‘परिवर्तन र अन्य कविता’मा आँखा डुलाउँदा……
|तिम्रा ती हातका हरिया चुरा फुटेका दिन
चुराका चोइटाहरूले
तिम्रा नाडी रक्ताम्मै भएका थिए
तापनि तिमीले ऐया भनिनौ
सायद तिम्रो मनको घाउ शरीरको घाउभन्दा ठुलो भएर हो…
(‘विधवा’ कविताबाट, पृष्ठ- ५४)
मनमुटु पोलेर निस्किएका उपरोक्त नारीस्वर कवयित्री निलीमा आचार्यका हुन् । असमेली काव्य जगतमा निलीमा आचार्य एउटा सुपरिचित नाम हो । असमको विश्वनाथ जिल्ला अन्तर्गत काउडीपथार ग्राम निवासी निलीमा एउटा व्यक्तिगत खण्डको विद्यालयमा शिक्षिकाका रूपमा सेवा प्रदान गर्नु अनि साथसाथै असम नेपाली साहित्य सभा, (अनेसास) विश्वनाथ जिल्ला समितिको कार्यकर्ताका रूपमा निरन्तर साहित्य सेवामा जडितहुँदै मुक्तक, कविता, कथा, उपन्यास बराबर लेखिरहनु लरतरो कुरा होइन । निकै लामो समयदेखि साहित्य साधना गरेवापत भर्खर कविता कृति प्रकाशित गर्न समर्थ भएकी निलीमा आचार्य युवाहरूका लागि प्रेरणास्त्रोत बनेगी छन् । उनको पहिलो कृति ‘परिवर्तन र अन्य कविता’ मा आँखा डुलाउँदै केही लेख्ने प्रयास गर्दैछु ।
दाइजो मूलढोकाबाट सुटुक्क भित्रिन सक्छ
पछिल्लो दरबाजाबाट पुग्दैन कुनै ऐनको टाँगो
ऐन त बनिएकै हो
दाइजो प्रतिरोध ऐन साठीकै दशकमा
सुन्ने कसले ? बुझ्ने कसले ?
कसैले कानमा ठोसो खादेका छन्
फेरि कोही चाहिँ काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भन्छन्
फेरि कोही चाहिँ मायाले त दिएको भन्दै आफूखुसी गर्छन्
(दाइजो, पृष्ठ- २७)
अन्धविश्वासको चपेटामा परेको समाजले अझै पनि समाज, परिवार, व्यक्तिलाई कतिपय नारीले नोकसान पुर्याएको सन्देह गर्छ र ती नारीलाई बोक्सीको उपाधिले बदनाम गर्दछ । खप्न नसकेर कवयित्री भन्दछिन् –
हदै नाघो अन्धविश्वासले यहाँ
अब कति नाघ्न दिनु?
ती समाजले उब्जाएका हलाहल विष
तल्लो घरकी साइँली बज्यैलाई मात्रै
किन पिउनु दिनु?
यतिमाथि पुगेपछि
क्षितिजको ढोका उघारेपछि
खुम्चिन्छ मन किन हाम्रा लाटा र सोझाहरूका निम्ति?
अकारण पालिन्छ किन कालो मैलो मनमा
समाजका ती होचा र निमुखाहरू प्रति?
आधुनिक युगका शिक्षित मानिस भएर पनि
अन्धविश्वास भित्रिन दिन्छौं किन घरघरमा ?
(बोक्सीको, पृष्ठ- ३०)
आफ्नो घर, परिवारको माया-मोहलाई बिर्सदै कुनै अपरिचित पुरुषसँग सुन्दर सपना सजाएर वैवाहिक जीवनको थालनी गरेकी नारी जब विवाह विच्छेदको दलदलमा फसिन्छिन् तब नारीलाई समाजले नराम्रो दृष्टिले हेर्दै बाँच्नसमेत ढुक्कले दिँदैन । अनेकथोक अपजसहरू सहन गरेका नारीहरूका निम्ति कवयित्री अगुवा भई उभिँदै कराउँछिन्-
साइनो त अघि नै मरेको थियो
आज पेपरमा गरेको हस्ताक्षरले त्यसको अन्तिम संस्कार भयो
कोही कोही भन्छन् उसले घर खान सकिन
हो….. यो साँचो कुरो हो
ऊ फर्केर जवाफ दिन्न
नचाहेर पनि उसको विवाह विच्छेद भयो
सम्झौता गर्न सकिन्छ प्रकृतिमा रम्ने मैनाले
भौतिक जगतलाई
सकिन अँगाल्न कृत्रिम प्रेमलाई ।
(विवाह विच्छेद, पृष्ठ- ३३)
छालाको रङमा सजिएको बिहेको बजारमा सधैँ उभिँदाउभिँदै दिक्क भएर कवयित्री छालाप्रेमीहरूलाई बिन्ती गर्दछिन् –
कुनै छालाप्रेमीका लागि मेरो मन्दिरको ढोका खुल्ला छैन
तपाईंहरू गएपछि म मेरा दुई भगवानले रोएको हेर्न सक्दिनँ
म मेरो कालो वर्णसँगै आफ्नो मन्दिरमा दुई देउतालाई लिएर खुसीले बाँचेको छु
यहाँ कुनै राक्षसको प्रवेश नहोस्
मेरो विनम्र अनुरोध ।
( कालो वर्ण, पृष्ठ- ४२)
विधवा नारीलाई मात्रै सामाजिक तगारोले छेक्ने पुरुष चाहिँ किन यो तगारोबाट मुक्त? पुरुषतान्त्रिक समाजलाई कवयित्री यसरी प्रश्न गर्दछिन् –
प्रश्न गर समाजलाई के विधवा हुनु पाप हो ?
