कथा: भक्ते दाइ

मेरी दिदी पुष्पा र म हरिमान साहुकोमा डेरा सरेको पनि ठ्याक्कै तिन महिना भएछ । छिंडीको कोठो, सस्तो भए पनि सारै चिसो । कवाडी  सामान बेच्न टाढा जानु पर्दैन भनेर गाउँको भक्ते दाइले हामीलाईयो डेराको बन्दोबस्त  गरिदिएको हो । आफूचाहिं खै खिचापोखरीतिर बस्छु, अनि आफ्नै फलफूलपसल छ भन्थे ।

हाम्रोमा आइ रहन्छन भक्ते दाइ, केही खानेकुरा बोकेर, खाली हात कहिल्यै आउँदैनन् । कहिले काहिं “कालो चिया पका त म बिस्कुट लिएर आउँदैछु” भनेर फोन गर्छन् ।आज पनि बिहानै भक्ते दाइले मलाई फोन गरेर “झोल मो मो पनि खानु पर्छ अनि मेरो डेरा पनि देखाउँछु, धरहरानेर आईज” भने । दिदी भने “त्यो भक्ते किन आईरहन्छ हाम्रो डेरामा” भन्छे बेला बेला ।आज पनि भक्तेसँग धेरै हिमचिम नगर है भन्दै थिई ।खै मलाई त्यस्तो नराम्रो छजस्तो लाग्दैन है भन्दिएँ । धन्न दिदी ट्वाइलेटगएको बेला परेछ फोन आएको पनि । भात खाएर काममा (कवाडी बटुल्न ) जानु पर्ने, तर मेरो पालो मलाई सन्चो छैन आज, भनेर सुति रहें ।दिदी अलि सोझी छे, जे भने नि पत्याई हाल्छे । एक्लैले भात पकाई, खाई र भाँडा माझेर काममा निस्किदा अलि ढिलो भयो दिदीलाई पनि ।

म मोमो भनेपछि हुरुक्कै हुन्छु ।आज भक्ते दाइले झोल मोमो खान बोलाउँदा कस्तो आमाको पो याद आयो । सदरमुकाम चरीकोटमा आमासँग कुखुरा बेच्न गएको बेला पहिलो पटक मोमो खाएको, त्यही पनि ‘भेजी’ । अलि सानै थिएँ । छक्क पनि परें, रोटी भित्र तरकारी देखेर । आमाले त मुछेरै खाएकी थिइन् । मैले चैं फुटाएर खान खोज्दा सबै हाँसेका थिए, मुर्दारहरु । कतै नहेरी खुरुखुरु हातैले खा न भनेर आमाले भनेपछि मैले नि’ त्यसै गरें । त्यति रहेछ आमासँग बजार जान लेखेको पनि । त्यसको सात महिना पछि त शुल भएर मरिहालिन्  आमा नि ।

बिहान बेलुका भात सात पकाउने छोरी छँदैछ, यसो बाहिर फेरको काम तैंले गर्दा भैगो नि भनेर खुब सम्झाएका थिए सबैले हाम्रो बाउलाई । हैन बुढेस कालमा साथी चाहिन्छ भनेर खै क-कस्ले भनेर बिहे गरेका रे । त्यही भएर  त हाम्रो यस्तो हरि विजोक भएको बाउले सानिमा ल्याएर। हुँदा हुँदा सानिमा पनि बाउसँग आएको एकै वर्षमा व्याउनु पर्ने केही नपाएर । अनि त सात किलास पढ्दा पढ्दैकी दिदीलाई निकालि हाले स्कुलबाट, भाइ हेर्नु पर्छ भनेर । मेरो त के कुरा गर्नु र,जम्मा दुई किलासकी मान्छेलाई ?

भाइ स्कुल जाने बेलामा म पनि ठ्याक्कै सातै किलासमा रहेछु । पढ्छु भन्दा-भन्दै स्कूलबाट निकालेपछि केही वर्षमा बिहे गर्दिने भनेर कुरा गर्दा गर्दै दिदीले त टाप कसी काठमाण्डूतिर । काठमाण्डूमा छे भन्ने खवर पाएर होला त्यस पछि त केही सोधखोज सम्म गरेनन् बाउले पनि । दिदी हिंडेपछि त सानिमाले कुरा लाएर मैले नि रात दिन कुटाई खाएँ । त्यो बेला भक्ते दाइ गाउँमै थिए । कहिलेकाहिं यही भक्ते दाइको फोनमा कुरा हुन्थ्यो दिदीसँग । जति दु:ख भए नि पढ्न चैं नछोड् है भनेर दिदीले सम्झाउँथी जहिले पनि । तर अति भएपछि मलाई ऊसँगै राखेर पढाउन काठमाण्डू ल्याई दिदीले । दिदीले गरेको काममा सघाउँदा सघाउँदै दुई चार पैसा कमाई हालिने रहेछ भनेर म पनि यही कामतिर लागें, पढाई छोडेर । दिदीलाई यो काम पनि यही भक्ते दाइले नै मिलाई दिएको हो । विनासित्तीमा यतिधेरै सहयोग किन गर्छ भनेर होला दिदीले भक्ते दाइलाई शंका गरेकी ।

