पेदोङ सरकारी कलेजको स्थापना गर्दाका कथा-व्यथा

कुनै पनि स्थानको समुन्नतिका निम्ति त्यस ठाउँमा विद्यालय, महाविद्यालय विश्वविद्यालय वा यस्ता कुनै शैक्षिक प्रतिष्ठान खोलिनु महत्त्वपूर्ण कुरा हो । पेदोङका सचेत शिक्षाप्रेमी जनताले सन् १९९२ देखि नै पेदोङमा एउटा डिग्री कलेजको माग गर्नथालेका हुन् । पेदोङ भारतको पश्चिम बंगाल राज्यमा पर्ने कालिम्पोंग जिल्लामा अवस्थित एक ग्रामीण पर्यटकीय पहाडी इलाका हो । यहाँको जनसंख्या लगभग लगभग १०/१२ हजार रहेको छ । यो क्षेत्रमा नेपाली भाषीहरुको बाहुल्यता छ । यस स्थानमा डिग्री कलेजको सपना साकार हुने क्रम २०१२ देखि हुन थालेको थियो ।

पेदोङकी एक अग्रज, शिक्षाप्रेमी आदर्श शिक्षिका र समाजसेवी सरिता राई अघि सरेर उहाँको स्वर्गीय पति तथा पेदोङका सचेत शिक्षाप्रेमी उदय राईको नाममा पेदोङ बजारबिच एक ऐकरर जमीन महाविद्ययालय स्थापनाका निम्ति प्रदान गर्नुभय़ो । यो जमीनमा नेता विमल गुरूङले शिलान्यास गरी काम थालिएको थियो भने २०१४ को फरवरीमा पश्चिम बंगाल सरकारले एउटा पूर्णाङ्गी सरकारी कलेज खोल्ने अधिसूचना जारी गरेको थियो । यसपछि यसको थप जमिनका निम्ति सरकराले धेरै वर्षअघिदेखि बाँझो रहेको प्राणी सम्पदा विभागको भेडीगोठको चार ऐकर सरकारी जमिन कलेजको निम्ति सरकारी तवरमा नै हस्तान्तरण गर्‌यो । यसरी सरिता राई र उनको परिवार तथा सरकारी हस्तानन्तरपित गरिएको एक ऐकर गरी जम्मा पाँच ऐकर भएको सरकारी कलेजको स्थापना भएको हो ।

पेदोङका सचेत र शिक्षाप्रेमी नागरिक समाजले दीर्घ दिनअघिदेखि पेदोङमा एउटा महाविद्यालयको आवश्यकता बोध गरी राखेको मागलाई सरकारले स्वीकृत गरी सबैको सपना साकार भएको छ । यसका निम्ति पेदोङलाई हार्दिक बधाइ । सरकारले पेदोङका जनताको मागलाई सम्मान गरी सरकारी महाविद्यालयको स्थापना गरिनु पेदोङको निम्ति मात्र नभई कालेबुङ महकुमा र हाम्रो पहाडकै एउटा उपलब्धी मान्न सकिन्छ । यो कलेज पेदोङको मात्र नभएर पहाडकै सम्पत्ति हो । निकट समयमा पहाडले एउटा विश्वविद्यालय पनि पाउने नै छ भन्ने आशा गर्छौं ।

(नवीन पौड्याल)

