झझल्को पेरिसको
|विश्वको सबैभन्दा सुन्दर शहर पेरिस । कुनै दिन पुगिएला भन्ने सोचेको थिइन । पुगियो, घुमियो दुई दिन । अहिले हो कि होइन, सपना पो थियो कि जस्तो लागिरहेछ । अहिले पनि फुर्सतका बेला पेरिसको झझल्को आइरहन्छ ।
एकैचोटी तीन दिनको छुट्टीको मौका छोप्तै हामीले पेरिस घुम्ने निधो गर्यौ । पेरिसकी सहपाठी सुजेनले साथ दिने कुरा गरेकी थिइन् । उनी एक दिन अघि नै गइन । त्यसअनुसार हामी (म र सहपाठी कपिल) 13 जुलाइ 2019, राति दस बजेको रात्रि बसमा अमस्टर्डमबाट यात्रा थाल्यौं । विश्वको सबैभन्दा सुन्दर र रमणीय शहर हेर्न पाउने भयौं भनेर हामी दुई साथी रोमाञ्चित भएका थियौं । हाम्रो बस सही समयमा छुट्यो । माथिल्लो तलाको झ्यालको छेउको सीट हुनाले बाहिरको दृश्य हेर्न सजिलो भयो । शहर कटेर फराकिलो राजमार्ग आउनासाथ बसले रफ्तार लियो । ठूला-ठूला भवन, खम्बा र कताकति रुखहरु तीब्रवेगले पछिल्तिर कुदेको देखेर मलाई रिँगटा लागेजस्तो भयो । केही नदेखिने भयो भनेर म नीच मारेर निदाउने कोशिश गर्दै थिएँ । म झकाउँन लागेको थिएँ, कपिलले कोट्याउँदा चाल पाएँ । साथी कपिल मेरा पछिको झ्यालका छेउको सीटमा बसेको थियो । हप्ता दिन अघि नै बुक गरेको हुनाले हामीले त्यसरी झ्यालका छेउका सीट लिएका थियौँ ।
बिहान आठ बजे बसले हामीलाई पेरिसको गेल्जेनी टर्मिनसमा ओराल्यो । सार्वजनिक ट्वाइलेट भए पनि यहाँ सिक्का छिराउँदा मात्र ढोला खुल्ने रहेछ । युरोपमा नोट नभए पनि चल्छ किनभने कार्डले भुक्तान गर्दा हुन्छ तर गोजीमा खुद्रा सिक्का छैन भने अप्ठ्यारो हुने रहेछ । अलिक पर्तिर मद्रासी केफेमा भरपेट खाजा खाएर हामी शान्ति चोक गयौँ । सुजेनलाई त्यही भेट्यौं । 14 जुलाइको दिन फ्रान्सको राष्ट्रिय विदाको दिन रहेछ—हाम्रो स्वाधीनता दिवस जस्तै । यो दिवसलाई बास्तिल दिवस पनि भनिँदो रहेछ किनभने सन 1789 मा फ्रेन्च विप्लवको समयमा स्वाधीनताकामी क्रान्तिकारीहरुले बास्तिलको कारागार तोडेका थिए । सुजेनले फ्रेन्च रिभोल्युसन, बास्तिल कारागार भन्दा मलाई कता कता पढे जस्तो लाग्यो । सम्झिएँ, कितापको नाम ‘अ टेल अफ टु सिटिज’, लेखक चार्ल्स डिकेन्स । घरमा यो किताप छ, 2012 सनमा म्याट्रिक परीक्षा सकिए पछि पिताजीले दिनुभएको थियो । त्यस पुस्तकमा एउटी युवतीले बास्तिल कारागारमा थुनिएका डाक्टर पितालाई भेट गर्दा पिताले आफ्नै नाम भुलिसकेको अनि कारागारबाट छुटेका कैदीहरुले बाटामा पोखिएको मद चाटेको दर्दनाक कथा छ । घर पुगे पछि पढ्ने पुस्तकको सूचीमा यो पुस्तक नाम थपें ।
