श्रद्धाञ्जलि रानूदेवी पौड्याल अधिकारीलाई !!
|आज देशको क्रान्ति युद्धमा हाम्रो एक पुकारा हो
लडदा लडदै मरे मरूँला यो यौटा नै नारा हो।
समाजमा गीतले पनि घोर परिवर्तनका निम्ति धेरै कार्य गर्न सक्छ। कुनै पनि आन्दोलनकालमा गीतको प्रसारणले योद्धाहरूमा जोस र उमङ्गको सञ्चारण गर्दछ। क्रान्तिकारी गीतहरूले आन्दोलनकालमा जनतालाई उत्प्रेरकको काम गरेको इतिहास पाइन्छ। भारत-चीनयुद्धका बेला सन् १९६२ सालमा कस्मीरको युद्धभूमिमा लता मङ्गेसकर स्वयम् युद्धभूमि पुगेर गाएको “ए मेरे वतन के लोगों जरा आँख मै भर लो पानी…” भन्ने गीतले युद्धमा सेनाका जवानहरूलाई ठुलो हौसला दिलाएको थियो।
त्यस्तै गरी २००७ सालको नेपालको क्रान्तिमा क्रान्तिकारी गीतहरूले ठुलो प्रेरणाको काम गरेको थियो। नेपालको जनगनमा नेपालबाट राणा शासन विरूद्ध नीडर भएर आन्दोलनमा उत्रिने परिवेश सिर्जना गरेको थियो। त्यस्ता क्रान्तिकारी गीतहरू गाउने पहिल गायिका रानूदेवी अधिकारी थिइन्। उनी त्यतिबेला तारिणीप्रसाद कोइरालाले विराटनगर जुटमिलमा वायरलेस सेटबाट सञ्चालन गरेको सर्टवेभको ४१. मेगाहर्ट्स् को प्रजाताञ्त्रिक रेडियोमा गाएकी थिइन्। त्यो गीत त्यति बेला नेपाली जनगनमा निकै लोकप्रिय भएको थियो। यसले काठमाडौं उपत्यका, दार्जिलिङ, बनारस, गोरखपुरसम्म ढाकेको थियो। रेडियोमा पहिलोचोटि गीत रेकर्ड गर्ने रानूदेवी अधिकारीको नाम इतिहासमा अङ्कित छ।
विसं. १९९० मा वीरगञ्जमा पौडेल परिवारमा साइँली छोरीका रूपमा जन्मिएकी हुन्। त्यो परिवारले चम्पारनको रामनगरमा खेतीपाती र घर जोडे पनि बनारसमा नै बेसी बसेको थियो। रानूदेवीहरूको बाल्यकाल बनारसमा नै बित्यो। २००६ सोह्र वर्षको उमेरमा बिराटनगरका मित्रप्रसाद अधिकारीसित बिहा भएपछि उनी बिराटगर आएर बस्न थालिन् । बिहापछि उनले मेट्रिक र आइ ए उत्तीर्ण गरिन् । उक्त अधिकारी परिवार नेपाली काँग्रेससित प्रत्यक्ष संलग्न थियो । उनी गाउन निकै रूचि थियो, स्वर राम्रो थियो ।
२००७ सालको आन्दोलनकालमा तारिणीप्रसाद कोइरालाले उनलाई प्रजाताञ्त्रिक रेडियोमा गाउन अनुरोध गरे । उनले त्यो बेला “आज देशको क्रान्ति युद्धमा”, “नेपाली हो अघि बढ़ हातमा क्रान्ति झण्डा लिई” भन्ने गीतहरू गाइन् । उनले त्यतिबेला संगीतको कुनै तालिम लिएकी थिइनन् । त्यति बेला ती गीतहरू विराटगरका वरिपरि, बनारस, दार्जिलिङ, आदि चारैतिर फैलिएको थियो । रानूदेवी आफैं पनि क्रान्तिमा प्रत्यक्ष संलग्न थिइन् । उनकी दिदी नोना कोइराला त बिपीकी भाइबुहारी हुनाले झन सक्रिय थिइन् । दिदीसितै उनी पनि जोगबनीमा बस्न थालिन्, जहाँबाट कोइराला परिवार र अधिकारी परिवार पनि बस्ने गर्थे। त्यहाँबाट क्रान्ति सञ्चालन हुन्थ्यो ।
क्रान्ति सफल भएपछि रेडियो नेपालसँगै उनी पनि काठमाडौं गइन् । काठमाडौंमा पनि केही गीतहरू गाइन् । “मेरो मुटुको माझमा कस्तो तस्वीर झल्कियो”, “चरी भुर्र् उडि मेरो घर जाउ” इत्यादि गीतहरू गाइन् । उनी परिवारको साथमा काठमाडौंमा बिपीको सरकारी निवासमा बस्थिन् । जहाँ बिपी गृह मन्त्री थिए । पछि एकदिन खुकुरीदलका कार्यक्रताहरू बिपीलाई मार्नआए थिए । उनीहरूले उक्त क्वार्टर तोडफोड गरे । बिपीले हत्तपत्त राजा त्रिभुवनलाई खबर गरेपछि राजाले सुरक्षाबाहिनी पठाएपछि उनीहरू बाँचे । त्यो दृश्य उनले आफ्नो आँखाले देखिन् । त्यसपछि दस-पन्ध्र दिन बिपी र आफ्नो परिवारका सदस्यसित राजा त्रिभुवनको राजवारमा बस्ने अवसर पाइन् । दरबार बस्ता उकुसमुकुस भएर बेसी दिन बस्न सकेनन् । दस-पन्द्र दिनपछि अन्यत्र बस्ने थालेका हुन् । त्सपछि उनी विराटनगर फर्केर बालिका माध्यमिक बिद्यालयमा शिक्षिका भइन । शिक्षण काम गर्दै उनले बीए र इतिहासमा एम ए सम्म पढिन् । एकपटक सङ्गीत तालिमको लागि भारतको बरोडा जाने मौका पनि पाएकी थिइन् तर घर गृहस्थीमा रहँदा जान सम्भव भएन । उनले कोलकाता गएर छवटा गीत रेकर्ड गरिन् । ती गीतहरूमा—“तिमी दूर देशका परदेशी“…. आदि हुन् ।
उनका परिवारका प्राय: सचेत, स्वतञ्त्र विचार भएका र राजनितीमा सक्रिय संलग्न भएका हुन् । एउटी दिदी कम्युनिस्ट, एउटी काँग्रसकी, अर्की राप्रपाकी, दाजु कम्युनिस्ट आफु काँग्रेसी । आफु शिक्षिका हुँदा अधिकारका निम्ति सांगठनिक रूपमा जेल पनि गइन् । नेपाली काँग्रेसको जिल्ला सभापति, नेपाली महिला सङ्घकी सक्रिय कार्यकर्ता आदि भएर राजनितीमा आँशिक रूपमा भाग लिइन् । उनले कुनै राजनैतिक फाइदा लिइनन्, कुनै सहुलियत लिइनन् । काठमाडौंमा उनको परिवार सम्पन्न छ । कोही अमेरिका र अरूआफ्नै वरिपरि छन् । उनी सुखी जीवन बिताइरहेकी थिइन् ।
आज बैसाख १९ गते २०७७ का दिन बिहानै उनको निधनको खबर फेसबुकमार्फत् प्रकाश सायमीको लाइभ प्रसारणको क्रममा कसैबाट थाह लागेर युट्युबबाट हेर्दा उनलाई नेपाल आजले लिएको अन्तर्वार्ताबाट यति जानकारी लिएको हो । उनलाई हार्दिक श्रद्धाञ्जलि !!