किन उनीहरूलाई तुच्छ नजरले हेरिन्छ?
किन सेता कपडामा बेरिदिन्छन् तिम्रा इन्द्रेनी सपनाहरूलाई
किन आफ्नो श्रृङ्गार त्याग्न लगाउँछन्
स्त्री मर्दा किन यी ऐनहरूको प्रयोग हुँदैन
किन अछुत हुँदैन पुरुष
किन पतिले दिएको सिन्दुर अर्को कसैले पुछिदिन्छन् ?
( विधवा, पृष्ठ- ५४)
कथा कविताका ढाँचामा लेखिएका धेरैजसो कवितामै नारी स्वर प्रखर भएको देखिन्छ । नारीवादी कविताहरूले धेरैजसो ठाउँ ओगटेको यस कृतिले नारीको अधिकार मागेको छ । पारम्परिक समाज व्यवस्थामा परिवर्तन भित्र्याउने गुहार लगाएको छ ।
सामाजिक विकृति र विसङ्गतिप्रति कटाक्ष र सुधारका अभिव्यक्ति : अविश्वासलाई पन्छाउँदै विश्वासको दियो बाल्नेमा विश्वासी कवयित्री विश्वासले पूर्ण सुन्दर संसार सिर्जना गर्न यसरी आह्वान गर्छिन् –
आऊ न साथी चाँडो गरी
खाँचो टार्नु छ यहाँ
अविश्वासको अन्धकारमा डुबेको संसारलाई
विश्वासको दियोले उज्यालो पारौँ
आऊ न साथी मेला जाऊ
अलिकति विश्वास लिएर आऊ ।
(मेला, पृष्ठ- २३)
अन्धविश्वासमा ग्रसित मान्छेहरूलाई दासत्वको चङ्गुलबाट मुक्ति दिलाउनेमा पनि कवयित्रीको स्वर पछि हटेको छैन । उनी यसरी भन्छिन् –
औँठीले शोषण गरेको छ मान्छेलाई
कहिले मुक्त हुन्छ दासत्व जीवनबाट मान्छे ?
——————————
जीवनमा आएका ग्रहदोष नाश गर्न
कसैले साधु-सन्तको वाणी सुन्छन्
आश्वासनमा दगुरेर पोखराज, नीलम किन्नेतर्फ लाग्छन्
ग्रहदोष नाश गराउने तामझाममा गृहयुद्धको बिगुल बजाउँछन्
तापनि औँठी भिरेरै छाड्छन्
मुक्त मनले कर्म गर्न रुचाउँछन् औँलाहरू
उनीहरूलाई दासत्व जीवन जिउन बाध्य नगराउनुहोस् ।
(औँठी, पृष्ठ- २५)
छोरा र छोरीको सामाजिक भेदाभेदले कवयित्रीको मन दुखेको छ । छोरालाई काखमा र छोरीलाई पाखामा राख्नेहरूलाई उनी भन्न खोज्छिन् –
म जान्दिनँ छोरा र छोरी के हुन् ?
मलाई मात्रै यति थाहा छ दुवै सन्तान हुन्
छोरा आँखा हुन् भने छोरी ती आँखाको मणि हुन् ।
(सन्तान, पृष्ठ- ४९)
एउटै बाबु-आमाका सन्तान भएर पनि छोरालाई अलग्गै माया अनि छोरीलाई मायाबाट वञ्चित गराएको दर्दनाक दृश्य देखेर कवयित्रीको मन पोलेको छ त्यै त उनी भन्दछिन् –
एउटै शरीरका दुई अङ्ग
एउटा दाहिने अर्को देब्रे
दुवैका पाँचपाँच औँला
दुवैले एकर्काको शोभा बढाएका छन्
शरीर सुन्दर बनेको छ दुवैको सहभागिताले
परिपूरक छन् एकर्काका
सुख-दु:खका साथी
घाम र जूनजस्तै ।
(दाहिने र देब्रे, पृष्ठ- ६५)
सुधारका अभिव्यक्तिद्वारा समाज निमार्णका कुरा गर्दै आशावादी बन्न आग्रह गर्न पनि कवयित्री चुकेकी छैनन् । त्यसैले उनी मृत्युको कुरा होइन निर्माणका कुरा गर्न आग्रह गर्दछिन् –
किन मृत्युको गीत गाउनु साथी ?