राष्ट्रिय पर्वका दिन धेरै भिडभाड र चहलपहल हुँदोरहेछ । सुरक्षाकर्मीहरु जाँच पडताल गरिरहेका थिए भने आकाशमा हेलिकोप्टरहरु चक्कर लगाउँदै थिए । नाम शान्तिचोक भए पनि यो ठाउँ धेरै हिंसा र अशान्तिको साक्षी बनेको रहेछ । यो त्यही ठाउँ रहेछ जहाँ लुई सोह्रौंलाई गिलोटिनमा चढाएर फाँसी दिइएको थियो । लुईकी पत्नी एन्टाइनेटको पनि क्रान्तिकारीहरुले यही ठाउँमा टाउको छिनालेका थिए रे ।
इतिहास मेरो प्रिय विषय भए पनि अध्ययन भने नगण्य रहेको छ । मेरो मानसपटमा हाइस्कुलमा पढ्दाको इतिहासको घुर्मैलो चित्र देखा पर्यो । फ्रान्सका भोका नाङ्गा गरीब जनतालाई ‘खाने रोटी छैन भने केक खाओ’ भन्ने निष्ठूर रानी तिनै थिइन भन्ने मलाई विश्वास भयो ।
त्यहांदेखि हामी अघि लाग्यौँ । लगभग दुइ किमि दूरीको यो बाटो हामी हिँडेरै गयौं, सबै नै हिँडिरहेका थिए । सडकका दुबैतिर रङविरङ्गी फूल फुलेका, रुख र पोथ्राहरु पनि मिलेका साह्रै सुन्दर देखिएका थिए मानों कुनै चित्रकारले क्यानभसमा सिर्जना गरेको अनमोल कलाकृति हो, हेरेर नअघाइने । त्यसैले होला नाम पनि उस्तै जुराएको—‘प्याराडाइज अफ गड्स’ । हामीले वैकुण्ठपुरी भन्नु पर्ला । यसरी जिउँदै वैकुण्ठपुरीको चक्कर लगाउँदै हामी अर्को एउटा वृत्ताकार चोकमा पुग्यौं । यो चोकमा बाह्रवटा बाटा आएर जोडिएका रहेछन । यस ठाउँलाई आर्क डा ट्रायुम्फ (विजय चोक) भनिँदो रहेछ । यो चौरी विशाल रहेछ । यसका बीचमा एउटा अग्लो बेदीमा कुनै सिपाहीको समाधि देखियो । एक छिन रमिता हेर्दा हेर्दै त्यस ठाउँमा फ्रान्सका महामहिम राष्ट्रपतिको आगमन भयो । अत्यन्त छोटो स्वागत कार्यक्रम, राष्ट्रपतिलाई फूलको गुच्छा दिए । डायसमा भीआइपीको भीड देखिएन । निहालेर हेरें— त्यहाँ सुसज्जित मञ्च थिएन, राष्ट्रपतिलाई आसनमा बसेको पनि देखिनँ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई फोटोमा देखेको, आज उनैका देशमा छेउबाटै हेरें । गोरा, अग्ला, सुन्दर देखिएका थिए । उनले निकै जोशिलो भाषण दिए जस्तो लाग्यो तर बुझ्ने उपाय थिएन । हामीमा साथी सुजेनले बुझिन् । त्यतिखेर मैले स्वाधीनता दिवसमा लालकिल्लाबाट दिएको भाषण सम्झें । विजयचोक मलाई दिल्लीको इन्डिया गेट जस्तो लाग्यो । जेहोस, कुरा नबुझेर के भयो आज फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई प्रत्यक्ष रुपमैं देखें, उनको बोली पनि सुनरे धन्य भएँ । यो दृश्य मेरा मनबाट छिटै वा सजिलै मेटिने छैन ।
आर्मीको परेडमा कला कौशलहरु प्रदर्शन गरिए । सबै आकर्षणीय थिए, हेरेर राम्रो लाग्यो ।
लुभ्रे म्युजियम : मोनालिसाको चित्र
