स्वीजरल्यान्डको: झ्यालबाट देखिएको जर्मनी

(हाम्रो टीम लायन मनुमेन्टका छेउमा (स्वीजरल्याण्ड)। लेखक दाहिने नीलो-रातो स्वेटरमा)

झ्यालबाट देखिएको जर्मनी  लेख्न चाहेको थिइनँ किनभने एक रातको सफरमा डबल डेकर बसको झ्यालबाट सिङ्गो देश कसरी देख्नु, नदेखि कसरी लेख्नु ? पिताजीले लेख्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, लेख्नलाई कुनै ठूलो विषय चाहिँदैन । एउटा सानो त्यान्द्रो आधार भेटे पुग्छ । असल लेखकले आफ्नो कलाले सिँगारेर त्यसैलाई साहित्य सिर्जनाको रुप दिन्छ । पिताजीलेले निकै लामो व्याख्या दिनु भयो जसको सारांश थियो—– धेरै भन्दा थोरको, बृहतको भन्दा सूक्ष्मको महत्व बडी हुन्छ । उसरी नै आखाँ टट्य़ाउञ्जेल हेरेको भन्दा झलक्क देखेको स्मृति यादगार हुन्छ । यात्रा साहित्य बारेमा पिताजीले भनेको कुराले मलाई सोच्न बाध्य गरायो । मान्छेले आफ्नो ठाउँ, आफू हुर्केको गाउं सधैं देखेको भन्दा दुइचार दिन अथवा एकैछिन घुमेको डुलेको ठाउँको अनुभव सुनाउन चाहन्छ । भारतको कुनै व्यक्तिले विदेश भ्रमण गर्यो भने उसले त्यहाँको कुरा लेख्न, भन्न चाहन्छ । उसै गरी युरोप वा अमेरिकाली पर्यटक भारत आयो भने उसले भारतको कुन ठाउँमा कतिदिन बस्यो, कति धेरै समय खर्च गरेर अनुभव बटुल्यो त्यो कुरा गौण हुन्छ । लुभ्रे म्युजियम या मेडाम तुसाड संग्रहालय एकै दिनमा हेरेर सकिने कुरा पनि होइन । केवल जान्नैका लागि त पुस्तकका पन्ना पल्टाउँदा अथवा इन्टरनेटमा गुगल सर्वज्ञलाई सोद्धा भैगो, लाखौं रुपियाँ खर्च गरेर किन भ्रमण गर्नु पर्यो  ?

पिताजीका कुरा सुने पछि मलाई लाग्यो, जे जस्तो भए पनि मेरो अनुभव पाठक वर्गमा बाँडीचुँडी गर्नु नै उचित हुनेछ ।

इतिहासमा जर्मनीको बारेमा थोरै पढेको छु । महाप्रतापी जर्मनहरु आफैंलाई सर्वश्रेष्ठ जाति ठान्छन । दोस्रो विश्वयुद्धमा जर्मनीको पतन भयो, दर्पचूर्ण भयो । तर बर्लिनको पर्खाल तोडेर पुन एक भएको जर्मनले विश्वलाई ठूलै पाठ पढाएको छ, आफूले पनि निकै चेतेको छ । मलाई आज त्यही जर्मनी देशमा एक रात बिताउने मौका जुरेको छ । मौका पनि कस्तो भने जर्मनीको राष्ट्रिय राजमार्गमा गुड्दै गरेको बसको झ्यालबाट टुलुटुलु हेर्नु पर्ने, त्यो पनि राति बिजुली बत्तीको प्रकाशमा ।

(सन्तोष रावत)

