पुस्तक समीक्षा : “आफैँलाई खोज्दा केही छोपिएका, केही उघारिएका”

विश्वसाहित्यमा आत्मकथा वा आत्मवृत्तान्त लेख्ने प्रचलन धेरै पुरानो हो । तर, नेपाली समाजमा भने श्रुतिपरम्पराको बाहुल्यताले गर्दा आत्मकथा लेखेर भावी सन्ततिका लागि कोसेली छाड्नेपरम्परा त्यति फस्टाएको देखिँदैन । तथापि नेपाल आउने युरोपेली इसाई पादरीहरु हुन् वा रुसी तथा जापानी यात्रीहरू, सबैले आफ्नो यात्रा-बृत्तान्त लेख्ने क्रममा नेपाल र नेपालीसम्बन्धी सन्दर्भहरु उल्लेख गरेको पाइन्छ । यसले नेपालीहरूमा पनि आत्मकथा वा आफ्नो यात्रा-बृत्तान्त लेख्ने उत्प्रेरणा जगाइदिएको देखिन्छ ।

नेपालमा आत्मकथा लेखनको इतिहास त्यति लामो छैन । विलियम कर्कपेट्रिकको यात्रा वर्णन नै नेपालबारे लेखिएको पहिलो पुस्तक भएकाले पनि नेपालमा आत्मबृत्तान्त लेखन त्यसपछि मात्र सुरु भएको मान्न सकिन्छ  । यद्यपि नेपालमा विभिन्न हस्तलिखित ग्रन्थहरुको प्रचुर भण्डार रहेको छभने यस्ता थुप्रै हस्तलिखित ग्रन्थहरुमा पारिवारिक इतिहास लेखिएका प्रमाणहरु पाउन सकिन्छ । अतः किटानीका साथ आत्मबृत्तान्त लेखनको आरम्भ कहिलेदेखि भयो भन्ने यकीनका साथ भन्न नसकिए पनि बीसौँ शताब्दीदेखि भने आत्मबृत्तान्त प्रकाशनका प्रशस्तै उदाहरण पाउन सकिन्छ ।

आत्मबृत्तान्तले समकालीन समयलाई प्रतिविम्बित गरेको हुन्छ । आत्मबृत्तान्तमा लेखकको समयको घटनाक्रम, र लेखकको जीवनी मात्र हुँदैन बरु यसमा तत्कालीन घटनाहरुप्रतिको लेखकको दृष्टिकोण, भावना र सो घटनाले लेखकलाई पारेको प्रभावको पनि सुन्दर वर्णन हुन्छ । आत्मबृत्तान्तले पाठकलाई लेखकको जीवन दर्शन र विचारबारे अवगत गराउँदछ । जस्तोकी अमेरिकी पूर्व राष्ट्रपति फ्र्यान्कलिन रुजवेल्टले आफ्नो आत्मबृत्तान्तमा भनेका छन् “Tell me and I forget. Teach me and I remember. Involve me and I learn.” यसरी रुजवेल्टले श्क्षिाको महत्वलाई दर्शाएका छन् ।

(तीर्थप्रसाद मिश्र (पीएचडी))

आत्मबृत्तान्त विभिन्न उदेश्यले लेखिन्छ । आफ्नो जीवनका सम्पूर्ण घटनाक्रमलाई पाठकको जानकारीका लागि लेख्ने, कुनै दुःख, पीडा वा शारीरिक हलचल गर्न नसक्ने अवस्थाबाट गुज्रनुपर्दा उक्त अवस्थालाई लेखनमार्फत् मानसिक शान्ति प्राप्त गर्न, वा आफ्ना अनुभवहरुले इतिहास, समाज र सँस्कृतिलाई बुझ्न योगदान पुगोस भन्ने उद्देश्यले वा आध्यात्मिक भावना आदिले आत्मबृत्तान्त लेखिने गर्दछ । यस्ता आत्मबृत्तान्त भावी सन्ततीका लागि ज्ञान प्राप्तिका लागि महत्वपूर्ण स्रोत हुन्छन् । यद्यपि यस्ता स्रोतमा उल्लेख गरिएका तथ्यहरुको विश्वसनीयता र वैधतामा भने प्रश्नहरु उठने गर्दछन् ।

