नहरै नहरको शहर एम्स्टर्डम
|
युरोपको उत्तर-पश्चिममा पर्ने हल्यान्ड हिजोआज नेदरल्यान्ड नामले विश्वप्रसिद्ध देश हो । प्रकृतार्थमा, हल्यान्डभन्दा नुर्ड र जुइद-हल्यान्ड राज्य मात्र पर्छन जबकि नेदरल्यान्ड बाह्रवटा राज्यको समष्टि सिङ्गो देश हो। बेल्जियम र जर्मनीसंग सीमा जोडिएको र उत्तरी सागरले घेरेको यस देशको क्षेत्रफल ४१.५४३ वर्ग किलोमिटर छ भने जनसंख्या १.७१ करोड छ। हाम्रो देशको क्षेत्रफल नेदरल्यान्डको भन्दा लगभग ७९ गुणा ठूलो छ। यहाँको भाषालाई डच् भाषा भनिन्छ अनि जातिलाई पनि डच् नै भन्दछन। डच् भाषा बाहेक अंग्रेजी, फ्रिजियन र पपियामिन्टो भाषाको पनि प्रचलन भएको देखिन्छ।
नेदरल्यान्ड भन्ने साथ जिज्ञासु पाठकलाई मनमा त्यहांका सुन्दर नहर, टिउलिप फूलका बगैंचा, हावामिल र साइकल सवारीका सुन्दर फराकिला बाटाहरुले आकर्षण गर्दछ। रिक्ज म्युजियम, भ्यान घग म्युजियम र मेडम तुसाड संग्रहालय साथै एन फ्रांक बसेको घर पनि मुख्य आकर्षण हुन। त्यस बाहेक इन्टरनेसनल कोर्ट अफ जस्टिसको द्य हेग मुख्यालय पनि एम्स्टर्डममा छ।
नेदरल्यान्डको विशेषता के छ भने यो देशको एक तृतीयांश समुद्रपृष्ठदेखि तल (निम्नतम ६.७ मिटर) रहेको छ। निकै बाक्लो र बलियो देवालले सागरको पानीलाई छेकेको हुनाले देश डुब्नबाट बचेको छ। देवालमा कतै छिँड पर्छ कि भन्ने कुरामा सबै डच् नागरिक सधैं होसियार रहन्छन । स-साना स्कुले केटाकेटीहरु पनि यस बारेमा धेरै चनाखा देखिन्छन, कतै सानो छिद्रबाट पानी लिकेज भएको देखे भने तुरन्तै सूचना दिइहाल्छन । साना केटाकेटीहरुमा यस्तो दायित्वबोध अरुतिर कमै पाइन्छ । सायद उनीहरुलाई बाबुआमा र शिक्षागुरुहरुले सानैमा यो शिक्षा दिएका हुन । नहर, कृत्रिम सरोवर र बाँधहरुले सुनियन्त्रित यहाँको बाढी प्रतिरोध व्यवस्था धेरै चमत्कारपूर्ण लाग्छ ।
एम्स्टर्डम नेदरल्यान्डको राजधानी हो । यो युरोपका शहरहरुमा एउटा अति सुन्दर शहर हो । शहरमा अग्ला-अग्ला भवनहरु लहरै ठडिएका छन तर मान्छेको र गाडीको घुइँचो कतै छैन । सफा, चौडा बाटाहरुमा कोही पैदल हिँडेका छन भने धेरजसो साइकल सवार छन । साइकल सवारीका लागि मूल सडकका छेवै छेउ सुन्दर फराकिला बाटा छन, बाटाका छेउमा जताततै साइकल राख्ने ठाउँ छन । ती ठाउँमा साइकल ठड्याएर पार्कहरुमा र हरिया मैदानमा के बूढा के जवान मस्तीमा सुतिरहेको दृश्य देख्न पाइन्छ । कसै कसैले आफ्ना साना नानीलाई साइकलका अघिल्तिर जोडेको आरामी केरियरमा बसाएर निर्ढुक्कसँग साइकल हाँकेको