हामिले त सधैँ मुस्काउनुपर्छ
आशाको गीत गाउनुपर्छ
समाजको लागि, देशको लागि
मृत्युका कुरा नगर न साथी
हामीले त निर्माणका कुरा गर्नुपर्छ ।
(मृत्युको कुरा नगर साथी, पृष्ठ- ६८)
साँघुरिएका मनलाई विशाल बनाउनलाई पनि कवयित्रीले आह्वान गरेकी छन् । अर्काको सिको सिक्दासिक्दै आफ्नो अस्तित्व गुमाउनु कतिसम्म युक्तिसङ्गत हो भनी प्रश्न पनि तेर्साएकी छन् । अस्मिता जोगाएर मात्रै अघिबढेको उत्तम भन्न खोजेकी छन् –
आँगन ठुलो हुनु भनेको त मन विशाल हुनु हो
तिम्रा बा-बज्यै सोझा होइनन्, महान हुन्
त्यसैले त घरअघि फराकिलो आँगन राखेका छन्
कृत्रिम बुद्धिजीवीहरूले आँगनमा
स्विमिङ पुल बनाए भन्दैमा
तिमी आँगनमा पोखरी नखनाऊ ।
(हाम्रो आँगन, पृष्ठ- ७९)
प्राकृतिक सौन्दर्यता : शिशिर ऋतुको सौन्दर्यमा कवयित्रीको मन उत्रावल भएको छ । शिशिरको वर्णन गर्दै उनले सर्दी, चिसो, हिमपातमा ठिङ्गुरिएका नाङ्गा रुख, ती रुखमा बसेका चराहरूको युद्धलाई गरिबहरूको जीवनसित तुलना गर्न सकिन्छ भन्ने धारणा राखेकी छन् –
शिशिर
वास्तविकताको पाठशालामा पढिने
एउटा अध्याय हो
एउटा घडी हो
दु:समयको सङ्घर्ष हो
गरिबहरूको निम्ति
(शिशिर, पृष्ठ- ७१)
आधुनिक रुख काट्ने मसिनले गाउँ-घरका रुखहरू क्षणभरमै गिँडेर चरा-चुरङ्गीहरूको वास मेटाउँदै गएको दृश्यदेखि कवयित्री चिन्तितहुँदै यसरी कवितामा आफ्नो दुखेसो पोख्छिन् –
त्यो मसिन हिजोआज गाउँ पसेको छ
कयौँ गर्भवती रुखहरूलाई
आफ्नो वासनाको सिकार बनाउँदै
उनीहरूको लास सडकमा फ्याकेर
ऊ आजभोलि हाम्रा गाउँका रुख-बिरुवालाई निल्दैछ
देश दुनियाँको हाउभाउ नजान्ने
कुवाको भ्यागुता जस्ता गाउँका ती निमुखा रुखले पनि के गरून्
(नयाँ युगको निर्माण, पृष्ठ- ५९)
भाषाशैली : कवितामा प्रयोग गरिएको भाषा सहज र सरल छ । कथा कविताकै ढाँचामा नै धेरैजसो कविताहरू रहेको पाइन्छ । पाठकहरूले सहजै बुझ्नसक्ने कविताहरूले रसस्वादनको अवसर प्रदान गरेको बुझिन्छ ।
शीर्षकीकरण : कविताहरूमा सम अधिकार, लैङ्गिक विभेद, कलुषित परिवेश, अन्धविश्वास आदिलाई पन्छाउँदै नौलो सोचसहितै सुन्दर समाज निर्माणको कुरा सशक्तरूपमा उठाएको छ । अर्थात् परिवर्तनको आशा गरिएको हुँदा पुस्तकको नाम ‘ परिवर्तन र अन्य कविता’ सुहाएको छ ।
निष्कर्ष : कविता पुस्तकको नाम ‘परिवर्तन र अन्य कविता’ रहेर नारीवादी गुञ्जन भए तापनि कुनै कुनै कविताहरूमा दार्शनिक अभिव्यक्ति, पितृ प्रेम, अस्मिताप्रति सजग, अपनत्वको महत्व, आशावादी चिन्तन आदि विषयहरूमा पनि कवयित्रीले कलम चलाएको पाइन्छ । धेरैजसो कथा कविता लेख्न रुचाउने निलीमाबाट आगामी दिनहरूमा भिन्नखाले कविताहरू पनि आशा गरिन्छ ।
कवि नीलिमा आचार्यको सर्जक प्रतिभालाई चिनाउने सुन्दर समालोचना। कवि नीलिमा र समीक्षक कृष्णनील कार्कीलाई बधाई र शुभकामना छ।