नेपालमा पनि बीशौँ शताब्दीबाट थुप्रै आत्मबृत्तान्तहरु लेखिएको पाउँछौँ । पछिल्लो समयमा त आत्मबृत्तान्त लेख्ने एकप्रकारको फेसन नै चलेको देखिन्छ । विलियम टेलर, राममणि आ.दि, बालकृष्ण सम, भीमबहादुर पाण्डे, टुकराज मिश्र, बिपी कोइराला, ऋषिकेष शाह, मातृकाप्रसाद कोइराला, रेवतीरमण खनाल, नयनबहादुर खत्रीका समकालीन समयलाई प्रतिविम्बित गर्ने उत्कृष्ट आत्मबृत्तान्तदेखि लिएर आफ्नो गुणगानलाई नै प्राथमिकतामा राखेर थुप्रै आत्मबृत्तान्त प्रकाशनमा आएका छन् । पछिल्लो समयमा प्रकाशमा आएका आत्मबृत्तान्तहरुमा लोकदर्शन बज्राचार्य, लक्ष्मणप्रसाद रिमाल, चिरञ्जीवी शर्मा, लोकराज बराल, रुक्मांगत कटुवाल, विवेककुमार शाह, छत्रमान गुरुङ, कृष्णप्रसाद भट्टराई, विजयकुमार, हरिवंश आचार्यलगायतका आत्मकथा वा आत्मवृत्तान्त बजारमा आएका छन् । आत्मबृत्तान्त लेखिनु राम्रो भएपनि तिनले पाठकलाई के ज्ञान दिन्छ र तत्कालीन समाजलाई बुझ्न कति योगदान दिन्छ भन्ने महत्वपूर्ण कुरा हो ।

आत्मबृत्तान्त लेख्दा लेखनका आचारसंहिताको पालना पनि महत्वपूर्ण हुन्छ । तर हामीकहाँ यसको पनि त्यति हेक्का राखिएको पाइदैन । समाज, सँस्कृति, पेशा तथा पारिवारिक जीवनमा असर पर्न जाने विषयवस्तुलाई समेत खुलेर लेख्दा यसबाट पर्न जाने नकारात्मक प्रभावबारे ध्यान दिने गरेको पाइदैन । अतः नेपालमा आत्माकथा लेखनको परम्परा, उद्देश्य र सोको योगदान विषयमा अनुसन्धान गर्ने समय आइसकेको छ । र, हुँदै पनि जाला । आत्मबृत्तान्त लेखनको यही परम्परालाई निरन्तरता दिँदै विश्वम्भर प्याकुऱ्यालको कृति “आफैँलाई खोज्दा केही छोपिएका, केही उघारिएका” हालसालै प्रकाशनमा आएको छ । सोही पुस्तकको पाठकीय प्रभावलाई यस आलेखमा पस्कने जमर्को गरिएको छ ।

विसं २०२८ सालदेखि सम्पर्कमा रहेका, सँगै उठबस गरेका, सहकार्य गरेका र मेरो सुखदुःखमा सहभागी भएका मित्र विश्वम्भर प्याकुऱ्याललाई मैले किमार्थ पढ्न सकेको रहेनछु । पाँच दशक लामो सङ्गतले पनि मैले बुझ्न नसकेका मित्रलाई उनको नवीनतम कृति “आफैँलाई खोज्दा केही छोपिएका ,केही उघारिएका“ले दुई दिनमै चिनायो । मलाई लाग्दछ, मेरो जस्तै अनुभव अन्य अनेकौँ लेखकका मित्रलाई अनेकौँ पटक भएको हुन सक्छ । विसं २०७७ कात्तिक ५ गते काठमाडौँबाट अमेरिकाको यात्राका क्रममा यो पुस्तक मेरो अभिन्न मित्र बन्न पुग्यो । एकछिन पनि मबाट अलग रहेन । वासिङ्टन डिसीको डल्लस विमानस्थलमा जहाजले भुइँ टेक्दा मैले पनि उक्त पुस्तक पढि सिध्याएँ । सोही पुस्तकभित्र विचरण गर्दा मनमा लागेका कुराको टिपोट गर्ने प्रयास गरेको हुँ । यो अभिव्यक्ति नितान्त मेरो नीजि हो, यसले सबै पाठकको प्रतिनिधित्व गर्दछ भन्ने मनसाय होइन ।