देखिन्छ । बेकफियट (Bakfiet) नामको यो दुइचक्के जनप्रिय बाहन डच संस्कृतिको पनि अङ्ग मानिन्छ । घरेलु सामान ओसारपसार गर्नमा यो सजिलो साधन बनेको छ । यहाँ मोटर गाडीको संख्या बहुतै कम देखिन्छ । यहाँको दृश्य हेर्दै घुम्दा मेरा आँखा अगाडि आफ्नो देशका शहरहरुको दृश्य आयो, मनमनै लज्जित अनुभव गरें । अझ लाजमर्दो कुरा के छ भने मोटर गाडीलाई अरुले त के, निकै पढेलेखेकाहरुले पनि पहिचान (स्टाटस) को प्रतीक ठान्दछन । साइकल चलाउनेलाई धेरैले मान्छे मै गन्दैनन।
मैले पनि एक सय बीस युरो तिरेर एउटा साइकल किनेको छु । यहाँ साइकलमा घुम्नुको मजा नै अलग छ। गत जनवरी महिनादेखि तेजपुर विश्वविद्यालयबाट हामी तीनजना नेदरल्यान्डको ब्रेडा शहरमा स्थित एभान्स विश्वविद्यालयमा अध्ययनार्थ आएका छौ । अरु बेला फुर्सत नै पाइँदैन, बन्दका दिन भने हामी साइकलमा छेउछाउका रमाइला ठाउँहरु हेर्दै घुम्ने गरेका छौं । छेवैमा सीमा जोडिएको बेल्जियम हुनाले त्यतातिर पनि चक्कर लगाउन भ्यायौं । छुट्टै भिसा नचाहिँदो रहेछ, भारत-नेपाल भ्रमण जस्तै रहेछ।
नेदरल्यान्डमा साइकलको जनप्रियता देखेर मलाई लाग्यो यहाँका डचहरु स्वास्थ्यप्रति खुबै ध्यान दिँदारहेछन। तर यसका साथै अर्को कुरा के देखियो भने डचहरु धेरै धुम्रपान गर्दा रहेछन । स्कुल-कलेज पढने केटाकेटीहरुदेखि लिएर बूढा-बूढी प्राय सबैजसोले नै निर्धक्कसँग सिगरेटको धूवाँ उडाइरहेको दृश्य जताततै देख्न पाइन्छ । यी दुबै कुरा परस्पर विरोधी हुनाले मेरो धारणा शङ्कास्पद लाग्यो ।
जताततै नहरै नहर हुनाले एम्स्टर्डममा जल परिवहन सुव्यवस्थित छ । त्यसैले धेरजसोले कम दूरीको भ्रमणका लागि जलमार्ग नै रोज्दा रहेछन । त्यस बाहेक पर्यटकहरुका लागि पनि जलमार्गमा नौका विहार आनन्ददायक अनुभव हुन्छ। सुनियोजित र सजिसजाउ नहरहरुले एम्स्टर्डमको सुन्दरतामा महक थपेर चौगुणा पारेको छ ।
म असमको तेजपुरमा जन्मेको-हुर्केको केटो, तेजपुरमा छँदा आफ्नो शहरको सुन्दरता आँखामा परेको थिएन । हुनसक्छ, सुन्दरतालाई देख्न पनि उस्तै दृष्टि चाहिन्छ, कविको जस्तो दृष्टि । कवि पुष्पलाल उपाध्यायको रमाइलो तेजपुर भन्ने कविता पढेको थिएँ, सम्झिने प्रयास गरेँ——कविताको पदुम पोखरी भन्ने एउटा शब्द मात्र याद आय़ो । अहिले मलाई लाग्दैछ, साना-ठूला धेरै पोखरी र पहाडका थुम्काहरुले प्राकृतिक रुपमा सजिएको तेजपुरलाई अलिकति सरकारले र अलिकति हामीले प्रयास गर्नु हो भने यसलाई भूस्वर्ग बनाउन सकिन्छ ।