सन् २०१५ को मार्च महिनामा पश्चिम बङ्गालको ममता बन्दोपाध्यायको सरकारले एकै सरकारी आदेश र अधिसूचनामा स्थापना गरेका जम्मा बीसवटा कलेजको एकैचोटि स्थापना गरपर्ने अधि सूचना निस्कियो । यसमा दार्जिलिङ जिल्लाको पहाडी भूभागको निम्ति पेदोङ र गोरूबथानमा एकेकवटा सरकारी कलेज खोलिए । त्यसको स्थापना गर्ने र संचालन गर्ने अभिभारा यस पंक्तिका लेखको काँधमा आइपर्यो । आफ्नो कालिम्पोङ भित्रको कलेज स्थापना गर्न कम्मर कसियो । दिन रात एअक गर्नुपर्यो । बनिएको बाटो भन्दा बाटो बनाउँदै हिँड्दाका रोमान्च अनुभव गरियो । प्रशासनिक काममा जानकारी नभएको एकजनाले विस्तारै विस्तारे सिक्दै बुझ्दै काम गरी अघि बढियो । ६ अप्रेलमा आफुले दार्जिलिङ सरकारी कलेजको प्राचार्यबाट अभिभारा लिएर आइयो । यस्तो काममा आफुभन्दा माथिको कोलकातास्थित विकास भवनका निर्देशकलाई एक प्रति र स्थानीय जिल्लापाल र कालिम्पोङका महकुमा शासकलाई जनाउनका निम्ति मात्र एकेकप्रति पठाएर आफैं काममा जोइन गरें । किनकि कसैले पनि पेदोङमा जोइन गराउने अधिकारी थिएनन् । आफैं जोइनँ गरेको हुँ ।

पेदोङमा सरकारी कलेजको घोषणा गत वर्ष 182- Edn/(A) को तारिक २८ फरवरी, २०१४ मा भएको हो । त्यसपछि कलेजलाई साकार रूपमा ल्याउन मनिटरिङ कमिटि भनेर सरकारले गठन गर्यौ । दार्जिलिङका सरकारी कलेजका भारप्राप्त अधिकारी, मनिटरिङ कमिटि आदिले यसको स्थापनाको चाँजो मिलाएका हुन् । यसका साथै पेदोङ सरकारी कलेजको शुरूआतको निम्ति विभिन्न पक्षबाट पहल गरिएको हो । यससम्बन्धमा मभन्दा यहाँका विज्ञजनलाई बढी थाहा छ । यसपछि भने मलाई यसको अभिभार आइलाग्यो । आफ्नो ठाउँ कालेबुङदेखि केही परको पेदोङमा सरकारी कलजको अभिभारा आइलाग्नुलाई मैले चुनौतीका रूपमा स्वीकारेँ । आफ्नो ठाउँको सरकारी कलेजलाई एउटा मोडेल कलेजको रूपमा बनाउने मेरो सपना छ । हामी त्यही सपनालाई साकार बनाउऩ लागि परेका छौं । हामी जे गर्छौं कलेज र यस पेदोङकै भलाई र हितका निम्ति गरेका हुन्छौं । मनमा सदैव कलेज र विद्यार्थीको स्वार्थ मात्र हेरेको हुन्छु । विद्यार्थीको स्वार्थको निम्ति नै मिलेर काम गरेका हुन्छौं ।

 

हाम्रो मनमा र काम कुरामा कलेजलाई सुचारू रूपमा चलाउन ध्यावन्न रहेको हुन्छ । कलेजको प्रतिष्ठामा आँच आउने कुनै काम हामीले गरेका छैनौं अनि गर्ने पनि छैनौं । यो कुरा पेदोङलाई मेरो सन्देशको रूपमा व्यक्त गर्न चाहन्छु । यसका निम्ति हामी अरू कुनै गलत काममा लाग्न दिनेछैनौं । यस कलेजलाई भ्रष्टाचारको अखाडा नबनाएर विद्याको केन्द्र बनाउने जमर्को रहेको छ । यसका निम्ति हामी सबै प्राध्यापक-प्राध्यापिकाजन, अशिक्षण कर्मचारी प्रयासरत छौं ।

