आमा हरिमाया पोखरेल र बुवा धनश्याम पोखरेलको कोखबाट बद्रीविशाल पोखरेलको जन्म भएको हो । भोजपुर साविक केउरेनी पानी वार्ड नं. १ हाल षडानन्द नगरपालिका दिङलामा २०११ साल असार १५ गते जन्मनु भएको हो । उहाँको शैक्षिक योग्यता एम. ए. नेपाली तथा विद्यावारधि गर्नु भएको छ । प्राध्याष्क बाट सेवा निवृत हुनु भएको छ । हाल इटहरी उपहानगर पालिका वार्ड नंं. ५ बसोबास गर्नु भएको छ । उहाँ राष्ट्रिय जन साँस्कृतिक महासंघ नोपल सँग आवद्ध हुनुहुन्छ ।
उहाँका प्रकाशित कृतिहरु– (१) अचेतन मनहरु कविता संग्रह २०५८ (२) श्रष्टा र ध्वस्त सालिक र आहत मनहरु, निबन्ध संग्रह २०६६ (३) पारिजात जीवनी व्यक्तित्व र कृतित्व समालोचना २०६५ (४) प्रगतिवादी कविता सिद्धान्त र प्रवृति, समालोचना २०५६ (५) डा. चापागाईका काव्य प्रवृति, समालोचना २०६७ (६) तिमसिनाका कविताको विवेचना, समालोचना २०६९
मुलुक भित्रबाट प्रकाशित हुने राष्ट्रिय दैनिक स्थानीय पत्रपत्रिकामा नियमित लेखन गरिरहनु भएको छ । डा. वद्रीविशाल पोखरेलसँग स्वतन्त्र पत्रकार ऋतु आसीकद्धारा लिइएको अन्र्तवार्ता यहाँ प्रस्तुत गरिएको छ ।
तपाईंको दृष्टिमा साहित्य के हो ? र प्रगतिशील साहित्यलाई कसरी चिन्हाउन
सकिन्छ ?
जीवन जगतको कलात्मक प्रतिबिम्ब साहित्य हो भने आम श्रमजीवी जनताको जागरणमुखी तथा तिनको हक,हित,उत्थानसित समर्पित कलात्मक लेखन प्रगतिशील साहित्य हो । यसलाई अर्को शब्दमा वर्ग विभाजित समाजमा कला,साहित्य र संगीत पनि वर्गीय राजनीतिसित सम्बन्धित हुन्छ त्यस मानेमा मार्क्सवादी मान्यताअनुसार लिखित साहित्य प्रगतिशील,प्रगतिवादी,समाजवादी यथार्थवादी साहित्य नै जनताको साहित्य हो । तर नेपाली साहित्यका सन्दर्भमा प्रगतिशील साहित्य सम्बन्धी मान्यताहरु फरक फरक छन् ।
ती फरकहरु के के हुन् ?
पहिलो कुरा त प्रगतिशील शब्दका कोशीय अर्थ उन्नति हो भने प्राविधिक अर्थ कुनै पनि सिर्जनाहरुका बीच तुलना गर्दा तथा सापेक्ष अर्थमा कुन भन्दा कुन् प्रगतिशील भन्ने कुरा हुन्छ । अर्को समाजका कुरुप पक्षको विरोध गर्नु पनि प्रगतिशील लेखन हो । यसर्थ प्रगतिशीललाई आलोचनात्मक यथार्थवाद पनि भन्न सकिन्छ । तर प्रचलनका दृष्टिले प्रगतिवादकै पर्यायका रुपमा पनि प्रगतिशील शब्दलाई लिने पनि गरिन्छ तर साँच्चो मानेमा प्रगतिवाद भनेको माक्र्सवादी विश्वदृष्टिकोणका आधारमा लेखिएको वर्गपक्षधर साहित्य चाहिँ प्रगतिशील हो तर प्रगतिशील भने त्यस खालको सचेतन लेखन होइन । प्रगतिवादलाई नेपाली सन्दर्भमा भिन्न भिन्न रुपमा परिभाषित गरिएको पाइन्छ ।
त्यो भिन्नता पनि स्पष्ट पारिदिनु हुन्छ कि ?