पीएमएम स्टुडेन्ट्स ट्रिप भन्ने संस्थाले छात्रछात्रालाई भ्रमण गराउँदो रहेछ । हामीले स्विजरल्यान्ड्को भ्रमणमा जाने निश्चय गरेका थियौ । हाम्रो टीममा एभान्स विश्वविद्यालयमा अध्ययनरत निदरल्यान्ड्स, बेल्जियम, जर्मनी, अस्ट्रिया, फ्रान्स, अफगानिस्तान र भारतका हामी तीन जना गरी जम्मा चवालीस जना छात्रछात्रा थियौं । राति नौ बजे अमस्टर्डमबाट हामी रवाना हुने । भूस्वर्ग मानिएको देश स्विजरल्यान्ड हेर्ने पहिलो पटक मौका जुरेकोमा मलाई औधी खुसी लागेको थियो । हाम्रो गाडी आइपुग्यो, हामी सबै बसलाई नै पर्खिबसेका थियौ । रातो रङको दुइतले बस सुन्दर थियो । साथीहरु एकार्कासँग कुरा गर्दै थिए । उनीहरुको कुराबाट बुझें युरोपकै भए पनि धेरैले स्विजरल्यान्ड देखेका रहेनछन । तर हामी भारतीय जस्तो उनीहरु उत्फुल्लित देखिएका छैनन । एक एकजना गरेर हामी बसमा चड्यौं । धेरै खुसी लागेको थियो तर कसैले खुसी प्रकट गरेको छैन । कुनै हल्ला छैन । कति चिसो माहौल ! फरवरीको जाडो जस्तै चिसो मुटु भएका युवाहरु ! यत्रो आनन्दको क्षणमा युरोपेली छात्रहरु कसरी चुपचाप बस्न सकेका ? अचम्म !   हाम्रोमा भएको भए गीत गाउन, सुसेल्न र कोइ नाच्न थाल्ने थिए, बस नै थर्काउने गरी नारा लगाउने थिए । नौ बजे बस छुट्यो । बस छुट्दा ‘भारत माताकी जय’ भनेर चिच्याउन मन लागेको थियो तर आवेगलाई थामेर चुपचाप आफ्नो आसनमा बसें । आसन गद्दीदार, अघिपछि सारेर सुत्न पनि मिल्ने, फराकिला थिए । डबल डेकर बसमा सीटको अघिल्तिर कम्प्युटर जडान गरिएका थिए, वाईफाइ सेवा पनि रहेछ । घरमा फोन गरेर अहिले जर्मनी हुँदै स्विजरल्यान्ड् जाँदैछु भन्ने सूचना दिएँ । आमा-बाबा खुसी हुनु भयो, धेरै आशीर्वाद दिनु भयो । त्यसै बीचमा आमाले भन्नुभयो, ‘राम्रा राम्रा ठाउँमा फोटा उठाउन नबिर्सनू ।‘ पिताजीले भन्नुभयो, ‘कुनै पनि महत्वपूर्ण कुरा डायरीमा टिप्न नबिर्सनू ।

चौडा चिल्लो बाटोमा हाम्रो बस धीरगतिमा गुड्न थाल्यो । मेरा छेउको सीटमा साथी पिटर परेको थियो । दुइ महिना सँगै क्लास गरे पनि उसँग ‘हाइ’ र ‘हेलो’ बाहेक अरु शब्द बोल्ने मौका परेको थिएन । मैले सोचेको थिएँ पिटर रैथाने डच् हो, उसले छेउछाउका देशहरु डुलिसकेको छ । ऊ निदरल्यान्ड्ससँग करेसो जोडिएको देश बेल्जियमको रहेछ । एक दुइ पटक जर्मनी र स्विजरल्यान्ड् गए पनि उसलाई ती ठाउँबारे थाहा रहेनछ । यसै पनि उनीहरु त्यति चासो राख्ता रहेनछन युरोपेली देश बारे । बरु, जिन्दगीमा एक पटक भए पनि इऩ्डिया जाने प्रबल इच्छा भएको कुरा बतायो । मैले आफ्नो देशको भाषा-संस्कृति बारे केही कुरा सुनाएँ । ‘यति धेरै भाषा बोलिन्छन !’— अचम्म मान्यो उसले । आफ्नो देश भारत प्रतिको उसको यत्रो श्रद्धाभावना देखेर फुर्किँदै भनें,   ‘कुनै दिन इन्डिया आयौ भने मलाई सूचना दिनु, म साथ दिउँला ।‘ ‘साथ दिउँला’ त भनें तर कुनै दिन ऊ टुप्लुक्क आइपुग्यो भने यत्रो विशाल देश कसरी डुलाउनु ? असमका दुइचार ठाउँ देखाएर यहीं हो मिनि इन्डिया भन्नु पर्ला ।

बसले निक्कै रफ्तार पक्रिसकेको थियो । बाटा छेउका भवन र साना-ठूला रुखहरु पछिल्तिर कुदिरहेका देखिन्थे । रातको समय थियो, तर स्ट्रीट लाइटले सबैतिर झलमल्ल उज्यालो छरेर दिउँसो जस्तै लाग्थ्यो । यस्तै उज्यालोमा म यतिखेर जर्मनी देशको कुनै राजमार्गमा गुडिरहेको छु । चलन्त बसको झ्यालबाट बाहिर हेरिरहेको छु अनि पुरै जर्मनीलाई देखेको असन्तुष्टि नोटपेडमा लेख्तैछु ।