आयामका दृष्टिले २४२ पृष्ठको विस्तार लिएको यस पुस्तकमा प्याकुऱ्यालले २३ वटा शीर्षकमाआफ्ना वृत्तान्तहरू पस्केका छन् । बाल्यकाल र प्रारम्भिक शिक्षा, हाइस्कुल र कलेजको अध्ययन, उच्च अध्ययन र विद्यार्थी राजनीति, विश्वविद्यालय सेवामा प्रवेश, अमेरिकाको भोक, शोक र अनुभव, साहित्य सिर्जना, साहित्य एवम् सङ्गीतका साधकहरूसँग उठबस, गृहस्थाश्रमको आनन्द, मृत्युउपर विजय, नेपालको राजनीति र कूटनीति, नेपालको अर्थतन्त्रको प्रसङ्ग र आफ्नो जीवन आफ्नै मूल्याङ्कन जस्ता विषयवस्तुमा आत्मबृत्तान्त केन्द्रित छ ।

प्याकुऱ्यालको बाल्यकाल बर्दियाको गुलरियामा सुख-सयलमा नै बित्यो । काठमाडौँका प्रतिष्ठित एवम् रैथाने कीर्तिनाथ प्याकुऱ्याल बसाइँ सरी बर्दियाको गुलरिया पुग्नाको कारण अनुत्तरित र उत्सुकताकै विषय रहेको छ । जागिरको सिलसिलामा हो वा जमिनदारी सम्हाल्न हो, कि कुनै अन्य घरायसी कारणले हो ? यस विषयमा लेखकले चाहेर पनि खुल्न नसकेको प्रतीत हुन्छ । कीर्तिनाथको काठमाडौँमा पैतृक सम्पत्ति थियो, थिएन ? थियो भने उक्त सम्पति के भयो, कहाँ गयो ? आदि विषय खोतल्दा कसैलाई सुपाच्य नहुने हुँदा उल्लेख नभएको होला । भौतिक श्रीसम्पत्तिबाट सम्पन्न हुँदा-हुँदै पनि अपेक्षाकृत अंश पाउन नसक्नु र पिताको निधनको खबरसमेत धेरै पछाडि प्राप्त गर्नुले उनको दाजुभाइसँग औपचारिक सम्बन्ध मात्र रहेको हो कि भन्ने अनुमान लगाउन सकिन्छ ।

बाल्यकालमै गुलरियाबाट काठमाडौँ पढ्न आउँदाको घटनाक्रमले सानैमा घर छाडेर पढ्न अन्यत्रै जाने जो-कोहीको मन थामिन सक्दैन । परिवारको लाडप्यारमा हुर्केको कान्छो छोरो विश्वम्भरलाई काठमाडौँको संयुक्त परिवारमा भएको असहजपन, मधेस र काठमाडौँको रहनसहन, चाडबाड आदिको मधुर सम्झनालगायतका प्रसङ्गमा उनको अनुभव मार्मिक रूपमा अभिव्यक्त भएको छ ।

उच्च शिक्षा हासिल गर्ने क्रममा पढ्दै पढाउदै गरेको घटना उल्लेख भएबाट शिक्षाका लागि उनले गरेको सङ्घर्ष देखिन्छ । सोही समयमा साहित्यको साधना गर्दै दुई-चार पैसा आर्जन गरी आफ्नो गर्जो टारेको घटनाबाट उनले गरेको सङ्घर्षलाई चरमोत्कर्षमा पुऱ्याएको  अनुभूत हुन्छ । तर, घरबाट उनका लागि खर्च नआउने स्थिति भने होइन । तथापि किन त्यतिसारो सङ्घर्ष गर्नुपरेको हो ? यो कौतुहलको विषय बनेको छ ।

