सन्दर्भ ‘भ्यालेन्टाईन्स डे’: सम्झनामा आमा-बुबा
|प्रेम दिवस,अर्थात् ‘भ्यालेन्टाईन्स डे- फेब्रुवरी १४ । प्रेमीहरुको लागि विशेष दिन । आपसी प्रेम र समझदारी भएका प्रेमील जोडीहरुका निम्ती हरेक दिन नै प्रेम दिवस हुन्छ, हुनुपर्छ । हरेक दिनलाई प्रेम दिवस बनाउँदै रमाउने एक अर्काप्रति सम्मान र प्रेमको उत्कृष्ट उदाहरण हुनुहुन्थ्यो मेरा माता-पिता।
मेरी आमाभन्दा प्रायगरी बुबा नै बिहान अलि चाँडो उठ्नुहुन्थ्यो । बिहानीपखको पहिलो तातोपानी सँधै बुबाले आमालाई तताएर दिनेगर्नुहुन्थ्यो। साथै पहिलो प्रहरको चिया हामी छोरीहरु र आमाको लागि बुबाले नै बनाउनुहुन्थ्यो । बुबाले बनाउनु भएको चिया हामीछोरीहरुको बिहान उठ्ने ‘alarm clock’ नै हुने गर्थ्यो ।
पुरुषले गाउँघरमा प्राय: नगर्ने गरेका कामहरु गरेर बुबाले हार्दिक रुपमा आमालाई सघाउनुहुन्थ्यो भने आमाले पनि बुबाको ईच्छा, चाहनाको सँधै कदर गर्नुहुन्थ्यो । शहरी जीवन बिताएर एक्कासी धनकुटाको गाउँमा विवाह गरेर गएकी हाम्री आमाले बुबाप्रतिको सम्मान र प्रेमका कारण केही गुनासो नगरी आफूलाई नयाँ वातावरणमा खुशीसाथ सम्मिलित गर्नुभएको थियो रे ।
गाउँघरको बसाई अनि दुबैजना जागिरे । आपसी समझदारी, सहयोग र प्रेमबिना वहाँहरुको जीवन व्यवस्थापन कदापी सहज हुने थिएन । बिहानै उठेर नियमित खाना बनाउने काममा समेत बुबाले आमालाई सघाउनुहुन्थ्यो । आमाले कामको सिलसिलामा धनकुटाबाट बागलुंग, चौतारा, सुर्खेत, काठमाडौं धाईरहनुपर्थ्यो । त्योबेला बुबाले पुर्ण जिम्मेवारीका साथ हाम्रो हेरचाह गर्नुहुन्थ्यो । आमाले मलाई सुनाउनुभएको, म ६ महिनाकी हुँदा पोखरामा आमाको मिटिंग परेको थियो रे । त्योबेला बुबा पनि आमाको साथमा मलाई लिएर पोखरा जानु भएछ । आमालाई मिटिंगमा पठाएर मलाई स्याहारेर बस्नु हुन्थ्यो रे बुबा । यो पनि संयोग नै भयो- बुबाआमासँग ६ महिनाको बाल्यकालमा पुगेको त्यही पोखरा मेरो कर्म घर बन्यो । अहिले म पोखरा जन्म घर हुनुहुने श्रीमान र दुई छोरीसहित अमेरिकामा बसोबास गरिरहेछु ।
कुनैपनि धार्मिक ब्रतहरु बस्दा मेरा बुबा-आमा दुवै जना सँगै बस्ने गर्नुहुन्थ्यो । बुबा-आमा हरेक कुरामा मिलेको, एक अर्कालाई सम्मान गरेको देख्दा हामी चारजना नै छोरीहरुलाई गर्व लाग्थ्यो । एक अर्काको ईच्छाको कदर गर्ने विषयको एउटा राम्रो उदाहरण यहाँ प्रस्तुत गर्न मन लाग्यो । हाम्रो बुबा आजीवन साकाहारी हुनुहुन्थ्यो भने आमाले मासु खाने गर्नुहुन्थ्यो। हाम्रो घरमा मासु पकाउने भाँडाकुँडा र भान्सासमेत छुट्टै थियो । आमाले बुबा र हजुरआमा साकाहारी हुनुभएकोले वहाँहरुको लागि शुद्ध गरेर शाकाहारी खाना बनाईदिनुहुन्थ्यो । त्यस्तै बुबाले आमाको ईच्छा बुझेर आमालाई कहिल्यै मासु खान प्रतिबन्ध लगाउनुभएन । कतिपय बेला त बुबाले‘मेडमको लागि गोरखापत्रमा पोको पारिदेओ त’ भन्दै पसलेसँग मासु किनेर समेत ल्याईदिनुहुन्थ्यो । आपसी प्रेम र समझदारीको योभन्दा असल उदाहरण अरु केहोला र ?
