नियात्रा: न्युजिल्याण्डको: एघारौं भाग
|चीनको ग्याङजाउ हुँदै घर वापसी
ग्याङजाउमा विमान अवतरण गर्दा बेलुकी पाँच बजेको थियो। मेरो लगेज दिल्लीमा लिने हो, त्यसैले ह्यानकेरी पिठ्यूमा बोकेर उत्रिएँ। काँड चिह्नले सङ्केत गरेको बाटो पैल्याउँदै जाँदा जाँदा जाँदा बल्ल सुरक्षा जाँचमा पुगियो। दाहिने देब्रे दुबैतिर पसलै पसल, कति हुन कति। कुनै पनि पसलमा पस्न मन लागेन। भारतका बजारमा चीनका सामग्री जताततै पाइन्छ, सस्तो पनि छ। भएन न्युजिल्यान्डको चिनो भनेर ल्याएका सबै सामानमा ‘मेड इन चाइना’ लेखेको छ। हामीलाई प्रदान गरिएको मेमेन्टो अनि भीमले उपहारमा दिएका चाबीका रिङमा समेत ‘मेड इन चाइना’ लेखेको देखेर म छक्क परेको छु। यति ससाना चीज पनि न्युजिल्यान्ड जस्तो विकसित देशले किन बनाउन नसकेको होला। चित्तबुझ्दो उत्तर टीका रेग्मीले दिएका थिए। यसका दुइटा मुख्य कारण रहेछन। पहिलो कारण पर्यावरण विषयमा न्युजिल्यान्डमा देशका नागरिक र सरकार खुबै सचेत छन। त्यसैले देशमा साना-ठूला कुनै पनि उद्योग कारखाना स्थापन भएको चाहदैनन। दोस्रो कारण काम गर्ने श्रमिकको अभाव। सिङ्गो देशको जनसंख्या लगभग पचास लाख मात्र छ अनि सागरको बीचमा अवस्थिति, बाहिरबाट सस्ता श्रमिक ल्याउनु मिल्दैन। चीनमा ठूला ठूला धेरै उद्योग स्थापित हुनुको कारण पनि बल्ल बुझें। बेलायतकी लेखिका जानु राईले उनको नियात्रामा चीनाहरुको व्यापारी कौशलको कुरा उल्लेख गरेकी छन। चीनाहरुले कतै उभ्रिएको पैसा पनि फिर्ता नगरेर कौशलले अरु नै केही किन्न बाध्य गराउँछन भन्ने कुरा उनले उल्लेख छन। हाम्रो भारतमा पो के कम ! दिल्ली, मुम्बै, कोलकाता सबैमा त्यस्तै त हुन्छ। सुरक्षा सकेर फेरी हिँडदा हिँडदा गलिसकियो, गेट नम्बर 170 आउँदैन त ! भर्खर 115 देखायो। यहाँबाट तीनतिर बाटो छुट्टिएको, मेरो गेट 160-200 देब्रे तिर जाँदा पाइने रहेछ। बल्ल 170 गेट देखियो है, तैपनि बोर्डिङ पास देखाएर काउन्टारको मान्छेलाई सोधेँ। यही हो रहेछ हाम्रो गेट। ब्याग एकाछेउमा राखेर बसें । अबका दुइ घन्टा पछि मात्र छ विमानको उडने समय, बोर्डिङका लागि कम्ती पनि एक घन्टा समय छ।
ग्याङजाउ एयरपोर्टमा यति धेरै मान्छे ! शिरमा पगडी लाएका दाह्रीवाल पञ्जाबी निकैजना देखा परे। म चाहिं कतै नेपाली अनुहार देखिन्छ कि भनेर यताउति हेर्दै थिएँ। कतिपय अनुहार नेपाली जस्ता देखिए पनि तिनको पहिरन देख्ता जापानी, चीनी, फिलिस्तिनी पो होलान जस्तो लाग्यो। नेपाली बोलेको सुन्न पाए पो पक्को हुनु।
बोर्डिङका लागि क्यूमा उभिँदा थाङा पाएँ थकाइले खुट्टा गलेछन। यो विमान पहिलेको भन्दा अलिक सानो होला किनभने यसमा एक लहरमा आठजना बस्ने व्यवस्था रहेछ। आफ्नो आसनमा बसे पछि अब चाहिँ आफ्नै देशमा पुगिने भो भनेर मलाई खुसी लाग्यो। ग्याङजाउको दुइ घन्टा साह्रै बोर लाग्यो। यताउति डुलें, आँखा पनि डुलाएँ तर आँखा र मनलाई तृप्त पार्ने दृश्य देखियोस त के र ! जाँदा हङकङमा दिनभरि भोकै बस्नु पर्दा पनि यति दिक्क लागेको थिएन। चीन देशै यस्तो हो कि! जिनपिङको अनुहार सधैं रिसाए जस्तो देख्छु। जे होस, हामी हिन्दी चीनी भाई भाई ………….!