सारमा भन्नु पर्दा बहुदलीय प्रतिस्पर्धा सहितको कम्युनिष्ट राजनीति गर्नेहरु प्रगतिवादलाई जनवादी तथा लोकतान्त्रिक मान्छन् । यिनीहरु जनताको बहुदलीय जनवादका आलोकमा भिन्न सिर्जना र सिद्धान्तको अस्तित्वलाई मान्दै तिनसित स्वस्थ्य प्रतिस्पर्धा गरेर श्रेष्ठता हासिल गर्न चाहन्छन् । यिनीहरु वर्ग विभाजित समाजमा भिन्न सिर्जना र सिद्धान्तलाई बल प्रयोग गरेर निषेध गर्नु कायरता ठान्छन् किनकि सही विचार हुनेहरुले विचारकै बलमा कमजोर सिर्जना र सिद्धान्तलाई परास्त गर्ने सामथ्र्य राख्नुपर्छ भन्छन् तर माओवादी नयाँजनवादी परम्परागत रुढ मताबलम्बीहरु प्र्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्नु भन्दा बल र यसको प्रयोगका आधारमा आफ्नू सिद्धान्त र सिर्जनालाई श्रेष्ठ सावित गर्न चाहन्छन् । त्यसैले यस खालको प्रगतिवादलाई एकात्मक, नियन्त्रित तथा अतिवादी प्रगतिवाद भनिन्छ । अर्को कम्युनिष्ट विचारधारामा देखापर्ने विसर्जनवादी धारका सर्जकहरुले मान्ने प्रगतिवाद पनि देखिन्छ । यसमा चाहिँ वर्गविचलन तीव्रतर हुन्छ । यस खालको विचलन सही माक्र्सवादी धार भनेरमात्र हुँदैन । सचेतनता सहितको सौन्दर्यपूर्ण लेखनबाट मात्र सही प्रगतिवादी धारको प्रतिनिधित्व हुन्छ ।
तपाईंको लेखन प्रेरणा,लेखकीय व्यक्तित्व र लेखन उद्देश्य के होला ?
२०२५ सालमा भूत विषयको मेरो पहिलो लिखित कविता हो । पहिलो प्रकाशित रचना तैपनि अक्षरहरु बोलेनन् शीर्षकको पीपल पत्रिकामा २०३० सालमा प्रकाशित कथा हो । तत्कालीन चन्द्र संस्कृत महाविद्यालय हालको चन्द्र संस्कृत माध्यमिक विद्यालय,पिण्डेश्वर क्याम्पस र धरानको साहित्यिक वातावरण सिर्जनाको प्रेरणा हो भने विद्यार्थी जीवनमा त्य बेलाका अग्रज विद्यार्थी साथी प्रल्हाद आचार्यको लेखन कर्मबाट प्रेरित भएर कथा लेखनमा सक्रिय रहँदै आइयो । लामो समय प्राध्यापकीय जीवनले समालोचना क्षेत्रतिर डो¥यायो । अहिले सम्ममा कविता,निबन्ध र समालोचना गरी ६ वटा पु्स्तकाकार कृतिहरु प्रकाशित छन् । जनवादी तथा लोकतान्त्रिक प्रगतिवादी लेखन मेरो लेखन आदर्श हो । वर्गपक्षधरताका साथ कलात्मक प्रगतिवादी लेखनका माध्यमबाट सभ्य,भव्य,समानतायुक्त समाज निर्माणमा परोक्ष तर प्रभावशाली भूमिका निर्वाह गर्ने कुरामा मभित्रको सर्जक अत्यन्त सचेततापूर्वक क्रियाशील हुन्छ ।
साहित्यमा प्रेम,यौन तथा श्लील र अश्लीलताका बारेमा यहाँको विचार ?
प्रेम र यौन मानव जीवनसित घनिष्ट रुपमा सम्बन्धित पक्ष हुन् । यी दुवैलाई मानव जीवनबाट अलग गर्न सकिन्न । तर यसको अर्थ यसलाई सामाजिक,नैतिक र उदात्त मानवीय आदर्शका साथ उपयोग गर्नु सामाकि अनुशासनका लागि अपरिहार्य हुन्छ । साहित्यमा यी दुवै पक्षलाई शालीन,शिष्ट र मर्यादित रुपमा कलात्मक प्रतिबिम्बन
गर्नुपर्छ । यस खालको लेखन नै सही प्रगतिवादी हुन्छ नत्र जसले प्रेम र यौन नाममा निर्वस्त्र,निर्लज्ज प्रस्तुति हुन्छ र यसले समाजलाई सही दिशा निर्देश गर्न सक्तैन । यी दुवैको मर्यादित,शिष्ट र शालीन प्रस्तुति श्लील साहित्य हो नत्र अश्लील साहित्य हुन्छ । अझ प्रेमको कुरा गर्दा राष्ट्रप्रेम,अन्तर्जातीय प्रेम र सद्भाव जस्ता हाल नेपाललाई विखण्डन गर्न खोज्नेहरुका विरुद्ध सशक्त लेखन जरुरी देखिन्छ ।
पहिचान साहित्य र प्रगतिवादी साहित्यमा के फरक होला ?
