राष्ट्रिय निधि सुश्री शान्ति थापा (पीएच.डी)को निधन
|सबैतिर भ्याउने, सबैलाई रिझाउने, हकडग गर्ने, झपार्ने र फकाउने मेरी सखी सुश्री शान्ति थापा (पीएच.डी)को निधनले विषाद बोध गरिरहेको छु । कलाप्रेमी शिल्पी साथी शान्ति अब शरीरमा रहिनन्, निधन भएको दिन ९ जनवरी उनको जन्मदिन पनि थियो । जन्मदिन पारेर असमिया लेखिका संस्थाले वर्ष २०२०-को असमिया साहित्यिक प्रतिभा सम्मान शान्ति थापालाई प्रदान गर्ने घोषणा र योजना बनाएको थियो ।
शान्तिबारे आफ्नो ग्रन्थ ‘तीतामीठा कुरा’-मा निबन्धकार विचन्द्रले यस्तो लेख्नुभएको छ – “संसारमा स्वनिर्मित पुरुषहरू धेरै देखिन्छन् तर स्वनिर्मित नारीहरू भने दुर्लभ । ती दुर्लभहरूमा एक हुन् डा. शान्ति थापा।”
कवि राजेन्द्र भण्डारीले यस्तो लेखेर पठाउनुभएको छ – “गई नै हाल्छिन् बन्धु भन्ने त लागेकै थिएन। पोहोर जन्मदिनमा अझै ४२ वर्ष बाँच्नु छ भनेको थिएँ। उनले ४२ होइन १० मात्र दिनू भनेकी थिइन्। १ मात्र लिएर गइन्। ॐ शान्ति, ॐ सद्गति, श्रद्धाञ्जलि ।”
शान्तिले कविता, कथा, उपन्यास, निबन्ध, समालोचना लेख्दथिन्, पुस्तक र पत्रिका सम्पादन गर्दथिन्, नेपाली – हिन्दी – असमिया – अङ्ग्रेजी सराबरी जान्दथिन् अनि अनुवाद गर्दथिन् । साहित्यकला, सङ्गीतकला, नाट्यकला, नृत्यकला, पाकविद्याकी पारङ्गता थिइन् । शिक्षामा हिन्दी विषयमा एम.ए. (प्रथम श्रेणीमा द्वितीय) र ‘अज्ञेय की उपन्यासों में बदलते मूल्य’ विषयमा पीएच.डी. सम्पन्न गरेकी थिइन् । गुवाहाटीको दुर्गा सरोवरस्थित माधवदेव पथमा उनको आवास थियो । गुवाहाटीको गौहाटी विश्वविद्यालयअधीनस्थ राधागोपाल बरुवा महाविद्यालयको हिन्दी विभागमा अध्यक्ष पदमा सेवा पुर्यािएर भर्खरै अवकास लिएकी थिइन् । गौहाटी विश्वविद्यालयअन्तर्गत नेपाली विषयमा एम. ए. थाल्न बनाइएको पाठ्यक्रम निर्माण समितिमा शान्ति सक्रिय थिइन् । बुताले भ्याइञ्जेल देशाटन गर्दथिन् र साहित्यिक कार्यक्रममा भाग लिन्थिन् । देशका नामी साहित्यकारहरूसित उनको सम्बन्ध थियो । राष्ट्रिय साहित्यिक कार्यक्रममा नेपाली विषयको कुरा निस्कँदा डा. शान्ति थापा चर्चित हुन्थिन् ।
हाम्रो परिचय हुँदा यिनका बा कालु थापा शरीरमा हुनुहुन्थेन । आमा यशोदादेवी ठकुराइन थपेनी हुनुहुन्थ्यो । आमा फुर्तिली र कामकारी गृहिणी हुनुहुन्थ्यो । परारदेखि आमाका हातखुट्टा बसे, थला पर्नुभयो अनि शरीर छाड्नुभयो । शान्ति आफ्नो भाइसित बस्दथिन् । ‘अति सर्वत्र वर्जयेत्’ पालन नगर्ने निरालस कर्मी शान्ति काम भनेपछि अतिवादी थिइन् । अति कर्मण्यतालाई उनको शरीरले थेग्न सकेको थिएन । पिठ्यूको प्रचण्ड पीड़ा, मधुमेह, रक्तचाप, अवटुग्रन्थि (थिरोइड), अनिद्रा, दुर्बलता आदि रोगले उनी आक्रान्त थिइन् ।