यसपालि मेरा छेउको आसनमा एउटी युवती र तीन चार वर्षकी केटी (सायद उसकी छोरी) परेछन। युवती रातो वर्णकी खिनौटे भए पनि चम्किला आँखा भएकी निकै आकर्षक थिई। ‘तपाई इन्डियन?’– भनेर उसले सोधेकी हुनाले मैले पनि ‘आर यु चाइनीज ?’ भनेर सोधें। उसको अनुमान सही थियो भने मेरो अनुमान गलत साबित भयो। घातक मुस्कान छर्दै उसले भनी, ‘होइन, म त कोरियन हुँ।‘ म के कुराले आश्चर्यचकित भएँ भने त्यो सानी फुच्चे केटीले त कुनै अभिज्ञ व्यक्तिले झै उसका साना औंलाले जटिल कम्युटर गेम खेल्न थालिछ। उसले यति छिटछिटो दुबै हातका औँला चालेको देखेर अचम्म लाग्यो। एकछिन त्यो केटीको खेल हेरेर मैले सेपियन्स निकालेँ। बीस पेज जति पढिसकेर यसो हेरेको बच्ची गेम खेलिरहेकी थिई, आमा चाहिं मस्त निद्रामा।
ट्रली ठेल्दै-तान्दै आए है परीहरु ! परीहरु आएको चाल पाएर होला बच्चीकी आमा उठी। खाना भारतीय रहेछ— दात भात रोटी मिक्स्ड सब्जी र दही। मज्जाले खाएँ र चिनो लाएको ठाउँबाट शुरु गरेँ। पन्द्रौं अध्यायको पहिलो वाक्य नै प्रश्नसूचक– ‘हाउ फार इज द सान फ्रम द आर्थ ?’ ज्योतिर्विज्ञानका कुरा मलाई मन पर्छ तर विज्ञानका कति कुरा नबुझेर कसैलाई सोध्नु पर्ने हुन्छ। युवल नोवा हरारीको भाषा सजिलै बुझिने, सरल छ। विज्ञानका जटिल कुराहरु कति सहज तरिकाले व्याख्या गरिएका छन।
रातको एघार बजेको छ, यतिखेर हाम्रो विमान भारतकै वायुमन्डमा गतिमान छ। कहाँ होला ? बिहार कि त उत्तर प्रदेश माथि ! एक छिन पछि गति क्रमात धीमा पार्दै तल तल झर्दै आयो उनि घ्याच्च भूँइ छोएर रनवेमा परसम्म गुडेर रोकियो। हामी दिल्लीको इन्दिरा गान्धी आन्तर्जातिक हवाइ अड्डामा आइपुग्यौं। समय ठ्याक्क बाह्र बजेको थियो। ओर्लेर सबै ग्वारग्वार्ती सोझै इमिग्रेशनतिर लागे। म पनि बीचमा थिएँ। हिँडदै जाँदा मोबाइल बज्यो, छोराको फोन रहेछ। ‘बिहान सात बजेको इन्डिगोमा गुवाहाटीको टिकट बुक गरेको छ, ह्वाट्सएपमा टिकट पठाएको छु’ भन्ने सूचना दिन उ नसुती पर्खिरहेको रहेछ।
प्रस्थानको समयमा इमिग्रेशनको क्युमा उभिँदा फर्काइदिने हो कि भन्ने डर लागेको थियो। अहिले विदेश भ्रमण सकेर आफ्नो देशमा आउँदा गर्वले छाती ढक्क फुलेको छ। मेरो पासपोर्ट हेरेर ‘एराइभ्ड’ भन्ने छाप मारेर फर्काए दिए। टाउको हल्लाएर अभिवादन पनि गरे, देशको नागरिक विदेशमा आन्तराष्ट्रिय कार्यक्रम सफल पारेर सकुशल फर्केकोमा मधुर मुस्कानले बधाई दिएको ठानें।
लगेज 10 नम्बरका बेल्टमा आउने रहेछ। बेल्ट घुमिरहेको छ, मेरो रातो अमेरिकन टुरिस्टर आउँदैन त ! पुरै एक घन्टा भइसक्यो पर्खेको । अरु यात्रु आफ्नो ब्याग टिप्तै गइसके, आठ दश जना मात्र पर्खेका छन। कतै मेरो ब्याग अरुतिरै त गएन ? कि ग्याङ्जाउमा खसालियो ? कहिले काहिं यस्तो भुल हुन्छ भन्ने सुनेको छु। बल्ल आउँदै छ, साह्रै अल्छे पाराले। मेरै हो, ‘जीबी अब्लिक टीजेड’ देखियो। कतै झुक्किन नपरोस भनेर ब्यागमा नामसूचक रोमन अक्षर लेखेको थिएँ।
