‘राँको’ नियाल्दा
|असम, विश्वनाथ जिल्ला अन्तर्गत गमिरि गाउँ निवासी रामप्रसाद दाहाल असम- उत्तरपूर्वाञ्चलकै गजल विधाको एउटा चर्चित नाम हो । उनको सन् २०१८मा प्रकाशित ‘राँको’ गजल सङ्ग्रह पढेपछि मनमा उब्जिएका भावहरू पोख्न खोज्दैछु । यस सङ्ग्रहमा ७२ वटा गजलहरू छन् । यस गजल सङ्ग्रह अघि नै उनले तिनवटा पुस्तक प्रकाशित गरिसकेका छन् । लच्किएका अनुभव (कविता सङ्ग्रह, २००१), मृत्युको पर्खाइमा (उपन्यास, २०११), उद्भव ( गजल सङ्ग्रह, २०१८) ।
भारतीय साहित्य प्रतिष्ठान, तेजपुर, शोणितपुर, असमबाट प्रकाशित दाहालको ‘राँको’ सङ्ग्रहका भूमिकाकार वरिष्ठ कवि मोहन सुवेदी दाहालका गजल प्रेममा परेको उनकै भूमिका लेखबाट थाहा लाग्छ -‘ असमेली नेपाली साहित्यमा गजल लेखनको परम्परा त्यति लामो छैन, औँलामा गनिन सकिने रचनाकारहरू मात्र गजलको गरिमामय संसारमा साधनारत भइरहेका पाइन्छन् । वर्तमान समयमा गहकिला गजलहरू लेखेर पाठक समाजमा चर्चित बनिसकेका गजलकार रामप्रसाद दाहालको यो कृति ‘ राँको’ ले निश्चितरूपले यस विधामा ठुलो थप पुर्याएको छ ।
उनका गजलका शब्दहरूले च्वास्स घोच्ने गर्दछ, केही चिन्ता गर्नुपर्ने बाध्यतामा पुर्याउँछ औं भावनाका लहरहरूले मन- मस्तिष्कलाई आन्दोलित पारेको हुन्छ । ‘ प्रसिद्ध गजलकार गोविन्द शाण्डिल्य पनि दाहालका गजलदेखि प्रभावित भएर नेपालीमा मात्रै होइन हिन्दीमा पनि गजल लेख्न आग्रह गरेको कुरा उनकै शुभकामनारूपी सन्देशमा यसरी लेख्छन् -‘ ….. समग्रमा भन्नुपर्दा प्राय: गजलहरू सुक्ष्म मानवीय सम्वेदनाले ओतप्रोत छन् । रदिफ, काफियादेखि लिएर गजलका धेरै अनिवार्य तत्वहरू प्रति सचेतन दाहालले नेपाली अतिरिक्त हिन्दी भाषामा पनि गजल लेख्न प्रारम्भ गरेको थाहा लाग्दैछ । हिन्दी गजल साधनाले ख्याति अर्जन गर्न सक्नु हामी सबैको लागि निकै गौरवयोग्य पक्ष हुनेछ निश्चय आशावादी बनौँ। ‘ गजल लेखनमा मात्रै केन्द्रित नरहेर असमका युवा पिँढीलाई गजल लेख्नुमा उत्साह र सिकाउने काममा पनि सदैव तत्पर दाहालका बारे कवि, कथाकार, उपन्यासकार डा. इन्दुप्रभा देवी यसै सङ्ग्रहमा शुभकामनारूपी सन्देशमा यसरी लेख्छिन् – ‘ असममा गजलको यात्रालाई निरन्तरता दिँदै आउने एकजना युवा गजलकार हुन् रामप्रसाद दाहाल।
संवेदनशील र सम्प्रेषणीय उनका गजलहरूमा जीवनका विशिष्ट पक्षका विशेष अभिव्यक्तिहरू छन्, सरल मानवीय अनुभूतिहरू छन् । ‘ यसरी नै मणिपुरकी कवयित्री वसन्ती पौडेल र शोणितपुर मिसामारीका रञ्जित छेत्रीले पनि शुभकामनाका हरफहरू कोर्दै दाहालका गजल मिठासले भरिएका कुरा स्विकारेका छन् । रामप्रसाद दाहालले ‘असम नेपाली साहित्य सभा’ को अगुवाइमा अनुष्ठित गजलको कार्यशाला र फेसबुकले गजल लेखनमा सघाउ पुर्याएको कुरा स्विकार्दै ‘मेरो केही