नेपालको रोगः माल पाउनु तर चाल नपाउनु
|
हामी नेपाली प्रायः सबै नै कस्तुरी हौँ, जो आफ्नो सुगन्ध कतातिरबाट आयो होला भनेर अनवरत खोजी गरिरहेका छौँ । हामीले देश चिनेनौँ । माटो चिनेनौँ ।संस्कृति चिनेनौँ । सबैभन्दा बढी आफैँलाई चिनेनौँ । हामीमध्ये कतिपयमा त चिनेर पनि नचिनेको स्वाङ पार्ने प्रवृत्तिकै विकास भएको छ । हामीले हाम्रो यही हिजोलाई नचिन्दा आज हाहाकार हुँदै छ । यसै कारण हाम्रो भोलि पनि अन्धकार हुन सक्छ । अतःयसै विषयमा चिन्तन गर्ने अभिप्रायमा यो आलेख तयार भएको छ ।
नेपाल प्राचीनकालदेखि नै मौलिक परम्परा, विविध संस्कृति र सम्पदाबाट सम्पन्न मुलुकको हो । कयौँ हिसाबमा गौरव गर्नुपर्ने र गरिएको मुलुकको गणनामा नेपाल पर्दछ । नेपाल विगतमा उत्तर र दक्षिणकै आकर्षक गन्तव्यस्थल बन्न पुगेको थियो । धार्मिक समन्वय तथा सहिष्णुताका कारण सबै धार्मिक विचारधाराले यहाँ समानप्रश्रय पाएका थिए । उत्तर र दक्षिणतिरबाट आएका धार्मिक पण्डित, गुरु, प्रचारक एवं भक्तहरूले नेपाललाई आफ्नो प्रिय स्थल बनाएका थिए । मुसलमानको आक्रमणको चपेटामा परेर हिन्दुस्तानतिरबाट राजारजौटा, विद्वान् पण्डित तथा धर्मगुरु आश्रयका लागि हालको नेपाली भूभागमा बसाइँ सरे । यसरी नेपालमा सुरक्षित हुन आउँदा उनीहरूले हस्तलिखित ग्रन्थ, तान्त्रिक पुस्तक, धार्मिक तथा ऐतिहासिक ग्रन्थ, ऐतिहासिक कलाकृति पनि साथै लिएर आएका थिए । र, कालन्तरमा ती अमूल्य सम्पदा आफ्ना सन्तन्तिलाई सुम्पिएर गए । विडम्बना हामीले ती अमूल्य ग्रन्थको महत्व बुझेनौँ । खाली सिसीतथा पुराना कागज बिक्री गरे जस्तै बिक्री गऱ्यौं । हालतिनै ग्रन्थले विदेशकाअभिलेखालय तथा सङ्ग्रहालयकोशोभा बढाएका छन् । कौडीको भाउमा मिल्कन्छन् भिल्लका देशमा मणिभन्ने उक्ति चरितार्थ भयो । चतुर विदेशीहरूले हाम्रो संस्कृतिमाथि मात्र अतिक्रमण गरेनन् हाम्रा अमूल्य निधि पनि लिएर गए । आजभोलि तिनै सम्पदाको अध्ययन गर्न हामी ठूलो धनराशी खर्च गरेर उता जाँदै छौँ, कस्तो विडम्बना ।
पाटी, सत्तल मन्दिरजस्ता धार्मिक एवम् सामाजिक स्थलहरू हाम्रा सांस्कृतिक धरोहर हुन् । प्रायः ती सबै स्थानमा शिलालेख राखिएका छन् । हाम्रा सांस्कृतिक सम्पदामा रहेका शिलालेखहरूलाई पनि हामीले ढुङ्गा सरह प्रयोग गर्न थाल्यौँ, घरायसी प्रयोजनका लागि । कतिपय शिलालेखलाई मेटाएर राम–सीता पनि लेख्यौँ । यसरी हाम्रा शिलालेखहरूमाअङ्कित इतिहास बिलाएर जाँदै छ । पाटीपौवामा रहेका चित्रहरू, काष्ठकलाका टुँडालहरू पनि हामीले बाँकी राखेनौँ । यस्ता महŒवका सम्पदा नासिने गरी निजी भवन ठड्यायौँ । राष्ट्रिय विपत्ति परेको बेलामा समेत हाम्रो ध्यान यस्तै सम्पदाका सामग्री सङ्कलनमा गयो । हाम्रा पुर्खाले बनाइदिएका पाटीपौवा, सत्तल तथा मठमन्दिरहरू मर्मतसम्भारतिर राम्रो ध्यान पुगेन । बरु जीर्ण भएका भौतिक संरचना भत्काएर त्यहाँका सामान आफ्ना घरतिरथन्क्यायौँ ।