आज (१०/६/२०२०) हाम्रो इन्टर्नसिपको कार्यालय पुग्दा थाहा भयो आज बिदाको दिन रहेछ । सिङ्गो दिन यसै खेर फाल्नु भएन । साथी केपलसँग सलाह गरें । गुगल गुरुलाई सोधिहेर्दा एक किलोमिटर दूरीमा मेडम तुसाड संग्रहालय छ भन्ने सूचना पाइयो। यो मेडम तुसाड संग्रहालय लन्दनमा छ भन्ने सुनेको, एम्स्टर्डममा पनि रहेछ । साइकल कार्यालय मै राखेर हिडेरै पुग्यौं, पाँच-छह मिनट जति लाग्यो।
एम्स्टर्डम शहरको केन्द्रस्थानमा भव्य भवनमा रहेछ मेडम तुसाड संग्रहालय । दुइजनाको पचास युरो तिरेर भित्र छिर्यौ । विश्वका विभिन्न क्षेत्रमा बहुचर्चित कोही जीवित, कोही दिवंगत भइसकेका मोमका मूर्ति सजाइएका । कलाकारिताको चमत्कार पहिलो पटक देखेर मन्त्रमुग्ध भयौ हामी । ठिङ्ग उभिएका मूर्ति अहिले बोलिहाल्छन कि जस्ता लाग्दथे । सिने, सङ्गीत र खेल जगतका कतिपय जीवित सेलिब्रिटिहरुका छेउमा पुग्दा हेलो भनेर हात मिलाउँ कि जस्तो लाग्ने ।
सबैभन्दा आकर्षण गरेको थियो एन फ्राङ्कको कोठाले। एन फ्राङ्कको डायरी केही वर्ष अघि नै पढेको थिएँ, गीता उपाध्यायले नेपाली भाषामा गरेको अनुवाद । एनको कोठामा केही फाइलहरु भएको दराज, हात विनाका दुइटा कुर्सी र एउटा टेबुल, एन सुत्ने सानो ओछ्यान, भित्तामा केही चित्र टाँसिएका, पछिल्तिर एउटा सानो झ्याल थियो । एन फ्राङ्क उनको कुर्सीमा बसेर डायरीमा लेखिरहेकी । बसिहेरेँ एनको चौकीमा, ओछ्यनमा पनि । एनका निर्दोष आखाँका हेराइलै सभ्यताको शिखरमा पुगेको मान्छेलाई गहिरो व्यङ्ग गरे जस्तो लाग्यो । एनको ओछ्यानमा बसेर मैले हिटलर र आइक्म्यानका चित्र सम्झिने प्रयास गरेँ तर हिटलरका जूँगाबाहेक अरु कुनैथोक रिट्रिव भएन ।
यो अनुभव फेरि पाइएला नपाइला । तसर्थ फोटोमा समातेर राख्नु मन लाग्यो । साथीसँग राम्रो क्यामेरा थियो । फोटा लियौ निकै—एन फ्राङ्क, चार्ली चेपलिन, माइकेल ज्याकसन, गान्धी-मण्डेला सबैसँग ।
अध्ययनका सिलसिलामा जानु परेको हुँदा स्वीजरल्यान्डमा चार दिन मात्र बस्न पाइयो, त्यसमा पनि अरु दिन विभिन्न प्रतिष्ठानहरुमा क्लास र सेमिनार, घुम्ने समय थोरै मात्र पाइयो । एम्स्टर्डमदेखि ठूलो दुइतले बसमा हामी विभिन्न देशका छात्र-छात्रा थियौं । हाम्री बसमा रातभरिमा जर्मनी हुँदै बिहान स्वीजरल्यान्डको बर्न शहरमा पुगेका थियौं । जर्मनी रातभरि जागा हुँदो रहेछ, हामी पनि सुतेनौ, गतिमान बसको झ्यालबाटै हेरियो जर्मनी । यहाँको पनि साह्रै महँगो अनुभव रहेको छ, त्यो अर्कै निबन्धमा झ्यालबाट देखिएको जर्मनी लेख्नेछु ।