यस आत्मबृत्तान्तले प्याकुऱ्यालको व्यक्तिगत र पारिवारिक जीवनलाई मात्र प्रकाश पारेको छैन अपितु उनको राजनीतिक जीवन, प्राज्ञिक जीवन, कला र संगीतप्रतिको समर्पण र कूटनीतसँगको छोटो सान्निध्यतासमेतको बहुआयामिक पाटोलाई समेटेको छ ।उनको राजनीतिक यात्रा विश्वविद्यालयभित्रै बाट आरम्भ भएको देखिन्छ । विसं २०२९/३० ?? सालतिर त्रिभुवन विश्वविद्यालय कलेज विद्यार्थी युनियनको निर्वाचनमा प्याकुऱ्याल  महासचिवमा निर्वाचित भएका थिए जुन त्यसबेलाको समयमा एक साहसिक र जोखिमयुक्त कदम थियो । त्यसबेला राष्ट्रिय राजनीतिमा नै विद्यार्थी निर्वाचनप्रति चासो र उत्सुकता हुन्थ्यो । नेपाल विद्यार्थी संघ र अखिल विद्यार्थीबीच पनि तीव्र प्रतिस्पर्धा हुन्थ्यो । त्यसबेलाको एउटा परिचयत्मक कार्यक्रममा विश्वम्भरले दिएको दमदार भाषणको यो पंक्तिकार स्वयम् साक्षी थियो ।  त्यति प्रभावकारी थियो, उनको वाक्कला । विद्यार्थी राजनीतिमा सरिक भएर पनि उनी एक जेहेन्दार विद्यार्थी थिए । राजनीतिलाई उनले सर्वाधिक प्राथमिकता (आजका विद्यार्थी नेताहरूको जस्तो) दिएका थिएनन्, सायद । विद्यार्थी राजनीतिकै कारण जेल जीवनको अनुभव गरेको र आस्थाका कारण बन्दी बनाइएकाहरूको संसर्ग एवम् उठ-बसलाई पनि उनले पुस्तकमा महत्वका साथ उल्लेख गरेका छन् । यसरी विद्यार्थीकालदेखि नै कांग्रेससँग सन्निकट भएको र यही कारणबाट तत्कालीन सरकारको तारो बनेका लेखकले कांग्रेस पटक-पटक सरकारमा जाँदा समेत आफ्नो समुचित कदर हुन नसकेको तथा खोक्रो आश्वासन मात्र पाएकोमा कताकता मन दुखाएको भान हुन्छ । यस्तो हुनुमा उनको स्वाभिमानी स्वभाव र कांग्रेसले इतिहासलाई सम्मान नगर्ने परिपाटी उत्तरदायी देखिन्छ ।

सपनाको सहर अमेरिका उच्च अध्ययनको क्रममा पुगेपछि त्यस ठाउँमा सङ्घर्ष गर्नुपरेको प्रसङ्ग पुस्तकमा सुन्दर ढङ्गले प्रस्तुत भएको छ । अमेरिकाको मोहभङ्ग भई नेपाल आएर प्राध्यापन, अध्ययन अनुसन्धान र साहित्य सृजनामा लागेका लेखकले अमेरिकामै बसेको भए नेपालीबाट यति धेरै श्रद्धा, स्नेह र आदर पाउन सक्ने अवश्यै थिएनन् । उनले अमेरिकाबाट नेपाल फर्कन गरेको निर्णय तत्कालीन अवस्थामा समयसापेक्ष र मुलुककै हितका लागि समेत उपयुक्त निर्णय थियो ।