व्यापक अर्थमा हेर्दा सबै साहित्य लेखन र लेखकका आआफ्ना अलग अलग परिचय र पहिचान हुन्छ । प्रगतिवादी लेखन भित्रै पनि अनेक पहिचानको सन्दर्भ माथि नै आइसकेको छ । सोलोडोलो पहिचान मात्र भन्दा प्रगतिवादी लेखनको मूल पहिचान स्पष्ट हुन्न तर अहिलेको सन्दर्भमा पहिचान साहित्यको विशेष सन्दर्भ र प्रसंग रहेको देखिन्छ ।
तपाईंको अर्थमा पहिचान के हो ?
पहिचान सामान्य तथा विशिष्ट परिचयको सबाल हो । यो जीवन र जगत् नै विविध आकार,आयाम र पहिचानपरक छ र हुन्छ । माओले एउटा कुनै एक रुखका हरेक पातहरुको भिन्नाभिन्नै आकार,आयाम हुन्छ भनेका छन् अर्थात् उनको यो कुरा हरेक विषय,विधा र प्रवृत्तिका आआफ्ना भिन्नभिन्न परिचय हुन्छ भन्ने आशय हो । अब तपाईंको प्रश्नको अहिलेको अन्तर्यलाई आधार मान्ने हो भने हरेक सर्जकको सोच,समझ,सिर्जना,धार,धारा र प्रवृत्तिले आआफ्नो छुट्टै परिचायक सामथ्र्य बोकेको देखिन्छ । त्यसैले सामान्य भाषामा परिचय मात्रात्मक सामान्य स्तरको तथा गुणात्मक विशिष्ट स्तरको परिचायक नितान्त मौलिक पक्ष हो ।
नेपाली साहित्यमा पहिचान साहित्य लेखनको अवधारणालाई कसरी लिनु भएको छ ?
कुनै पनि विषयमा गहिरिएर सोच,विचार,चिन्तन र विश्लेषण गर्ने कुरा स्वयंमा जाती कुरा हो । यसरी मन्थन गर्दा नै नौनी निस्कन्छ । त्यसैले पहिचान कला, साहित्य,संगीत,भाषा र संस्कृति विषयमा बौद्धिक प्राज्ञिक तथा सिर्जनात्मक छलफल गर्न खोजिएको विषयलाई सकारात्मक ठानेको छु । र सामान्य रुपमा यो पहिचान लेखन कुनै खासै नयाँ कुरा नभए पनि अहिले उठान गर्न खोजिएको अर्थ र सन्दर्भ भने भिन्न,विशिष्ट र प्रयोजनपरक देखिन्छ । यस बहसले किनारीकृत जातीय तथा सांस्कृतिक ,भाषिक,सिर्जनात्मक पहिचान विशेष अर्थ र सन्दर्भ बोकेको देखिन्छ । साहित्यकार सगुन ससुरा लगायत स्रष्टाहरुले उत्तरवर्ती लेखनका नाममा यही विषयगत सार उजागर गर्न खोजेको देखिन्छ ।
एक जाति,भाषा,लिपि,धर्म,इतिहास,संस्कृति र साहित्य र त्यसको एकाधिकार,आधिपत्यले मात्र राष्ट्रिय समग्र सन्दर्भ र सारलाई प्रतिबिम्बित गदैन भन्ने कुरा पहिचानवादका नामबाट उठान भएको हो । समाज विकासको क्रम तलबाट माथि,सरलबाट जटिल,निम्नबाट उच्च तहमा जान्छ । एउटा मानिसको जन्म समयमा उसको पहिचान वंश,जाति,धर्म,नश्ल,रङ जस्ता सामान्य खालको हुन्छ तर समय क्रममा त्यही बालकको पहिचान परिवर्तित हुँदै जान्छ र विशिष्ट पहिचान बन्छ । त्यस बालकले कतिपय लिलिपुट पहिचानका स्थानमा उच्च उदात्त पहिचान