हाम्रो घर धनकुटा बजारभन्दा केही माथि कंचिंडेमा मूलबाटो बाहिर जंगल पारी थियो । बुबा आफ्नो ड्युटी सकिएपछि सँधै आमालाई पर्खिकन आमा कामबाट फर्किंदा सँगै घर लिएर आउनुहुन्थ्यो । घर आएपछि दुवैजना मिलेर फटाफट घरायसी काम बाडफाँड गरेर पुरा गर्नुहुन्थ्यो । बारीमा तरकारी रोप्ने, खन्ने, फुलबारी स्याहार्ने हरेक काम मिलेरै गर्नुहुन्थ्यो । घरका हरेक साना ठुला निर्णय मिलेर गर्नुहुन्थ्यो । हामी चारैजना छोरीहरु होउन्जेल त घर रमाईलो थियो नै । हामी विवाह भएर आ-आफ्ना घर गईसकेपछि पनि गाउँघरका केटाकेटी, बृध्दहरूलाई घरमा हार्दिक स्वागत गर्ने वहाँहरु दुवैको बानीले गर्दा सँधै गाउँलेको आवत-जावत भईनै रहन्थ्यो । अहिले पनि सम्झनुहुन्छ छिमेकी/गाउँलेहरू- ‘दुर्गा दिदी र उपेन्द्र सरलाई मन नपराउने शायदै कोही थिए होलान् समाजमा ।’
मेरी कान्छी छोरी जन्मिएको बेला मेरा बुबा आमा दुवै अमेरिका आएर ६ महिनाजति हामीसँग बिताउनुभयो । त्योबेला मेरा बुबा-आमा दुबै मिलेर मेरा दुबै छोरीहरुको स्याहार गरेको, दुवै मिलेर घरको काम गरेको देखेर यहाँका नेपाली साथीहरुसमेत वहाँहरुबाट प्रभावित हुनुभयो । मेरी कान्छी छोरी वहाँहरुसँग नेपालमा गएर दुई वर्ष बसी । त्योबेलामा मलाई सबैले फोन गरेर सुनाउँथे, ‘तँ कति भाग्यमानी,हजुरबुबा-हजुरआमाको काखमा राजकुमारी झैं हुर्कंदैछे तेरी छोरी’। हामी चारै छोरीहरुका सबै सन्तानका पृय ‘हब्बा-हम्मा’ हुनुहुन्थ्यो वहाँहरु ।
जीवनभरी एक अर्काप्रतिको निःस्वार्थ र पवित्र प्रेमकै कारण उहाँहरूमा कहिल्यै पनि मनमुटाव देखेनौं हामीले । बुबाको परलोक यात्राको छोटो अन्तराल अर्थात एक वर्षमै आमाले पनि संधैका लागि छोडेर जानुभयो हामीलाई । अमर प्रेमका प्रतीकजस्तै कहिल्यै नअस्ताउने अमर तारा बनेर हामीलाई प्रेमको प्रकाश छरिरहनुहुने विश्वास छ निरन्तर । त्यो दिव्य प्रकाश नै हाम्रो जीवनको आशा हो, हौसला हो । प्रकृतिले उहाँहरुजस्ता हजारौं प्रेमीहरु जन्माउन्। प्रेमपूर्वक श्रद्धा अर्पणसहित सबैमा शुभकामना प्रेम दीवसका अवसरमा । ❤️