अहिले राति अढाइ बजेको छ। गुवाहाटी जाने मेरो फ्लाइट बिहान सात बजे। पहिले त आउँदा गोपालले दिएका डलर साटें। जाँदा डलर लिँदा भेन्डरले पासपोर्ट र टिकटको फोटोकपी राखेको थियो, अहिले डलरबाट भारु लिँदा केही चाहिएन। एयरपोर्टबाट बाहिर निस्कँदा एक्कासी मेरो सारा जिउ हिउँ होला जस्तो जाडो लाग्यो। लुगा, छाला मासु सबै छेडेर हड्डीसमेत कमाउने जाडो। दिसम्बरको अन्त्यमा दिल्लीमा साह्रै जाडो हुन्छ भन्ने सुनेको थिएँ, आज फेला परेँ । मफलरले कान, घाँटी, टाउको त छोपें तर पनि भित्र मुटु लुग्लुग कामिरहेको थियो। डोमेस्टिक एयरपोर्ट जाने बसमा चडेपछि मात्र जाडो अलिक कम भयो। बसमा धेरै मान्छे थिए, युपी बिहारतिरका हुन भन्ने उनीहरुका कुराबाट थाह भयो। सबै चीनबाट आएका रहेछन। धेरै जनसंख्या भएको देश चीनमा पनि यति धेरै भारतीयलाई कर्मसंस्थान कसरी मिलेको, मैले बुझ्न सकिनँ। बसबाट ओर्लेर डोमेस्टिक एयरपोरटमा पस्ता पस्तै सामुन्ने चियाको पसल देखें। तातो चिया पिएर जिउ तताउनु पर्यो भनेर एक कप कालो चिया मागेँ। निकै बेर लगाएर त्यसले ठुलो बिर्को लगाएको डिस्पोजेबल ग्लासमा चिया दियो। मसाला टी भन्यो र एक सय सत्तर रुपियाको पर्ची थमाइदियो। फ्लाइट भित्र पनि पचास रुपियाँमा चिया खाएको छु। कालो चियाको एक सय सत्तर रुपियाँ आजै तिरें, रसीद राखिछोडेको छु कुनै महत्वपूर्ण दस्तावेज राखे जसरी।
त्यस पछि इन्डिगो काउन्टरमा गएर बोर्डिङ पास लिएँ। लगेजको वजन आधाकिलो बडी भएछ, जोख्ने केटो गनगन गर्दै थियो। मैले ब्याग खोलेर सामान झिक्ने कुरा गरें। फेरि के सोचेर काउन्टरकी केटीले ‘होबो’ (हुन्छ) भनी। ‘धन्यवाद डेइजी।‘ केटी बिछट्ट राम्री, असमिया रहिछ, जोरहाटकी। भीड थिएन— एक छिन कुरा गरेँ। म लेखक हुँ अनि असमिया भाषामा पनि लेख्छु भन्दा ऊ खुसी भई। उ पनि कविता लेख्तिरहिछ। मलाई उसँग अरु पनि कुरा गर्ने मन थियो तर काउन्टरमा मान्छे आउन थालेकाले ‘बिदा’ भन्न करै लाग्यो। उसले मेरो इ-टिकटको एक छेउमा उसको नाम र मोबाइल नम्बर लेखिदिएकी छ। सुरक्षा जाँच सकेर सोफामा बसें। पाँच बजे छोरालाई फोन गरेँ। उसले भन्यो, ‘आमा एक छिऩ अघि गाडी लिएर निस्कनु भयो, नौ बजी एयरपोर्ट पुग्नु हुन्छ।‘
घर आइपुग्दा तीन बजेको थियो। मेरो ब्याग खोतल्न मेरा दुइ नातिनी नुनु र आयेशा हतारिएका थिए। म स्नानागारबाट निस्कँदा मेरा ब्यागको शल्य चिकित्सा हुँदै रहेछ। नाम ठेगाना ऩभएको एउटा प्याकेटमा पाँचवटा पुस्तक रहेछन। पुस्तकका शीर्षक लेखकका नामले मलाई हेरेर केही भन्न खोजे जस्तो लाग्यो।
- The Bone People —- Keri Hulme
- The Luminaries—- Eleanor Catton
- Whale Rider —— Witi Ihimaro
- Potiki ————– Patricia Grace
- Middle Age Spread—–Roger Hall
कसले दियो होला सबैभन्दा मूल्यवान पुस्तकको उपहार !