बनाउँछ,आर्जन गर्छ । अनि उ अमुक जाति समुदायको भएर जन्मिए पनि बुद्ध बन्छ,महात्मा गान्धी बन्छ,देवकोटा,शंखधर साख्वा बन्छ । कुनै एक समयको पर्वते,पहाडी,खस भाषा नेपालमा बोलिने नेपाली राष्ट्रभाषा मात्र होइन विश्वस्तरमा प्रख्यात बन्ने क्रमको विशिष्ट र उच्च पहिचानमा परिवर्तित हुँदो देखिन्छ । कसैको पनि विशिष्ट पहिचान उसको गुणवत्ताको परिणाम हो । आदिम तथा पुरानत समाजमा उतिबेलै किन आधुनिक चिन्तन र कार्य भएन भन्नु एक प्रकारको अबुझपना नै हो । परिवर्तित सामाजिक अवस्थासँगै मानवीय चेनता क्रमशः विकसित हुँदै जान्छ ।
बाल्य बयमा नै कुनै पनि मानिस परिपक्व हुनैसक्तैन । तर व्यक्ति र समाजको उमेर सँगै विगतका कमी सच्याएर परिमार्र्जन गरेर अघि बढ्नु नै बुद्धिमानी हुन्छ । अझ वर्गीय समाजमा वर्गहित अनुसार चल्दा निम्न र निम्नतर वर्ग सबै खालको शोषण, शासन र उपेक्षामा परेको हो । हिजोका दिनमा जो जुन वर्ग,जाति,संस्कृति समुदायका प्रतिनिधि शाषन व्यवस्था,शक्ति,व्यक्ति,जाति र समुदायबाट थिचोमिचो भए पनि बदलाको भावना मात्र नराखी सुधार,संशोधन र परिवर्तन गरेर अगाडि बढ्नु नै जाती कुरा हो । आदिम अवस्थामा नै पनि मानवले आफ्ना नैसर्गिक तथा समाजोपयोगी उच्च चेत,चिन्तन लाई सञ्चय र विकास गर्दै अगाडि बढेको देखिन्छ । संसारको सबै भन्दा प्राचीन सनातन धर्म संस्कृतिमा सर्वभूतेषु आत्मवत् अर्थात् संसारको सम्पूर्ण प्राणी जगत्लाई आफू र आफ्नो प्राण सरह समान ठान भनेर उल्लेख गरिएको छ । त्यहाँ त वनस्पति जगत्मा भलक्क हेर्दा प्रत्यक्ष नहुने तर सजीव प्राणी सरहको प्राण तत्व हन्छ भनिएको छ । यस खालको चेत र चिन्तन अन्यान्य धर्म र संस्कृतिमा हुँदैन र छैन भन्नै सकिन्न । वर्ग समाज र वर्गीय शासन प्रणालीको उदयसितै एकल सांसकृतिक श्रेष्ठताको मानसिकता प्रारम्भ र विकास हुन गएको देखिन्छ । यसमा फेरि अमुक उच्च जाति समुदायमा मात्र यस खालकाृे चिन्तन थियो भनेर अतिवादी विचार कदापि पुष्टि हुँदैन । एउटा ब्राम्हण,क्षेत्री,गुरुङ,राई,मगर,लिम्बू आदि हर जाति,भाषा र संस्कृति समुदायको आफ्नू खालको वर्ग चरित्रको व्यक्तिले आफ्नै खलक वा जाति समुदायका व्यक्तिहरुलाई शोषण उत्पीडन गर्न बाँकी रहेको देखिँदैन । अझ सामन्तवादी शासन व्यवस्थामा राष्ट्रिय हबाला दिएर एकल धर्म,संस्कृति,राजनीति,भाषा,सामाजिक मनोविज्ञान कला साहित्य तथा सौन्दर्य सम्बन्धी एकल मान्यता अघि सारेकै हो ।