उत्तम प्रधानले निकाल्ने आफ्ना स्वर्गीय बा अनुराग प्रधानको ‘हाम्रो ध्वनि’-मा शान्ति पनि सम्पादिका थिइन् । स्तरीय निकाल्दथिन् । ‘मृण्मय’ बहुभाषी शोध पत्रिका पनि सम्पादन गरेर निकाल्दथिन् । यिनको सम्पादनमा निस्केका तीनवटा अभिनन्दन ग्रन्थ – १. समन्वयकी साँघु गीता उपाध्याय (२०१५), २. अस्मिताका कवि नव सापकोटा (२०१७) र ३. अक्लान्त गोमा शर्मा (२०१८) । पहिलो दुइटामा त यस कलमकारका लेख पनि परेका छन् । चौथो अभिनन्दन ग्रन्थ कवि विचन्द्र प्रधान विषयमा सम्पादन गर्दैथिइन्, अपूर्ण रह्यो ।
चौथोको लागि हामीले लेख पठाइसकेका थियौँ । पाँचौँ अभिनन्दन ग्रन्थ लेखिका मुन्नी सापकोटाबारे निकाल्ने योजना बनाएकी थिइन् । अपूर्ण रह्यो । शिक्षण व्यवसायबाट अवकाश लिएपछि काशी आई आफैले वृद्धाश्रमहरूमा क्षेत्र सर्वेक्षण गरीकन उपन्यास लेख्ने विचार बनाएकी थिइन् । भ्याइनन् । नगर भ्रमणमा निस्कँदै १०-१२ हजार रुपिञाका पुस्तक किनेर आफ्नो थातथलोमा पुग्ने गरी भीपीपी गर्न लाउँदथिन् । अवकाशपछि पढ्न थुपारिएका कैञौ पुस्तक उस्तै होलान् । लेखपढ त अपूर्ण भए-भए भर्खरै लिएकी सेवा निवृत्तिपछि पाउने अधिकारको पेन्सनसम्म लिन पाइनन् ।
शान्ति थापाका मौलिक ग्रन्थ धेरै छन् । असम आन्दोलन र पूर्वोत्तर मानसिकतामाथि निर्भिक लेख्नसक्ने, असमको भूमिलाई अघिकारपूर्वक आफ्नो भन्नसक्ने सामर्थ्य यी रचनामा छन् । अनूदित हुनसके यी राष्ट्रिय निधि हुनेहुन् ।
छोटोमा यिनका कृति यी हुन् –
१. असमेली नेपाली कवितामा गीत (१९९७)
सम्पादकद्वय – डा. गणेश भण्डारी र गोपालबहादुर नेपाली
वाणी प्रकाशन, विराटनगर, नेपाल ।
२. नामघरे (अनूदित उपन्यास – १९९७)
नेपाली साहित्य प्रचार समिति, शिलगढी ।
३. अस्तराग (अनूदित उपन्यास – २००२)
शालिग्राम प्रकाशन, गुवाहाटी ।
४. भारत के स्वाधीनता आन्दोलन में पानबारी रेलगाड़ी दुर्घटना काण्ड (२००३)
रंग प्रकाशन. गुवाहाटी ।
५. माया (गीत सङ्ग्रह – २००४)
अनुराग प्रकाशन, गुवाहाटी ।
६. आवर्तन (कथा सङ्ग्रह – २००७)
अनुराग प्रकाशन, गुवाहाटी ।
७. मोहनी डट कम (उपन्यास – २००९)
अनुराग प्रकाशन
सम्पादित –
१. हाम्रो ध्वनि (२००१-देखि)
२. मृण्मय (बहुभाषी शोध पत्रिका, २००४-देखि)
३. अन्तरङ्ग समकालीन नेपाली कथा विशेशाङ्क – २००५
४. रङ्गघर (नेपाली साहित्य, संस्कृति र कला विशेषाङ्क -२००५
५. पूर्वा (हिन्दी शोधमूलक पत्रिका संयुक्त सम्पादन – २००६)
६. दस्तावेज (हिन्दी त्रयमासिक पत्रिका, असमिया भाषा साहित्य अङ्क ११३ सहयोगी सम्पादन -२००६)
७. असमेली नेपाली कथा यात्रा (२००८)
नेपाली साहित्य परिषद्, असम
८. लोहित घाटी की कहानियाँ
(असमियाबाट हिन्दीमा अनूदित कथा सङ्ग्रह – २००८)
पुरस्कार र सम्मान –