मैले ६ अप्रेल, २०१५ मा यस कलेजको भार लिएपछि नै कागजी रूपमा यसको अस्तित्व आएको हो । यस हिसाबले कलेजको स्थापना दिवस पनि ६ अप्रेललाई नै मानिलिन सकिन्छ । दुइ महिनासम्म म एक्लै थिएँ । एक्लै आउँथे पेदोङ । न कार्यालय थियो, न कतै बस्ने ठाउँ थियो । यस अवस्थामा सन्त जर्ज विद्यालयको एउटा सिटिङ रूम जस्तो कोठालाई नै मैले आउने ठाउँ बनाएँ । यहाँका प्रिन्सिपल फादरले धेरै सहयोग दिएको म कैले पनि बिर्सने छुइऩँ । गत ६ अप्रेलमा आफुले जोइन गर्नेबित्तिकै अनलाईन भर्नासम्बन्धी कलकत्ताबाट ९ अप्रेलको मिटिङमा जानुपर्ने सूचना र आदेश आयो । त्यसपछि 12 मईका दिन पनि नयाँ २० वटा कलेजको सन्चालन हेतू विकास भवन कोलकातामा सभा भयो । त्यसमा नयाँ स्थापना कलेजसम्बन्धी धेरै कुरा भए । त्यसपछि कलेजका डेस्क, बेन्च, दराज के के आउँदै थिए । यी चिजबीज ग्रहण गर्न म आफै आउनु पर्थ्यो । कैले कालेबुङबाट एकाबिहानै त्यही सामानकै ट्रकमा चडेर, कैले बेलुकीसम्म पर्खेर बसेको छु । मेरो मोबाइलबाट कलेजसम्बन्धी चारैतिर सम्पर्क राख्ने गरेको थिएँ । कतिपय खर्च त मेरै आफ्नो पाकेटबाट निकालेर पनि काम चलाको छु । मनमा भने एकप्रकारले सन्तोक लिने गर्थेँ । कलेजका निम्ति जे पनि गर्न नहिच्किचाउने प्रण गरेको छु । कलेज खोल्न कुनै कसर बाँकी नराख्ने भन्ने मनमा दृढता लिएको थिएँ र त्यो दृढ्ता पछिसम्म नै कायम रहनेछ ।

यस शिशु कलेजलाई उठाउन, हात समातेर हिडाउन यस विद्यालयका प्रिन्सिपल फादर क्रास्टा, उप-प्राचार्यलगायत सबै शिक्षण र अशिक्षण कर्मचारीको ठुलो योगदान छ । जसरी अघिल्लो पिढींका फादरहरूले यस विद्यालयको स्थापना गरेर यस क्षेत्रलाई ठुलो योगदान दिएका थिए, ठिक त्यसरी नै वर्तमानमा यस कलेजको स्थापनामा यहाँ फादरहरूको ठुलो योगदान छ । कलेजलाई अफिस चाहियो, यहीबाट, कलेजलाई श्रेणी कोठा चाहियो, यही विद्यालय, कलेजलाई फोटोकपी गर्नु पर्यो यही स्कुलको, हरेक चिजबीज चाहिएमा स्कुलमा नै गुहार्नु परेको थियो । शौचालय, डेक्स बेन्च सबै चलाउनु दिनुभएको छ । उहाँको योगदानप्रति यो कलेज कृतज्ञ रहेको छ र रहनेछ ।