सामन्ती शासन व्यवस्थामा पनि प्रगतिशील तथा लोकतान्त्रिक चिन्तन र लेखनले बहुविचार,भावना,संस्कृति,भाषा,साहित्य र सौन्दर्य जस्ता विषयहरु उठान गरेको बिर्सन मिल्दैन । २०११ सालतिर प्रगतिशील लेखक सङघले नेपाली भाषामा मात्र होइन नेवारी,मगर,मैथिली आदि भाषामा कविता लेख्ने संगठित अभियान सुरु गरेको देखिन्छ । त्यस बेला बालकृष्ण पोखरेलले समेत आफ्नू नाम केकेनुम्च्यो राखेको अवगत नै छ । २००४ सालमा नेपाली राष्ट्रिय काङ्ग्रेस हुँदै नेपाली काङ्ग्रेस पार्टीको प्रारम्भ सँगै सुरु प्रजातान्त्रिक आन्दोलन र यसका माध्यमबाट आरम्भ श्री ५ र श्री ३ र तिनका जहान र परिवार तथा नितका आसेपासे मात्र सम्मानित नागरिक अरु सब रैती ठान्ने मानसिकतामा क्रमिक परिवर्तन हुने अवस्था र मनोविज्ञान सुरु भएकै हो । र अझ २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना सँगै तमाम श्रमजीवी शोषित,अपमानित ९५ प्रतिशत वा बहुसंख्यक जनताको हक हितमा आर्थिक,सामाजिक तथा सांस्कृतिक अधिकार दिलाउने सशक्त अभियान,आन्दोलन र संघर्ष गरेको इतिहासमा दर्ज भइसकेको विषयलाई नजरअन्दाज गर्न सकिन्न ।
प्रगतिशील लेखक सङ्घ २००९ का आधारमा प्रगतिशील लेखनका माध्यमबाट एकल जाति,भाषा र संस्कति विषयक एकाधिकार प्रदत्त वा एकधारे भाषा,साहित्य र संस्कृति विषय विपरीत मान्यता स्थापित गर्न प्रयत्न गरेकै हो । अझ २०१० देखि ०१३ साल सम्ममा पं.छविलाल पोखरेल,भाषाशास्त्री तथा साहित्यकार महानन्द सापकोटा यज्ञ प्रकाश अधिकारी, आदिले अनेकौँ प्रतिकूलता सित जुधेर दलित उत्पीडित,सीमान्तीकृत जन समुदायलाई शैक्षिक,सामाजिक आदि नैसर्गिक हकहित दिलाउनका लागि निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको छ । बालकृष्ण समको चीसो चूल्हो महाकाव्य विषयवस्तु,केन्द्रीय भाव र पात्र र प्रवृत्तिका आधारमा आभिजात्य संस्कृतिक चिन्तनमा धक्का दिएकै हो । पूर्वीय कला,साहित्य र संस्कृति आफैँमा महत्वपूर्ण हुँदाहुँदै पनि तिनमा निहित साहित्यकार मुनराज शेर्माका भाषामा एकधारे सौन्दर्य चिन्तन परिवर्तित परिप्रेक्षमा असान्दर्भिक भएको कुरा विगतमा नै उठेको हो । जब हामी जनताको सन्दर्भ हरक्षेत्रमा उठाउँछौँ भने जनताको तहमा तमाम श्रमजीवी अर्थात् बौद्धिक वा भौतिक श्रम गर्ने ९५ प्रतिशत जनाता नै आउँछन् । ५ प्रतिशत उच्च,अभिजात्य वर्गले मात्र जीवन र जगत् तथा राष्ट्रको समग्र सौन्दर्यको प्रतिनिधित्व गर्न सक्तैन ।