प्याकुऱ्यालको सांगीतिक जीवन उनको जीवनकै एक सुन्दर पाटो थियो । साहित्य र सङ्गीतमा सानै उमेरदेखि विशेष लगाव एवम् झुकाब भएका कारण स्रष्टाहरूका माझमा पनि विश्वम्भर प्रिय थिए । हरिभक्त कटुवाल, नारायणगोपाल, गोपाल योन्जन जस्ता चर्चित व्यक्तित्वसँग उठबसको प्रसङ्ग ज्यादै रोचक छ । यी तीनैजना लेखकहरूलाई उजिल्याउन पनि उनको भूमिका रहेको तथ्यलाई नकार्न सकिँदैन । नारायणगोपाललाई सक्रिय बनाउन उनले खेलेको भूमिका वास्तवमै प्रशंसनीय छ । उनकै माध्यमबाट नारायणगोपालसँग यो पंक्तिकारको परिचय हुनपुगेको क्षण पंक्तिकारकालागि पनि जीवनमा बिर्सन नसक्ने घटना भएर रहेको छ ।

विश्वम्भरको पारिवारिक जीवनको आरम्भ अपेक्षाकृत ढीलै भएको थियो । आफ्ना समकालीन मित्रहरूको तुलनामा वैवाहिक बन्धनमा उनी अलि ढिलै बाँधिएका हुन् । किन त्यस्तो भयो त भन्ने विषयमा खुल्न चाहेर पनि खुल्न नसकेकै प्रतीत पुस्तक पढ्ने क्रममा पाठकलाई हुन्छ । गृहस्थाश्रममा प्रवेश गरेपछि जीवनमा एक नयाँ मोड थपिएको र विवाहपछि जीवन उत्साहप्रद एवम् आनन्ददायक भएकोलाई आत्मसात गरीलेखकले सन्तुष्टि लिएका छन् ।

यस लौकिक जीवनमा मानिस मरेर बाँचेका छैनन् र बाँचेका पनि छन् । यसरी बाँच्नेमा प्याकुऱ्यालको पनि नाम आउँछ । नर्भिक अस्पतालमा उनलाई भेट्न जाने साथीभाइ आफन्तको त के कुरा स्वयम् चिकित्सकहरूले नै मृत घोषित गर्नै लागेको बेलामा जीवित भएका व्यक्ति हुन्, विश्वम्भर प्याकुऱ्याल । अस्पतालको भोगाइसम्बन्धी उनको कष्टपूर्ण र पीडादायी अनुभवले पाठकलाई समेत भावविव्हल नबनाईरहन सक्दैन ।

आफ्नो जीवनयात्राको पछिल्लो मोडमा कूटनीतिक अनुभव प्राप्त गर्ने अवसर पाएका प्याकुऱ्याल निःसन्देह एक योग्य कुटनीतिज्ञ पनि थिए तर मुलुकले उनको योग्यताको सदुपयोग गर्न भने सकेको देखिएन । नेपालको कूटनीतिमा विश्वम्भर जस्ता व्यक्तित्वलाई चयन गरिनु स्वागतयोग्य घटना थियो । तर, आफ्नै मुलुकको सरकारबाट पूर्ण सहयोग नहुनु, प्रभावकारी ढङ्गले कार्य गर्ने वातावरण नपाउनु, आदि कारणबाट उनले बीचैमा राजीनामा दिनुपरेको प्रसङ्गले नेपालको कूटनीतिको कमजोर पक्षलाई उजागर गरेको छ । उचित व्यक्ति उचित स्थानमा नियुक्त हुनै नसक्ने तत्कालीन परिवेशमा उचित व्यक्तिलाई समेत कार्य गर्न उचित वातावरण सृजना हुन नसक्ने राजनीतिक घटनाक्रमका साक्षी हुन्, प्याकुऱ्याल । विसं ०६२–६३ को आन्दोलनपश्चात् स्थापना भएको गणतन्त्र नेपालका राजदूतहरूको नाम हेर्दा विश्वम्भर जस्ता व्यक्तिले अवसर पाएका विरलै छन् । तर, समकालीन नेपाललाई उनीजस्ता राजदूतको आवश्यकता भएन किनकी काम गर्ने, देशको छवि उजागर गर्ने, देशको विकासका लागि सहयोगी हुने कूटनीतिज्ञको आवश्यकता थिएन । आवश्यकता त थियो, राजनीतिका भाटहरूको । उनको अनुभव र प्रस्तुतिले नेपालको कूटनीतिका अनेकौँ कमजोर पक्ष उजागर गरेको छ । यतातर्फ नीति-निर्माता, सरकार र सम्बन्धित मन्त्रीहरूको ध्यान जानैपर्ने हुन्छ ।