आज निकै समयपछि मोमो, त्यही माथि झोल मो मो खानलाई मैले त भात पनि थोरै खाएँ । तीन बजेतिर भक्ते दाइसँग भेट भयो धरहरानिर । नजिकै भएको रेस्टुरेन्टमा झोल मोमो खायौं । झोल मोमो खान सारै अफ्ठ्यारो लाग्यो, हातले खानु न के गर्नुजस्तो ? तर भक्ते दाइले आधा आधा पारेर खाएपनि हुन्छ नि भनेपछि मैंले त्यसैगरी खाएँ ।

सानैदेखि चिनेको भएर केही डरै नमानि भक्ते दाइको पछि लागें म पनि । डेरामा पुगेपछि ढोकाको चुकुल लगाउँदै खाटतिर देखाएर बस भने भक्ते दाइले । म खाटमा बसेपछि भक्ते दाइ पनि मेरो छेउमा बसे अनि मेरो मुखमा हेरे । फेरि उठे, अनि फेरि बसे । अचम्म लाग्यो मलाई पनि । किन केभयो भनेर सोध्न नपाउँदै एकै छिन पख् है भनेर अर्को कोठा भित्र पसे । एकै छिनपछि एउटा सानो व्याग बोकेर बाहिर आए भक्ते दाइ, म छक्कै परें । व्याग खोलेर एक-एक गर्दै  तीन/चार जोर राता लुगा, सिंदुर, पोते, चुरा, धागो अनि कानका साना टप र सानो तिलहरी देखाए मलाई । मेरो मुटु ढुकढुक गर्न थाल्यो । अनि मेरो मुखमा हेर्दै भक्ते दाइले “यी सबथोक तेरो दिदी पुष्पाको लागि हो, म पुष्पालाई पहिले देखि नै मन पराउँछु आज तँ भनि दे न ल पुष्पालाई” भनेर रुन थाले । यही कुरा भन्नकै लागि आएका रहेछन् हाम्रो डेरामा कति पटक, तर भन्नै सकेनन् अरे । बिहे गरेपछि मलाई पनिसँगै राख्ने भनेर तिनवटा कोठा भाडामा लिएका रहेछन् । यसैले पो रहेछ भक्ते दाइले हामीलाई पहिलेदेखि नै सहयोग गरेको । यो सब देखेपछि  दिदीले के भन्छे भन्ने कुराको वास्ता नै नगरी,आफैंले दिदीको बिहेको कुरा छिने झैं, हुन्छ हुन्छ बिहे पक्का भो, दिदीले नि मानी हाल्छे नि” भनें मैले नि । कोही नभएका हामी दिदी बैनीले सहारा पायौंजस्तो भएर म त बेस्कन रोएँ भक्ते दाइकै अगाडि ।

फर्किंदा दिदीलाई बाटोबाटै फोन गरेर खाना बनाउनु पर्दैन, हामी चाउमिन लिएर आउँछौं भने भक्तेदाइले । को हामी भनेको भन्दै थिई दिदी । कान्छी र म भनेपछि बिरामी भएँ भनेर काममा नगएकी बैनी त्यहाँ पुगिछे भनेर छक्क परी ऊ पनि । डेरा पुगेर चाउमिन खाँदै गर्दा भक्ते दाइले आफ्नो मनको सबै कुरा दिदीलाई भने । दिदीले हुँदैन पो भन्छे कि भनेर मैले नि बिचबिचमा भक्ते दाइको कुरामा होमा हो मिलाएँ। सोच्दै नसोचेको कुरा भक्ते दाइको मुखबाट सुनेपछि खुब रोई दिदी पनि । दिदी रोएपछि भक्ते दाइ पनि रोए दिदीसँगै ।म त मज्जाले हाँसी दिएँ । तीन महिनापछि बिहे गर्ने भनेर टुगों गरे आज नै दिदीले र भक्ते दाइले ।

हाम्रो त के थियो र ? एक हप्ता अघि नै दिदी र म भक्ते दाइको डेरामा सर्यौं । बेहुला पट्टी न बेहुलीपट्टी, भक्ते दाइकै कोठाबाट सिंगारिएर गएर भद्रकाली मन्दिरमा दिदी र भक्ते दाइको बिहे भएको छ आज । हामी तिनै जना असाध्यै खुसी छौं । मैले र दिदीले एक अभिभावक र संरक्षक पाएका छौं भने  भक्ते दाइको पनि वर्षौ देखिको दिदीलाई पाउने सपना पुरा भएको छ । तर मलाई भने ठूलो जिम्मेवारी आई लागेको छ-आजैदेखि मैले भक्ते दाइलाई भिनाजु भन्नु पर्ने र भोलिदेखिनै स्कुल जानु पर्ने ।

Add a Comment

Your email address will not be published. Required fields are marked *