बरु गरिखाने वर्गले नै देशको हर आकांक्षा र माग परिपूर्ति गर्न बहुआयामिक अहं भूमिका र योगदनान गरेको देखिन्छ । त्यसका तुलनामा बसिखाने वर्गको हरक्षेत्रमा भूमिका तुलनात्मक रुपमा कमै रहेको छ । त्यसैले हिजो पहिचान नभनेर पनि बहुल विचार,धारणा,लेखन,सिर्जन र संस्कृति र अझ राज्यका कारण र न्यून चेतनाका कारण पछि परेको वा पारिको राष्ट्रको समग्र अनुहार र आकृतिलाई माक्र्सवादी,लोकतान्त्रिक प्रगतिशील दूरदृष्टि चेतका साथ क्रियाशील हुन खोजेको स्पष्ट हुन्छ । त्यसमा पनि पहिचानलाई वर्गीय कि जातीय कुन मापदण्डका आधारमा हुर्ने भन्ने विवाद देखिन्छ । वर्ग भनेको आधार हो र जातीय भन्नाले आधेय हो । वर्गलाई आधार बनाएर पहिचानको कुरा उठाउँदा तमाम किनारीकृत समाज आउँछ । र त्यस भित्र सबै उपेक्षित वा किनारीकृत भाषा,भेष,संस्कृति,कला,साहित्य र सौन्दर्य चिन्तन आउँछ । यसरी मात्र सबै खालको विभेदमा परेकाहरुलाई पहिचान गर्न पनि सजिलो हुन्छ र मापदण्ड सही पनि हुन्छ । तर जातीयतालाई प्रमुख मापदण्ड बनाउँदा खानै नपाउने,हुँदा खाने र हुने खाने जस्ता विविध खालको मानव समाज आउँछ । यस्तो अवस्थामा ती तीन जातीय श्रेणीमध्ये कुन चाहिँ जाति श्रेणीका मानवलाई केन्द्र बिन्दुमा राखेर सोच्ने भन्नभमा नै ठूलो समस्या तेर्सिन्छ ।
वर्गीय मापदण्डले तमाम खाले श्रमिक वर्ग जसको एक समान आर्थिक,शैक्षिक,सामाजिक,सांस्कृतिक,कला,साहित्यिक समस्या हुन्छ । त्यसमा आधारित भएर पहिचानमुखी समाधानको सूत्र फेलापार्न सकिन्छ । त्यसैले सामान्य मात्रै होइन विशिष्ट रुपमा पनि पहिचान नभनी यस खालको र आशयको सिर्जनशील चिन्तन र कार्य पहिलेदेखि भएको देखिन्छ । तर पहिचान भनेर शाक्य वंशी युवराज सिद्धार्थ गौतमको पहिचानमा मात्र सीमित हुने कि विश्व प्रसिद्ध बुद्ध पहिचानमा गर्व गर्ने ? माथि यस लेखकले रुख र पातको चर्चा गरेझैँ पातको पहिचानमा सीमित हुने कि रुखको पहिचानमा गौरवान्वित हुने ? जातीय,क्षेत्रीय,नश्लीय पहिचानमा रमाउने कि राष्ट्रिय अन्तराष्ट्रिय उच्च उदात्त गुणात्मक पहिचानमा गौरवबोध गर्ने भन्ने कुरा पनि पहिचान सित नै सम्बन्धित रहेको देखिन्छ । तर यसको अर्थ पूर्व पहिचानका सकारात्मक,समाज र जीवनोपयोगी शाश्वत पहिचान त्याज्य र वर्जनीय हुन्छन् भन्ने किमार्थ होइन । यस विषयमा आग्रह रहित भएर विमर्श गर्ने र त्यसबाट प्राप्त उच्च उदात्त निकर्षलाई ग्रहण गर्ने हो भने यसको प्रभाव नेपालमा मात्र होइन विश्वस्तरमा फैलिन सक्ने देखिन्छ ।
नेपालमा पहिचान साहित्यको आवश्यकता र औचित्य बारे तपाईंको मत के छ ?