पुस्तक पढ्दा नेपाली अर्थतन्त्रको प्रसङ्गले आत्मवृत्तान्तको प्रवाहलाई क्रमभङ्ग गरेको अनुभव हुन्छ । तर, नेपाली पाठकले यस विषयमा छुट्टै ग्रन्थको चाहना भने राखेका छन् ।

प्रस्तुत पुस्तकमा लेखक आफूप्रति, आफ्नो कार्यप्रति, आफ्नो उपलब्धिप्रति सन्तुष्ट हुनु, जे भयो ठीकै भयो भन्ने तथ्यलाई आत्मसात गर्नु नै हो । यो त एक साधुको जीवनप्रतिको दृष्टिकोण हो । यथार्थमा पनि र शाब्दिक अर्थमा पनि उनी एक साधु नै हुन् । किनभने घरपरिवार, साथीभाइ, इष्टमित्र सबैबाट दुःखका दिनमा साथ नपाउँदा पनि उनको कसैप्रति कुनै गुनासो देखिँदैन ।

समाज कल्याण परिषद्अन्तर्गतको परिवार नियोजन संघमा उनको प्रवेश आकस्मिक थियो वा कसैको सिफारिसमा थियो, पञ्चायतविरोधी राजनीतिमा लागेका व्यक्तिलाई दरबारले कसरी विश्वास गर्यो त ? यस विषयमा लेखक खुल्न चाहेका छैनन् । विभिन्न अन्तर्राष्ट्रिय निकाय, नियोग तथा संस्थाहरूमा कार्य गर्दा कदर भएकोमा उनी सन्तुष्ट देखिन्छन् ।स्वदेशमा उचित कदर नभए पनि विदेशबाट सरहना गरिएकोमा उनले सन्तोष मानेका छन् ।

प्रस्तुत कृतिमा लेखकका तीन पृथक व्यक्तित्व, पहिचान र विशेषता भेटिन्छ । पहिलो कुशल प्राध्यापक, अध्येता र अनुसन्धानकर्ता । दोस्रो साहित्य र सङ्गीतका अथकित सर्जक । र, तेस्रो एक कुशल अर्थशास्त्री । यी तीनवटै विधामा स्थापित हुने एउटै व्यक्ति नेपालमा विरलै छन् । तीनै विरल व्यक्तित्व हुन्, विश्वम्भर प्याकुरेल । पदबाटै प्रतिष्ठा पाइन्छ भन्ने नेपाली मानसिकतालाई उनको अनुभव र कार्यले चुनौती दिएको छ । जुन कुरा आउँदो पुस्ताका लागि मार्गदर्शक हुनेछ । पुस्तकको साजसज्जा सुन्दर छ, मूल्य भने अलिकचर्को नै लाग्यो ।

समकालीन समयभित्र आफूलाई समाविष्ट गर्नु, आफ्नो बढाइँ अतिरिक्त रूपले नगर्नु, आफूप्रति अन्याय गर्नेप्रति पनि कुनै पूर्वाग्रह नराख्नु, आफ्नो भोगाइ तथा दुखाइ र गरेका कार्यलाई स्वमूल्याङ्कन गर्नु कृतिको सबल पक्ष हो । यो मात्र विश्वम्भरको  जीवन कथा नभएर हाम्रो समाज, राज्य र राज्यसंचालकहरुको परम्परागत सोच र मानसिकताको पनि कथा हो । यो पुरातन प्रवृत्तिप्रतिको वौद्धिक प्रहार पनि हो । यसले नेपाली समाज, राजनीति र शासनका थुप्रै भ्वाङहरुलाई उदाङ्गो पारिदिएको छ । अन्त्यमा प्रस्तुत पुस्तकले नेपालको आत्मबृत्तान्त लेखनको परम्परामा एक नवीन आयाम थपेको छ ।

One Comment

Add a Comment

Your email address will not be published. Required fields are marked *