भन्नु नै पर्नेहुँदा’ मा यसरी लेखेका छन् – ‘ वर्तमान समयमा असममा पनि केही गजलकार जन्मिएका छन् अथवा गजलको न्युनतम महफिल तयारी हुँदैछ, त्यो असम नेपाली साहित्य सभाको परिश्रमले गराएको प्रशिक्षणको नतिजा हो । फेसबुकले कसैको जीवनमा नकारात्मक प्रभाव पारेको छ होला तर मेरो जीवनमा ठुलो सकारात्मक प्रभाव पार्यो, पहिला त मलाई धेरै भन्दा धेरै साहित्यिक तथा गजलकार मित्र दियो अनि गजल सिर्जना गर्न सम्पूर्ण सहारा दियो ।’
सङ्ग्रहभित्रका गजलहरूमा सामयिक चिन्तन छ । वर्तमान समयको प्रतिबिम्ब छ । मातृवन्दना, पितृवन्दना, देशभक्ति,
जातीय अस्मिताबोध, मानवीय मुक्तिको जयगीत, मानिसबिचको अन्तर्कलह, विद्रोह, हुङ्कार, स्वाभिमान आदि आकर्षणीय शैलीमा प्रस्तुत गरिएको पाइन्छ ।
दाहालका गजलहरूमा जीवनको भोगाइ छ । छेउछाउको परिवेश । नौलो स्वादको समाहार छ । कविले भोगेको जीवन छ ।
‘घामको तीव्र तापमा पनि छहारी देख्छ कविले
योद्धाझैँ काँडा या कोइला पनि चेप्न चाहन्छ ।
कविले पुस्तक किन्ने क्रान्ति जन्माउन सक्तैन
आफ्नो स्वीकृति सिर्फ बधाईले भेट्न चाहन्छ ।’
(गजल- तीन, पृष्ठ- १९)
‘ आँखा नझिम्काइ म नजर लाउँदैछ कसैलाई
कोही मेरा आँखा छलेर भाग्न दाउ खोज्दैछ ।
हेरन सम्मान र कुर्सी खोज्दैछ बैमानी नेता
गरिब कवि बजारमा कविताको भाउ खोज्दैछ। ‘
(गजल- बार, पृष्ठ- २८)
‘मौन रह्यो, कविता लेख्यो समाजको लागि
तर लेखेर आफ्नो पेट पनि पालेन कविले ।
सधैँ भावुक भयो, पिर खप्यो, भोकै बस्यो
धरोधर्म आफ्नो ईज्जत फालेन कविले । ‘
(गजल- पचास, पृष्ठ- ६६)
दाहालका गजलहरू जति पढ्यो त्यति नै पढिरहन मनलाग्ने । मनछुने गजलहरूले भरपुर गजलीय आनन्द दिएको छ । गजलमा प्रेम-प्रीतिको भरमार छ ।
‘एउटा गजल लेख्न खोज्दैछु तिम्रो नाउँमा
रसिला शब्दमा आँखा चोब्दैछु तिम्रो नाउँमा ।’
(गजल -दस, पृष्ठ – २६)
‘तिमीले बिर्सेउ होला तर मैले भुलेको छैन
तिमी छाडी यो मन अरू कतै डुलेको छैन । ‘
(गजल- चालीस, पृष्ठ – ५६)
‘मृदु ओठमा लाली चडेपछि मलाई बिर्सेउ
तिम्रो रूपमा श्रृङ्गार बडेपछि मलाई बिर्सेउ।
(गजल – एक्काईस, पृष्ठ – ३७)
‘ तिमी हाँसीराख तिम्रो हाँस्ने मजबुरी छ
मेरो त मुटुभरि पीडा टाँस्ने मजबुरी छ । ‘
(गजल- छैंसठ्ठी, पृष्ठ- ८२)
दाहालका गजलमा गरिबको व्यथा छ । गरिबको कथा छ । गरिबले पाउने हक-अधिकार छ ।
‘हातमा धन नहुँदा मनै मरिदिन्छ गरिबको
दैवले पनि घाटा मात्रै गरिदिन्छ गरिबको ।’
(गजल – आठ, पृष्ठ- २४)
‘धनीले बूढी आमालाई एक्लै छोडेको छ
गरिब छोराले आमासँग दुख बाँटेको देखें । ‘
( गजल- नौ, पृष्ठ- २५)
‘निमुखा गरिब एकमुट्ठी माम नभेटेर हैरान छन्
पदप्रेमीहरू निम्तोपत्रमा नाम नभेटेर हैरान छन् । ‘
(गजल – छब्बीस, पृष्ठ- ४२)
‘ गरिब भन्छ छाक टार्न कतैबाट नुन पैंचो ल्याउँकी
