‘चन्द्रमा’

अध्याँरो कालो कोठामा बलिरहेको
त्यो लालटिन होइन
खुल्ला आकाशमा घुमिरहने
बादलको प्रेमी होइन
मेरो प्रणय हौ
मेरो साझेदार हौ
म एक्लिएको हजारौं रातको
एकमात्र साक्षी हौ
कयौं पटक टुक्रिएर म चारैतिर छरिए
तिमी मेरा ती एक एक टुक्राहरू समेटेर
मलाई ‘म’बन्न मद्दत गर्यौ
तिमी चन्द्रमा रहेनौ !

रोएकी छु तिमीसँग
बर्षौदेखि धमिलिएको आँखा धोएकी छु
म पलपल पीडाले छट्पटाए
तिमी पनि मेरो साथमा छटपटियौ
खोल्न सकिन मुखाकार
पीडा, जलन, दुखाई
तिमी चुपचाप सुनिरह्यौ
बारम्बार मर्दै बाच्नु पर्छ
रूदै हॉंस्नु पर्छ कसरी
तिमीले नै सिकायौ !

म धर्तीमा
तिमी गगनमा छौ
तर मेरो साथ छौ
स्वार्थी संसारको भींड
आफ्नो एकल परिचय गरायौ
आफु हुनुको आभाष गर्न सिकायौ
जो मेरो हो मेरो नै रहनेछ
जो मेरो होइन त्यो कहिल्यै मेरो हुनेछैन
रोएर, कराएरपाइँदैन केही
जिद्दीपना छुटायौ !

तिमीले मलाई आफू नै आफ्नो
परिपुरक बन्न सिकायौ
स्वार्थी संसार
निस्वार्थ बन्न सिकायौ
घातको बदला बिश्वास सिकायौ
आशुँको बदला खुशी दिन सिकायौ
आफुमा दाग भएर पनि
अरूलाई उज्यालो दिन सिकायौ

तिमी महान छौ
तिमी सुनसान चक्मन्न रातको
चन्द्रमा मात्र रहेनौ
तिमी मेरो
आँशु, हॉंसोको साथी
तिमी मेरो
चोट, पीडाको मलम
तिमी मेरो
अन्धकार एकाकीपनको बिश्वासपात्र हौ
तिमीमा मैले आफ्नो छबी देखें
आफ्नो अश्तित्व भेटें !
त्यसैले तिमी मेरो लागि
केवल चन्द्रमा रहेनौ !

 

Add a Comment

Your email address will not be published. Required fields are marked *