विश्वकै सबैभन्दा ठूलो कला लुभ्रे संग्रहालय र स्मारक भवन सेइन नदीको उत्तरी तटमा रहेछ । यस संग्रहालयमा पैंतीस हजार कलाकृति प्रदर्शनमा राखिएका छन भन्ने कुरा जान्न पाइयो । सङ्गीत-कला-साहित्य आदि सबै क्षेत्रमा फ्रान्स अगुवा रहेको कुरा सुनेको थिएँ । आज त्यही पीठस्थानमा आइपुगेको छु । लिओनार्डो दा भिन्सीको अमर सिर्जना मोनालिसाको चित्र यहीं सुरक्षित रहेको छ । नजीकै जान मनाही रहेछ, परैबाट हेरियो । आजसम्म कतिले हेरे होलान यो चित्र ? । मोनालिसाको चित्रका बारेमा धेरै किम्बदन्ती रहेछन । पिताजीका साथी गोकुल काका (प्रख्यात चित्रकार गोकुल छेत्री) घरमा आएका बेला सुनेका कुरा याद आए । याद आयो चित्रकला र फ्रान्ससँग जोडिएको नेपाली चित्रकारको नाम अहिले याद आएन । हाम्रो घरको पुस्तकालयमा डेन ब्राउनको ‘डा भिन्सी को’ भन्ने पुस्तक देखेको छु तर पढेको छैन । यतिखेर मलाई चित्रकलाको बारेमा धेरै उत्सुकता भएको छ ।
सुजेनले ‘लुभ्रे’ नाम कसरी भयो त्यो कुरा सुनाइन । यो शब्द फ्रेन्च ‘लुपुस’ (Lupus) बाट ‘लुपारा’ हुँदै लुभ्रे भएको रहेछ । फ्रेन्चमा ‘लुपुस’ शब्दको अर्थ ब्वाँसा (Wolves) हुँदोरहेछ । यसबाट के बुझिन्छ भने यो ठाउँ ब्वाँसै ब्वाँसाले भरिएको, उनीहरुको आश्रयस्थल, ठूलो अरण्य रहेछ । मान्छेले तिनीहरुलाई उच्छेद गरेर आफू जीवश्रेष्ठ भएको प्रमाण देखाउन शिल्पकलाको चमत्कारपूर्ण संग्रहालय बनाएछ । धन्य छौ ब्वाँसाको प्रजाति मास्नेहरु ! तिमीहरुको भौतिक विकास यसरी भएको रहेछ !! मान्छेको भौतिक विकासमा गर्व गर्ने जुक्ति छैन ।
आइफेल टावारको फायार वर्क्स
पेरिसमा घुम्नु पर्ने हेर्नु पर्ने ठाउँ नै कति हुन कति । हामीले आइफेल टावारको दर्शन गर्यौ । सहपाठी सुजेन अहिले हाम्रो गाइड भएकी छिन । आइफेल टावारको फायार वर्कस हेर्नु पर्ने आश्चर्य रहेछ । लाखौं रङविरङ्गी बिजुली बत्तीहरुको प्रकाशमा आइफेल टावारको अपरुप सौन्दर्य वर्णन गरी नसक्नु ! रङबिरङ्गी बत्तीहरुको झिलिक मिलिकमा कहिले एक पाटो, कहिले अर्को पाटो अनि कहिले टावरको माथि टुप्पैसम्म देखिएको थियो । उसरी नै विभिन्न कलात्मक आकारमा आकाशमा आतजबाजीको चमत्कारी दृश्य हेरेर नअघाइने । कला र विज्ञानको अपूर्व मेल देख्न पाएको आजको दिन मेरा लागि अविस्मरणीय ऐतिहासिक दिन बनेको छ ।
लुभ्रे म्यजियमको छेउमा लेखक
तीन दिनको छुट्टी, दुई दिन सकियो। बाबा भन्नु हुन्छ लन्डन पनि जा। बाबाले बेलायतका नेपाली साहित्यकारहरुको नाम र सम्पर्क ठेगाना मेलमा पठाउनु भयो। कृष्ण बजगाईँ, विजय हितान, विश्वासदीप तिघेला, जया राई आदिसँग कुराकानी गरेको छु भन्नु भयो। तिनमा कृष्ण बजगाईँको दुइ दिन घरमा राखेर लन्डन डुलाइदिन्छु भनेको इमेल पनि मलाई फरवर्ड गरिदिनु भयो। सुरुङ मार्गबाट इङलिस चेनेल पार गरेको सुनेको छु। मलाई पनि मन लागेको तर इङ्लेन्डका लागि छुट्टै भिसा चाहिने रहेछ। युरोपियन युनियनबाट इङ्लेन्ड छुट्टिनाले यस्तो भएछ। लन्डन जान नसक्नु मलाई भन्दा पनि बाबालाई धेर थक्क थक्क भयो।
कति राम्रो लेखेछन!
आमा भन्दा छोरी बोक्सी जस्तो पो भयो त।