काठमाडौँ उपत्यकालगायत विभिन्न स्थानमा प्राचीनकालदेखि ढुङ्गेधाराद्वारा खानेपानी आपूर्ति भएको थियो । काठमाडौँ उपत्यकामा त लिच्छवि तथा मल्लकालमा पानीको स्रोत पत्ता लगाई व्यवस्थित रूपमा ढुङ्गेधाराहरू निर्माण गरिएका थिए । आज यी सबै ढुङ्गेधाराहरू विनाशको चपेटामा परेका छन् । ढुङ्गेधाराकै छेउमा गगनचुम्बी आलिसान भवन बनायौँ । र, ढुङ्गेधारा सबै सुकायौँ । ढुङ्गेधाराको संवद्र्धनमा ध्यान दिएको भए पानीको सहज आपूर्तिमा सहयोग हुन्थ्यो । उर्वरा भूमिमा घर निर्माण गऱ्यौं र खाद्यान्न विदेशबाट मगाउन थाल्यौँ । यस्ता कार्यालाई विकासको नाम दिँदै विनाश गरायौँ । खेतीका लागि योग्य नहुने स्थानमा बसोबास बसाउनेतर्फ हामी कसैको ध्यान गएन ।
नेपाल खाल्डोमा बेलाबखत मुसलमानबाट आक्रमण हुँदा धार्मिक सम्पदा नष्ट भएका दृष्टान्त पाइन्छन् तर ती आक्रमणबाट भन्दा हाम्रै कारणबाट धेरै नष्ट हुन गएको तथ्य स्वीकार गर्नै पर्छ ।
जैसीकोठा नेपालको परराष्ट्र मन्त्रालय थियो, हिजो । त्यस कोठामा भोट, चिन, हिन्दुस्तान र बेलायतसित भएका पत्राचार; विदेशी पाहुना आउँदाको बन्दोबस्त; अङ्ग्रेजका आवासीय दूतसँग भएका कुराकानी एवम् पत्राचार; नेपाली वकिल(इत)लाई दिइएका गोप्य निर्देशन; सीमा विवादसम्बन्धी कागजात; सन्धिपत्रहरू तथा नक्सा जस्ता महत्वपूर्ण दस्तावेजहरू राखिएका थिए । विसं २००७ सालपश्चात् जैसीकोठा परराष्ट्र मन्त्रालय हुनपुग्यो । ती ऐतिहासिक सामग्रीलाई कोरा कपडाका पोकाहरू बनाई एउटा ठूलो हलमा राखियो । तर, यी सामग्री अध्ययनका लागि राखिएन । केही विदेशी विद्वान्हरूले दरबारको स्वीकृति लिई केही सामग्री अध्ययन गरे (लियो इ. रोज र आसाद हुसैन) । विसं २०३७ सालतिर परराष्ट्र मन्त्रालयको विशेष अनुमतिबाट हेमन्तशमशेर, त्रिरत्न मानन्धर, प्रेमरमण उप्रेती, कृष्णकान्त अधिकारी, ज्ञानमणि नेपाल, निरञ्जन शर्मा तथा मलगायतका केही शोधार्थीहरूले तोकिएका पोकाका सामग्री अध्ययन र टिपोट गर्ने अवसर पायौँ । टिपोट गर्दा कार्बन राखी एकप्रति त्यहीँ बुझाउनुपर्ने व्यवस्था थियो कालान्तरमा त्यो पनि बन्द भयो ।
इतिहासकारहरूको अनुरोधमाआफू त्रिभुवन विश्वविद्यालय, नेपाल र एसियाली अनुसन्धान केन्द्रको कार्यकारी निर्देशक भएको बेलामा कुमार खड्गविक्रम शाहले ती सामग्री सुरक्षित गराउन चासो देखाउनुभएको थियो । तत्कालीन समयमा उहाँको बोली बिक्ने हुँदा संरक्षण हुने र अध्ययन गर्न पाइने आशा पनि पलाएको थियो तर सो समय २०४६ को जनआन्दोलन भयो । परिवर्तनहरू भए । यस्ता अनुत्पादक तथा सम्बन्धितको स्वार्थसँग मेल हुन नसक्ने कार्यमा