१. समालोचनाका लागि संजय नारायण स्मृति स्वर्ण पदक – १९९९
२. साहित्य अकादेमी, नयाँ दिल्लीबाट लेखक भ्रमण अनुदान – १९९९
३. अनुवादका लागि साहित्य अकादेमी पुरस्कार – २००२
४. ‘आवर्तन’ कथा सङ्ग्रहका लागि नेपाली साहित्य परिषद्, असमको टङ्कनाथ उपाध्याय पुरस्कार – २००८
५. गुञ्जन परिवार, काठमाड़ौँबाट गुञ्जन प्रतिभा पुरस्कार – २००९
६. मदन पुरस्कार गुठीबाट काशीमा मदन सम्मान – २०१४
७. असमिया साहित्यिक प्रतिभा सम्मान -२०२०
मेरा दोष देखाइदिइरहने, लेख-पढमा झक्झक्याइरहने, सिकिरहने र सिकाइरहने, आफू अस्वस्थ हुँदा पनि अरूका स्वास्थ्यबारे खै गरिरहने, निष्ठावान् साहित्य-साध्वी, कवयित्री, आख्यानकर्तृ, जीवनीकर्तृ, गीतकर्तृ, अनुवादिका, सम्पादिका, प्राध्यापिका, गायिका, नर्तकी, साहित्यदर्शनकी पारखी, कलाप्रेमी, कामक्ष्यक्षेत्रवासिनी सङ्गिनी डा. शान्ति थापा ! अभिभावकीय स्वभावले मातृवत्, सद्भावनाले भगिनीवत्, रुचि र वयले सङ्गिनी शान्ति ! तिमीले आफ्नो जन्मदिनमै शरीर त्यागिछौ । आफ्ना कीर्ति राख्ने कैञौ कृतिमा बाँचिरहनेछौ । अझ कम्तीमा पनि केही वर्षचाहिँ शरीरमा रहेकी भए थुप्रै थाँती पूरा गर्नेथियौ । बिदा सखी शान्ति !
आदरणीय डा दिवाकर प्रधानले शान्ति थापाको निधनमा एक साँचो श्रद्धान्जलिको आलेख तयार गर्नुभएको छ। उहाँको सान्निध्य, स्नेह र सद्भाव आफुले पनि पाएको हुँदा दिवाकर सरको लेखले निकै छोटौ। अझ नजिकबाट उहाँको योगदान, व्यक्तित्व रकृतित्वको निरीक्षण गरी सठिक मूल्याङ्कन गर्नुभएको छ। ह़दय छोयो।
डा. दिवाकर प्रधानले हालै दिवंगत भएकी साहित्यकार डा. शान्ति थापाको कृतित्वका साथै उनको व्यक्तित्वको महत्वपूर्ण पाटोमा पनि प्रकाश पार्नु भएको छ। हो, शान्ति आफू अति नै काम गर्थिन। उनी चाहन्थिन अरुले पनि त्यसरी नै काम गरुन्। मनले जितेका लेखकहरुलाई प्रयोजनमा निकै कढा तरिकाले फड्कारेर भए पनि लेख्न बाध्य गराउँथिन। हाम्रोध्वनिमा काम गर्दा उनले साठी वर्ष उमेर कटेका असमका लेखकहरुको बारेमा मलाई लेख्न लगाएकी हुन। मेरो सर्जक र सिर्जना शीर्षकको कृति डा. शान्तिकै कारणले प्रकाशित हुन सकेको हो भन्ने कुरा पुस्तकमा उल्लेख गरेको छु। साठी तलका, अनि शेषमा नवीन लेखकहरुलाई पनि चिनाउने उनको योजना रहेको थियो। पछि शान्तिको स्वास्थ्य बिग्रिंंदै गयो, हाम्रोध्वनि पनि बन्द भयो। योजना यसरी थन्कियो।
हिजो(15 जनवरी) उनको निवासमा पुगेर परिवारमा शोकवार्ता र समवेदना ज्ञापन गरेर आयौं।
डा. शान्तिको स्मृति उनका कृतिहरुमा सदैव रहिरहने छ।
डा. दिवाकर प्रधानको लेखले भावुक बनायो। उहाँलाई धन्यवाद भन्दै फेरि पनि यो कमेन्ट बक्सको माध्यममा दिवंगत आत्माको चिरशान्ति कामना गर्दै यी शब्दपुष्प अर्पण गर्दछु।