रातको एक बजे जर्मनीको कुनै शहरमा बस रोकियो, ‘आधा घन्टाको विश्राम हो’——भनेर परिचालकले सार्वजनिक ट्वाइलेट पनि देखाई दिए । सार्वजनिक ट्वाइलेटमा पैसाको सिक्का छिराउन पर्दैन । त्यसपछि हामीलाई गाडीमैं बिर्को लाएको ग्लासमा कफी र एउटा सानो डिब्बा दिए । डिब्बा खोल्ने तरिका डिब्बामै नबुझिने भाषामा लेखिएको तर चित्रबाटै बुझिने । चित्र पनि भाषा नै रहेछ । झन चित्र त जुनसुकै भाषा बोल्ने शिक्षित अशिक्षित सबैको सम्पेषणको कारगर माध्यम रहेछ—- बल्ल बुझें । डिब्बा खोलेर हेरें, त्यसमा एउटा निकै ठूलो बर्गर, एक चोइटो बटर, अलिकति उसिनेका मकै, सलाद र सिन्का-चम्चीहरु थिए । पानीको बोतल पहिले नै दिएको थियो ।

बिहान सात बजे बसले स्विजरल्यान्डको राइन् फल्स् भन्ने छाउँमा उतार्यो । निकैवटा सार्वजनिक ट्वाइलेट र स्नानागार भएको ठाउँ रहेछ । त्यहाँ हामीलाई प्रातकर्म सकेर नास्ता खान एक घण्टा समय लाग्यो । राइन फल्सका छेउमा बसेर त्यहाँको अपरुप सौन्दर्य उपभोग गरेको आधाघण्टा भएको थियो कि थिएन गाडीका चालक हाँजिर भए । त्यसपछिको हाम्रो गन्तव्य स्थान लुसेर्न शहर थियो — राइनदेखि झण्डै दुइ घण्टाको बाटो । गाडीले बाटो लियो । यतिञ्जेलको सफर रातिको थियो, निद्राले आँखा झपझप गर्दै थिए । दाहिने देब्रे दुबैतिर देखिएका सुन्दर दृश्यले निद्रालाई धपाइदियो । आधाजसो बाटो कटेपछि एउटा ठूलो शहर आयो । साइनबोर्डका अक्षर बुझ्ने उपाय थिएन, गुगल गुरुले भने—- यो शहरको नाम जुरिख हो । जुरिख स्विजरल्यान्डको प्रमुख वाणिज्यिक शहर हो भन्ने पढेको थिएँ तर हामी त्यही बाटो जाँदै छौं भन्ने मलाई थाह थिएन । हाम्रो गाडी रोकिएन, गाडीबाटै नमस्कार गरेँ जुरिखलाई ।

लुसेर्न शहर आइपुग्दा दिउँसो एघार बजेको थियो, दूरी पनि निकै रहेछ आठ सय तीस किमि । समय कम, अलिक हतार भयो। यहाँबाट हिँडेरै केही ऐतिहासिक ठाउँहरुको दर्शन गरियो । मेरो नोट प्याडमा ती ठाउँहरुको विवरण यसरी लेखें—-

सिंह स्मारक (लायन मनुमेन्ट)

प्राकृतिक ढुङ्गालाई खोपेर निर्माण गरेको मर्न लागेको प्रकाण्ड सिंहको मूर्ति यहाँको मुख्य आकर्षण रहेछ । फ्रेञ्च विप्लवको समयमा राजा सोह्रौं लुईको सैन्य विभागमा सेवारत रहेर वीरगति प्राप्त गर्ने स्वीस सहीदहरुको स्मृतिमा बनेको यो प्रस्तर मूर्ति लुसेर्न शहरको प्रतीक मानिँदो रहेछ । लुकास अहर्न नाम गरेका शिल्पकारले 1821 सनमा ढुङ्गा खोपेर यो मूर्ति निर्माण गरेका रहेछन् । लेखक मार्क ट्वेइनले यसलाई विश्वको सबैभन्दा दुखद घटनाको स्मारक भनेर वर्णन गरेका छन् भन्ने पनि सुनियो । यो वर्णन पढ्नु पर्छ भनेर नोट प्याडमा लेखें ।

जलस्तम्भ र चापेल सेतु (वाटार टावार र चापेल ब्रिज)