धनी भन्छ लाज ढाक्न कतैबाट सुन पैंचो ल्याउँकी। ‘
(गजल- छत्तीस, पृष्ठ – ५२)
‘धर्मको नाउँमा करोडौं खर्च गरिन्छ हाम्रोतिर
गरिबले भोकाएर गला रेट्दा खटपटीएँ म । ‘
(गजल- सत्तरी, पृष्ठ – ८६)
दाहालले सामाजिक विसङ्गति, नेताहरूको रजगज र सरकारलाई जोडदार तरिकाले प्रहार गर्दै यसरी गजलमा प्रस्तुत गरेका छन्-
‘ हेर यो समाज हजार गुटमा फाटेको देखें
असत्य बोल्दिनँ भन्नेले सोझै ढाँटेको देखें । ‘
(गजल – नौ, पृष्ठ – २५)
‘ हाम्रा नेता सदनमा कुर्सी तानातान गर्दैछन्
यता जनता सडकमा ढुङ्गा हानाहान गर्दैछन्। ‘
(गजल – एघार, पृष्ठ – २७)
‘ मौका पर्नु भने यो धर्ती पनि बेच्छन् होला दलालले
पैसा लुट्न मुर्दाको गला पनि रेट्छन् होला दलालले । ‘
( गजल – तेर, पृष्ठ – २९)
‘सरकार, यो बताउ कि तिम्रो पारा के छ?
यो देशको प्रगति गर्ने छुट्टै चारा के छ? ‘
(गजल – चौध, पृष्ठ – ३०)
‘ सबैको भरमा नपर यहाँ दुशासन धेरै छन्
बैमानी चौरमा नचर यहाँ दुशासन धेरै छन् । ‘
( गजल – बाईस, पृष्ठ – ३८)
‘जस्ले आफ्नो घर जलायो ऊ समाज बनाउन हिँड्दैछ
मलाई लाग्छ ऊ समाजमा कचिङ्गल खनाउन हिँड्दैछ । ‘
(गजल – चौंतीस, पृष्ठ – ५०)
‘ बोल्दैनन् सरकारी कामदार नोट नदिउन्जेल
नेता बकिरहन्छ जनताले भोट नदिउन्जेल। ‘
(गजल – त्रिसट्ठी, पृष्ठ – ७९)
पितृ र मातृप्रेममा समर्पित दाहालका गजलहरूले मन चस्स छुने गर्छ । अनूभूतिक तीब्रता र भावपक्ष सवल भएर होला मन-मस्तिष्कलाई आन्दोलित पार्न सफल भएका छन् दाहालका गजलहरू……
‘जब यो मुटु चिरा पर्छ त्यतिबेला तिम्रो याद आउँछ आमा
यो मेरो हृदय कहाँ मान्छ हर घडी तिम्रैतिर धाउँछ आमा । ‘
(गजल – सत्ताईस, पृष्ठ- ४३)
आमासँग छोरो झर्केको देख्दा रुँदैछन् भगवान्
बूढो आँखामा आँसु दर्केको देख्दा रुँदैछन् भगवान् । ‘
( गजल- एकतीस, पृष्ठ- ४७)
गजलकार रामप्रसाद दाहालको ‘राँको’ गजल यात्राको दोस्रो फसल हो । पहिलो गजल सङ्ग्रह ‘उद्भव’ का भन्दा धेरै खारिएका गजलहरू ‘राँको’ मा छन् । अझ अहिले सोसियल साइटमा धेरै राम्रा गजलहरू उनीबाट लेखिएको दृष्टिगोचर हुन्छ । उनीमा धेरै परिपक्वता आइसकेको छ । कुनै पनि विधा होस् त्यसलाई निखारेर लैजान स्रष्टाका लागि त्यति सजिलो छैन । धेरै चुनौतीहरूको सामना गर्नुपर्ने हुन्छ । थुप्रै हन्डरहरू खप्नुपर्ने हुन्छ । अनि मात्रै सफलता हातलाग्छ । सफलताको शिखरमा पुग्न सकिन्छ । राम प्रसाद दाहालले पनि धेरै चुनौतीहरूको सामना गर्दै निरन्तर गजलको राँको बालेर गजल लेखनमा मात्रै सीमित नरहेर गजल वातावरण निर्माणमा पनि लागिपरेका छन् । नवीन शिल्पचेतना र परिवर्तित मूल्यबोधलाई आत्मसात गर्दै आगामी दिनहरूमा अझ गहकिला, भावपूर्ण, हृदयस्पर्शी गजल दाहालबाट सिर्जना होस् भन्ने आशा आशा गर्दछु ।