१ जुनका दिन मलाई साथ दिने पहिलो प्राध्यापक भएर हाम्रै कालिम्पोङकै जोन कपिल छेत्री आए । २ जुनमा प्रा. पेमा जाङ्मू भोटिया, उसैगरी ५ जूनका दिन जिओलजिका प्राध्यापक कौस्तुभ च्याटर्जीले जोइन गरे । त्यसपछि भने क्रमशः प्रा. समिरण मण्डल, डा रोजी चामलिङ, प्रा. कौशिक शाह, डा. चन्दना दत्ता हुँदै हालमा प्रा. इसा मोक्तान पनि हाम्रो परिवारकी अभिन्न हुँदै आइन । यसै गरी १५ जुनमा LDC का रूपमा शिला राई पनि आएर कार्यलयीय काम सम्हाल्नु भएको छ । अझै यस्तो संख्या बढ्दै जानेछ । सबै कुरा समयमा पूरा हुँदै जानेछ । हामीले सुर्ता गर्नुपर्ने छैन । बरू हामीलाई सुर्ता छ त हाम्रो आफ्नो कलेज भवन निर्माण कार्य कहिलेसम्म पूरा हुने हो ? कस्तो हुने हो ? ढिलो भइरहेछ, यद्यपि हिजोको दिनमा भए पनि पहिलो ढलाइ कार्य सम्पन्न भएको थियो । शुरूका दिनमा सेक्रेड हर्ट चर्च परिसर र यस सन्त जर्ज विद्यालयका श्रेणी कक्षाहरू पैंचो मागेर चलाउनु पर्ने बाध्यता थियो । शुरूमा हामीले नेपाली, अँग्रेजी, इतिहास, भूगोल, राजनितीशास्त्र, समाजशास्त्र र विज्ञानतर्फ जिओलजी विषयमा अनर्स चलाएको थियौं भने अर्को वर्ष गणित, भौतिकी र रसायन शास्त्रमा पनि अनर्स खोल्न सक्षम भएका थियौं । समयमा अन्य विषय पनि पाउँदै जानेछौं ।

यस कलेजका विद्यार्थीहरू एकप्रकारले भाग्यमानी हुन् । जसले पब्लिक सर्भिस कमिसनबाट स्क्रीनिङ टेस्ट र अन्तर्वार्ता उत्तीर्ण भएर आएका उत्कृष्ट शैक्षिक योग्यता भएका प्राध्यापक प्राध्यपिका पाएका छन् । विद्यार्थीले यस यस्ता ज्ञानगुरू-गुरूमाहरूको ज्ञान थुत्नु सक्नुपर्छ, फाइदा उठाउनु पर्छ । अहिले जम्मा चौंवालिस जना शिक्षण अधिकारीहरूको अनुमोदन भएको छ भने अहिले २५ जनाको पदपूर्ति भएको छ । अहिले आएर नौं-दस जनामा अशिक्षण कर्मचारी रहेका छन् । यस घडीमा एउटा मात्र कलेज भवन रहेको छ भने केही वर्षमा विज्ञान भवन पनि स्थापना हुन सके बंगला दर्शन शास्त्र र सिक्षा सास्त्र पनि ल्याउन सकिन्छ जो सरकारी तवरमा अनुमोदित छ। भविष्यमा यस कलेजका विभिन्न सम्भावना रहेका छन् ।

विद्यार्थीलाई अनुशासनसम्बन्धी दुइचार कुरा भन्नै पर्दछ । अनुशासन ऩभएको घर र महाविद्यालय-विद्यालय काम लाग्दैन । विद्यार्थीहरू अत्यन्त अनुशासित हुनुपर्छ । समयमा क्लास गर्नुपर्छ । कुनै कक्षा नछुटाउनु । प्रत्येक विद्यार्थीले ७५ प्रतिशत कक्षामा उपस्थित हुनुपर्छ भन्ने कानून छ । तिमीहरूलाई पढाउनु नै सरकारले हामी शिक्षकहरूलाई नियुक्ति दिएर राखेको छ । हाम्रो मुख्य काम पढाउनु औ तिमीहरूको मुख्य काम पढ्नु । समाजको एक असल नागरिक हुन योग्य बन्ने लक्ष्य लिनुपर्दछ ।

यस कलेजलाई सफल बनाउनु छ, विद्याको केन्द्र बनाउनु छ, यस क्षेत्रका नानीहरूको भविष्य उज्ज्वल बनाउनु छ । हामी स्वतन्त्र भएर काम गर्न गर्दै यस कलेजलाई उन्नतिको मार्गमा लैजानका निम्ति कलेजले सबै पक्षबाट सहयोगको आशा राखेको छ ।

2 Comments

Add a Comment

Your email address will not be published. Required fields are marked *