हामीले यही खगोल र भूगोलमा भएकै कुरा नै खोज्दा पाउने हो । यहाँ हुँदै नभएको कुनै नयाँ हामी पाउन सक्तैनौँ । हामीले जे नयाँ भनेर खोजेको भन्छौँ ती सबै जीवन जगत्मा भएकै चीज हुन् । अरुले खोजेनन्,देखेनन् । हामीले खाज्यौँ देख्यौँ । खोज्दा भेटिन्छ र पाइन्छ । जसले देखेनन् तिनलाई त्यो नयाँ भयो । हामी कसैले देख्यौँ अनि हामीले नयाँ खोजेको भन्यौँ तर ती सबै यहीँ भित्र रहेका तर हामीले समयमै थाहा नपाएका विषय हुन् । जहाँ सम्म पहिचान लेखनको वर्तमान अवस्थाको कुरा छ । त्यो अहिले सचेत,सबल र क्रियाशील देखिन्छ । जसरी हिजोका दिनमा जीवन निरपेक्ष कि सापेक्ष कला साहित्यका विषयमा चर्को बहस भयो र कला साहित्यमा जीवनवादी मान्यता स्थापित भयो । यसका कारण समाजको परिचय विहीन विषय, भाव, परिवेश, पात्र,प्रवृत्ति, शैली, बिम्ब, प्रतीक आदि सिर्जनाका हर क्षेत्रमा मात्र होइन सामाजिक,आर्थिक,नैतिक,सांस्कृतिक र राजनैतिक क्षेत्रमा गहिरो प्रभाव प¥यो । यसले विश्व स्तरको सिर्जनामा सकारात्मक भूकम्प ल्यायो । अहिले पहिचान भनेर वा नभनेर पनि यस खालको लेखन प्रभावी हुन खोजेको देखिन्छ । यसले एक खालको पुनर्जागरण ल्याउन खोजेको हो कि भन्ने आभास हुन थालेको छ । त्यसैले पहिचान साहित्यिक धारणालाई अतष्वादी मान्यताबाट मुक्त पारेर अघि बढ्दै जाँदा यसबाट केही सकारात्मक पक्षहरु उजागर हुन सक्छ । तब मात्र यसको आवश्यकता र औचित्य सावित गर्न सकिन्छ ।
नेपाली साहित्यमा पहिचान लेखनको के कस्तो अवस्था पाउनु हुन्छ ?
पहिचान लेखन नभने पनि विगत वर्षहरु र अहिले पनि प्रगतिशील लेखनको गुण गरिमालाई कतिपय संघ,संस्थाले उपेक्षा गरेकै अवस्था पनि रहेको स्थिति छ । एकाङ्की,एकधारे,एकल खालको सोचका कारण सिर्जनात्मक सङ्घुलन विपरीतको स्थिति जहिले पनि जहाँ पनि आउन सक्छ । सिर्जनात्मक प्रतिस्पर्धा गर्ने र त्यसका आधारमा श्रेष्ठता ठहर गर्ने र यसलाई मापन गर्ने आधार मान्ने हो भने विभेदको गुन्जायस नै हुँदैन । त्यसैले एकात्मक सांस्कृतिक सोच अझै विद्यमान रहेको वर्तमान अवस्था र पहिचानका नामको अतिवादी सोचका कारण पहिचान साहित्यको प्रस्फुटन दिनानुदिन प्रगतिमा रहे पनि यसको उचाइ र विस्तार राम्ररी हुननसकेको हो कि भन्ने लाग्छ । यसको एउटा कमजोरी भनेको एकधारे भनेर सामन्तवादी कुरुप पक्षलाई आलोचना भन्दा अमुक उच्च जाति भनाउँदाप्रति कतिपय पहिचान समर्थक सर्जकले कटु आरोप तथा लाञ्छना लगाउनाले पनि पहिचान लेखन विस्तीर्ण बन्न नसकेको हो कि भन्ने देखिन्छ ।
पहिचान साहित्य र प्रगतिशील लेखनमा अपनाउनु पर्ने प्रवृत्ति र शैली बारे कुनै विशेष धारणा छ कि ?
यस विषयमा निरन्तर खोज अन्वेषण गरिरहनुपर्छ । पुर्खाहरुले अनेक छन्द,अलङ्कार,रस र भिन्न शैली र बान्कीहरु पत्ता लगाए । त्यसैले अहिले नवीन प्रवृत्ति र शैली निर्माण गर्न नसकिने कदापि होइन । रातो र पहेँलो रङ मिसाएर नौलो रङ बनाएझैँ कतिपय पुरानै शैली,अभिव्यक्ति र बान्कीहरुलाई सम्मिश्रण गरेर नवीन शैली निर्माण गर्न नसकिने होइन । पहिचान साहित्यमै पनि प्रत्येक सर्जकको भिन्न शैली देखिन्छ तर शैलीमा गुणात्मक परिवर्तन ल्याउन विशेष ध्यान, अनुसन्धान तथा प्रयोग गर्दै जानुपर्छ । प्रगतिवादी साहित्यका सन्दर्भमा नवीनताको खोज भनेको माक्र्सवादी वर्गपक्षधरता जस्ता सार तत्व,मूल धारा, धार वा प्रवृत्तिलाई यथावत् राखी रुपपक्षमा अन्वेषण,सिर्जन र प्रयोग गर्ने कुरामा ध्यान दिनु पर्ने हुन्छ । यसले साहित्यिक स्वादमा अरु मिठास ल्याउन सक्छ ।