कसैको ध्यान, चासो र प्रेम नै भएन । त्यसैबेला नै नष्ट हुने स्थितिमा पुगेका ती ऐतिहासिक सामग्रीको के हविगत भयो होला कसैलाई थाहा छैन । ती सामग्री राष्ट्रिय अभिलेखालयमा पठाई व्यवस्थित गर्दा मुलुककै वैभव बढ्ने कुरामा कसैको हेक्का भएन । नेपाल र अङ्ग्रेजबीच भएका पत्राचारका विषयमा अध्ययन गर्न हाल नेपालीहरूले भारतको दिल्लीस्थित राष्ट्रिय अभिलेखालय र लन्डनको ब्रिटिस लाइब्रेरी धाउनुपर्ने अवस्था छ । हामीले आफ्नो सम्पत्ति जोगाउन नसक्दाको फल हो, यो ।
नेपालका प्राचीन हस्तलिखित ग्रन्थ तथा काष्ठकला र धातुका मूर्ति विदेश पुगेका पुग्यै छन । हाम्रा यी कलाकृति विश्वका विभिन्न सङ्ग्रहालयहरूमा सजाइएका छन् । ताइवानको ताइपेइमा अवस्थित म्युजियममा नेपाली धातु मूर्ति आकर्षक भएको देख्दा प्राध्यापक त्रिरत्न मानन्धर र म तीनछक परेका थियौँ । अङ्ग्रेजी कूटनीतिज्ञ र उनका सहयोगीहरूले नेपालबाट यस्ता ऐतिहासिक वस्तु कति लगे कति यसको कुनै लेखाजोखा नै छैन ।
हामी हाम्रै प्राचीन स्मारक, सालिक तथा भवनहरू भत्काउनुलाई बहादुरी ठान्छौँ । इतिहास र संस्कृतिका प्रतीक स्तम्भहरू भत्काउँदा हामी राजनीतिक रूपमा सफल ठानिन्छौँ । विगतमा भएका विभिन्न राजनीतिक घटनाक्रम तथा आन्दोलनमा नेपालका पूर्वराजा, शासक तथा व्यक्तित्वका सालिक हामीले नष्ट गऱ्यौं । आजपरका त कुरै छाडौँ, भारतमा नै हेरौँ– अङ्ग्रेजले शासन गर्दा बनाएका स्मारक, सालिग सडक एवम् भवनका नाम यथावत् छन् तर हामीले छिमेकीका अवगुण मात्र ग्रहण गऱ्यौं । गुण ग्रहण गरेनौँ । महाभारतको शान्ति पर्वमा भनिएको छ– धननाश भएमा केही छैन पुनःप्राप्त गर्न सकिन्छ तर इतिहास नाश भएमा सर्वनाश हुन्छ । जो फेरि पाउन सकिँदैन । अहिले नेपालमा यस्तै भएको छ ।
हामीले हाम्रा पुर्खाहरूले छाडेर गएका संरचना तथा ऐतिहासिक धरोहरको त कुरा परै जाओस् हिजो मात्र स्थापित कल-कारखानासमेत सञ्चालन गर्न सकेनौँ । विराटनगर जुट मिल्स, मोरङ सुगर मिल्स रघुपति जुट मिल्स जुद्ध म्याच फ्याक्ट्री, वीरगञ्ज चिनी कारखाना जस्ता ठूला उद्योगको जगेर्ना गर्न सकेनौँ । आज ती सबै मिल्स इतिहासको पानामा सीमित हुन पुगेका छन् ।
बाँदरले आफ्नो घर पनि बनाउँदैन अर्काको पनि बनाउन दिँदैन भन्ने उखान नेपालको समाजमा चरितार्थ भएको छ । चाहे विद्वान् तथा पण्डित हुन्, चाहे गेहेन्द्रशमशेर जस्ता युवा विलक्षण प्रतिभाका व्यक्तित्व हुन् ।हामीले उनीहरूको कदर गर्न सकेनौँ । कयौँ प्रतिभाशाली व्यक्तिको पहिचान तथा उचित मूल्याङ्कन गर्न नसक्दा विदेश पलायन हुन पुगेका दृष्टान्त हाम्रासामु ताजै छन् ।
हामीले स्वदेशमै विकसित प्रविधि, सीप, वनस्पति तथा जडीबुटीलाई वास्तै गरेनौँ । त्यस्तै त्यस्तै वस्तु विदेशबाट झिकायौँ । यसबाट कतिपय परम्परागत सीप, कौशल बिउबिजन एवम् वनस्पति आज नेपालबाट लोपोन्मुख हुन पुगेका छन् ।