छेवैमा अवस्थित सेन्ट पिटर्स चापेल गीर्जाघरको नाम अनुसार यसको नाम चापेल सेतु राखिएको रहेछ । काष्ठनिर्मित यो सेतु चौधौं शताब्दीमा बनिएको भन्ने उल्लेछ पाइन्छ । यो सेतुको बीचमा आठवटा पाटा भएको प्रकाण्ड जलस्तम्भ छ । यो स्तम्भ पानीमाथि ठडिएको जस्तो देखिन्छ त्यसैले यसलाई स्थानीय भाषामा वाटारटार्म अनि अंग्रेजीमा वाटार टावार (जलस्तम्भ) भनिएको रहेछ ।

पुरानो शहर

लुसेर्न शहरको पुरानो ठाउँलाई अलस्टाद भन्दारहेछन। यहाँका पैदल हिँडने बाटा र गोरेटाहरु नै शहरका मुख्य आकर्षण रहेछन्। रिउस नदीका छेउका काठले निर्मित विभिन्न आकार र अग्ला दिवारहरुको प्रशंसा नगरी सकिँदैन । त्यस बाहेक यस भेकमा दैनिक र साप्ताहिक लाग्ने बजारले रौनक थपेर जीवन्त पारेको हुनाले यहाँ जनसमागम भइरहन्छ भनेको जान्न पाइयो ।

फ्रित्सी झरना

लुसेर्न शहर र यसका छेउछाउमा दुई सय पच्चीसवटा झरना रहेछन, तिनमा फ्रित्सी झरना सबैभन्दा ठूलो र प्रख्यात रहेछ । फ्रित्सी पन्द्रौ शताब्दीका एकजना प्रसिद्ध व्यक्तिको नाम हो । फ्रित्सीको मूर्ति झरनाको मध्यभागमा स्थापित छ । रिनेसाँको स्मरण गराउने यस झरनाको निर्माण 1918 मा भएको रहेछ । यस मूर्तिको छेउमा अरु दुइ मूर्ति थिए । तिनमा एउटा फ्रित्सीकी पत्नी फ्रित्साइन र अर्को एकजना कृषकको मूर्ति रहेछन् । यहाँ बाख्राका सिङ आकारको नलबाट जल निर्गत भइरहेको सुन्दर झरना देखियो । फ्रित्सी झरना भन्नाले फ्रित्सी लगागत छेउछाउमा अवस्थित सबै झरनालाई समग्रमा बुझिँदो रहेछ ।

जेसुट चर्च (यीशुको गीर्जाघर)

1666 ख्रीष्टाब्दमा फादर ख्रिस्टोफर भलारले निर्माण गरेको यो केथोलिक गीर्जाघर स्विजरल्यान्डको सबैभन्दा ठूलो गीर्जाघर रहेछ । हिजोआज यो गीर्जाघर प्रार्थना गर्ने धार्मिक स्थल भन्दा पर्यटन केन्द्रका रुपमा प्रख्यात भएको रहेछ । यसमा प्रतिदिन सङ्गीतानुष्ठान भइरहन्छन भन्ने जान्न पाइयो ।

चित्राङ्कित दिवार (पेइन्टेड वाल्स)

लुसेर्न शहरमा भवनका दिवारहरु सुन्दर, रङ्गीन चित्राङ्कित रहेछन । ती चित्रहरुले धेरै कहानी बताउँछन । वेनमार्केट स्क्वायर शहरको सबैभन्दा ठूलो र प्रख्यात चित्राङ्कित दिवार रहेछ । यसका भित्तामा एडवार्ड रेड्लीले सन 1918 मा अङ्कित गरेको भन्ने जान्न पाइयो । केनाको बिहे भतेर (Wedding Feast at Cana) शीर्षकको सुन्दर चित्र हेरेर मक्ख परें । यसले हामीजस्ता धेरै पर्यटकलाई आकर्षण गरेको होला ।  पर्यटकलाई भुल्याउने र मनोरञ्जन गराउने तरिका देखेर रमाइलो लाग्यो । हाम्रो देशमा पर्यटकलाई आकर्षण गर्ने प्राकृतिक दृश्य नै कति छन कति तर पर्यटन केन्द्रका रुपमा ती ठाउँ अझसम्म विकसित भएका छैनन ।

यति छवटा ठाउँहरु हेरिसक्दा बेलुकी पाँच बजेको थियो । भोक र थकाइले हत्तु-हैरान भएर साँझ सात बजे होटल आइपुगियो ।

Add a Comment

Your email address will not be published. Required fields are marked *