बाटाहरू
|
जिन्दगीको दोबाटोमा
उभिएको छु म अहिले
मेरा सामु दुईटा बाटाहरु छन्
एउटा रोज्नुछ मैले
मेरो यही रोजाइले
तय गर्नेछ मेरो यात्रा
मेरो अहिलेकै निर्णयमा
निर्भर हुनेछ मेरो भविष्य !
एउटा बाटो तिमीतिर जान्छ
जहाँ तिम्रो अहंको दरफरे ढुंगाहरुले
छियाछिया बनाउनेछन् मलाई
बन्देजका तीखा तीखा
काँडेतारका बारहरु छन्
मोटा मोटा तगाराहरु छन्
मेरा पाइलाहरु
रोकि दिनेछन् हिंड्दा हिंड्दै !
हैकमवादका
अग्ला अग्ला चट्टानहरु छन्
जसलाई म नाघ्नसक्ने छैन
दमनका गहिरा गहिरा
खाडलहरु छन्
जसमा परेपछि म
उम्किन सक्ने छैन
थोत्रा संस्कार र कुरितीका
गेग्र्यानहरु छरपस्ट छन्
जसले मलाई सजिलोसँग
हिड्न दिने छैनन्
चारैतिरबाट चियाएर
मौका खोज्दै अंकुसे हान्ने
अल्झाउने र अल्मल्याउने
काँडाका झ्याङ्हरु
उम्रिएका छन् जताततै
मलाई त्यतै
अल्झाइ दिएभने
मैले आफ्नो गन्तव्य भेट्न
सक्नेछैन कहिल्यै !
तिम्रोतिरको बाटोमा
हरदम त्रास छ
अविस्वासै अविस्वास छ ,
निस्चिन्तता छैन गन्तव्यको
अनिस्चितता छ भविस्यको !
अर्को बाटो
मेरो आफ्नै मनतिर जान्छ
जहाँ स्वतन्त्रताको
खुल्ला आकास छ
सपनाको सुन्दर संसार छ
अवसरका फराकिला
फाँटहरु छन्
मेरो मनको बाटोमा
मलाई होच्याउनलाई,
मेरो मनभन्दा अग्लो
कुनै पहाड छैन
मलाई रोक्ने कुनै तगारो छैन
कुनै काँडेतारको बार छैन
मेरो मनले देखाएको बाटोमा
म हिंड्न सक्छु निर्धक्क
कुनै डर र त्रास बिना
मेरा अवसरहरुमा
अंकुस लगाउने
कुनै अंकुसे काँडाहरु छैनन्
म आँफै रोज्न सक्छु
मेरो गन्तव्य
म आँफै बनाउन सक्छु
मेरो भविष्य!
त्यसैले मेरो निर्णय
तिमीले चाहेजस्तो
तिम्रो पक्षमा हुन सकेन
तिम्रो इच्छाअनुसार
मेरो मन तिम्रो बाटोतिर
सोझिन सकेन
मेरो निर्णयले तिम्रो अहंमा
चोट पुग्यो भने
तिमीलाइ कहिं कतै दुख्यो भने
मलाई माफ गर, म मेरो मनको
सुगम बाटो छोडर
तिम्रोतिरको
दुष्कर र दुर्गम बाटो
जान सक्दिन ।