विदेशी सहयोगबाट निर्माण भई कुनै समयमा प्रमुख उद्योगधन्दाका रूपमा कहलिएका कारखानाहरू पनि हामीले सञ्चालन गर्न सकेनौँ । जनकपुर चुरोट कारखाना, वीरगञ्ज कृषि औजार कारखाना, बाँसबारी छालाजुत्ता कारखानालगायत अन्य कारखाना हाम्रै सोच, लगन र प्रतिबद्धताको अभावमा बन्द हुन पुगे । काठमाडौँ उपत्यकाका लागि उपयुक्त ठानिएको ट्रलिबस चीनको सहयोगबाट निर्माण भयो, बस पनि आए तर यस सेवालाई हामीले निरन्तरता दिन सकेनौँ । मित्रराष्ट्रबाट सहयोग गरिएका उद्योग तथा यातायातको समुचित प्रयोग हुन नसकेकोमा हामीले कत्ति पनि दुःखमनाउ गरेनौँ । तर, एकले अर्कोलाई दोषारोपण गर्न भनेहामी कहिल्यै चुकेनौँ । आफ्ना कमी कमजोरीहरूलाई आत्मसात नगरी अरूलाईदोषथोपरेर नै हामीले अधिकांश समय गुजारेका छौँ । आफ्नो महत्व देखाउन अर्कालाई अवमूल्यन गर्ने संस्कृतिको विकास गर्ने काममा हामी सदैव उद्धत भयौँ ।
हामीले आत्मनिर्भर बन्न कहिल्यै पनि प्रयास गरेनौँ । विदेशी सहयोग र ऋणकै भर पऱ्यौं । स्वदेशमा रहेका विभिन्न स्रोत परिचालन गरी स्वदेशी उद्योगलाई प्रोत्साहन दिने नीति नै लिएनौँ । जङ्लकोखर पनि नकाटी राखेमा शनैः शनैः मासिँदै जाने हुन्छ । हामीमा त्यस्तै भयो । स्वदेशी सीप र स्रोतको उन्नयनका लागि केही प्रयास नै गरेनौँ । देशको सीमा टिस्टादेखि सतलजसम्म पुऱ्याउने वीर गोर्खालीहरूले स्वदेशमा नै बनेका हातहतियार प्रयोग गरेका थिए । स्थानीय फलामको उपयोग भएको थियो । स्वदेशी कपडाबाट निर्वाह भएको थियो । तर, हामीले स्वदेशी वस्तुको उत्पादन र प्रोत्साहन दिन सकेनौँ । जसले गर्दा पूर्वी नेपालमा प्रसिद्ध हतुवाको खाँडी, अल्लो जस्ता कपडाजन्य उद्योग खोल्नै सकेनौँ । देशमा विदेशबाट आउने मदिरा, सुर्तीजन्य पदार्थ तथा सौन्दर्य प्रशाधनको प्रयोजनका लागि प्रयोग हुने विलासिताका सामग्री आदि रोक लगाएमा स्वदेशी श्रम र सीपको उपयोग हुनगई ठूलो धनराशि स्वदेशमा नै रहन्थ्यो भन्ने हेक्का हामीमा भएन । जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि र यससम्बन्धी अध्ययन अनुसन्धान गर्ने दिशामा हामीले चासै देखाएनौँ । तानसेनको करुवा, भोजपुरको खुकुरी तथा पाल्पा र तेह्रथुमका ढाका उद्योगलाई विकास गर्ने सोच हामीमा भएन । यी त केही दृष्टान्त मात्र हुन् विदेशी वस्तु, खाद्य र पेय पदार्थ, लगाउने लुगा र सौन्दर्य प्रशाधनका सामान तथा विदेशी संस्कृतिको अनुसरण आदिका कारण भविष्यमा परम्परागत नेपाली सीप र संस्कृतिको खोजका लागि प्रशस्तै खर्च गरेर विदेशीहरूले अनुसन्धान गरेर निष्कर्ष निकालेपछि मात्र हाम्रो चेत खुल्ला । हामी नेपालीले कहिल्यै पनि माल पाएर चाल नपाउने भयौँ ।