामेर हेर्यो मानौं त्यसभित्र के के नै लुकाएर राखेको छ।
सुरक्षा जाँच सकेर सामान लिए पछि ढुक्क लाग्यो। घडी हेरें, नौ बजेछ। अढाइ घन्टा लगातार क्युमा उभिँदा खुट्टा गलेछन। एक कप चियाको तलतल लागेको थियो तर अझ प्रस्थान गेटसम्म पुग्नु छ। छोरालाई ‘म अहिले अकल्यान्ड एयरपोर्टमा सुरक्षा जाँच सकेर बसेको छु, दिल्लीदेखि गुवाहाटीको भोली बिहानको फ्लाइटमा टिकट गरिदिनु’ भनें।
दश बजे विमानले गति लियो, ‘विदा न्युजिल्यान्ड’ मनमनै भनें। साउथ चाइनाको यो विमान झन ठूलो रहेछ, एक लहरमा 3-4-3 गरी दश जना बस्ने। यस पटक मेरा छेउका सीटमा एक जोडी परे, केटो धम्मरधुस कालो, केटी चाहि गोरी। कालेले कसरी यति राम्री डेसडेमिनालाई पट्यायो होला। दुबै जना अनर्गल फत्फताई रहे, कुनै भाषामा बातै मारेका हुन कि बाझेका हुन बुझ्न सकिएन। मैले सेपिएन्स निकालेको थिएँ, फेरि ब्यागमा थन्क्याएँ अनि चादरले मुख छोपेर निदाउने प्रयास गरें। ट्रली ठेल्दैतान्दै विमान परिचारिका आए। सात घन्टा अघि मीना राईले दिएको नास्ताले छोडिसकेको थियो। कम्पुटरमा विमानले 1800 किमि तय गरेको, 39000 उच्चतामा उडिरहेको देखायो। रोटी, दाल, उसिनेका मकै, फ्रुट-सलाद र बटर थियो। काले र गोरी थाकेर निदाएछन। परिचारिकाले तिनलाई उठाएनन।
खाना खाएपछि म चङ्गा भएँ। पढ्ने यस्तो मोका कहाँ पाउँनु। महिना दिन भयो थालेको, पृ. 258 मा अड्किरहेको छु। कुनै पनि पुस्तक पढ्दै जाँदा नबिसाई (सिङ्गो दिन) पढन पाउँदा राम्रो लाग्छ। न्युजिल्यान्ड भ्रमणमा सकुँला भनेको, खोल्नै भ्याइएन। निकै चर्चा सुनेर हरारेका पुस्तक मगाएको थिएँ । 498 पृष्ठको सेपिएन्स गहिरो पठन खोज्ने साह्रै उपयोगी ग्रन्थ रहेछ। चिनो लगाएको पृष्ठमा नाजीहरुको जातीय अवधारणाको प्रसङ्ग थियो। मानिसको प्रजातिलाई पतन हुनुबाट बँचाउने र सुरक्षित पारेर प्रगतिमूलक विवर्तनमा सघाउ पुर्याउनु भन्ने छ। त्यसै कारणले नाजीहरुले उच्च प्रजातिका आर्यहरुलाई जोगाउनु पर्छ अनि तिनको विकासमा मद्दत गर्नु पर्छ भन्ने ठाने। यहुदी, रोमा, समकामी जस्ता घटिया प्रजातिका मानव प्रजातिलाई थुनेर राख्नु पर्छ कि त सफाया गर्नु पर्छ। (एक)
The main ambition of the Nazis was to protect humankind from degeneration and encourage its progressive evolution. This is why the Nazis said that the Aryan race, the most advanced form of humanity, had to be protected and fostered while degenerate kinds of Homo sapience like Jews, Roma, homosexuals and the mentally ill had to be quarantined and even exterminated. ( Page-258)
मैले पुस्तक झिकें र चिनो लगाएको ठाउँबाट पढ्न थालें। तीन सय पृष्ठमा पुगिसक्ता निद्राले आँखा झपझप गर्न थाले। घतलाग्दो अर्को प्रसङ्ग आएको थियो। इंग्लैन्डका राजा प्रथम एडवार्ड (1237-1309) र उनकी रानी एलिनरका सन्तानहरु जन्मेर सानै उमेरमा मृत्यु भएको तथ्यांक रहेछ। सोह्रौ सन्तान एडवार्ड मात्र लामो उमेर बाँचे जसले द्वितीय एडवार्ड नामले सिंहासनमा आरोहण गरे। यो तथ्यांक उल्लेख गर्नुको कारण के रहेछ भने त्यस समयमा राजपरिवारमा पनि सन्तानलाई हुर्काउनु कति कठिन थियो भने सर्वसाधारणका सन्तानको के हुन्थ्यो होला भन्ने रहेछ।
‘भो भो, अब कापी थन्क्याएर सुत’—- मेरो मनले भन्यो। साथी डा. जमदग्निलाई सम्झें। उनी पनि यसै भन्थे। ‘यसरी पढेको थिस् भने मेट्टिक पास भैहाल्थिस नि।‘ — जमदग्रि भन्थे अनि हामी तीनजना गलल्ल हाँस्थ्यौं। असम सरकारले प्रकाश गरेको हिस्ट्री एन्ड कल्चर अफ आसामिज नेपाली ग्रन्थको सम्पादनको काम गर्दा डा. जमदग्नि उपाध्याय, डा, खेमराज नेपाल र यो लेखकले आठ वर्षसम्म काम गर्नु परेको थियो। त्यसै सिलसिलामा प्राय हामी गुवाहाटीमा होटल वा कुनै अतिथिशालामा सँगै बस्थ्यौ। काम गर्दा गर्दा थकित भएर एकछिन बिसाउँने वा चिया खाने समयमा डा. जमदग्नि त्यसो भन्ने गर्थे अनि हामी हाँस्थ्यौं। त्यो हँसाइले हामीलाई उर्जा दिन्थ्यो।
गोरी कालेका छातीमा टाँसिएकी, दुबै मस्त निद्रामा थिए। म पनि चादर ओडेर सुतेँ।